
सल्यानटारबाट काशी हुँदै युनानसम्मको साइकल कथा

भरत शर्मा
‘सल्यानटारको गोरुले पालुुङटारको बिऊ खायो, कान्छी ल्याउँदा जेठी जिल खायो’, यो गीत बेलाबेला गुनगुनाउँदा आफनो बालापनको याद आउँछ । नेपालको एकमात्र ठूलो टार सल्यानटारमा सुरुकालीन १६ बर्ष बिताएपछि गाँउघर छोडेर भारत, नेपाल र चीन यात्रामा हिँड्दा पनि बेलाबेला गाउँको झझल्को आइ नैं रहन्छ ।
गत हप्तादेखि नेपालनाम्चाले ‘साइकल’ स्तम्भ शुरु गरेपछि मेरो मनमा पनि साइकल यात्राका अनेक अनुुभव र अनुुभूति लेख्ने इच्छा जाग्यो । त्यसैले आज साइकल यात्राको वृत्तान्त कहन लागेको छु ।
नेपालकै सबैभन्दा ठूलो टार सल्यानटारमा बालदिनहरुमा साइकल चलाउन सिकेको हुँ । उमेर सायद ११ बर्ष थियो होला, रानीपौवा माध्यमिक विद्यालय नजिकको पाँचधारे डिल छेउमा रहेको ठूलो चौरमा साइकल चलाउन सिकेको याद छ । विद्यालय जीवनमा साइकल किनेर चढ्ने धोको विविधि कारणले पुरा हुन सकेन ।
त्यसपछि सबैभन्दा बढी साइकल यात्राको अभ्यास भारतको काशीमा भयो । काशीको मीरघाटदेखि सम्पूर्णानन्द र काशी विश्वविद्यालय परिसरमा निकै मजाले युवा जोश, जाँगरले साइकल कुदाएका दिनहरु अझै सम्झनामा ताजै छन् । काशीबाटै मैले पढनुु पर्छ, घुम्नु पर्छ, र तीर्थ यात्रीलाई घुमाउने काम गर्नुपर्छ भन्ने अठोट र योजना बुनेर जीवनको यात्रा शुरु गरेको थिएँ ।
काशीमा लिएको सङ्कल्प अहिलेसम्म जीवनको लयकै रुपमा चलिरहेको छ । विद्यालय जीवनमा साइकल सिकियो, तर साइकल चढ्ने अधुरो इच्छा काशीमा पुुगेपछि गंगा माताका पवित्र घाटहरुमा विदेशी पर्यटकलाई घुमाएर कमाएको दुईसय भारुमा किनेको पुरानो रेन्जर साइकलमा चढेर काशीका गल्लीहरु, सडकहरुमा कुँदेका ति दिनहरु, आहा !
काशीबाट काठमाडौं फर्केपछि साइकल चढ्ने इच्छा भएन, खैं कुुुन्नी किन हो ? काठमाडौंमा मोटरसाइकलमा सहर घुुमफिर गरियो । चार बर्ष विना लाइसेन्स सुुपर स्पिल्डर मोटरसाइकलमा पत्रकार-संवाददाता हुँदा करिव एकलाख ५० हजार किलोमिटर यात्रा गरियो ।

नेपालनाम्चाका सम्पादक अशोक सिलवाल सोमबारदेखि नैं अब शनिवार आउन लाग्यो है, रेल गाडी कहाँ पुुग्यो ? स्टेशनमा पुुगेको छैन भनेर प्रश्न गर्नुहुन्छ, म मुसुुक्क हाँसेर भन्छुु, यात्रामा छु । वि.स २०६४ सालतिर राजधानी दैनिकमा दिनदिनैको पत्रकारिता गर्दा सिम्खडा सम्पादकले मेलो कहाँ पुुग्यो साथी हो भनेका शब्दहरु कानमा गुन्जिरहन्छ ।
चीन यात्रामा आएपछि सबैभन्दा मेरो प्यारो साथी नैं साइकल हो । सन् २०१९ देखि चीनमा छु । यसअघि, सन् २०१९ मा हनान प्रान्तमा एकबर्ष बस्दा प्राध्यापक डा वाङले घरमा थन्काइएको एउटा पुरानो साइकललाई मर्मत गरेर चढेँ । त्यो साइकल विश्वविद्यालय परिसरभित्र सिमित थियो । सन् २०२१ मा युनान प्रान्तको खुमनिग आएपछि पुरानो होइन, एउटा गियरवाला नयाँ साइकल किनेँ । चीनमा नेपाली रुपैयाँ पाँचदेखि ७ लाखसम्मको साइकल पाइन्छ । प्राध्यापक वाङक १० बर्षअगाडि १० हजार चिनियाँ रकममा किनेको १० बर्ष पुरानो साइकल चढेर हिँडनु हुन्छ । त्यो साइकल अझै पनि राम्रो र बलियो छ । हाम्रो साइकल यात्री समूहमा चिनियाँ प्राध्यापकहरुका साइकल नेपाली रुपैयाँ लाखभन्दा माथिका छन् । साइकलको मूल्यतिर नलागौं । गुणस्तर र मूूल्य अनुसार सुविधाजनक बस्तु चीनमा पाईन्छ । तर, अध्यापक ह्वाङ र मेरो साइकलको गुणस्तर र मूल्य समान छ । साइकल यात्रामा हामी हाम्रा प्राध्यापकहरु भन्दा अगाडि कुँदछौं । उमेरका हिसाबाले हामी प्राध्यापकहरु भन्दा १० बर्ष कान्छा छौं ।
हरेक साता सोमबारदेखि शुक्रबारसम्म घरदेखि विश्वविद्यालय र घर करिव १५ किलोमिटर साइकल यात्रामा आउने जाने तालिका छ । त्यसबाहेक प्रत्येक हप्ता एकदिन हाम्रो विशेष साइकल यात्रा हुन्छ । त्यसदिन समय र मौसम अनुसार ५० किलोमिटर भन्दा माथिको यात्रामा हामी निस्कन्छौं । साइकल मात्र कुुदाउन पाइने, ताल वरिपरीको ग्रामीण क्षेत्रकोे सडकमा हामी यात्रा गछौं । सयौं चिनियाँ युवा युवती, वयस्क र बृद्धबृद्धाहरु साइकल यात्रामा हुन्छन् । पाँच बर्षदेखि ८० बर्षभन्दा माथिका चिनियाँहरु साइकल सडकमा भेटिन्छन् । शनिबार र आइतबार चिनियाँहरु सिंगो परिवार नैं साइकल यात्रामा हुन्छन् ।
कुनै समय चिनियाँहरुको यात्राको प्रमुख माध्यम साइकल थियो । पहिले चिनियाँहरु गरिव थिए, गरिवको सजिलो साधन नैं साइकल हो । अहिले चिनियाँहरु धनी भए, त्यसैले हिजोआज चिनियाँहरु स्वास्थ्य र मनोरञ्जनका लागि साइकल यात्रा गर्दछन् । लाग्छ, हरेक चिनियाँहरुको घरमा एउटा साइकल छ । पछिल्लो दशकमा चीनमा साइकल, विजुली साइकल र कार सामान्य परिवारका सदस्य बनेका छन् । चालिस बर्षमा चीनले गरेको विकासको कुरा कति हो कति ? कुरा गरेर र लेखेर साध्य नैं छैन । चिनियाँहरु धनी र घुुमन्ते भएका छन् । देशको अर्थतन्त्र र आन्तरिक पर्यटन सुधारका लागि छुुट्टीको दिन घरमा नबस्नेमात्र होइन, घुुम्ने संस्कृति नै बनेको छ । कारको छतमाथि साइकल राखेर घरबाट निस्कँदा कार र अनि साइकल मात्र कुुद्न पाइने सडक छेउमा मोटर पार्क गरेर साइकल चढेर मनोरन्जन गर्छन् चिनियाँहरु । चिनियाँहरुका सुुखी जीवनका अनेक कथा छन् । पुुर्खाले कति दुःख भोगे, अहिलेका पुस्ताका चिनियाँहरुले सुख भोग्दैछन् ।
चिनियाँ सडकमा सार्वजनिक साइकलहरु छन् । चीनमा साइकल चढ्नेहरुका लागि अलग्गै सडकहरु बनाइएको छन् । त्यसैले चीनमा साइकल यात्रा सुुरक्षित र मनोमहक छ । निश्चित स्थानदेखि अर्को ठाउँमा पुुग्न सस्तो मूल्यमा विजुली साइकलहरु छन् । मानौं, चिनियाँहरु साइकलप्रेमी छन् । छोटो दुुरीमा यात्राका लागि साइकल प्रयोग गर्दछन् । यात्राका साधनहरु सरकारी बस, शहरभित्र जमिनमुनि चल्ने रेल त छदैछ । यात्राका लागि तपाईको पुुँजी र समय अनुसारका सबै सुविधाहरु छन् ।
देश र व्यक्तिको विकासका लागि पहिले चाहिने भनेको राम्रा सडक र सवारी साधन हो । चीनमा राम्रा सडक र सबैका साथमा साइकल छ । चीनमा विजुुली साइकल, विजुली गाडी, बिजुलीबाट चल्ने बस नैं बढी छ । शहरलाई स्वच्छ राख्न विजुुली साधनको प्रयोगमा सरकारले अलि बढी नैं जोड दिएको छ ।
साइकल यात्रा गर्दा सबैभन्दा आनन्द भनेको गीत सुन्दै र गुुनगुनाउँदै हिँड्नु हो । करिव १५ किलोमिटर कुदेपछि विश्राम गर्ने स्टेशन छ । त्यहाँ बसेर फलफूल खाने हो । धेरै समय आराम गर्दा अल्छीपन बढ्न सक्छ । त्यसैले यात्रामा आराम समय कम हुन्छ । सेनाले तालिममा निस्केको बेला जस्तै, पानी पिउने, फलफूल खाने अनि कुँदने ।
साइकल यात्राबाट फर्केपछिको स्नान, भोजन र आरामपछि मन यति प्रफुल्ल हुन्छ कि त्यसको बयान गर्न सक्दिनँ । कुनै हप्ता कुनै काम विशेषले साइकल यात्रा रोकियो भने हप्ता नैं विसन्चो भएको अनुभव हुन्छ । जाडो र गर्मी विदाको छुुट्टीमा नेपाल फर्केपछि साइकल यात्रा गर्ने मन भए पनि समय ब्यबस्थापन गर्न नसक्दा र साइकल यात्रा गर्ने मित्र समूह नहुुँदा नेपालमा साइकल यात्रा गर्ने अवसर जुुरेको छैन ।
साइकल यात्रा तपाई हाम्रो स्वास्थ्य लागि फाइदाजनक मात्र होइन, मनलाई खुसी बनाउने माध्यम पनि हो । नेपालको तराईमा बस्ने मानिसहरु पनि साइकलप्रेमी छन् । सायद तराईजन नेपालीहरुको हरेकको घरमा एउटा साइकल अवश्य छ ।
साइकल जिन्दगीका अनेकन कथाहरु नेपालनाम्चाको साइकल स्तम्भमा पढ्न सकिन्छ । यो हप्ता चीनको चिसोले शरीरलाई निको छैन, आराम खोजिरहेको छ । औषधि सेवन र पुस्तक पढेर आराम, आराम र निदाउने उपायको खोजीमा छु । नाम्चा सम्पादक अशोकले भने, तपाईलाई विरामी हुँदा आराम गर्ने सुविधा छ तर अल्छी हुने छुट छैन । यो वाक्य मेरो लागि एन्टीबायोटिक औषधि सम्झेर जुरुक्क ओछ्यानबाट उठेँ, र काम गर्न थालेँ । चिकित्सकले दिएको औषधि भन्दा चिकित्सकको परामर्शले आधा रोग निको हुन्छ भनेजस्तो मित्र अशोकका वाणीले मेरो लागि चिसोबाट थलिएको रोग निको भयो ।
शुक्रबार साँझ साइकल यात्राका बारेमा लेख्दै थिएँ, नेपालबाट एकजना वकिल मित्रले फोन गरेर देशको लामो कथा बताए । नेपालमा जेनजी आन्दोलन, त्यसपछिको राजनीतिक घटनाक्रम, एमाले महाधिवेशन, आदि इत्यादि उनका वकिलशास्त्रको अनुुभव सुनेँ, केही कामलाग्दा विचार र विश्लेषण पनि थिए ।
अन्तमा उनले भने, ‘अहिले नेपालमा रावण र कंशहरुको जगजगी छ ।’ अब देशको राजनीति र नेतृत्वहरु कता पुुग्ने हो, कसैलाई पनि थाहा छैन, जय पशुपतिनाथ भनेर फोन काटे । वकिल मित्रसँग ३५ मिनेट कुरा भएछ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)


रामरमाईलो साईकल यात्रा वर्णन।