म स्वतन्त्र नागरिक !

डा. विष्णुबहादुर जी.सी.

विषय प्रवेश

मानव जाति मात्र नभएर हरेक प्राणी पशुपंक्षी स्वतन्त्र रूपमा बाँच्न, विचरण गर्न र रमाउन चाहन्छन् । प्राणी मात्रको यो सर्वमान्य स्वभावको उपभोग गर्न स्वयंबाट र बाहिरी वातावरणबाट सुरक्षित एवं संरक्षित हुन आवश्यक छ । यो गुण र स्वभावलाई कोही कसैबाट कुनै कारणले उपभोग गर्नबाट वञ्चित गर्नु अस्वभाविक एवं प्रकृतिप्रदत्त अधिकारको हनन गर्नु हो । यो लेख भने स्वतन्त्र नागरिकको शीर्षकबाट निर्देशित भएकाले मानव जातिको स्वतन्त्रताको विषयमा मात्र चर्चा परिचर्चा गरिएको छ । यो लेखमा तथ्यका आधारहरू भन्दा मेरो आफ्नो अन्तरमनको विश्लेषणलाई विशेष उजागर गर्न खोजेको छु । त्यसैले यो लेखलाई एउटा छलफलको विषयको रुपमा लिन उपयुक्त हुनेछ । स्वतन्त्र स्वतन्त्रतालाई अलिक गहिरो तहसम्म बुझ्ने प्रयास पनि भएको छ । स्वतन्त्र नागरिक शब्दको व्याख्या आआफ्नै किसिमको हुनसक्छ र यसको क्षेत्र पनि असीमित हुन सक्छ । म स्वयम् स्वतन्त्र नागरिकको लागि के कति हैसियत राख्दछु के कति प्रयासरत छु ? त्यसैले मेरो परिवेश र मैले बुझ्ने क्षमता साथै यो लेखको कार्यक्षेत्रलाई समेत मध्यनजर राखेर लेख तयार भएको छ । साथमा संवैधानिक विकास, शिक्षाको भूमिका, नेपालको परिवेश, जनआकांक्षा विशेषगरी नयाँ पिढीको सोचाई भोगाईलाई समेट्दै स्वतन्त्र उन्मुख स्वाभिमानी नागरिकको परिकल्पनाका साथ लेखको अन्त भएको छ ।

स्वतन्त्रता र स्वतन्त्र
स्वतन्त्रता र स्वतन्त्र दुई अलग तर परस्पर सम्बन्धित शब्दहरू हुन् । स्वतन्त्रता भन्नाले कुनै व्यक्ति, समुदाय वा राष्ट्रले आफ्ना निर्णयहरू आफैं गर्न पाउने अवस्था वा अधिकार हो । स्वतन्त्रता भनेको कुनै पनि प्रकारको दमन, नियन्त्रण, वा अधीनताबाट मुक्त रहन पाउने अवस्था हो । यसले व्यक्ति वा समूहलाई आफ्नो विचार, अभिव्यक्ति, आस्था, र कर्ममा स्वतन्त्रता प्रदान गर्दछ । उदाहरणका लागि प्रत्येक नागरिकलाई आफ्नो विचार अभिव्यक्त गर्ने स्वतन्त्रता छ । (Every citizen has the freedom of expression) । व्यक्ति, समूह, समाजको उन्नतिको लागि राजनीतिक, सामाजिक, आर्थिक आदि स्वतन्त्रताको आवश्यकता पर्दछ, त्यसै बमोजिम यस्ता किसिमका स्वतन्त्रताहरू राज्यले प्रत्याभूत गराएको हुन्छ ।

स्वतन्त्र भन्नाले व्यक्ति, समूह वा निकाय कुनै पनि प्रकारको बन्धन वा पराधीनताबाट मुक्त र स्वतः सञ्चालनमा रहने अवस्था भन्ने बुझिन्छ । यसको अर्थ हो, कुनै पनि प्रकारको बाह्य नियन्त्रण वा प्रतिबन्धबाट स्वतन्त्र रहनु । व्यक्तिको हकमा, स्वतन्त्र भनेको आफ्नो निर्णय आफैंले गर्न पाउने अवस्था हो । म स्वतन्त्र नागरिक हुँ (I am a free citizen) । यसरी नै समूह, निकाय, समाज, देशको सन्दर्भमा पनि स्वतन्त्र शब्दको प्रयोग हुन्छ । स्वतन्त्र नागरिक सचेत र स्वाभिमानी पनि हुन्छ, र यी शब्दहरूको एक अर्कोमा सम्बन्ध रहेको पनि देखिन्छ ।

स्वतन्त्रता र स्वतन्त्र शब्दको जग (Root) एउटै हो । स्वतन्त्रता कुनै पनि प्रकारको नियन्त्रण वा दमनबाट मुक्त रहने अधिकार वा अवस्था हो । कुनै पनि प्रकारको बन्धन वा पराधीनताबाट मुक्त व्यक्ति, समूह वा निकायलाई स्वतन्त्र भन्न सकिन्छ । स्वतन्त्रता दिने विषयसँग सम्बन्धित छ भने स्वतन्त्र लिने र उपभोग गर्ने विषय हो । असल र पूर्ण स्वतन्त्रतामा व्यक्ति, समूह र निकायहरूले स्वतन्त्र भएर काम गर्न सक्छन् । प्रस्तुत लेखमा स्वतन्त्रता साधन (Means) र स्वतन्त्र (Ends) साध्य का रूपमा लिइएको छ । स्वतन्त्र नागरिक आफ्नो अधिकार र कर्तव्यप्रति पूर्णरूपमा सचेत रहन्छ भने प्रत्येक व्यक्तिको स्वतन्त्रताका लागि राज्यले आफ्नो सम्पूर्ण लगानी गरेको हुन्छ । त्यसैले स्वतन्त्रता र स्वतन्त्र एकअर्कोका परिपूरक विषय हुन् भन्ने मेरो ठम्माई छ ।
स्वतन्त्रता र स्वतन्त्र सबैको चासोको विषय हो । तर यसको व्यवहारिक पक्ष भने अत्यन्त जटिल र कठिन पनि छ । त्यसैले Jean Jacques Rousseau ले भनेका होलान्, Man is born free but everywhere he is in chains, अन्तत मान्छे चारैतर्फबाट बन्धनमा परेको हुन्छ । त्यसैगरी मानिस प्रकृतिबाट जतिजति आधुनिककरणतर्फ उन्मुख हुन्छ, ऊ झन् झन् स्वतन्त्र विमुख हुन्छ । तर प्राकृतिक अवस्थाबाट सामाजिक अवस्थातर्फ उन्मुख हुनु दुर्घटना र आवश्यकता दुवै हो, उनले भनेका छन् । अब म नेपालमा स्वतन्त्रतालाई अधिकारका रूपमा लिपिबद्ध गरिएको ऐतिहासिक क्षणहरूको विवरण र संक्षिप्त व्याख्या गर्न चाहन्छु ।

स्वतन्त्रता र संवैधानिक विकास
सर्वप्रथम २००४ सालमा नेपाल सरकार वैधानिक कानुनको सुरुवातसँगै जनताको मौलिक हक र कर्तव्यका बारेमा उल्लेख भएतापनि जनताले यसको उपभोग गर्न पाउने वातावरण तयार भएको देखिँदैन । अन्तरिम शासन विधान २००७ ले मौलिक हक, स्वतन्त्र संवैधानिक अङ्गहरू र स्वतन्त्र न्यायपालिकाको व्यवस्था गर्यो । त्यसैगरी नेपाल अधिराज्यको संविधान २०१५ ले मौलिक हकको संरक्षण र बहुदलीय प्रजातन्त्रको संरक्षण गर्ने प्रावधान पनि सुरक्षित गर्यो तर २०१९ मा बहुदलीय व्यवस्था असफल बनाई नेपालको संविधान २०१९ लागु गरियो । २०४७ सालमा आधारभूत मानव अधिकारको प्रत्याभूति गरिएको नेपाल अधिराज्यको संविधान २०४७ लागू गरियो । २०५९ मा भएको दरबार काण्ड पछि २०६३ मा अन्तरिम संविधान २०६३ लागू भयो । नेपालको सबै भूभाग, क्षेत्र, भाषा, संस्कृति, धर्म समेटिएको नेपालको संविधान २०७२ अहिले लागू अवस्थामा छ । मौलिक हक राज्यले प्रदान गरेको स्वतन्त्रताको हक हो,अधिकार हो । यो हक जनताले उपभोग गर्न पाउने स्वतन्त्रता भएकाले मौलिक हक र स्वतन्त्रता एकअर्कामा अन्योन्याश्रित छन् भन्ने मेरो ठम्माई हो ।

राज्यले दिएको मौलिक हक कुनै व्यक्तिले स्वतन्त्र रूपमा उपभोग गर्न पाउनुपर्छ र यसको लागि अनुकूल वातावरण मिल्नु मिलाउनु पनि जरुरी छ । तर नेपालको परिप्रेक्ष्यमा भनाई र गराईबीच भिन्नता पाइएको गुनासो यत्रतत्र सुन्ने र पढ्ने गरेको छु, मैले पनि । उदाहरणका लागि असार ८, २०८१ को कान्तिपुर पत्रिकाको ‘बुझ्यौ सहर, बुझेनौ गाउँ’, ‘हामीले पूर्व बुझ्दा पश्चिम बुझेनौ, पहाड बुझ्दा तराई । शासक बुझ्दा शोषित बुझेनौ टोपी बुझ्दा धोती’ शीर्षकका लेखक सुदन किराँती (संस्कृति तथा पर्यटन मन्त्री) ले व्यक्त गरेको उद्गारले नेपाली परिवेशलाई स्पष्ट गरेको छ । उनी भन्छन्, ‘समाजवाद ल्याउने कि समाजवादमा पुग्ने हामीलाई थाहा भएन । हामीले ल्याउने समाजवाद कस्तो हुने ? कहाँबाट ल्याउने ? समाजवाद पनि हामीले वस्तु आयात गर्ने जस्तो ठान्यौ ।’ उनी निष्कर्षमा भन्छन्, ‘अहिलेको नेपाली समाजवाद नेपाली समाजमै भएको समाजवादी अभ्यास, संस्कृति, इतिहास र दर्शनहरूका आधारमा निर्माण हुनुपर्दछ ।’ लेखकको भनाइप्रति सहमति जनाउँदै अन्यत्रबाट कुनै पनि तयारी बाद, मालसामान वा सेवा लिइरहन्छु पाइरहन्छु भन्नु आफूले आफूलाई नै कमजोर ठान्नु र अधोन्नतितर्फ धकेल्नु हो भन्नेमा मेरो पनि विश्वास बढेको छ । अब शिक्षाले स्वतन्त्र जीवन यापनको लागि के कस्तो भूमिका निर्वाह गर्न सक्छ भन्ने बारेमा केही चर्चा गर्न चाहन्छु ।

शिक्षा अधिकार
मानव जीवनका लागि शिक्षा अनिवार्य विषय भएकाले नेपालको संविधान २०७२ ले शिक्षालाई मौलिक हकका रूपमा अघि सारेको छ । शिक्षा ज्ञानको ज्योति हो । जीवनलाई सार्थक, सफल, सुखद र उज्ज्वल बनाउन शिक्षाको महत्वपूर्ण भूमिका रहन्छ । यसैगरी शिक्षाले स्वतन्त्र मानव भएर बाँच्न र अरुलाई बाँच्नका लागि योगदान पुर्‍याउन सक्छ । शिक्षाको माध्यमद्वारा व्यक्ति सक्षम, सचेत, स्वाभिमानी र स्वतन्त्र हुन्छ, हुनसक्छ । दोस्रो, शिक्षाले विषयवस्तुका बारेमा बुझ्न र बुझाउन मद्दत गर्दछ । शिक्षाद्वारा नै सबै तथ्य र विषयवस्तुहरुलाई लिपिबद्ध गर्न सकिन्छ । शिक्षाले आफ्नो अधिकार र कर्तव्यका बारेमा जानकारी लिन र जानकारी दिन महत्वपूर्ण भूमिका खेल्दछ । योभन्दा अझै अघि बढेर भन्नुपर्दा शिक्षित व्यक्तिले आफूलाई व्यवहारिक रुपमा स्थापित गर्न प्रयास गर्दछ । वास्तवमा स्वतन्त्र रहनु र अरुलाई स्वतन्त्र हुनको लागि सहयोग पुर्‍याउनु व्यक्तिको नैसर्गिक अधिकार र कर्तव्य पनि हो । कक्षा कोठामा गरिने शिक्षण सिकाई तथा शिक्षकहरूको व्यवहारले बालबालिका तथा युवा युवतीहरूको उर्वर दिमाग–मन मस्तिष्कमा दुर्गामी प्रभाव पारेको हुन्छ । यही बेला उनीहरुले आफूलाई स्वतन्त्र बनाउने कला पनि सिक्दै गरिरहेका हुन्छन् । उनीहरुले आफ्नो रुचि अनुसारको अध्ययन, आफ्नो विवेकको प्रयोग, अरुको विचार र धारणालाई कदर गर्न सक्ने क्षमताको विकास गरेका हुन्छन् ।

हाम्रो परिवेश र म
मेरो आफ्नो बुझाइमा विगतको स्वतन्त्रता भन्दा (बाल्यकाल बाहेक) वर्तमानमा मैले बढी स्वतन्त्रता अनुभव गर्दैछु कि भनेर सुखद अनुभूत नगरेको पनि होइन । तर सामाजिक, सांस्कृतिक, धार्मिक, सरकारी कार्यशैली, राजनैतिक, शैक्षिक वातावरण आदि परिवेशका कारणले मैले र सबै नागरिकले उपभोग गर्न नसकेका धेरै विषयहरु पनि समाजमा टड्कारो देख्न सकिन्छ । उदाहरणका लागि नेपाली विद्यार्थी तथा युवाहरूको विदेश पलायनलाई लिन सकिन्छः नेपालका बालबालिकाहरूले देशभित्र नै गुणस्तरीय शिक्षा पाउन सकुन्, सकुँ भन्ने चाहना सरकार, अभिभावक र स्वयं विद्यार्थीहरुलाई पनि लाग्दो होला तर व्यवहारमा यो हुन सकिरहेको छैन । प्रत्येक वर्ष उच्च शिक्षाको लागि बाहिर जानेहरूको संख्या तीव्र रुपमा बढ्दै गइरहेको छ । २०७९र८० मा १ लाख भन्दा बढी विद्यार्थीहरूले नो अब्जेक्सन लेटर शिक्षा मन्त्रालयबाट पाएको देखिन्छ भने यो संख्या बढ्ने क्रममा नै छ । यसको कारण यहाँका विद्यालय विश्वविद्यालयहरूले विद्यार्थीको चाहना अनुसारको आधुनिक शिक्षण सिकाई गर्न सकिरहेका छैनन् । साथै शिक्षा आर्जन पछि योग्यता अनुसारको काम र पारिश्रमिक पाउने सम्भावना पनि उनीहरुले कम देख्छन् । यसैगरी अन्य युवाहरू पनि । आजको युवा आफ्नो रोजाइको पढाइ, पढाइ अनुसारको काम र सुविधा, स्वतन्त्र वातावरण र स्वाभिमानतामा विश्वास राख्दछन् । तसर्थ स्पष्ट रूपमा भन्नुपर्दा यहाँको कार्यशैली र रहनसहनले नेपाली युवाहरूलाई प्रभावित पार्न सकेको छैन । अर्कोतर्फ स्वयं विद्यार्थी, युवा तथा सम्पूर्ण जनसमाजले पनि देशभित्र केही गर्न सकिन्छ भन्ने विश्वास बढाउनुको सट्टा निराशापूर्ण वातावरण सिर्जना गर्न सहयोग पुर्‍याइरहँदा म पनि सायद अछुत–अपवाद भएर बस्न सकेको छैन ।

समाज र स्वतन्त्रोन्मुख नागरिक
समाज परिवर्तनशील छ । नेपालमा विभिन्न समयमा भएका संवैधानिक विकास- परिवर्तनको कारण र प्रतिफल पनि हुन् । यी संवैधानिक विकासको क्रममा स्वतन्त्रता र स्वतन्त्र नागरिक प्रमुख एजेन्डाको रुपमा रहे । नेपालको पछिल्लो संविधान २०७२ ले धेरै किसिमका मौलिक हक प्रदान गरी नागरिकलाई स्वतन्त्र बनाउने जमर्को गरेको छ । त्यसैले प्रत्येक नागरिकले आफूलाई स्वतन्त्र रुपमा विकसित गर्ने आधार तयार भएको छ नै । तैपनि यो पर्याप्त छ छैन भन्ने एउटा विषय छ भने व्यवहारिक रुपमा हाम्रो समाज रहामीहरु के कति स्वतन्त्र छौं र के कसरी स्वतन्त्रताको प्रयोग गरेका छौं भन्ने विषय अझ महत्वपूर्ण रहेको छ, रहेछ । स्वतन्त्र नागरिक हुन स्वयं आफैले अनुभूत गर्ने, अरुलाई पनि अनुभूत गर्नको निम्ति प्रेरित गर्ने र कार्यान्वयन तहसम्म पुग्ने विषय हो भन्ने मलाई लाग्दछ । हामीहरूले यसमाथि विजय प्राप्त गर्न सकिने विषयमा भने कुनै द्घिबिधा छैन– केवल कमी छ आफ्नो आत्मा साक्षी राखेर आफूलाई न्याय दिने र अरुलाई पनि । विमल भौकाजीले संघार बाहिर लेखमा कवि छविरमण सिलवालको कविता डोरम्याट (कविका केही शब्द–
(मेरो छातीमा ड्याङ… ड्याङ बुट बजाउँदै,
मलाई फोहोरी बनाएर
भित्र छिर्नुहुन्छ सुकिलो तपाईँ
त्यतिबेला लाग्छ
म हजुरहरूकै
लात खानै जन्मेको हुँ)
लाई उदृत गर्दै कविको भनाइलाई यसरी उजागर गरेका छन्– ‘त्यसैले त उनी विशुद्ध मान्छेको खोजीमा छन् । आफ्नो मात्रै होइन, समाजको मात्रै होइन, सम्पूर्ण देशकै परिचयलाई उच्च राख्न सक्ने स्वाभिमानी मान्छेको खोजीमा छन् । हामीहरू पनि कविको खोजीको मान्छेमा विश्वास गरौं, उनको खोजीको मान्छे बनौँ ।’ हामीभित्र– मभित्र नै सम्पूर्णता छ । म यसको प्रयोग गर्न स्वतन्त्र छु र मेरो समाजले पनि मलाई सहयोग गर्न तयार हुनुपर्छ भन्ने मान्यता राखौं । समाजले पनि स्वतन्त्र व्यक्तिले मात्र समाज विकासमा ठोस योगदान पुर्‍याउन सक्छ भन्ने कुरामा विश्वास गरोस् र सोहीअनुसार व्यक्तिको आर्थिक, शारीरिक, मानसिक, राजनैतिक, सामाजिक विकास भई एउटा स्वतन्त्र व्यक्तित्वको रुपमा विकसित हुनका लागि बलियो र धरातलीय वातावरण सृजना गर्न सकोस् ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button