खुसीको उच्चतम उपहार हो यो लेख

परदेश

डा. विष्णुबहादुर जी.सी.

अस्ट्रेलियाको लागि छ महिनाअघि हवाई टिकट खरिद गरेदेखि छोराछोरीहरूको भौतिक सामिप्यताको अपेक्षा झन्झन तीव्र हुँदै आएको अवस्थापछिको पारिवारिक पुनर्मिलन र यसलाई मलजल गर्ने उपयुक्त वातावरणले दिएको खुसीको उच्चतम उपहार हो यो लेख । त्यसैले अनुभूत गरिएको खुसीले विश्राम नगर्दै लेखन कार्यमा आफूलाई जुट्ने जुटाउने प्रयास भएको छ । आज नेपालबाट अस्ट्रेलियाको लागि प्रस्थान गरेको पाँचौं दिन र यहाँ आइपुगेको चौथो दिनको सुखद बिहानीसँगै प्रयास र प्रसङ्ग मिलेको छ, परदेश विषयमा शब्दारोहण गर्नका लागि ।

हाम्रो काठमाडौँदेखि सिडनीसम्मको क्याथे प्यासिफिक सिएक्स ६४० को उडान काठमाडौँमै करिब ३ घण्टाले ढिला भयो । सोही कारणले हङकङबाट उड्ने क्याथे प्यासिफिक सिएक्स १३९ को उडान समाउन सकिन्छ सकिँदैन भनेर हामीहरुलाई डर लागेको थियो । तर हङकङमा क्याथे प्यासिफिकका कर्मचारीहरूले ट्रान्जिट लाउन्जमा नलगी सिधै हामी उड्ने गेटसम्म पुर्याएपछि हाम्रो यात्राले सुविधापूर्वक निरन्तरता पाउन सक्यो । हामीहरु तोकिएकै समय अर्थात् सिडनी समय ८.१० बजे बेलुकी सिडनी एयरपोर्टमा उत्रियौ । सामान कलेक्सन गरेर हामीहरु बाहिर निस्कियौँ । त्यसैगरी जति सक्यो चाँडो हाम्रो छोरा बुहारीहरुलाई भेट्ने अभिलाषा पनि क्षणभरमा पुरा भयो ।

अस्ट्रेलियनहरूको उचाइसँग मिल्दाजुल्दा तर वर्ण अलिक फरक अर्थात् गहुँगोरो वर्णका हाम्रा छोराहरूलाई सिडनी इन्टरनेसनल एयरपोर्टको अराइभल सेक्सनमा हामीहरुले टाढैदेखि सजिलरी पहिचान गर्यौ । अनि एक निमेशमा एकअर्कामा अंकमाल गर्दै खुसीको आदानप्रदान गरियो । सामानहरूसहित हामीहरु लिफ्टबाट आठौं तला पुग्यौं । हाम्रो सामान र हामीलाई बोक्ने जीप यही पार्क गरिएको थियो । अब सामानहरू र हामीहरु गाडीमा चढिसकेपछि हाम्रो गाडी घरतर्फ मोडियो । कुराकानीकै प्रसङ्गमा हामीलाई थाहा भयो कि बुहारीहरूले घरमा खाना तयार गरिरहेकाले एयरपोर्ट नआएका रहेछन् । घरमा हामीहरूलाई पर्खिरहेका बुहारीहरूसँगको भेटघाट र उनीहरूको आँखा र अनुहारमा देखिएको खुसीले हामीहरु अझ आनन्दित बन्न पुग्यौँ ।

कान्छो छोरा र बुहारी हिजो आफ्नो कर्मथलो अरेन्जमा फर्केपछि र आज ठुलो छोरा र बुहारीलाई पनि आआफ्नो कामका लागि बिदा गरेपछि फुर्सद माथिको फुर्सदिलो समयमा प्रकृतिसँग रमाउन पाएका छौं ।

यो मौसम नेपालमा गर्मीको अन्त र जाडोको सुरुवातको बीचको एउटा अन्तराल अर्थात् अत्यन्त रमणीय मौसम हो भने अस्ट्रेलियामा ठिक नेपालको मौसमको विपरीत तर दुईवटा मौसमको मिलनको समय (सन्तुलित बिन्दु) हो । वास्तवमा सन्तुलित विन्दु हरेक क्षेत्र, विषयमा मननयोग्य /राम्रो मानिन्छ; जाडोपछिको गर्मी समय आगमनको पर्खाई भएकाले अस्ट्रेलियामा पनि यो समयलाई रमणीय मौसमको रुपमा लिने गरिन्छ ।

प्रकृति भगवानको वरदान हो । यसमा संसार अटेको छ । प्राणीहरू संरक्षित भएका छन् र आनन्दित छन् । प्रकृतिका धेरै रमाइला क्षणहरूको सम्झनासँगै आजको बिहानी क्षणले बचपन कालका कैयन सुखद क्षणहरू, स्वदेश तथा विदेशमा घुम्दा डुल्दा वा पहाड हिमाल मधेसका दृश्यहरूको सम्झनाले दिएको मानसिक सन्तुष्टिलाई वर्तमान दृश्यको पारस्पारिक सम्बन्धलाई एक ठाउँमा उभ्याउने कोसिसको बावजुद धेरै विद्वानहरुले र मनोविज्ञानबेत्ताहरूले भूत र भविष्यलाई सम्झेर वर्तमानलाई नबिर्सिन सल्लाह दिएजस्तै वर्तमानमा घोतलिने अभिप्राय अग्रस्थानमा रह्यो ।

२०-२५ जना मान्छेहरू अट्ने ठूलो बैठक कोठामा झ्याल ढोकाहरू बन्दछन् । कोठा बाहिर शीतल हावा चलिरहेको आभास हुन्छ/ देखिन्छ । सिसाबाट बाहिर आफ्नो दृष्टि पुग्ने ठाउँसम्म सबैतिर हरियाली देखिन्छ । केही पर बाटोको अर्को पट्टिका घरहरूको पछाडि अग्ला अग्ला निलगिरी (Ecalyptus) रुखहरू छन् र ती रूखका हाँगाहरु बेजोडले पिङ खेलिरहेका छन् । लाग्छ यिनीहरु कुनै बेला घर तथा गुडिरहेका गाडीमाथि बज्रन पुग्छन् तर तिनीहरूले अहिलेसम्म कसैलाई नोक्सान पुराएका छैनन् । बरु प्राणी पशुपंक्षीहरूलाई बास र सास दिई प्राण भर्ने काम गरेका छन् । म एकैछिनमा बैठक कोठाबाट सयनकक्ष तर्फलाग्छु । यो कक्षको छेवैबाट गुडिरहने विद्युतीय ट्रेनले घर छिमेकलाई कुनै असुविधा बनाएको छैन बरु केही कौतलता, केही फरक परिदृश्यको अवलोकन गर्ने अवसर थपेको छ र यातायातको सुविधामा सहज बनेको छ ।

सिडनी सहरमा प्रवेश गरेदेखि यस्तै यस्तै थुप्रै थुप्रै संरचनाहरू, हरियाली, सुन्दर पार्कहरू, पुलहरू, व्यवस्थित बाटाघाटाहरु, वातावरण, मानिसहरूमा देखिने अनुशासन, व्यवस्थापन र समग्र प्रणालीले मलाई त्यत्तिकै प्रभावित पारेका छन् यद्यपि अस्ट्रेलिया भ्रमण मेरो लागि पहिलोपटक भने होइन । सायद नेपालमा पनि यस्तै यस्तै भइदिएको भए आदि इत्यादि । अनि नहुनुपर्ने अथवा योभन्दा पनि असल र राम्रो हुनका लागि के कुराले बाधा पुर्‍याएको होला; म अनुत्तरित हुन्छु । तर आशा र अपेक्षा भने जीवितै रहन्छन् यद्यपि २०७९ सालमा प्रकाशित अतृप्त अवसर पुस्तकका लेखक स्वर्णिम वाग्लेले “के नेपाल धनी नहुँदै बुढो हुनेवाला छ ?” भन्ने लेखमा सर्वोच्च अदालतलगायत न्यायालयभित्रको विकृति, संसदको अकर्मन्यता, सबै संवैधानिक अङ्गहरूमा आसेपासेको नियुक्ति, सार्वजनिक पदहरूको बिक्री साथै संघीयता कार्यान्वयनपछि नेपालको कुल बजेट घाटा र ऋणमा उल्लेख्य वृद्धि जस्ता दृष्टान्तहरू पढ्दा आशाको झिल्को पिल पिलाउन थाल्छ ।

यसैबीच म कतै काल्पनिक संसारमा विचरण गर्दै त छैन भनेर प्रश्न पनि उठाउँछु र सोच्छु यो क्षण त म वास्तविक संसारिक अनुभव नै गर्दैछु । म धरातलीय अनुभव नै गर्दैछु । यो क्षणमा परदेशमा छु त के फरक पर्यो, समय र खुसी त मेरो हो नि । चियाको चुस्कीसँगै आनन्दित मेरो मनलाई छोराछोरीहरूको सामिप्यता, सहजताले अझ लालहित बनाएको छ । खुसीमाथिको खुसी यहाँको विशेषता भनेको छ मेरो लागि । परदेश शब्दले मातृभूमि भन्दा टाढाको ठाउँ/ भूमि/ देश भन्ने बुझाउँछ तर मेरो सोचाइ र मानसिकतामा भौतिक भिन्नताबाहेक मानसिक भिन्नतामा फरक परेको छैन । केही दिनका लागि नै किन नहोस् मैले सुखद अनुभूतिलाई आत्मासात गर्न सकेको छु । जीवनको अभिन्न र अमूल्य समय को अनुभूत गर्दैछु, यो क्षणमा, आजको दिनमा ।

खुसीलाई एक क्षणिक भावना वा भावना अनुभवको रूपमा पनि बुझ्ने गरिन्छ । साथै यो लामो समयसम्म टिक्न सक्दैन भन्ने पनि गरिन्छ । तर अस्ट्रेलियामा बिताइएका यी केही दिनले खुसीको नयाँ दृष्टिकोण बुझ्ने मौका दिएको छ । परदेशी भूमिमा, प्रकृतिको बीचमा, आफ्ना छोराछोरीहरूको सामिप्यतामा मैले महसुस गरें कि बाहिरी परिस्थितिले भन्दा हाम्रो ती परिस्थितिहरूप्रतिको दृष्टिकोणले खुसीको अनुभवलाई निर्धारण गर्दो रहेछ ।

मैले खुसीलाई धेरै जसो कुनै विशेष उपलब्धिहरूसँग जोडेर हेर्ने गर्थें—व्यक्तिगत वा व्यावसायिक सफलता । मलाई लाग्थ्यो, चाहनाहरूको परिपूर्ति भएपछि मात्र साँचो खुसी प्राप्त हुन्छ । तर अहिले, यो क्षणमा—अस्ट्रेलियाको सुन्दर परिवेशमा—मलाई राम्रोसँग महसुस भयो कि खुसीको अर्थ गन्तव्यमा पुग्नु मात्र होइन, बरु यो यात्रा आफैंमा निहित हुने रहेछ । साना कुराहरूमा—जस्तै युकेलिप्टसका रुखहरूमा हावाको सुसाइ, परिवारको न्यानो अँगालोमा एक किसिमको गहिरो खुसी भेटिन्छ । खुसी शान्त, सुन्दर, सचेतन र कृतज्ञतामा आधारित हुने रहेछ ।

साँचो खुसी अब मैले बुझ्न थालेको छु कि यो स्थायित्वमा वा पूर्णतामा आधारित हुँदैन । यो स्वीकृतिमा आधारित हुन्छ— वर्तमानलाई जस्तो छ, त्यसै रूपमा स्वीकार्न र त्यसैमा आनन्द लिन सक्नुपर्छ । खुसीलाई दौडेर पछ्याउनुपर्दैन, यो हामी वरिपरि छ, प्रतीक्षा गरिरहेको छ कि हामीले त्यसलाई महसुस गरौं । चियाको चुस्कीसँगै बाहिरको हरियालीको दृश्यले मलाई अहिलेको क्षणमा एउटा शान्त र खुसी अनुभव गराएको छ । यो कुनै बाहिरी सफलता वा भविष्यको आशासँग जोडिएको छैन; भित्री रूपमा आएको खुसी हो, यो —”गराइ” भन्दा “हुन” मा केन्द्रित ।

यो अनुभूति गर्दाको क्षणमा म Art of Living का संस्थापक/ जन्मदाता गुरु रविदेवको शिक्षा/उपदेश पनि सम्झन्छु । उहाँले भन्नुभएको छ, जब हामी, आफ्नो वरिपरि अनौपचारिक दृष्टिकोण र मैत्रीपूर्ण वातावरण सिर्जना गर्छौं, हामीले तनाव वा मनुटावलाई सहज बनाउन सक्दछौँ । “When we create an informal outlook and cordial environment around us, we grease the friction”.

यो क्षणमा म देश-परदेश शब्दमा मतभेद राख्नुभन्दा मतएकतालाई महत्व दिँदै फक्रेको खुसी अझ फक्रिन पाओस् यसमा कुनै किसिमको नैरस्यताले ठाउँ नपाओस् भन्ने चाहा राखेको छु ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button