शंकरनगरबाट बाबुरामको देश बनाउने सूत्र

बाबुराम पौडेल
शंकरनगर, रुपन्देही

कुनै पनि राजनैतिक प्रणालीले देश बनाउँदैन । देश बनाउन त त्यो देशका राजनेतादेखि जनतासम्मको प्रवृत्ति, सुशासन, न्याय, विधीप्रतिको लगाव र देशभक्तिपूर्ण नीति हुनु पर्दछ ।

२०४६ अघिसम्म पन्चायती शासनले सस्तो शुल्कमा त्रिभूवन विश्वविद्यालयको केन्द्रीय होष्टलमा राखेर पाँच मोहर छाकमा मासु, काउलीको तर्कारी, बाक्लो दाल र पोख्रेली चामलको भात ख्वाएर पढाएकाहरु नै त्यही ब्यवस्थाको उग्रबिरोधी भएर प्रणाली ढाल्न सक्रिय भए । त्यति बेलाको विश्वविद्यालयीय उत्पादन नै विगत केही समययतादेखि यो मुलुकको राजनीति र राज्य संयन्त्रका महत्वपूर्ण निकायहरुमा पदासिन छ । तर त्यही पुस्तामध्ये कताकति चामलमा भेटिने बियाँजस्तै बाहेक अधिकांश कामचोर, घुस्याहा, जनपीडक, कूशासक, भ्रष्ट्राचारी, मिसनरीको दलाल र पछिल्लो कालखण्डमा त नागरिक बेच्ने देशद्रोही समेत भएर निस्किए । पन्चायत व्यवस्था ढलेपछि आएको बहुदलले शिक्षामा निजीकरण भित्र्याएपछि त झन् शैक्षिक संस्थाहरु अराजक र बेरोजगार जनशक्ति उत्पादनका कारखाना नै बने । राष्ट्रिय उद्योग प्रतिष्ठानहरु बेचेर त्यहाँ कार्यरत जनशक्ति सडकमा निकालियो ।

प्रणाली २०६३ मा पनि फेरियो, तर प्रवृत्ति र सोच फेरिएन । २०६३ पछिको प्रणालीले अपनाएको समानुपातिक प्रतिनीधित्वबाट त झन् कानून विधि, नीति बनाउने ठाउँमा एक लाईन लेख्न नसक्ने र बोल्न पर्दा लेखेकै पढन नजान्ने सम्म संसदमा गए । त्यस्ताले केको नीति बनाउनु, केको बिधिमा चल्नु ?

पन्चायत ब्यवस्था सामन्ती र भ्रष्ट थियो भने २०४७ पछि आजका दिनसम्म भ्रष्टाचार नियन्त्रण गर्ने र सुशासन डेलीभरी गर्नेतर्फ पहिलो चासो राख्नु पर्ने होईन र ? फेरिएका दूईवटा प्रणालीले सरकारी वा सार्वजनिक पदमा पुग्नेको सेवा प्रवेश गर्दाको सम्पत्ति र बैधानिक आय एवं पैतृक सम्पत्ति परिचालनबाट बढे बढाएको बाहेक बाँकी जफत हुने भन्ने एक हरफको कानून बनाउँदो हो नि । अहँ बनाएन । मिलोमतो छ चोर डाँका, लुटाहाहरुको । राजनैतिक पदाधिकारीहरुलाई ब्यूरोक्रेसीले सिकाउँछ । कदाचित सुधो साधु राजनीतिकर्मी कुर्चिमा पुगेको रहेछ भने पनि खान लुट्न राजश्व मार्न खप्पीस, पारङ्गत बनाउँछ ब्यूरोक्रेसीले ।

न्याय क्षेत्रको कथा ब्यथा त झन बोली सक्नु भए पो । कहने सुनाउने उपर मानहानी ठोकिन्छ कि भनेर तैं चुप मै चुप । समग्रमा यस्तो कुनै निकाय वा ठेगाना छैन जहाँबाट जनताले अब केही हुन्छ कि भन्ने भरोसा बिसाउने ठाउँ पाओस् । नियम कानून अनुसार राजश्व बुझाउन पनि घुस खुवाउनु पर्ने निकम्मा र घुसखोर कर्मचारी तन्त्र छ । राजश्व ठग्नेलाई बैयक्तिक लाभ लिएर उन्मुक्ति दिलाउन खप्पीस कर्मचारी तन्त्र र न्यायिक संरचना छन् यो देशमा ।

यही हाल भएरै हो, आजको दिनसम्म देशले २२ खरब माथि बैदेशिक ऋण बोकेको । ऋणले ल्याएको समृद्धि भनेको चरम परनिर्भरता र डुब्नै लागेको अहिलेको अर्थतन्त्रका न्यूरीमुन्टे परिसूचकहरु हुन् । विदेशीएको करिब ८० लाख युवा जनशक्तिले रेमिटान्स नपठाउँदो हो त देशको हालत के हुँदो हो उहिल्लै ?

बाढीले बगाउँदै गर्दा किनाराको खरको धर्साले पनि बचाउँछ कहिले कसो । हो, त्यस्तै आशाको किरण छर्दै छन् बालेन, हर्क, गोपाल, रविहरुले । पुराना राजनैतिक दलभित्र पनि यथास्थिति नरुचाउने केही छन् र पनि नेतृत्वको थिचाईले उनीहरुका आवाज बुलन्द हुन सकेको छैन ।

बालेन, हर्क, गोपाल हमालहरुले डेलीभरी गर्दै गरे जस्तै शुसासन खोजेको छ जनताले । पुराना दलका नेतृत्व समेत तिल्मिलाउने र देशैभरले थाहा पाउने गरी काम गर्दैछन् तिनीहरुले । गरे के हुँदो रैनछ भन्ने उदाहरण पेश गर्दैछन् । कालो बादलमा चाँदीको घेरा भने जस्तै आशाको किरण बनेका छन् यिनीहरु । देशले सम्भवत २०८३–८४ तिर जवरजस्त धक्का खोज्दैछ । पुराना राजनैतिक दलका ढाँट, छल र तिकडमका खेल सदाका लागि सक्ने घनिभूत धक्का अर्थात भूकम्प । त्यो धक्कापश्चात् मात्र सुशासन, विधि र नीतिमा देश चल्न सुरु हुनेछ सायद ।

आगे, जनता जनार्दन जिन्दावाद ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

3 Comments

  1. सम्मपादक महोदय ,
    nepalnamcha को नियमित पाठक र कथाकार हुँ । रमाइलो लाग्छ पढेर ।

  2. सम्मपादक महोदय ,
    nepalnamcha को नियमित पाठक र कथाकार हुँ । रमाइलो लाग्छ पढेर ।

  3. सम्मपादक महोदय ,
    nepalnamcha को नियमित पाठक र कथाकार हुँ । रमाइलो लाग्छ पढेर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button