
नेपालज्ञाता नवराज लम्सालकृत झाेला बाहिरकाे ज्ञान
झोला बाहिरको ज्ञान : १० उदाहरण !
नवराज लम्साल
समाजको सबैतिर खराब मात्रै छ भन्ने भाष्य पनि गलत हो।गर्नेहरूले खुसुखुसु सकारात्मक र विकासात्मक कामहरू गरिरहेछन् । मूलत: शिक्षा क्षेत्रमा केही परिवर्तनहरू देखिएका छन्। परम्परागत रूपमा झोलाभित्र मात्रै कैद गरिएका ज्ञानहरु बिस्तारै झोला बाहिर आउन थालेका छन्।
हो, कतिपय विद्यालयहरूले विद्यार्थीहरूलाई घोकन्ते, रटन्ते बनाएका छन् र सुगाजस्ता बनाएका पनि छन् । परीक्षा दियो अब्बल, सफल तर जीवनमा असफल ।
जीवन कुनै एउटा सूत्रको बाटोमा मात्रै हिँड्दैन। झोलाभित्रको ज्ञानले मात्रै पुग्दैन । असल जीवन जिउनका लागि विद्यार्थीलाई झोला बाहिरको ज्ञान पनि सिकाउन जरुरी छ। यो कुरा धेरै विद्यालयले बुझेका छन् र व्यवहारमा लागु गर्ने कोसिस पनि गरेका छन्।
विद्यार्थीहरूलाई झोलामा मात्र सीमित नगरी झोलाबाट बाहिर निकालेका धेरै विद्यालयहरू छन् । तीमध्ये केही विद्यालयमा आफैँ पुग्ने अवसर मिल्यो।
केही उदाहरणहरू :
१. धनगढीको शिवनगरमा एउटा विद्यालय छ : चैतन्य पाठशाला !
चैतन्य पाठशालाले केही समयअघि सप्ताहव्यापी विद्यार्थी उत्सव मनायो। एकातिर पानसमा दीप बालेर कार्यक्रम उद्घाटन हुँदै थियो, त्यही समयमा हत्केला देखाएर सेन्सरले विद्युतीय बत्ती बलिरहेको थियो। उनीहरूले भने यो वेद र विज्ञान जोडेको !
केही विद्यार्थी योगको कक्षामा थिए, केही देउडा गाइरहेका थिए, नाचिरहेका थिए । केही कविता लेखिरहेका थिए, केही चित्र बनाइरहेका थिए । केही बजारमा आएका पुस्तकहरू पढेर सारांश शीर्षकको प्रतियोगितामा भाग लिइरहेका थिए, समालोचना प्रस्तुत गरिरहेका थिए । केही नाचिरहेका थिए र प्रमुख अतिथिलाई आफूसँगै नचाहिरहेका थिए। प्रत्येक हप्ता उनीहरूको विशेष हप्ता हुने रहेछ। प्रत्येक हप्ता विशेष अतिरिक्त क्रियाकलाप । गतवर्ष पनि गएको थिएँ, यसपटक दोहोरिएर प्रमुख अतिथि हुन पुग्दा उनीहरूले दैलोमै मलाई यसरी पक्रिए कि मानूँ उनीहरूलाई भेट्न उनीहरूका मामा आएका छन्।
२. नुवाकोटको बिदुरमा पृथ्वी मावि छ। यस विद्यालयले अनेकौँ अतिरिक्त क्रियाकलापका साथसाथै विद्यार्थीलाई दुना टपरी गाँस्न पनि सिकाउँछ। नृत्य, गीत, सङ्गीत, हाजिर जवाफजस्ता परम्परागत अतिरिक्त क्रियाकलाप बाहेक अभिभावक समेतलाई कार्यक्रमहरूमा सरिक गराउँछ र विद्यार्थीलाई नयाँ नयाँ सम्भावना सिकाउँछ ।
केही दिनअघि स्वर्ण महोत्सव मनाउँदा उसले भन्यो : हामी केटाकेटीलाई बाहिरको खाना खान दिँदैनौँ । स्वस्थ खाना र स्वस्थ शरीरले मात्रै स्वस्थ ज्ञान बढाउन सक्छ। महोत्सव चलिरहँदा भित्रपट्टि सेलरोटी पाकिरहेको थियो। तरकारी पाकिरहेको थियो र विद्यार्थीहरू अतिथिहरू सँगै बसेर त्यही सेल रोटी खाइरहेका थिए।
३. रूपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको जनता माविले केही दिनअघि विद्यार्थी साहित्य उत्सव गर्यो। विद्यार्थीहरू मञ्चमा बसेर अतिथिहरूसँग समूह छलफल गरिरहेका थिए। बाला दिनमा सिलो भात खान गएको सम्झना हुने गरी विद्यालय प्राङ्गणमा शिक्षक र विद्यार्थीहरू भएर खाना पकाइरहेका थिए। मञ्चमा विद्यार्थीको ज्ञानलाई समाजसेवा, आर्थिक उन्नति, उद्योगधन्दा, विज्ञान प्रविधि र पर्यावरणसँग जोडिँदै थियो। ती बहसमा विद्यार्थीहरू आफैँ सहभागी थिए।
४. संखुवासभाको खाँदबारीमा रहेको मनकामना रत्नअम्बिका माध्यमिक विद्यालयसँग १६ वटा विद्यालयको अघोषित मोर्चा रहेछ। १६ वटै विद्यालय मिलेर सामूहिक रुपमा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दा रहेछन्। राजधानीबाट कुनै विज्ञ वा विद्वान्लाई ल्याउँदा १६ वटै विद्यालयमा लान सकिन्न भनेर सामूहिक रूपमा एक उत्सव गरे। १६ वटै विद्यालयका विद्यार्थी प्रतिनिधिहरु उपस्थित भए, शिक्षकहरु उपस्थित भए र साहित्य उत्सव गरे । कवि अर्जुनबाबु दाहालको ‘हिँड्न बाँकी बाटाहरू’माथि सुन्दर अन्तरक्रिया मात्र भएन कवि, नाटककार पुरु लम्सालसमेतको सहयोगमा काठमाडौँबाट लगिएका पुस्तकहरूसमेत वितरण गरिए । राजधानीबाट गएका र स्थानीय स्रष्टाहरूसँग सँगै बहस चल्यो । विद्यार्थीलाई झोलाभन्दा बाहिर निकाल्ने कोसिस भयो ।
५. कैलालीको अत्तरिया स्थित सत्यवती एकेडेमीले अन्य धेरै कार्यक्रमहरूका अतिरिक्त सधैँ गरिरहने एउटा कार्यक्रम हो लेखकसँग विद्यार्थीहरूको अन्तरक्रिया । पुस्तक पढ्न दिने, प्रश्नहरू बनाउन सहयोग गर्ने र सम्बन्धित लेखकलाई बोलाएर विद्यार्थीहरूसँग घनिभूत छलफल गर्ने अभ्यास निरन्तर जारी छ । कुनै दिन अग्निमाथि तिनले सोधेका प्रश्नहरु सुनेर म हायल कायल भएको थिएँ ।
६. काठमाडौँको हात्तीगौडामा रहेको भक्ति इन्टरनेसनल र नेसनल युनाइटेड स्कुलले संयुक्त रुपमा सृजनशील कार्यक्रमको आयोजना गरे । दुवै विद्यालयका साहित्य अनुरागी विद्यार्थीहरूलाई एकै ठाउँमा भेला गरे । त्यसरी आउँदा उनीहररूले विभिन्न पुस्तकहरु पढेर आएका थिए र पुस्तक सम्बन्धी प्रश्नहरू गरे । कला, साहित्य, संस्कृति र त्यसले जीवनमा पार्ने प्रभावमाथि उनीहरूको गहिरो रुचि थियो। दुवै विद्यालयका प्र.अ.हरू आफैँ विद्यार्थीहरूको हारमा मिसिएर प्रश्नहरु गरिरहेका थिए।
७. ‘परमानन्द संस्कृत विद्यापीठम् तनहुँ’ले देवघाट धाममा काव्य सरिता आयोजना गर्यो । यो नियमित परम्परा हो तर यहाँ साँझ कार्यक्रम आयोजना गरेर रातभर विद्यार्थीहरुले कविता सुनाए । कविता केवल कविताका लागि मात्र थिएनन् । ज्ञान, जीवन, अध्यात्म, नाट्यकला, विज्ञान प्रविधि र समयलाई उनीहरुले सँगै मिसाएका थिए। संस्कृतका ती विद्यार्थीहरूले प्रविधिका सबै काम आफैँ गरेका थिए र एउटा भव्य नाटक मञ्चन गरेका थिए।
८. नमस्ते खोप टेलिभिजनको संयोजनमा भक्तपुरका विभिन्न विद्यालयहरूका बीच Speaker Bhaktapur कार्यक्रम आयोजना गरिएको थियो । विभिन्न विद्यालयका विद्यार्थीहरूलाई विभिन्न शीर्षकमा बोल्न लगाएर एक महिना लामो वक्तृत्व अभ्यास गरिएको थियो। त्यो वक्तृत्व बोल्नका लागि मात्रै थिएन। कसरी बोल्ने भनेर मात्रै थिएन, के बोल्ने भनेर पनि सिकाइएको थियो। अन्तिम चरणको फाइनल प्रतियोगितामा पुग्दा तिनको अभिव्यक्ति सुनेर म आफैँ हैरान भएको थिएँ।
९. ट्रिनिटी कलेजले एउटा भव्य कविता प्रतियोगिता आयोजना गरेको थियो। ३२ वटा विद्यालय/कलेजका कविहरू उपस्थित थिए। गद्य, पद्य र गीतिलयका कविताहरू वाचन गरिरहेका थिए। अङ्ग्रेजी भाषालाई मात्रै महत्व दिएर नेपाली भाषा बिर्सिएको आरोप लागेका कतिपय कलेजहरूका विद्यार्थी थिए ती । ती विद्यार्थीहरूले कविता मात्रै सुनाएनन्, कवितामा समय, समाज र देश लेखे। भाषा साहित्यको विकासतर्फ चासो राखे । तिनको नेपाली लेखाइ बोलाइ र बहसको सीमा आशा लाग्दो थियो।
१०. हिजो मात्रै एशिया प्यासिफिक स्कुलले अभिभावक दिवस मनायो। अभिभावक दिवस मनाउनु ठूलो कुरा थिएन तर उसले ‘बनौँ संस्कारी’ शीर्षकको पुस्तक सार्वजनिक गर्यो। प्रसिद्ध लेखक डा. राजु अधिकारीले लेख्नुभएको यो पुस्तक अभिभावकहरुलाई वितरण गर्यो । विद्यालयहरू कुनै पनि बहानामा बिल पठाउन र पैसा उठाउन हतार गर्छन् भन्ने आरोप लागिरहेको बेला विद्यालय आफैँले छापेका ती पुस्तक निःशुल्क वितरण गरिएका थिए र विद्यालयले अभिभावकहरूलाई भनेको थियो : यो पुस्तक अभिभावकहरूलाई हो। संस्कारी सन्तानका लागि बाबुआमा पनि संस्कारी हुन जरुरी छ। पहिला अभिभावकहरूले यो किताब पढ्नुस्। त्यसपछि हामी विद्यार्थीलाई यस्तै ज्ञान दिन्छौँ।
….
अब निर्धक्क भन्न सकिन्छ, समाजमा नकारात्मकता मात्रै छैन । सबै शिक्षक र विद्यार्थीहरू दलका कार्यकर्ता र तिनका भातृ संस्थाहरूमा मात्रै बाँधिएका छैनन्। सबै विद्यार्थीहरू सुगा मात्र भएका छैनन् सिजनशील पनि भएका छन् ।
तर अझै पनि अभिभावकहरूलाई भन्नुपरेको छ : कण्ठ पारेको घोकन्ते शैलीले परीक्षामा नम्बर जति ल्याए पनि त्यही नम्बरले मात्र जिन्दगीको परीक्षा उत्तीर्ण हुन सकिँदैन । विद्यार्थीलाई जीवन सिकाइदिनुहोस्। बाँच्न सिकाइदिनुस्। दुःख पनि छ भनेर सिकाइदिनुस्। दुख्न सिकाइदिनुहोस्। रुन सिकाइदिनुस् । मजाले रुन जान्ने मान्छे मात्रै आनन्दले हाँस्न सक्छ।
(लम्सालकाे फेसबुकबाट)