चुनौतीबीच शिक्षाको अग्रगमनयात्रा

डा.विष्णुबहादुर जीसी

संस्कृत भाषाको शिक्ष् धातुबाट आएको शिक्षाको अर्थ ज्ञान प्राप्त गर्नु वा सिक्नु सिकाउनु भन्ने बुझिन्छ । यसैगरी अंग्रेजी भाषाको Education शब्दले पनि तालिम, शिक्षण सिकाई बाट व्यक्तिलाई शिक्षा दिनु, उसको विकास र स्तर उन्नति गर्न मद्दत गर्नुलाई शिक्षा भनिएको छ । शिक्षाले व्यक्तिको बौद्दिक,शारीरिक,सामाजिक,आर्थिक,भौतिक,नैतिक लगायत सर्वाङ्गीण विकासका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । मानिस जन्मिएदेखि मृत्युपर्यन्त प्राप्त गरिने सम्पुर्ण अनुभवले शिक्षाको ब्यापक अर्थ समेट्न सक्छ भन्ने विद्वानहरूको भनाइ रहेको छ । यसरी हेर्दा शिक्षा जिवनपर्यन्त चलिरहने प्रक्रिया हो । भनिन्छ, संसारमा प्राप्त गरिने सर्वोत्तम शिक्षा त्यो हो,जुन मानिसले जीवनयापनको क्रममा सङ्घर्ष गर्दै गर्दा प्राप्त गर्दछ ।

मलाई आजको अवस्थामा आइपुग्दासम्म बाबुआमा,परिवार,इष्टमित्र,समाज र परिवेशबाट धेरै हदसम्मको सिकाइका लागि जग बसाउन मद्दत पुगेको छ । त्यसैगरी स्कुल, कलेज, विश्वविद्यालयहरूबाट पनि मलाई शिक्षित र दीक्षित गराउने काम भएको छ । डेढ दशक भन्दा बढी समय शिक्षा निकायहरूसँग आबद्ध रहँदा प्राप्त अनुभव र निजी विद्यालयमा रहँदाको अनुभव समेत मेरो लागि शिक्षा आर्जनको प्रमुख स्रोतको रुपमा रहेका छन् । यसरी मैले समाजबाट धेरै किसिमको सहयोग र सद्भाव प्राप्त गरेको परिप्रेक्ष्यबाट आर्जित अनुभवहरू को एउटा स्वरूप हो यो सानो आलेख । यो लेखमा केही सैद्धान्तिक तथा धेरै व्यवहारिक विषयको संयोजनबाट प्राप्त अनुभव प्रविष्ट गरी शिक्षाको अग्रगमन विषयसँगै लेखलाई बिट मारिएको छ ।

समाजमा शिक्षा प्रदान गर्ने निकायहरू र सिकारुले प्राप्त गर्ने शिक्षा फरक किसिमको छन् । प्राध्यापक माधवप्रसाद ढकालले ‘शिक्षाको दर्शनशास्त्रीय एवं समाजशास्त्रीय आधार’ पुस्तकमा यसलाई शिक्षाको प्रकार भन्नुभएको छ । ती प्रकारहरू वा वर्गीकरण सामान्यतया निम्नानुसार रहेका छन् ।

१)औपचारिक शिक्षा (Formal education) : औपचारिक शिक्षा कक्षाकोठामा आधारित शिक्षा हो, जुन हामी गुरु वा शिक्षित व्यक्तिबाट हासिल गर्छौ ‌‌‍‌। हामी औपचारिक शिक्षा बिध्यालय, विश्वविद्यालयहरूबाट प्राप्त गर्छौं । यहाँबाट प्राप्त शिक्षा निश्चित पाठ्यक्रममा आधारित हुन्छ भने यस्तो पाठ्यक्रमको समाप्तीसँगै सिकारुले प्रमाणपत्र समेत प्राप्त गर्ने गर्दछ ।

२) )अनियमित शिक्षा (Informal education): अनियमित शिक्षा हामी संरचित पाठ्यक्रम भन्दा बाहिर हासिल गर्छौं, जस्तै घरपरिवार सामाजिक परिवेश आदि । यस किसिमको शिक्षा सुख दुःख,जहिले तहिले,जीवन पर्यन्त सिक्न सकिन्छ ।

३) अनौपचारिक शिक्षा ( Non-formal education): औपचारिक शिक्षा र अनियमित शिक्षा को कमिलाई पुरागर्न अनौपचारिक शिक्षा विकास गरिएको हो । यस किसिमको शिक्षा दुवै, औपचारिक शिक्षा र अनियमित शिक्षाको मिश्रणबाट बनेको हुन्छ । यो खासगरी छुट्टै किसिमको सिप सिकाइको लागि केन्द्रित गरिएको हुन्छ । नेपालमा अनौपचारिक शिक्षा केन्द्रले नेपाल राज्यभर आधारभूत साक्षरता बढाउने, जीवनउपयोगि तालिमहरू सञ्चालन गर्ने जस्ता कार्यक्रमहरू सञ्चालन गर्ने गरेको छ । मैले प्राप्त गरेको शिक्षा भने खासगरी औपचारिक र अनियमित शिक्षामा आधारित छ । अब नेपालको शिक्षा विकासको क्रमलाई जोड्न चाहन्छु ।

नेपालमा शिक्षाको प्रारम्भिक रूप गुरुकुल र घरमै दिइने शिक्षामा आधारित थियो । हिन्दू धर्ममा ब्राह्मण र क्षेत्रीलाई मात्र औपचारिक शिक्षा प्राप्त गर्ने अधिकार थियो, जहाँ ब्राह्मणहरूले वेद, उपनिषद् तथा कर्मकाण्डसम्बन्धी शास्त्र अध्ययन गर्थे भने क्षेत्रीहरूले प्रशासन र युद्धकला सिक्थे । बौद्ध शिक्षाको प्रभाव पनि नेपालमा देखिन्छ, जुन विशेष गरी गोम्पा तथा गुम्बाहरूमा प्रदान गरिन्थ्यो । आधुनिक शिक्षा प्रणालीको विकास सन् १८४६-१९५१ को राणा शासनकालमा नेपालमा भित्रिएको हो । अंग्रेजी शिक्षा प्रणालीको यो शिक्षा केवल उच्च वर्ग र धनाढ्यहरूका लागि सीमित थियो । सन् १८५४ मा जंगबहादुर राणाले दरबार स्कुल स्थापना गरे, जुन सुरुमा राणाहरूका सन्तानका लागि मात्र खुला थियो तर सन् १९०१ मा देवशम्शेरले यसलाई सर्वसाधारणका लागि पनि खुला गरे ।

सन् १९५१ मा प्रजातन्त्र स्थापनासँगै सर्वसाधारणका लागि शिक्षा खुला गरियो । प्रजातन्त्रको उदयसँगै संयुक्तरूपमा स्थापना भएको त्रिभुवन आदर्श स्कुल,फर्पिङ र निजी क्षेत्रको लगानीमा सन् १९६६ मा स्थापना भएको आदर्श विद्या मन्दिरको स्थापनासँगै नेपालमा निजी विद्यालयहरूले समाजमा आफ्नो प्रभुत्व बढाउँदै लगेका छन् । हाल विद्यालय शिक्षा सरकारी (सामुदायिक) र निजी रूपमा विभाजित छ । साथै, नेपालमा मिशनरी स्कुलहरू, गुम्बा, मदरसा र गुरुकुल जस्ता शैक्षिक संस्थाहरू पनि सञ्चालनमा रहेका छन् । हाल नेपालमा करिब २९ हजार सार्वजनिक विद्यालयहरू छन् भने करिब ५ हजार निजी विद्यालय गरी जम्माजम्मी करिब ३४ हजार विद्यालयहरू सञ्चालनमा छन् । १९५९ मा त्रिभुवन विश्वविद्यालय स्थापना भएपछि नेपालमा उच्च शिक्षाको सुरुवात भयो भने अहिले देशभर १४ विश्वविद्यालय स्थापना भएका छन् ।

सरसर्ती हेर्दा नेपालमा पनि शिक्षा क्षेत्रमा विकास नभएको भन्न मिल्दैन । धेरै विद्यालय, विश्वविद्यालयहरू स्थापना भइसकेका छन् । केही व्यक्ति र वर्गमा सीमित शिक्षा फराकिलो पनि
भएको छ । यो परिप्रेक्षलाई नियाल्दा शिक्षाले अग्रगमनको बाटो नसमाएको भन्न पनि मिल्दैन ।

तर यति हुँदाहुँदै पनि शिक्षामा धेरै अप्ठ्यारा र चुनौतीहरू विद्यमान रहेको समाचार र गुनासाहरु समाजमा उठिरहेको पाइन्छ । ती अप्ठ्यारा र चुनौतीहरूका बारेमा संक्षिप्तीकरण गर्न चाहन्छु । सामुदायिक विद्यालयहरूमा गुणस्तर वृद्धि हुन सकेको छैन । हालै मात्र पनि मैले सामुदायिक विद्यालय र निजी विद्यालयहरूको अवलोकन र शिक्षकहरूसँग छलफल गर्ने अवसर पाएको थिए । त्यो छलफलबाट मैले बुझेको कुरा निजी विद्यालयमा अभिभावक र विद्यार्थीहरूको आकर्षण बढेको छ । तर यो केही हदसम्म स्वाभाविक छ भने केही हदसम्म अस्वाभाविक पनि । स्वभाविक यस अर्थमा कि निजी विद्यालयमा प्रशासन सचेत छ । अस्वभाविक यस अर्थमा कि निजी विद्यालयले अधिकांश अभिभावकहरूलाई समेट्न सकेको छैन । धेरै विद्यार्थीहरू निजी विद्यालयको पहुँचबाट बाहिर छन् । साथै आर्थिक अवस्थाको कारण निजी विद्यालयमा पढिरहेका विद्यार्थी समेत विद्यालयबाट बाहिरिनुपर्ने अवस्था छ । यसैगरी सार्वजनिक विद्यालयलाई राजनीतिकरण गरिएको छ । त्यहाँको प्रशासन तथा शिक्षकले पेशाभन्दा राजनीतिप्रति उत्तरदायित्व देखाउनुपर्ने स्थिति रहेको छ । शिक्षकहरू विद्यालय र कक्षा कोठामा हुने उपस्थिति कम छ; Time on task को कमी छ ।

अभिभावकहरु विद्यालयमा उपस्थित हुने र प्रश्नहरू राख्ने गर्दैनन् । यहाँका अधिकांश शिक्षकका आफ्ना बालबालिकाहरु निजी विद्यालयमा पढ्ने गर्दछन् । विद्यालय प्रविधिमैत्री हुन सकेको छैन । आदि इत्यादि कारणहरूले गर्दा शिक्षाको गुणस्तर वृद्धि हुन सकेको छैन । राजनैतिक,सामाजिक,आर्थिक र शैक्षिक परिवेशका कारण युवा शक्ति विदेश पलायन हुने क्रम बढ्दो छ । आजको करिब सात दशक अघि साहित्यकार लीलबहादुर क्षेत्रीले लेख्नुभएको बसाई उपन्यासमा दुःख पीडा अत्याचार र गरिबीको कारण मुग्लान परदेश पलायन भएका नेपालीको चित्रण भएजस्तै अहिले पनि शिक्षा, रोजगारीका लागि नेपालबाट विदेश पलायन हुने युवाहरूको जमात बढ्दो क्रममा रहनु देशको लागि दुर्भाग्य नै हो । तर पनि सत्य के हो भने नेपालको प्रकृति,माटो र नेपाल आमाले जन्माएका सन्ततिहरू संसारको जुनसुकै ठाउँमा भएपनि आफ्नो सिर्जना, क्षमता र पहिचान देखाउन सफल भएका उदाहरणहरू नेपालीहरूको लागि खुसीको कुरा हो ।

यी सबै समस्याहरू विद्यमान रहँदा रहँदै पनि शिक्षाले अग्रगमनको बाटो अवलम्बन गर्छ नै किनकि अहिलेको समयमा बाँच्नको लागि पनि शिक्षा अनिवार्य छ । व्यक्ति, नागरिकले स्वयं जिम्मेवारी लिएका कारणले होस् या सरकारले सक्रियता बढाएको कारणले नै किन नहोस् शिक्षा प्रतिगमन हुन सक्दैन । शिक्षा मानिसको लागि पहिलो र सशक्त आँखा नै हो । दृष्टिविहीन व्यक्तिलाई पनि शिक्षाले दृष्टिवान व्यक्तिभन्दा बढी व्यवहारिक सक्षम र सचेत बनाउन सफल भएका कैयन उदाहरणहरु हामीहरुले साक्षात्कार गरेका छौं । नेपालको सन्दर्भमा शिक्षाको सशक्त अग्रगमनका लागि देशमा आर्थिक विकास, राजनीतिक स्थिरता, राजनैतिक अहस्तक्षेप र विश्वसनीयताका साथै विद्यालयभित्र विशुद्ध शिक्षण सिकाइमा केन्द्रित रहनुपर्ने आवश्यकता टड्कारो रहेको छ । त्यसैगरी, युवाहरुलाई गुणस्तरीय शिक्षा तथा रोजगारीका अवसरहरू सिर्जना गर्ने र देशभित्र सुशासनको प्रत्याभूति गराउने गरी हामी सबैले आआफ्नो क्षेत्रबाट सहयोग पुर्याउन पनि त्यतिकै आवश्यक छ । शिक्षा व्यक्तिको आर्जित सम्पत्ति हो यसको पहिलो फाइदा व्यक्तिले नै प्राप्त गर्छ भने त्यसपछि समाज,देश र विश्वसमेत यसबाट लाभान्वित हुन्छ ।

यस्तो परिप्रेक्ष्यमा सिकारुले विषयवस्तुलाई राम्ररी केलाएर बुझ्न सकोस्, सिकेको कुरा व्यवहारिक जीवनमा लागू गर्न सकोस्,आफूलाई राम्ररी बुझ्न सकोस् र अरुलाई पनि । विश्व मानवता र एकताका लागि समझदारी बढाउन सकोस् । आजको शिक्षा व्यक्तिको चौतर्फी विकास तथा आपसी समझदारी र भ्रातृत्व (Education for Understanding)का लागि अझ बढी कामयाबी, उपयोगी र अग्रगामी बनोस् ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button