६ प्रश्न ओलीको शक्ति !

केशवप्रसाद भट्टराई

तलका प्रश्नहरू ओलीको मूख्य राजनीतिक शक्ति बनेको हो जस्तो लाग्दछ –

१. निसन्देह, केपी ओलीले इमान्दारीका साथ संविधानको पालना गरेका छैनन्त र के संविधान निर्माताहरू संविधान निर्माणको क्रममा मुलुक, प्रजातन्त्र संविधानको लक्ष, मर्म र भावनाप्रति इमान्दार थिए ?
जुन संविधान जन्मिदैं निष्ठाहीनताको शिकार भएर, रोगी भएर जन्मियो, त्यसले समस्या निर्माण गार्नु स्वाभाविक होइन ?

२. ओलीको विकल्पमा देखिइरहेका वा उनका विरोधीहरूमा प्रथम र दोस्रो पंक्तिमा रहेका व्यक्तिहरूको राजनीतिक व्यक्तित्व, चरित्र, निष्ठा र क्षमता ओलीको भन्दा विशिष्ट छ ? वा ओली उनीहरू भन्दा ती सवालमा निम्छरा वा कमजोर छन् ?

३. कथित जनयुद्धलगायत जुन परिवर्तनको पृष्ठभूमिमा यो संविधान र यो राजनीतिक परिवर्तन आएको थियो, त्यसमा राष्ट्र र जनताको मत र विश्वासको प्रतिनिधित्व कति थियो ?
त्यसले राष्ट्रको चेतना र विवेकलाई बोकेको थियो कि राष्ट्रको विवेक र चेतनाको बर्बर र पाशविक हत्या र दमन गरेर त्यो परिवर्तन आएको थियो ?
परिवर्तन र उपलव्धि कसका लागि थियो र बन्यो ?
माओवादी, काङ्ग्रेस, एमाले, राप्रपा, मधेश केन्द्रित दलका केही लाउकेहरू, केही कथित नागरिक अगुवा, मिडिया व्यापारी र सत्ता निकट ठेकेदारहरूकालागि कि तिनका आम कार्यकर्ता र जनताका लागि ?

४. कुनै राजनीतिक सत्ता स्वार्थसँग गाँसिएर हुने आन्दोलन, बन्द, चक्काजाम वा आम हडतालको नाउमा कसैको जीवन, सम्पत्ति र स्वतन्त्र आवागमनमा हुने गरिने ज्यादती सानो महत्वको र त्यस्तो कार्यक्रमको आयोजकको कुनै बैठकमा रखिएको कुर्सी सानो -ठूलो, होचो, अग्लो हुनु चाँही राष्ट्र र आम जनताको ठूलो सरोकारको विषय हुन्छ ?
एउटा हकरको फलफुल वा तरकारी सडकमा फ़ालिदिएर वा ऋण धन गरेर खेत बारी बेचेर कसैले जोडेको ट्याक्सीमा आगो लगाइदिँदा त्यहाँ संविधान उल्लङ्घन बह्येको हुन्न ?

५. यो संविधान आएपछि त्यस पछि बनेका सरकारहरूको कार्यकालमा नयाँ दलहरू बने होलान, नेताहरू र मन्त्रीहरूका नयाँ घर बने होलान, तिन्का घरआँगनमा जाने बाटो ठूलो र फराकिलो भयो होला तर डेढ दशकमा बीर अस्पतालको अवस्थामा सुधार भयो ? टिचिंग अस्पतालमा सुधार भयो ? जिल्ला र क्षेत्रीय अस्पतालहरू ?
वडा तहदेखि राष्ट्रिय तहसम्म हजारौँ राजनीतिक जागिरेहरूको दरबन्दी संविधानले थप्यो तर त्यसपछि स्कूलमा शिक्षकहरूको दरबन्दी थापियो ?
स्वास्थलाई जनताको मौलिक अधिकार बताउने संविधान आए पछि कति डाक्टर र नर्सको दरवन्दी थपियो ? आदि आदि …?
एउटा राम्रो जनताले विश्वास गर्ने नयाँ स्कूल, कलेज र विश्व विद्यालय मुलुकमा थपियो ?
दुई चार हजारले रोजगारी पाउने कुनै नयाँ उद्योग खुल्यो ?
नेपाली उत्पादनले विश्व बजारमा स्थान पाए ?
तराईका फाँटमा पानी पुगेको छ ? किसानले समयमा मल, बिऊ , बजार र उचित मूल्य पाएका छन् ? जनताको लागि पँधेरो , पाटी , पौवा सत्तल बनेका छन् ? आम जनताको जीवनमा सार्थक सुधार आएको छ ? उनीहरूको सुखमा वृद्धि भएको छ ? र जीवन स्तरमा कुनै उपलव्धि हाँसिल भएको छ ? युवाहरूले मुलुकमा आफ्नो भविष्यको सुरक्षा देखेका छन् ? उनीहरूको उर्जा, क्षमता र विश्वासले नेतृत्व पाएको छ ? राजनीति र प्रशासन स्वच्छ र पारदर्शी छ ? अनि भुत्राको उपलव्धि ?

योग्यता र क्षमताले सम्मान र स्थान पाउने वातावरण मुलुकमा बन्यो ?
दल र नेता निकटका व्यक्ति बाहेकले मुलुकमा अवशर र सम्भावना देखेका छन् ?
भ्रष्टाचारमा संलग्न नरहेका कुनै नेता र चल्तीका कार्यकर्ता कुनै मूख्य दलहरूमा छन् ?

६. अनि ….ओली किन नहुने र आर्को कोही किन हुने ? अर्को को आएर मेरा माथिका प्रश्नहरूको उत्तर दिने ?
जवाफ मैले खोज्ने कि कसैले मलाई दिने ?
मलाई उत्तर दिनु नपर्नेलाई कुर्सीमा पुर्याउन र फूलमाला लगाइदिन म लगायतका अदना नागरिकको किन सरोकार हुन्छ म त बुझ्दिन, बुझ्ने जानोस सडकमा आन्दोलन गर्न !

(यो लेखकको व्यक्तिगत विचार हो ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button