फुटबल ग्राउन्डमा किन ‘केपी बा, वी लभ यु ?’
टिप्पणी
कोम खत्री
नेपालले बंगलादेशलाई ‘थ्रि नेसन्स कप’को फाइनलमा हराएर शानदार जित हासिल गर्न सफल भयो । यो हामी सबै नेपालीका लागि गौरवको विषय पनि हो ।
खेल जितेपश्चात् राष्ट्रिय खेलाडीहरूले प्रधानमन्त्रीसँग फोटो खिचाउने क्रममा ‘केपी बा, वी लभ यु’ भनेर नारा समेत लगाए ।
खेलाडीहरूले देशको प्रधानमन्त्रीलाई मन पराएरै नारा लगाए वा जितको खुशियालीमा शरीरमा ‘एड्रिनलिन’ को मात्रा ह्वात्तै बढेको वेलामा लहलहैमा लगाए यो त उनीहरूलाई नै थाहा होला ।
तर के त्यसो गरिनु सही थियो त ? वा केपी ओलीको सट्टा त्यस स्थानमा अर्कै व्यक्ति प्रमको रूपमा उपस्थित भएको भए के त्यसैगरी नाराबाजी हुन्थ्यो होला त ? आदि जस्ता प्रश्नहरू पनि उठेका छन् ।
जे होस् त्यो खेलमा केपी ओलीको जयजयकार हेरेपछि भने मलाई सन् २०१९ को अक्टोबर २४ तारिखमा अस्ट्रेलियाको क्यानबेरास्थित मनुका ओभल क्रिकेट मैदानमा अस्ट्रेलियाको प्रधानमन्त्री–११ र श्रीलङ्काबीच भएको खेलको याद आएको थियो ।
त्यो खेलमा अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले खेलको मध्यान्तरमा खेलाडीहरूका लागि पानी बोकेर मैदानमा दौडँदै प्रवेश गरेका थिए र पानी पिलाएपश्चात् त्यसैगरी मैदानबाट बाहिर निस्किएका पनि थिए ।
प्रधानमन्त्री मोरिसनको त्यो पानी बोकेर गरिएको दौड पनि खेलप्रेमको सङ्केत थियो । त्यो सङ्केतको सर्वत्र चर्चा र प्रशंसा समेत गरिएको थियो, विशेष गरेर भारतीय मिडियाले त्यसलाई राम्रै स्थान दिएका थिए किनकि भारतमा त्यस्ता दृश्य खासै देख्न पाइँदैन । केपी ओली पनि हिजो खेलप्रेमीकै रूपमा खेल हेर्न गएका थिए । उनी मोरिसनजस्तै मध्यान्तरमा पानी लिएर खेलाडीलाई दिन जाऊन् भन्ने चाहना मेरो पक्कै होइन ।
यद्यपि, प्रधानमन्त्री केपी ओलीको जयजयकार गरिएको त्यो दृश्यले हाम्रो समाजमा व्याप्त व्यक्ति र पदपूजक संस्कारको एउटा सानो नमूना पेश गरेको स्पष्ट देखिन्थ्यो ।
व्यक्ति वा पदपूजक समाजमा त्यसैगरी शक्तिशाली पदमा आसन्न व्यक्तिको पूजा गरिन्छ वा गुणगान गायिन्छ । त्यसको विपरीत कर्मपूजक समाजमा व्यक्तिको कर्मलाई पूजा गरिन्छ । अनि त्यहाँ व्यवस्थाले समाजको मार्ग तय गर्छ, व्यक्तिहरू गौण हुन्छन् । व्यक्तिहरू आउँछन् र व्यवस्थाले तर्जुमा गरिदिएको कर्म गर्छन् अनि जान्छन् ।
के तपाईंले ओलम्पिक खेलमै सर्वाधिक पदक ल्याउने राष्ट्रमा खेल जितेपछि खेलाडीले त्यहाँको राष्ट्रप्रमुखको त्यसैगरी जयजयकार गरेको कहीँ कतै देख्नुभएको छ ?
स्कट मोरिसनले खेलमैदानमा गर्नसक्ने कर्म जे थियो त्यही गरे अनि गए । खेलाडीले उनको कर्मलाई सम्मान गरे तर नेपालमा त्यसो गरिएको अनुभूति मैले पटक्कै पाइनँ किनकि हाम्रो समाज मूलतः पदपूजक समाज हो ।
शायद हाम्रो चेतनाको स्तरले त्यसै गर्न भन्यो ।