‘फेक’ आँशु, ठगी धन्दा

शकुन्तला जोशी

केही दिनअघि मैले नयाँ बानेश्वर चोकमा सेतो छोपो (किरिया बस्दा लगाइने लुगा)मा सानी नानी च्यापेर रुदै सहयोग मागिरहेकी महिला (दोलखा घर, मुलपानी बसाई बताउने)को दुःखको कथा झुटो भएको प्रमाणहरु आएपछि म दुःखी र अचम्मित भएकी छु । उनी डाँको छोडेर रुँदै भनिरहेकी थिइन्– ‘मलाई नछुनोस्, मेरो लोग्ने ब्लड क्यान्सले मरेको दुई दिन भो, मसँग लोग्नेको किरिया गर्ने खर्च पनि छैन । मेरा पाँच जना छोराछोरी छन्, म के गरी पालुम् तिनलाई ? मलाई सहयोग गर्नोस् हजुर ।’

म त्यो दिन निकै हतारमा हिडिरहेको थिएँँ, अचानक देखिएको तिनको दुःखसामु मेरो हतारो तुलनीय हुनै सक्दैनथ्यो । म रोकिएँ, गोजीमा भएको थोरतिनो पैसा तिनको झोलामाथि राखिदिएँ । त्यतिन्जेल मानिस उनलाई खास ध्यान दिइरहेका थिएनन्, जब म टुक्रक्क तिनको सामु बसेर, उनलाई बोलाउन लागें, मानिसहरु रोकिन थाले, शुरुमा बटुवामहिलाहरु, विस्तारै धेरै जनाले पैसा दिदै हिड्न थाले, कतिपय त्यहीँ उभिएर चुक्चुकाउन लागे । तिनको रुवाईले धेरैको आँखा रसाए, कति महिला छेउमै आँसु पुछ्दै भक्कानिदै अरुलाई सहयोग गरिदिन भन्दै थिए । उनकी नानीले पैसा टिप्दै घोप्टिएको व्यागमाथि पैसा राख्ने, पैसा झरिरहने भइरहेपछि एउटी महिलाले छेऊको जुत्ता पसलबाट पैसा हाल्न दिइन्, उनले उठेर जिउको सेतो धरो समेलिन् अनि पैसा । मैले केही संगठित सहयोग गर्न सकिएला कि भनेर उनलाई सम्पर्क नम्बर मागें, फोन नै छैन भनिन् । अरुले सहयोग गर्न थालेपछि फोटो र भिडियो खिचें सानो । लाग्यो, कमसेकम यो समृद्ध नेपालको सरकारले देख्नपर्छ तिनको दुःख । हरे, दुःख कति ।।।। – एउटा फोनसम्म छैन’ म खिन्न भएँ ।

करिब १० मिनेटको बीचमा तिनको रुवाई शान्त भयो, केही पैसा पनि जम्मा भयो, त्यै बेला पैदल यात्रीको लागि ट्राफिक लाइट बल्यो । तिनी अचानक उठेर व्याग जुत्ता पसलमा राखिन्, नानी र कार्टुन टिपेर बाटो क्रस गरिन् । सोचें– एकै ठाउँ रोएर तिनको समस्या हल हुन्न सायद ।

मन मानेन । केही दिनपछि त्यो भिडियो र फोटो पोस्ट गरें, धेरैले दुःख व्यक्त गर्नुभयो तर, तिनलाई सम्पर्क गर्ने माध्यम थिएन । देशकै संसद भवनको आँखा सामु मान्छेको जीवनको यस्तो दुःख ? फोटो र सानो भिडियो मेरो फेसबुक वालमा पोस्ट गरेँ । धेरैले दुःख व्यक्त गर्नु भयो, कतिले सम्पर्क सूत्र माग्नु भयो । म फेरि तिनलाई खोज्ने मुडमा थिएँ ।

आज बिहानैदेखि अचानक मलाई अपरिचित साथीहरुको भटाभट म्यासेज आउन थाल्यो, त्यो भिडियोको स्क्रिन सटसहित सम्पर्क गराइदिनुस्, सहयोग गर्न चाहन्छौं । त्यो क्रम दिनभरीमा यति बढ्यो कि मलाई अत्यासै लाग्यो । ओहो ।।। कहाँ खोज्ने तिनलाई ? मैले पोस्ट गरेको भिडियो केही क्लोज ग्रुपगायत सामाजिक ग्रुपहरुमा छ्यापछ्याप्ती भइरहेको रहेछ । हजारौंले हेरेर सहयोग गर्न हतारिनु भएको रहेछ । यो थाहा पाउँदै जाँदा मभित्र छटपटी बढ्दै थियो, अब काम छोडेर जसरी नि खोज्छु तिनलाई । यतिका सहयोग गर्ने मानिस हुँँदा तिनको उद्धार हुने छ । तर, ती महिलाको त्यो दुःखको आँसु फेक भएको, तिनलाइ दुई महिना अघि मात्रै अंशु यादवले आफ्नो ग्रूपमार्फत् राम्रै सहयोग गर्नु भएको रहेछ । त्यो बेला पनि उनले श्रीमान् बितेको दुई भयो भनेकी थिइन् रे ।

अहिले यहाँ सायद सरोज, भिम उपाध्याय, कृष्ण शर्मा, ज्वाला संग्रौलालगायत साथीहरुले मलाई अंशु यादवजीको पोस्टको स्क्रिन सट पठाउनु भो, म खङ्ग्रङ भएँ । आखिर मानिसलाई बाँच्नु पर्ने दुःखले यति झुटो बन्न बाध्य बनाइरहेछ कि आँसु देखाएर ठगीको धन्दामा उद्दत छन् यी ! यस्तो प्रवृत्ति हावी हुँदै गए वास्तवमै दुःखमा परेकाहरुको अवस्था कालु र बाघको कथा बन्ने छ र तिनलाई सहयोग गर्ने मनहरु दिक्दारिइसकेका हुन्छन् ।

(जोशीको फेसबुकबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button