बालिका: पहाडमा जस्तो भारी बोकेर उकालो ओरालो गर्न पर्दैन त तराईमा ?

बालिकाका कुरा

सुशीला शर्मा

एक १८ वर्षीय किशोर आर्थिक अभावले ११ कक्षा पढ्दापढ्दै पढाई छोडिदिएको बताउँछन् । उनी मधेसको जिल्लाबासी हुन् । उनी ज्याला मजदुरी गरेर भए पनि आफ्नो अध्ययनशील भाई र बैनीलाई भने उच्च शिक्षा पढ्न मद्धत गर्ने अठोट गर्छन् ।

‘अब म पनि काम गर्ने भएको छु, बुवा पनि विदेश जाँदै हुनुहुन्छ । अब भाईलाई त एसईई सकेपछि हेटौंडामा राखेर पढाउने हो’, उनी योजना सुनाउँछन् । बैनीलाई पनि पढाउने त भनिराखेका छन् तर भाईलाई जस्तो जोडबल भने नगरेको भन्ने भान हुन्छ उनको भनाईबाट । ती भेटिएका किशोर हालसालै मधेस प्रदेश सरकारले विभिन्न संघसंस्थाको आयोजनामा सम्पन्न बालिका सम्मेलन कार्यक्रममा आफ्नी बालिका बैनीको अभिभावक भएर आएका थिए । मधेस प्रदेशका केही जिल्लाका केही स्थानका बालिकाहरु सम्मिलित बालिका सम्मेलन कार्यक्रममा खड्किएको कुरा भने सम्बन्धित जिल्लाका सम्बन्धित वडा तहदेखिका जनप्रतिनिधिहरुको अनुपस्थिति पनि थियो ।

मेरो एक स्वास्थ्यकर्मी साथीले अनुभव बाँडे अनुसार जसरी सुदुरपश्चिम या जहाँसुकैको पहाडी क्षेत्रमा किशोरीवयका नै आङ खस्ने समस्याबाट पीडित छन्, त्यस्तै गरी सुदुर तराई क्षेत्रका किशोरीहरुमा पनि यो समस्या लिएर हिड्ने चलन छ । उनीहरु सोच्दा रहेछन् कि यो त महिला भएपछि सबैलाई हुन्छ र सहनुपर्छ । ती साथीसंग सवाल गरे कि पहाडमा जस्तो भारी बोकेर उकालो ओरालो गर्न पर्दैन त तराईमा ? यो मेरो प्रश्न मेरो हल्का बुझाईवाला प्रश्न थियो । किन यस्तो भयो होला त भन्ने जिज्ञासामा ती किशोरीहरुले आफ्नो धारणा पनि व्यक्त गरेका रहेछन् । घाँस दाउराका ठूला ठूला बोझाहरु जुरुक्क उचालेर टाउकामा बोकेर त उनीहरु पनि हिड्ने गर्छन् ।

प्राय गरेर पाठेघर गर्भावस्थामा, गर्भाधानको अवस्थामा, मोटोपन, सिभियर खोकी, शौचको समस्याको कारणले खस्ने गर्छ भन्ने परिभाषा छ । हामीले सरल बुझ्दा पनि पाठेघरको तन्तुलाई भार पर्दा नै विस्तारै तलतिर खस्दै जाने हुन्छ । बालिका सम्मेलनमा प्रजनन स्वास्थ्यको पनि छलफल हुँदा उपस्थित किशोरीहरुले बाल विवाहको कारण शारीरिक, मानसिक, सामाजिक असर गर्ने कुरा त गरे तर पाठेघर खस्ने समस्या भने उनीहरुले छलफलमा ल्याउन छुटाए । बालिका सम्मेलनमा बालिकाकै नेतृत्व भन्ने थिम अन्तर्गन बालिकालाइै नै अधक्ष्य चयन गरिएको थियो अनि उपस्थित बक्ताहरुले आदरणीय बैनी भनेर सम्बोधन गरेका थिए । ठूला मान्छेको सम्मेलनमा प्रायः यस कार्यक्रमको अधक्ष्यता गरिरहनुभएको अध्यक्ष ज्यू महोदय भनिने चलन छ ।

मधेसमा बाल विवाह उच्च देखिन्छ । तथ्याङ्कले भन्छ ३५ प्रतिशत बाबालिकाको १८ वर्ष अगाडि नै विहे भईसकेको देखिन्छ । बाल विवाह किशोरीको विकासको वाधा बन्नुमा दाईजो प्रथा मात्र होईन् । प्रमुख कारण त अशिक्षा र असचेतना हो भनेर बालिकाहरुले नै अनुभव बाँड्छन् । बालिका सम्मिलित कार्यक्रममा “सामा चखेवा” भन्ने साँस्कृतिक झाँकी पनि प्रस्तुत गर्छन् बालिकाहरु । यो साँस्कृतिक प्रस्तुतीले भन्ने कुरा दिदीबैनीले आफ्ना दाजुभाईलाई दीर्घायू र सुस्वास्थ्यको कामना गर्नु रहेछ । बालिकाको आवाज उठानको लागि आयोजित कार्यक्रममा एक महिला मेयरले भने गजबकै कुरा गरिन्, ‘विकास भनेको माटो, गिटी,बालुवा मात्र होईन् । बालिका हुँदै यूवा महिला राजनीतिज्ञको रुपमा उदाएका महिलालाई आजसम्म पनि हेयभावको रुपमा हेर्ने चलन छ । बालिकाहरु भविष्यमा पुरुष प्रधान अवधारणा र व्यवहारलाई चिर्ने सक्षम महिला भएर निस्कनुपर्छ ।’

बालिका सम्मेलनमा बालिकाहरु ठूला मान्छेलाई प्रश्न गर्छन्— परीक्षाको बेलामा समेत हामीलाई घरको कामले फुर्सद हुँदैन । अनि पढाईकानतिजा पनि कमजोर आईरहेको हुन्छ । उता आमाबुवालाई पनि छोरीले धेरै पढोस, फुर्सदले पढोस भन्ने भन्दा पनि विचमै भागेर विहे गर्देलिन भन्ने पीर भईराखेको हुन्छ ।

अपाङ्गता भएका बालिकाहरु आफूहरुलाई विद्यालयको कक्षामा बेवास्ता गर्ने गरिएको र यसकै कारण पढाईमा राम्रो नतिजा नआउँदा यसको जिम्मा कसले लिने ? भन्दै प्रतिप्रश्न गर्छन् ।

बालिकाहरुको मनमा थुप्रै प्रश्नहरु छन ठूला मान्छेहरुसंग सोध्ने । उनीहरु भन्छन तपाईहरु बालविवाह रोक्ने कुरा त गर्नुहुन्छ तर अशिक्षित अनि गरिब अभिभावकको लागि चाँहि के गर्नुहुन्छ नि? उनीहरु भन्छन्, हामीले राम्रोसंग पढ्न आमाबुवाले कमाउनु पर्छ, हाम्रा वा आमालाई आत्मनिर्भर बनाउन प्रदेश सरकारले के गर्छ ?

उपस्थित जवाफदेही पक्षले बालविवाह विरुद्धको १० वर्षे रणनीति, कृषिका विभिन्न कार्यक्रम, सीपमूलक कार्यक्रम, दलित शिक्षा अभियान, शिक्षा विजक योजनाबारे जानकारी त गराउँछन तर के मधेसका या पहाड जहाँसुकैका बालिकाहरुका समस्याहरु बाल विवाहहरु, विद्यमान योजनाहरुले मात्रै समाधान होला त ?


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button