पहिले द्वन्दले, अहिले बाँदरले रित्तो पहाड

परनिर्भरताको डाइनामाइट

बाबुराम पौडेल
शंकरनगर, रुपन्देही

तेह्रथुमको वसन्तपुरका रित्ता घरहरुले विगतको समृद्धि पस्केका छन् । विगतको द्वन्दकालमा जङ्गली पक्षले यहाँ बस्ने मान्छेलाई छाडेर हिँड्न बाध्य पारेको रहेछ ।

२०६३ सम्म द्वन्दले र त्यसपछि बाँदर लगायतका जङ्गली जनावरले गरी खान नसकिने बनाएपछि देशभरीको पहाडी भूभागको हालत लगभग यस्तै छ ।

पहाडका वस्तीहरु लगभग युवाविहिन छन् । बाटो, स्कुल, कलेज, बिजुली, पानी लगायतका भौतिक पूर्वाधारमा बर्षौंदेखि खर्च भएको खरबौं रकम निरर्थक हुँदैछ ।

निरङ्कुस भनिएको–भनाईएको पञ्चायती ब्यवस्था छउन्जेल नुन, मट्टितेल र कपडा बाहेकमा आत्मनिर्भर थिए गाउँहरु । घ्यूलगायतको आफ्नै उत्पादन बेचेर ती आवश्यकता पूरा हुन्थे । भारतका सहरमा जाने लाहुरे र ब्रिटिस, हङ्कङ् आर्मी पुलिसमा भर्ति गएकाहरुको आर्जनले गाउँहरु थप समृद्ध बन्दै थिए। गाउँ फर्क राष्ट्रिय अभियानको नीति पनि थियो । हो, अहिलेका राजनैतिक दलका ठेटना, गुण्डा र बैंक बित्तिय संस्थाको लुटान जस्तै त्यो बेला चाँही स्थानीय सामन्त, सूदखोरको दबदवा र हैकम भने थियो है । तर मान्छे काटेर, मारेर, घरमा बम पडकाएर ,अपाङ्ग बनाएर गाउँबाटै लखटीन परेको चाहिँ निरङ्कुश भनिएको पन्चायत फालेर ल्याईए पछिको कथित बहुदलीय प्रजातान्त्रिक ब्यवस्थाको उपलब्धि र उपहार हो ।

पन्चायत फालेपछि हालको गणतन्त्र समेत उन्नत भनिएका दूईवटा ब्यवस्थाले ३२ बर्ष राज्य चलाएको यो देशको समग्र हालत र तस्बीर यही हो, यस्तै हो । सरकार मात्र होईन कि राजनैतिक दल, सरकारी निकाय, योजनाविद्, कर्मचारी, प्राध्यापक, शिक्षक, कथित बुद्धिजीवि समेतको देशसेवाको एकमुष्ट परिणाम यही हो, यस्तै हो ।

गाउँ वा शहरकै पनि हरेक बर्ष विदेशिने लाखौं युवाले पठाउने खरबौं रेमिटेन्ससमेत निरर्थक हुँदै गएको छ । नेपालमा बस्ने परिवारका सदस्यले खरीद गर्नु पर्ने दैनिक उपभोगका सामान र अनावस्यक एवं अति उपभोगले त्यसरी आउने रेमिटान्स पनि उसै बर्ष दोश्रो तेश्रो देशमा फर्केको छ । नगन्य रुपमा शहरका दलालले प्लटिङ्ग गरेको एक टुक्रा घडेरी किन्न वा बेसाएको खाने बास बनाउन खर्च भएको होला । डिग्री पढ्दासम्म ५ रुपियाँको सामान उत्पादन गर्न नसिकाउने पाठ्यक्रमवाला परनिर्भर शिक्षा आर्जनको नाममा बालबच्चाको लागि लगानी भएको ठूलो मात्राको रकम पनि १२ कक्षा पढ्दासम्म बालुवामा पानी भै सक्छ । बोर्डिङ्ग स्कुल र नीजि कलेज पोस्ने मात्र उपलब्धि भएको छ ।

कसले सोच्ने हो, कहिले सोच्ने हो देश बर्बाद हुँदैछ भनेर । मुलुक सम्पूर्ण रुपले परनिर्भर भै रहेको, बार्षिक डेढ खरबको निर्यात हुँदा देशको कूल बजेट भन्दा बढी १७ खरबको आयात भएको र बैदेशिक ऋण सालबसाली बढेर २२ खरब नाघेको छ भनेर । मूलुकका आर्थिक परिसूचकहरु उँधोमुन्टो लागेका लागेई गर्न थालेको धेरै अघिदेखि हो । तस्कर र अपराधिको स्वर्गभूमि बन्दैछ देश । सरकारी संयन्त्र र उच्च पदका कतिपय राजनैतिक मान्छे नै तस्करीमा लागेको प्रमाण भेटिए । तस्करीबाट आर्जित रकम पछि यही देशविरुद्ध प्रयोग हुन पनि सक्छ भन्ने कुरा सुरक्षाको कोणबाट सामान्य ज्ञान हो ।

बलियो अर्थतन्त्र, सैन्यशक्ति र संसारकै एक तिहाई जनसङ्ख्या भएका दूई देशका बीचमा आधारभूत रुपमा परनिर्भर, युवाविहीन र कैयौं बर्षदेखि राजनैतिक स्थायित्व हुन नसकेको नेपाल पश्चिमा शक्तिको आँखामा परेर डाईनामाईटको रुपमा बाह्य र आन्तरिक द्वन्दको ज्वालामुखी माथि बसेको छ भनिन्छ । र पनि यो देशका राजनैतिक शक्ति, कथित देशभक्त बुद्धिजीवि भनिनेहरुबाट मुलुकलाई उन्नत र समृद्धिको क्षितिज देखिने गरी दिशानिर्देश गर्ने सोच आएन ।

ईश, पितृले नेपाल र नेपालीको रक्षा गरून् ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button