
कहाँ छ खुसी ?
डा. विष्णुबहादुर जी.सी.
खुसी सबैलाई मनपर्छ; बच्चादेखि बुढाबुढीसम्म । बच्चाहरू जन्मनासाथ चिच्याउँछन् रुन्छन् । सम्भवत आमाको गर्भबाट पृथ्वीलोकमा अकस्मात पदार्पण गर्दा उनीहरुले पाउने वातावरण नयाँ र फरक हुँदा अचम्भित हुन्छन् होला र सहाराको लागि पनि उनीहरु चिच्याउने रुने गरेका होलान्/हुन सक्छन् । तर जब समय बित्दै जान्छ आमा र अरु सबैको सामिप्यता र ममता पाउँदा उनीहरू लालयित हुन्छन् अनि हाँस्ने खुसी हुने गर्दछन् । यहाँनेर आमाबाबु परिवार र आफन्तहरूले बच्चाको खुसीको लागि सहयोगी बनेका हुन्छन् । अब त्यही बच्चा जीवनका अनेक आरोह अवरोह पार गर्दै छोराछोरीको आमा/बाउ बन्न पुग्छ । उसले आफ्ना छोराछोरीहरूको सामिप्यता र अपूर्व स्नेहको अनुभव गर्दै एकदिन आफ्नो बुढ्यौली अवस्थामा प्रवेश गर्दछ । त्यो बेला पनि ऊ खुसीको लागि लालयित हुन्छ । सफलता, चाहेको विषयवस्तु प्राप्त गर्दा, छोराछोरी, परिवार, आफन्त, इष्टमित्रको सामिप्यता र हौसला पाउँदा उसले आफूलाई गौरव सम्झन्छ अनि खुसीको महसुस गर्छ जुन कुरा हामीहरुले मानिसको अनुहार र व्यवहारबाट केही अनुमान गर्न सक्छौँ ।
मानव जीवनका लागि खुसी यति धेरै महत्व हुँदाहुँदै पनि मानिसहरू खुसीसाथ जीवनयापन गर्न सकेका छन् छैनन् । खुसी छन् भने पनि के कति खुसी छन् । खुसी के हो खुसी कसरी प्राप्त गर्ने भन्ने प्रश्न हामी सबैको लागि आवश्यक र रहस्यमय नै छ । यो जटिल प्रश्न मेरो दिमागमा पहिलेदेखि नै नआएको होइन । तर यो पटक मैले प्रश्नलाई थोरै कोट्याउने, लिपिबद्ध गर्ने जमर्को मात्र गरेको छु,यो सानो लेखमा । यो लेखमार्फत खुसी बुझ्ने मेरो व्याकुलता अन्योलता अनि जिज्ञासालाई चिरफार गर्न मद्दत पुग्ला भन्ने लालसा बोकेको छु भने पाठकहरुलाई दैनिक सुखदुखलाई व्यवस्थापन गर्न थोरै सहयोग पुग्न सक्ने आशा पनि राखेको छु । लेखको पेट बोलीमा खुसी के हो अरुबाट प्राप्त हुने खुसी आफ्नो खुसी आदि विषयमा छलफल गर्दै अन्तमा पंक्तिकारका आफ्ना तरङ्गहरूको बीचमा लेखको बिट मारिएको छ ।
खुसी के हो खुसी कस्तो हुन्छ भन्ने जटिल प्रश्न उठान त गरे तर यसको व्यवस्थापन कसरी गर्ने भनेर मलाई हम्मेहम्मे परेको छ हुटीट्याउले आकाश थाम्ने भनेजस्तै । त्यसैले मबाट मात्र यो विषय पार लाग्ने नदेखेकाले मैले अरुको अनुभव,अभिनय र विद्धता उधारो लिने बाटो रोजेको छु । सर्वप्रथम बलिउडको प्रख्यात फिल्म “कभी खुसी कभी गम” को कुरा कोट्याउने अनुमति मागे । यो फिल्म मैले धेरै पहिले हेरेको थिएँ । फिल्मका नायक अमिताभ बच्चनले खुसीलाई परम्परा, आदर, पारिवारिक सम्बन्ध सँग जोडेका छन् भने नायिका जया बच्चनले पारिवारिक एकतालाई महत्व दिएकी छिन् । तर यसको उल्टो छोराको भूमिका खेलेका शाहरुख खानले प्रेमको सुरुवात सँगै प्रेमिकाको साथलाई खुसीको रुपमा लिएका छन् । खुसी पुस्तकका लेखक विजयकुमारले असहाय दुःखीलाई सहयोग गर्नु/ गर्न सक्नुलाई खुसीको संज्ञा दिएका छन् ।”जोसित जे छ. जति सकिन्छ त्यही सेयर गर्ने कुरा नै खुसीको शिखर बिन्दु हो”। त्यही पुस्तकमा उनी भन्छन् “शारीरिक स्वास्थ्यसँगै मानसिक स्वास्थ्य, सामाजिक स्वास्थ्य र आध्यात्मिक स्वास्थ्यको संयोजनले मात्र साँचो अर्थको खुसी दिन सक्छ”। धर्मगुरु दलाइ लामाले अरुप्रति करुणाभाव हुनु र उनीहरूसँग राम्रो सम्बन्ध कायम राख्नु नै खुसीको शिखरविन्दु हो भनेका छन् । आधुनिक युगका मनोवैज्ञानिक अब्राहम मास्लोले तहगत श्रृङ्खला (सिडी) को सिद्धान्तमा आत्मसन्तुष्टि (Need for self-satisfaction) लाई अन्तिम सन्तुष्टि भनेका छन् । गीतामा आत्मसुखको चर्चा गरिएको छ ।”आत्मसुखले दुःखलाई नाश गरिदिन्छ”। “जो भित्रैबाट सुखको अनुभव गर्छ । जो आत्मामा नै रमाउँछ र आत्मा नै प्रकाशमान छ । त्यही योगी ब्रह्मस्वरूप भएर यही जीवनमा नै ब्रह्मानन्द पाउँछ”।
माथि उल्लेखित पात्रहरू,लेखक, मनोवैज्ञानिक,धर्मगुरु,गीतामृतका अनुसार परिवार,माया,ममता, सानिध्यता,सम्बन्ध,करुणा, आत्मानुभव, कसैसँग केही बाँड्चुड गर्न सक्नु लाई खुसीसँग जोडिएको छ । यसको अलावा मानिसहरूको व्यवहार बोलीचालीमा वातावरण, सफलता, उपलब्धि,प्राप्ति,रङ्गमञ्च आदिलाई पनि खुसी को संज्ञा दिएको पाइन्छ । यसर्थ, खुसीको परिभाषाका लागि दुई चार शब्द वा दुईचार वाक्य पर्याप्त नहुन सक्छन् । खुसी मानिसको प्रयासको प्रतिफल हो कि ईश्वरीय वरदान हो । र यसको स्वरूप टिकाउ हुन्छ कि क्षणिक आदि इत्यादि प्रश्न पनि हामीहरु बीच छलफलमा नआएका होइनन्, त्यसैले यस विषयले पनि चर्चा पाउनु सान्दर्भिक सम्झेको छु । यो बेला मलाई डाक्टर जोसेफ मुरेको “The Power of your subconscious mind” पुस्तकको सम्झना आयो । त्यस पुस्तकमा उहाँले अवचेतन दिमाग र खुसी विषयमा लेख्नुभएको दुई चार लाइन यहाँ प्रस्तुत गर्न चाहन्छु । उहाँले भन्नुभएको छ “True and lasting happiness will come into your life the day you realize you overcome any weakness”. उहाँले अगाडि भन्नुहुन्छ “Choose right action, success, love and happiness”. यसबाट के बुझिन्छ भने धेरै हदसम्म खुसी आफैले प्राप्त गर्न सकिन्छ । त्यसो भए खुसी क्षणिक वा टिकाउ? डाक्टर मुरेको अनुसार खुसी टिकाउ पनि देखियो; आफ्नै नियन्त्रणमा भएकाले । तर अर्कोतर्फ कसैको लागि खुसीको अनुभव क्षणिक भएको पनि पाइएको छ ।
मैले धेरै पहिले एकजना विदेशी हिमाल आरोहीको कथा पढेको थिए । उहाँ भन्नुहुन्छ सगरमाथा आरोहणको लागि उहाँले जीवनको पहिलो कमाइदेखि रकम संकलन गर्न सुरु गर्नुभयो । र खर्च पुग्ने भएपछि सगरमाथा आरोहणको लागि नेपाल आउनुभयो र आफ्नो अभियान अगाडि बढाउनुभयो । धेरै प्रयासपछि सागरमाथाको टुप्पोमा पुग्न पनि सफल हुनुभयो । तर सागरमाथाको टुप्पोमा पुग्दा उहाँले आफूलाई एक्लो, फगत एक्लो महसुस गर्नुभयो । उहाँले आफ्नो खुसी कसैसँग बाँड्न सक्नुभएन । त्यो बेला अहिले जस्तो सञ्चारको सुविधा पनि थिएन । उहाँले जे जति खुसीको कल्पना गर्नुभएको थियो त्यो प्राप्त हुन नसकेको उहाँको लेखबाट बुझ्न सकिन्थ्यो ।
मेरो जीवनमा पनि धेरै खुसीहरू आए अनि दुःख पनि । स्कुलमा पढ्दा अनि पुरस्कार बोकेर घरमा आउँदाको खुसी, दशैं तिहार मेलापर्व, इष्टमित्रहरूसँगको भेटघाटले ल्याएका खुसीहरु, उच्च शिक्षाको लागि काठमाडौँ आउन पाउँदाको उत्कट इच्छा र खुसी, परीक्षाहरु पास गर्दाको खुसी, जागिर खाँदाको खुसी, आफूले चाहे जस्तो सहयात्री पाउँदाको खुसी र सन्तान प्राप्ति र उनीहरूको हुर्काई, उन्नति,समृद्धिसँग जोडिएको खुसी, उनीहरूको अपूर्व माया ममता र व्यवहारबाट लालयित भएको अवस्था, उनीहरूले छानेका रोजेका जीवन साथीहरूको साक्षात्कार गर्ने अवसरले ल्याएको खुसी, त्यसैगरी भाइबहिनीहरू, इष्टमित्रहरूको माया ममताको कारण प्राप्त अनगिन्ती खुसीहरूको लिस्ट धेरै नै लामो छ । त्यसैले यस्तो जीवन प्रदान गर्ने आमाबाबु भगवानप्रति धन्य रहेको छु । अर्कोतर्फ म खुसीको पछिपछि दौडिरहेको पनि पाउने गर्दछु कहिलेकाहीँ, यद्यपि यो एउटा मृग तृष्णा (Mirage) मै सीमित रहेको पनि पाएको छु । मृगतिष्णा पनि एउटा कल्पना हो । यसले मानिसलाई सान्त्वना, भविष्यप्रति आशावादी र तत्काल खुसीको ढाडस प्रदान गर्छ भन्ने मेरो अनुभव छ ।
माथि भएका सबै छलफलहरूलाई समेत मध्यनजर राख्दा खुसीको व्यापकता अझ फराकिलो- समेट्नै नसक्ने फराकिलो रहेछ जस्तो लाग्यो । खुसी बहुमूल्य रहेछ । प्रत्येक व्यक्तिको लागि खुसी फरकफरक रहेछ । Room to Read संस्थाका संस्थापक John Wood ले माइक्रोसफ्ट कम्पनीको माथिल्लो तहको जागिर र परिवारलाई छोडेर नेपालका विद्यालयहरूमा लाइब्रेरी विकास गर्ने काममा खुसी पाए । खुसी अथाह, अनाकार रहेछ । जीवन काँडा कि फूल की लेखिका झमक घिमिरेले लेख्नको लागि कापी पाउँदा र भुइँको धुलोमा क लेख्न पाउँदा को खुसी सायद अरु कसैले अनुभव गरेको होला यद्यपि यो खुसीमा साथ दिने उनीसँग कोही थिएन । यो खुसी उनको दुःख पीडापछिको खुसी हो ।
खुसी हुनको लागि अनुकूल वातावरणको अवस्था रहनु राम्रो हो । तर स्वयं व्यक्तिबाट प्रखरित हुने, अनुभव गर्ने खुसी नै स्वभाविक, व्यवहारिक, प्रभावकारी र टिकाउ रहने मेरो बुझाइ रह्यो । त्यसैले व्यक्तिको आन्तरिक शान्ति, समृद्धि र सन्तुष्टि नै खुसी हो । व्यक्तिको अन्तरात्मा खुसीको प्रमुख स्रोत हो । मृगले आफूभित्र रहेको कस्तुरीको खोजीमा भौतारी रहेजस्तै हामी पनि कतै खुसीको खोजीमा अलमलिरहेका त छैनौं? त्यसैले खुसी स्वयं निर्देशित, नियन्त्रित तथा परिभाषित समेत हुने भएकाले र यसलाई आत्मसात गर्न सकेमा व्यक्तिको मानसिक, शारीरिक, सामाजिक र सर्वाङ्गिण विकासमा समेत मद्दत पुग्ने भएकाले सबैको चेष्टा पुगोस् । सर्वे भवन्तु सुखिन ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)


