व्यवस्था वहसः बन्दुकको लाइसेन्स देखाएर बाघ भाग्दैन
हरिणको खुट्टामा लागेको गोली टाउको फोडेर निस्कियो
बालकृष्ण अर्याल
मणिग्राम
एकजना महाराजाले भारदारी सभामा घटना सुनाए । घटना यसप्रकार थियो । म जंगलमा सिकार खेल्दै थिएँ । मैले हरिणको खुट्टामा ताकेर हानेको गोली खुट्टा र टाउको फोडेर बाहिर निस्कियो । राजाको त्यो भनाइ भारदारी सभाले पत्याएन । तुरुन्तै राजाले मन्त्रीलाई प्रष्ट पार्न भने । राजाको भनाइ ठिक हो मन्त्रीले भने । हरिणको खुट्टाले टाउको कन्याइरहेको थियो । त्यसै मौकामा राजाले गोलि छोड्नु भयो त्यो गोली हरिणको खुरको बिचहुँदै टाउको फोडेर निस्कियो । केही समय पछि त्यस्तै भारदारी सभामा राजाले दोस्रो घटना सुनाए उनले भने मैले पोखरीमा हरिणको छायाँ देखेर गोलि हानेको डिल पल्तीर उभिएको त्यहि हरिणलाई लाग्यो र ढल्यो । यो कुरा अलि पत्यार लाग्दो भएर किनकी डिल पल्तिर उभिएको हरिणको छाया पोखरीमा देखिदैन फेरी गोलि हान्दा डिलले छेक्छ हरिणलाई लाग्दैन । भारदारी सभाका सदस्यहरु खासखुस गर्न थाले पछि राजाले मन्त्रीलाई प्रष्टाउन हुकुम दिए । मन्त्री बडो चलाख थियो उसले घटना अनुसार हरिण पछाडी ठूलो ढुङ्गो थियो त्यो ढुङ्गोमा गोली लागेर फर्केर हरिणलाई लाग्यो र हरिण म-र्यो भनेर कुरा मिलायो । सभाका मानिसहरुले चित्त बुझाए ।
केही समयपछि राजाले त्यस्तै सभामा अर्को घटना सुनाए । म सिकार खेल्दै गइरहेको थिएँ उताबाट बाघ आयो । मैले बन्दुकको लाइसेन्स देखाएँ बाघ फर्केर भाग्यो । यो सुनेर सभामा हल्लीखल्ली भयो यो हुनै सक्दैन लाइसेन्स देखेर बाघ भाग्दैन भने । राजाले प्रक्ष्ट पार्न मन्त्रीलाई आदेश दिए मन्त्री पनि आजित भै सकेको थियो कुरा मिलाउन सक्ने अवस्था थिएन र उसले राजातर्फ फर्केर भन्यो महाराज सभाका सदस्यहरुलाई चित्त बुझाउने मेरो सामर्थ छैन अगाडीको २ वटा घटनामा सकेसम्म मिलाउने प्रयास गरेको हूँ । झुठ बोल्ने पनि सिमा हुन्छ । जे भने पनि पत्याउने जमाना छैन । लाइसेन्स देखाएर बाघ भाग्दैन । यो कथा नेपालको सन्दर्भमा दाँजेर हेरौं । वि.स. २०१७ साल देखी २०४६ साल सम्म देशमा राजाको प्रत्यक्ष शासन थियो । पञ्चायती व्यवस्थामा दलहरूमाथि प्रतिबन्ध लागेको हूँदा निर्दलिय पञ्चायती व्यवस्थामा ससक्त प्रतिपक्षको अभावले देशको चौतर्फी विकास हुन नसकेको महसुस भई बहुदलिय व्यवस्था खातिर पटक पटक आन्दोलनहरु भए पश्चात अन्ततः २०४६ सालमा बहुदलिय प्रजातन्त्र पुर्नस्थापना भयो ।
बहुदलीय शासन व्यवस्था
प्रजातन्त्र पूर्व स्थापना पछि बनेको अन्तरिम सरकारले छोटो समयमा संविधान निर्माण गरि संसदिय निर्वाचन सम्पन्न भयो । अब जनताका आवश्यकता पूरा हुदै जानेछ भन्ने आसा पलायो । देश स्विजरल्याण्ड बनाउने सपना नेताहरुले बाँडे । हामिले होला भन्यौ ।
नीजिकरण
सरकारले उद्योग, व्यापार गर्ने होइन, चुस्त दुरुस्त छिटो छरितो प्रशासन, न्याय व्यवस्था, शान्ति सुरक्षा कायम गर्ने हो भनेर नीजिकरणलाई पश्रय दिईयो । सार्वजनिक संस्थानहरु निजीकरण गरिए, नीजिकरणमा प्रतिस्पर्धा हुन्छ, उत्पादन बढ्छ, लागत घट्छ, मून्य वृद्धि हुँदैन, रोजगारी सिर्जना हुन्छ भनियो जन्ताले पत्याए । नेपाली काँग्रेस, नेकपा एमालेको नेतृत्वमा गठन भएका सरकारहरुले नीजिकरणलाई निरन्तरता दिए नीजिकरणबाट जे अपेक्षा गरिएको थियो हुन सकेन । उद्योगधन्दा बन्द भए, थप रोजगारी सिर्जना हुन सकेन, उद्योग बन्दभएपछि वेरोजगारी बढ्यो, भ्रष्टाचार संस्थागत भयो, विकृति विसंगति शिक्षा, स्वास्थ्य नीजिकणले गर्दा महँगो भयो ।
माओवादी युद्ध
२०५२ सालबाट सुरु भएको माओवादी युद्धले सार्वजनिक, नीजि संरचना ध्वस्त भए मानिसहरु विस्थापित भए, असुरक्ष बढ्यो, लुटपाट आगजनीले विकराल रूप लियो र अन्त्यमा राजा हटाइयो र देशमा गणतन्त्र आयो ।
गणतन्त्रको उपहार
अरु देशले १०० वर्षमा गरेको हामीले १० वर्षमा गर्छौं भने जनताले पत्याए । संविधानसभाको चुनाव २ पटक सम्म गरेर समय थप गरेर ऊँट जस्तो संविधान गणतन्त्रले दियो । जातीय द्धन्दको निउ माओवादीले रोप्यो । आरक्षणको दुरुपयोग भयो । समानुपातिक पद आफ्नो परिवार, नाता कुटुम्वमा आसेपासेलाई बाँडियो पैसामा बिक्री भयो, चाकरी चापलुसीको वोलवाला भयो, वडा सदस्य हारेको व्यक्ति सांसद भयो । अपराधीलाई राजनीतिक रंग लगाई चोखाउने काम भयो, जति सुकै ठूलो अपराध गरे पनि चोखिने भयो, निमुखाले न्याय नपाउने भयो । देशमा युवा बस्ने वातावरण नै छैन । कार्यालयमा केही काम लिनु परेमा घुस बिना फाइल अगाडि बढ्दैन । हुँदा हुँदा भ्रष्टचारको हदम्याद ५ वर्ष राख्ने विधेयक ल्याउन हिम्मत नगर्नेले के नै बाँकि राखे होलान् र ?
कुन व्यवस्था राम्रो ?
कुन व्यवस्था राम्रो कुन नराम्रो भन्ने कुरा तुलना गरेर भल सकिन्छ । राजा भएका देशहरुमा पनि विकास भएको छ । राजा नभएका देशहरुमा पनि विकास भएको छ । हामीले सक्रिय राजतन्त्र, संवैधानिक राजतन्त्र र गणतन्त्र हे¥यौं तुलना गर्न सक्छौं । गणतन्त्र आएपछिका उपलब्धीहरु के के हुन् यसले यहाँको सामाजिक, सांस्कृतिक, धार्मिक, राजनैतिक, शैक्षिक क्षेत्रसम के कति योगदान दिन सक्यो । स्वतन्त्रता कस्तो छ ? राजनैतिक दलहरूको चरित्र, कृयाकलाप, कार्यकर्ताहरुको आवरण, नैतिकता, इमान्दारीता कस्तो छ, वैदेशिक ऋण, अनुदान कति थप भयो, उपलब्धिको तुलना कस्तो छ, कर बढेको छ या घटेको छ, विकास निर्माण कस्तो छ ? राष्ट्रिय सम्पत्तिको अवस्था कस्तो छ, सरकारले जनताको भावना अनुसार काम गरेको छ कि छैन, मनन गरौं । देशको माटो हातमा लिएर सोचौं, छातीमा हात राखेर निश्कर्ष निकालौ ।
हाम्रा नेताहरु
सत्तामा रहदा एउटा विचार सरकाबाट बाहिर अर्कोविचार २ जिब्रे चरित्र MCC मा देखियो । संसद्मा उपस्चित हुने तटस्थ रहने प्रकृति दोहोरो भूमिका निर्वाह गरेको पाइयो । नेपालको चुच्चे नक्सा पास गर्ने कार्यान्वयनमा दृढता नदेखाउने ।
जनजिवीकाको बारेमा संसदमा छलफल हुनु पर्नेमा सत्ता समिकरण गणितिय खेलमै सरकार अल्झन्छ । कहिले को कहिलेको संग गठबन्धन गरि पालै पालो बाँडीचुडी खाने, अपराध लुकाउने र जनतालाई ढाँट्ने काम भएको छन् । अहिले संविधान संसोधन गर्न यो गठबन्धन गरेको भनेर अलमल्याउन खोजिदै छ । संविधमन त संशोधन गर्लान् तर आफ्नो आफ्नो पार्टीको हित हुने देशको हित नहुने गरी केही धारा थप हुनेछ ।
जनताको संविधान संशोधनप्रतिको चासो
जन स्तरबाट संविधान संसोधन हुनुपर्छ भन्ने चासो उठेको छ । यो संघियता खर्चिलो भयो देशले धान्न सक्दैन भन्नेदेश प्रेमी जनताहरुको धारणा छ । देशको हीतमा संविधान संशोधन गर्न निम्नलिखित बुँदाहरुलाई ध्यान दिनु पर्छ ।
१. स्थानिय निर्वाचन दल विहिन हुनुपर्ने ।
२. प्रदेश संरचना खारेज गर्ने र उत्तर दक्षिण मिलाई विकाशक्षेत्र कायम गर्ने । प्रदेश सांसद, मन्त्रि हटाउने । यो प्रदेश संरचनाले देश टुक्रिन सक्ने खतरा ।
३. समानुपातिक सांसद सङ्ख्या विशेष आरक्षणको परिभाषित गरी १० मा सिमीत गर्ने र निर्वाचित सांसद सङ्ख्या २०५ गराउने ।
४. प्रत्येक निर्वाचित कार्यकारी प्रधानमन्त्रिको व्यवस्था गर्ने । यसले गणीतीय खेल बन्द हुनेछ ।
५. विज्ञहरुलाई मन्त्रालयको जिम्मा दिने, सांसदको काम ऐन बनाउने मात्र ।
५. मितव्ययितालाई मध्यनजर गर्दै ठिक व्यक्ति ठिक ठाउँमा पदस्थापन गर्नु पर्ने । भागबन्डाको राजनैतिक नियुक्ति बन्द गर्ने ।
६. राष्ट्रिय जीवनमा योगदान पु¥याएका विभिन्न व्यक्तिहरुमध्येबाट २५ जनाको राष्ट्रिय सभा गठन गर्ने ।
उपरोक्त बुँदाहरुले देशको हीतमा छन् तर यसमा यो गठबन्धनले ध्यान दिदैनन् । किनकी प्रदेश संरचना दोस्रो तहका नेताहरुलाई व्यवस्थापनको रुपमा प्रयोग भएको छ । समानुपातिकमा आफ्नो मान्छेलाई पद बाँड्न पाइयो ।
अन्त्यमा
थोरै आर्थिक व्ययले पनि सासन दिन सकिन्छ भन्ने कुरा खीलराज रेग्मीको नेतृत्वमा गठित मन्त्रिमण्डलले गरेका कामहरुबाट स्पष्ट हुन्छ । १० जनाको मन्त्रिमण्डलले थोरै समयमा धेरै उपलब्धि हासिल गरेको थियो । २०४६ साल पछि पटक पटक नेतृत्व गरेका दलहरुको परीक्षा सकिएका छन् । समय बलवान छ बेलैमा बुद्धि पु¥याए वेस होला । लाइसेन्स देखाएर बाघ भाग्दैन भन्नेकुरा जनताले दुवाध्य बुझिसकेका छन् ।
चुनावका बेला दलहरुले बाँडेको सपना हामिले पत्याएकै हो । भाषण गर्ने कला भएका नेताहरूले जनतालाई लट्ठ पारेकै हुन् । त्यसैले त जनताले दःुख पाएकाछन् । चप्पले नेताहरु अकुत संम्पतिको मालिक बनेका छन् । पटक पटर जन्ता झुक्किए अब अलि सचेत हुँदैछन् ।
२०४८ सालमा नेपाली काङ्ग्रेसले स्विट्जरलेण्ड बनाउनु छ भनेको कुरा, २०५१ र २०५६ सालमा एमालेले दासढुङ्गाको बारेमा गरेको प्रचार र नारा गणतन्त्र आएपछि माओवादीले १०० वर्षको काम १० वर्षमा गर्ने भनेको र पछिल्लो चुनावमा केपी ओलीको रेल, पानीजहाज, ग्याँस पाइपलाई मतदाताले विश्वास गरेका हुन् । नक्कली जोगीले बढी खरानी घस्छ भन्ने चरितार्थ प्रमाणित भए जस्तो लाग्यो ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)