‘पोलिटिका प्रेमपत्र’ भ्यालेन्टाइनलाई

स्वागत नेपाल ©

मेरी माया, मेरी सपना,

तिमी यसलाई जे पत्र पनि भन्न सक्छौ तर म प्रेमपत्र भनेर लेखिरहेको छु ।

मलाई थाहा छ, यो प्रेमपत्र दोस्रो विश्वयुद्धताकाका वेलायती प्रधानमन्त्री विन्स्टन चर्चिलले १९ जुलाई १९४२ मा प्रेमिकालाई लेखेको प्रेमपत्रजस्तो ६ लाख डलरमा बिक्री हुने मूल्यको हुने छैन । नत प्रेमपत्रका कारण पेरुका तत्कालीन उपराष्ट्रपति राउल दिय बान्सोकोले पत्रकारसम्मेलन गरी पदासन जोगाउनजस्तो कसैसँग मैले प्रेमपत्रका कारण माफी नै माग्नुपर्छ ।

बरु, १४ वर्षसम्म प्रेमपत्रको जवाफ पर्खेर बस्ने कार्ल माक्र्सकी प्रेमिका जेनीलाई माक्र्सले पहिलै वाक्यमा तिमीभन्दा पनि तिम्रो विचारलाई मैले माया गर्छु मन पराउँछु, भनेजस्तै भनिदिन्छु र उनलेजस्तै माफी माग्छु । र, तिम्रो विचारमा सम्मानपूर्वक असहमति जनाउँछु । तर, के गर्ने माक्र्सको पत्र कुरेर १४ वर्षसम्म बसेकी जेनीले पत्र पाएपछि त्यही शोकले थलिएका माक्र्सको सर्दी बढेर ब्रोंकाइटिस समेत भएपछि हिजोआजका फिल्ममा लवेरिया नै भन्न सकिने रोगले कार्ल माक्र्सको मृत्यु भयो । सायद त्यसको विरासत अहिलेको नेपालमा मेरो हाल पनि त्यस्तै हुने छ ।

तिमी अत्यन्त सुन्दरी थियौ र अहिले पनि उत्तिकै । तिमी नेपालतिर आउँदै गर्दाका समय म सम्झिरहेको छु– (सन् १९९१ र वि.संको २०४६-४७) दक्षिण अफ्रिकामा नेलसन मण्डेला तिमीलाई कुरेर २७ वर्षदेखि एउटा अँध्यारो अकल्पनीय कालो जीवन विताइसकेपछि तिमीलाई भेट्न मात्र पाउँदै थिए । उनले २६ अक्टोबर १९७६मा कालकोठरीबाटै प्रेमिका विन्नीलाई लेखेको पत्र सम्झन्छु – मसँग सुरक्षित तिम्रो तस्वीरको नाक एकदम मनपर्छ र जब तिम्रो त्यो तस्वीरको नाकसँगै मेरो पनि नाक छाम्छु, मेरो सम्पूर्ण रक्तकोशिकाबाट विद्युतीय तरंग उत्पन्न हुन्छ र उत्तेजित बन्छु हाम्रो दिन ल्याउन । सबैको साझा दिन ल्याउन ।

१८९१ मै स्थापित हाल विश्वविख्यात फिलिप्स कम्पनिका संस्थापक लायन फिलिप्सकी भतिजी जेनीले कार्ल माक्र्सबाट एउटी छोरी बाहेक के नै पाइन् र जीवनमा ? त्यसैलाई महान् ठानिन् । तर, महासामन्त परिवारबाट रहेकी मण्डेला प्रेमिका विन्नीले उनैलाइै कु्रेर कालकोठरीमा बसिरहेको प्रेमी मण्डेलाबाट आफूलाई त्यतिसमय एक्लो बनाएर निरास पारेको भन्दै उल्टो हर्जाना सम्बन्धविच्छेदमार्फत पुरा गरिन् त्यहाँको सर्वोच्च अदालतबाट । त्यतिमात्र होइन ५ विलियन डलर मण्डेलाले तिर्नु नै पर्यो ।
मण्डेलाले के त्याग गरे र विन्नीका लागि ? यो विन्नीको तर्क थियो । विन्नीले के छोडिनन् ? सारा सारा सम्भावनाहरु छोडिन् रे । प्रेमका लागि के त्यागे र मण्डेलाले बुढेकालमा साथी भेटाएर फेरि विच्छेद भोगेका मण्डेलाले आफ्नो वकिल डेलि पोफसँग भनेका थिए– यो अदालतलाई भनेर केही फाइदा छैन । तर म पनि त एउटा पीडामा थिएँ नि । कालकोठरीका २७ वर्षसम्मको लामो रात विताउँदा । अहिले फेरि अलिकति जीवनको उज्यालो दिएर खोस्ने उसले मलाई चाहिँ के केही पनि क्षति पुर्याएकी छैन ? त्यसको क्षतिपूर्ति के हुन्छ त ? तर वकिलको भनाइ थियो, जोसँग केही छैन उसको पनि क्षति, त्याग हुन्छ कहिँ ?

हा,े के नै त्यागेका थिए र मण्डेलाले विन्नीका लागि ? बरु, नेदरल्याण्डका युवराज जोन फ्रिस्कोले मानवअधिकारवादी मावेल पिस्से स्मिथसँग विवाह गरेकोले आफ्ना सम्पूर्ण मान् पद्वीहरु त्यागे ।

डेनिस राजकुमार फ्रेडरिकले अष्ट्रेलियन जग्गा दलाल महिला मेरी एलिजावेथ डोनाल्डसँग विवाह गरेकै कारण आफ्ना राजकीय उन्मुक्तिहरु गुमाए । सम्झिरहेछु प्रेमका लागि केही समय अघिका यी त्यागहरुलाई ? निकट भविष्यमा पूर्व बन्न लागेका, पूर्व भइसकेका र सुदुरपूर्व प्रधानमन्त्रीहरु देशको मायामा राजीनामा गरेर प्रधानमन्त्री पद पनि त्याग गरेको कुरा बताइरहँदा तिम्रो (लोकतन्त्रका) लागि त्याग्नलाई एउटै ज्यानबाहेक केही दिन नसक्ने म भन्न खोज्छु– भएको भए म पनि त्याग गर्ने थिएँ प्रधानमन्त्रीको पद र राजकुमारका सुविधाहरु ।

रुसमा जार शाही पतन भएपछि केरेन्स्कीको अध्यक्षतामा एउटा सर्वपक्षीय सरकार गठन हुने भयो । तर उनले प्रिन्स क्रोपाटकिन कहाँ गएर अध्यक्षता गर्न आग्रह गरे र उनले सित्तैमा र चिठ्ठाजस्तो पद प्राप्ती आफ्नो सिद्धान्तको विपरित भएकोले बरु म जुत्ता सिलाएर मेरी प्रेमिकासँग रुखो सुखो खाएर बस्छु तर प्रधानमन्त्री बन्दिनँ भनेर फर्काइदिए । उता उनको पारिवारिक प्रेमजीवन त्यही कारणले ध्वस्त भयो । उनी नालायक ठहरिए । यतिबेला तिमीजस्तो सुन्दरतम्, सुशील र आदर्श प्रेमीकाका लागि प्रधानमन्त्री पद पाउन लाग्दा होइन पाइसकेर र लुट्नु लुटेर त्याग्नेहरुका पछि लागेको देखेर छक्कै पर्छु म यता ।

अति सामान्य घरकी सोन्जा महारानी बनेको देखेर होस् कि नर्वेली युवराज हाकोनले सामान्याति सामान्य परिवारबाट टपक्क टिपेर मेट्टे मारिट्लाई महारानी बनाएको देखेर होस् तिमी चमत्कारमा विश्वास गर्न थालेकी छ्यौ । यी सबले किन संघर्ष र आफ्नै परिश्रममा बाँच्ने इमानदारी हराइरहेको छ र कुनै दिन म पनि कुनै युवराजको नजरमा परौंला र एकाएक महारानी युवराज्ञी बनौंला भन्ने चमत्कारको सपना देखिरहेकी तिमीले ? हुँदाहँदा सन् अनलाईनमा महिला मामिला सम्बन्धी उपसम्पादक सिनेड डेस्पोण्डाले युवराज्ञी बन्न वा राजकुमारहरुका लागि मनपर्दी बन्न सिकाउने खान, श्रृंगार पहिरन आदि बारे सामग्री प्रकाशित गरिदिए र तिमी त्यसकै खोजी र अध्ययनमा लाग्न थाल्यौ ।
किन नबुझेकी होला, मण्डेलालाई लोकतन्त्र तिमी यति मन पर्यो कि तिमी गुम्ने खतरा त के शंका मात्र पनि झिनो भएको कारण तिमीलाई बचाउन दुइतिहाइ मत पाएर समेत आफ्नै विरोधीलाई पनि सँगै लिएर अनुपम, उदार र सुन्दर राज्यघरको इतिहास शुरु गरे ।

शक्ति बिना भावना मात्र भएर के हुनेरहेछ र मायााक लायि ? जनताका सामु धुरुधुरु रुवाउने गरी भाषण गर्ने चीनका राष्टपिता डा. सन् यात्सेन्जस्तो हातबाट शक्ति फुत्किहाल्ने रैछ । शासन शुरु गरेको केही समय पनि बित्न नपाउँदै कठोर बनेर आदेश दिन नसक्दा र सबैको विचार बुझ्न खोज्दाखोज्दै फुत्किए शक्तिबाट । सुन्दर सत्तामा अर्को आइ पुग्यो । कमजोरलाई त सुन्दरताले पनि छोडिदिने रहेछ । सुन्दरताले शक्ति खोज्छ अर्थात् सुन्दरताले संरक्षण र सुरक्षा खोज्छ । त्यसले आफूलाई बचाएर राख्न सक्ने शक्तिवान् व्यक्ति खोज्छ । तर त्यो व्यक्ति नै कोमल बनेर निर्णय लिन अरुको चित्त दुख्ला भनेर विचार बुझ्न थाल्यो भने नजिकमा आउने अर्को शक्तिवान्सँग सुन्दरताले छायाँ खोज्छ । सत्ताको र लोकतन्त्रको सुन्दरता पनि तिमीजस्तै रहेछ ।

साँच्चै तिमी एकदम सुन्दर थियौ । र, जब म तिमी सामु परेको थिएँ म त तिम्रा अघि मिठाइ पसलमा स्वतन्त्र छोडिएको एउटा निर्दोष बालकजस्तो जहाँसुकैबाट जेसुकै पनि झिकेर खान खोजेछु । लड्डु, रसवरी, पेँडा आदि आदि …फेरि सम्झन्छु होइन, तिम्रो प्रेमका लागि दुश्मनविरुद्ध क्रुरताका साथ लड्दालड्दै आफैँभित्र भएको तिमीप्रतिको प्रेम पनि मैले गुमाएछु । तिम्रै लागि लड्दा लड्दै अन्तिममा तिमीलाई नै गुमाउने भएँ । बसाइँ सरुँ । पहिला पहिला गरिबहरु बसाइँ हिँड्थे । अहिले त धनीहरु बसाइँ हिँड्छन्, त्यही राजा भएका देश जपान, बेलायत, फ्रान्स आदि आदितिर । मर्नका लागि विष किन्ने पैसा त हुन्न अनि मृत्युदण्डभन्दा कठोर जीवनदण्ड भोग्ने मान्छेलाई कतार, मलेसिया जान पनि ऋण कहाँ पाइन्छ र ? स्थिति सुधारेर तिमीलाई भेट्न त फेरि उही होला…!

त्यतिञ्जेलसम्म यता हाम्रा नेपाली मण्डेला, क्रोपाट्किन र सन् यात्सेनहरु आफ्नी प्रेमिका मरिसकेपछि पनि अत्यन्त मायाले लास बाँध्नका लागि पनि कडा होइन है भन्दै नरम काँचा धागाहरु खोजिरहेका हुनेछन् होला…। तर , विचार बुझ्ने होइन आदेश दिनेले आफ्नो प्रेम विज्ञप्ती, पत्रकारसम्मलेनहरुबाटै उजागर गरिरहेका हुनेछन् ।

त्यस्तो दःुस्वप्न विपनै राम्रो नभएकाहरुले ननिदाइकन देखिरहेका हुन्छन् किनकि यहाँ सँगसँगै बाँच्नेभन्दा बढी सँगसँगै मर्ने कसम खाइन्छन् । फेरि आत्महत्याका पनि इस्युहरु अचम्म अचम्मका छन् यतिबेला । जापानमा एउटी तिमीजस्तै टिनेजर बुद्धि भएकी चेलीले घरको आफ्नो कोठामा अभिभावकले आफूलाई मन नपर्ने रंग गरिदिएको भनेर आत्महत्या गरिछिन् । डर लाग्छ मलाई तिमीलाई त मर्न उक्साउने कति छन् कति । आफू मर्यो भने तिमी बाँच भन्ने होइन सँगसँगै मर्नुपर्छ भन्ने कसम खुवाइन्छ अनि तिमी उसैको जिन्दावाद भन्छ्यौ त मेरो के लाग्छ ? । जब कि मरे पनि तिमी बाँचिरहूँ भन्छु म । किन कुरा नबुझिरहेकी तिमीले ?

ठीकै छ अहिले सम्बन्ध केही चिसियो त के भयो ? कुनै दिन चाहिन्छ भनेर जतन गरीगरी राखिएका बिटाका बिटा नोटहरु जो टुक्रा टुक्रा भएका छन्, तिनलाई जोडेर चलाउन सकिन्छ नि ? च्यातिएको नोट फेरि टाँसेर जीवन्त बनाएजस्तो फेरि किन सकिन्न मान्छेहरुका सम्बन्धहरुलाई जोड्न फेरि उसैगरी !

तिमी फेरि एक पटक सम्झिदेऊ, बिदा !

swagatpal@gmail.com

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button