नायक हुन् या खलनायक हुन् ति ?

नर ब. लामा (जिग्मे)

केहि महिनाअघि विश्वकप खेलमा हामी अधिकांशको हिरोमध्य एक मेसीले अन्तत विश्वकपको कप उचाले ।

टिभि स्क्रिनअघि चोकचोकमा युवा युवतिको हर्ष वढाइ भयो ।

“मेसी, मेसी आइ लभ यू !”

“मेसी …!”

मेसीले ढाका टोपी लगाएको फोटो समेत इन्टरनेट सन्जालमा छ्यापछ्यप्ति, भाइरल भयो ।

हर्ष वढाइपछि हातमा कप लिएर मेसीले पनि मुख खोले । आफ्नो सहयोगी समर्थक सवैलाइ एक एक गरी धन्यवाद दिए ।

“अरे ! हाम्रो त नामै लिएन यार !”

नेपालीहरु झसंग भए । भुलभुलैया, सपनामै दौडिरहेका नेपालीहरु यथार्थसँग ठोक्किन पुगे । टाउको दुख्ने गरी ।

यो कसरी भयो ?

यसको खोजीका लागी युरोपको तिनको कुनै रंगशालामा उभिएर सोचौ ।

ति खेलाडिहरुको नजीक आफ्नो टोली, प्रशिक्षक अनि क्लवका साहुहरु छन् । अनि परिवार छ, खर्च, रोजगारीको विषय छ । अनि जव खेल शुरु हुन्छ, टाढा दर्शक दीर्घाका हजारौं मान्छेहरु त केवल चिच्याहट र संख्या वाहेक झिंगा जति मात्र देखिने रहेछ ।

त्यहाँ भन्दा कहाँ हो कहाँ नेपाल । टिभी, दुरदर्शनवाट कराइरहेका फ्यानहरुको के याद, हिसाव हुंदो हो ?

कसरी देखुन् तिनले ?

अनि नदेखे, नजानेको मान्छेको नाम नलिंदा उनको के दोष ? वरु कैयौ समुन्द्र पारी उनको छायाँमा भ्रमित हुनेकै भुल रहेछ ।

आखिर क्षणिक मनोरन्जन हो ! यसले के फरक पर्छ र !

फरक परेको छ । यथार्थ र भ्रम नचिन्नुको यहि मानसिक कमजोरीमा समाज जकडिएर , दलदलमा फस्ने रहेछ । तर पनि थाहा नै नहुने रहेछ अधिकांशलाइ ।

अर्को उदाहरण हेरौ ।

वलिवुडका सुपर हिरो शाहरुख खान । उनको हाउभाउ, डाइलग, एक्टिङ , क्या गजव ! उनको, उनको फिल्मको करोडौ दिवाना !

कुनै समय स्टेजमा थिए उनी पनि । अघि हजारौ मान्छेको भीड थियो ।

“शाहरख ! शाहरख !”

”शाहरख, आइ लभ यु !”

युवति, युवाहरुको कोलाहल । पागल झैं थिए उनी देखी ।

त्यस्तै तराइको वजारमा प्राय फिल्म हलमा रिक्सा चालक, मजदुरको लर्को हुन्छ । आफ्नो दिनभरीको कमाइ हलवालालाइ वुझाएर कथा भित्रको काल्पनिक गुन्डालाइ कुट्दा वा काल्पनिक नायिकासंग नाच्दा रमाउँछन, सिठि वजाउँछन, हुटिङ गर्छन् । हल वाहिर निस्कदासम्म फ्यान, यानकी भक्त भइसक्छन ति ।

हामी पनि जान्थ्यौ कुनै वखत लुकीलुकी । भरे फर्कदा सरले चिनिहाल्नु हुन्थ्यो, “मलामीवाट फर्के झै अनुहार लिएर, फिल्म हेरेर आयौ हैन ?”

तर शाहरुखको, ति हिरोहरुको ति कथाका पात्र, वा ति दर्शक रिक्सावाला, ति दिवाना युवायुवति प्रति के सरोकार ?

धेरै पछि एक समय मेरो नजर उनको सन्देशतिर पुग्यो टिभी समाचार सुन्ने सिलसिला ।

“ …तपाइ आफ्नो व्यक्तित्व वढाउन चाहनु हुन्छ ?

यो सेवन गर्नुहोस… !

व्पागपाइपर ह्विस्कि !

सेवन गर्नुहोस । ठुलो मान्छे वन्नुहोस ।”

अनि त्यस्तै सुर्ति खान पनि सुझाउदै थिए उनि । ठुलो मान्छे हुन ।

तर हामीलाइ अव चाहि थाह छ त्यसले ठुलो मान्छे वनाउँदैन । कलेजो खाएर मान्छे मार्छ वरु । मान्छे सानो वनाउँछ, वांचे पनि गरीव वनाउँछ ।

झुट ! जसलाई हामी मार्केटिंगका नाममा पचाउदै छौ । त्यो उनको पेशा, वास्तविकता रहेछ ।

तर दुनियाका दिवाना ति मनुवाहरु तिनले सुझाएको मान्छन पनि । भ्रम, मृगतृ्णामा आफ्नो स्वास्थ्य, परिवार, समाज विटुलो वनाउँछन पनि ।

कुनै दिन यहि भुलभुलैयामा म पनि थिए । तर एक समयदेखि असली, नक्कली हिरो छुट्टाउने मन वनाएं ।

यस मामलामा एक समुदाय निकै अघि रहेछ ।

भारतको लद्दाखको ले वजार । पुरातन प्राज्ञिक परम्पराको अभ्यास अनि पर्यटन, अर्थ आन्दानी, शिक्षामा पनि अघि । हाल नेपाली प्रवासीहरुको पनि राम्रै उपस्थिति रहेछ ।

एकपल्ट ले वजारमा अमिताभ वच्चन आएका रहेछन्, पहिलोपल्ट ।

अमिताभ वच्चन आउने भए पछि भीडको अपेक्षा हुने नै भयो । तर वसिरहेको होटलमा त्यति भीड नभए पछि उनी वजारतिर निस्केछन् । वजारमा अमिताभ वच्चन हिडिरहेको छ, तर अटोग्राफ माग्न, फोटो खिच्न कोहि आउंदैन वा …। अचम्म !

दङ्ग परेर उनले भनेछन्, “या त लद्दाखीहरु एकदम मुर्ख हुन् या एकदम विद्वान ।”

एउटा कुरा के हो भने हिमाली परम्परामा मान्छेले कति लौकिक उपलव्धि हासिल गरे त्यसले हैन कि उसले अरुको लागि कति त्याग गरे त्यसले व्यक्तिको महत्व निर्धारण हुन्छ । फिल्म जगतमा उच्च उपलव्धि हासिल गरेका उनी लद्दाखीको महत्वमा नपर्नु त्यस हिसावले स्वभाविक थियो ।

वजारमा आ आफ्नो कर्म गरिरहेका पसले, किसान , शिक्षक, समाजसेवीको वीच एक कलाकर्मीलाइ मात्र टेको लगाएर वेलुनमा हावा भरेझैं अग्लो देखाउनु वरु मुर्खता हुन्थ्यो । काल्पनिक कथाको दृष्टिभ्रममा नपरी सवैलाइ समभावले हेर्नु वरु लदा्खीको सम्यक, उचो दृष्टिको संकेत थियो ।

अव नेपाल फर्कौ । फेरी मनन गरौ, हेरौ ।

पत्रकारितामा, राजनीतिमा, कैयन फिल्मी शैलीका, संचार माध्यमले फुलाएका उचो व्यक्तित्व, हिरोहरु वढ्दो छ ।

एउटा सीन हेरौ ।

एउटा ठुलो भीडको अघि एक वाकपटु खुव अरुलाइ गाली गर्छ । एक फिल्ममा काल्पनिक गुन्डालाइ कुट्दा झै दर्शकले खुव मनोरन्जन लिन्छन पनि । अनि उसले देशको झन्डा वा त्यस्तै जनताको भवनासंग जोडेको चीज ओढ्छ, वोक्छ । अनि भन्छ,

“नेपाल आमाको ….!

….जय !”

….वा भनौ भारत माताको…. “

जय……”

वा त्यस्तै कुनै भावुक नारा दिन्छ । धर्म वा राष्ट्रियताको नाम लिन्छ ।

त्यतिन्जेलसम्म दर्शकहरु भावुक, लट्ठ भैसक्छन् । तिनका अघि कसैले दायाँ वायाँ कुरा गरोस त, ज्यान लिन पनि दिन पनि सक्छन् । त्यतिन्जेलसम्म त्यो मान्छे हिरो भइसक्छ । जहाँ ठोक भन्यो ठोक्ने जहाँ भाग भन्यो भाग्ने दर्शक भेडा भइसक्छन ।

तिनलाइ थाहा छ आम जनमानसको कमजोरी । अनि त हामीलाइ मन पर्ने डाइलग वोल्छन्, कथा रच्छन्, एक्टिङ गर्छन् । तर जव सत्ता वा शक्ति हात लाग्छ, सव वाचा छोडेर नीजि, पारिवारिक, वा जातिगत स्वार्थमा लिप्त हुन्छन् ।

छिमेक वरपर, र यतै पनि वढ्दो त्यस्ता खेलाडीहरुलाइ चल्तिको पश्चिमी भाषामा डेमागग भनिने रहेछ, यानकि, धुर्त ।

जति सुकै भ्रष्ट भनौ अलि यहाँका पुराना नेताहरु चुनावकै वेला मात्र भए पनि विकास निर्माणको, सामाजिक न्यायको वाचा, प्रतिवद्धता गर्छन, ताकि जनतालाइ रिझाएर भोट वटुलौ । जुन जनताकै पक्षमा छ ।

तर वर्षौको विकास र सामाजिक न्यायको आन्दोलन भन्दा केहि महिनाको यस्तै प्रोपागान्डाले उछिन्न थाले पछि एक पुराना शीर्ष नेता गुनासो पोख्दै थिए,

“ यत्रो मिहिनेत, खर्च भन्दा केहि महिना फेसवुक क्याम्पेन चलाउनु पर्ने रहेछ …। “

यानकि जनजीवन उकास्न पहल, वहस गरेर जनता रिझाएर भन्दा भय र झुटो आशामा फिल्मी शैलीमा वहकाएर चुनावी फाइदाको कुरा !

अहिलेका नौला परिवर्तनकारीहरु झैँ , प्रोपागान्डा मै भुलाएर भोट असुल्ने । कुनै प्रतिवद्धता नै नचाहिने ।

अनि अर्को शीर्ष नेता पनि के कम ? भन्दै गए एक भीडमा

“…म पनि मेसी, मावाके जस्तै इमान्दार खेलाडी हुँ …। “

अर्को नेता उता सलमान खानको स्वागतमा व्यस्त थिए ।

सोचे यस्तै प्रतिस्पर्धामा सवै गए, काल्पनिक र ग्लामोर, मनोरंजन आदीमा भुले कुनै दिन यथार्थ इतिहांस भुलेर नयाँ पुस्ता सुपरम्यान, व्याटमान र क्रिसको समर्थकमा विभाजित भइ ति वीच यु्द्ध नहोला भन्न सकिन्न ।

त्यसैले विवेक प्रयोग गरेर जान्नै पर्छ, कुनै वाटोको पसलेभन्दा शाहरुख हिरो होइनन्, मेसी नेपाली हैनन्, काल्पनिक फिल्मी कथा यथार्थ हैनन्, वा टिभीका रियालिटी सो नै हुन् जनजीवनका प्रतिनिधि । वा जनप्रतिनिधि भन्नेहरु नै हुन जनजीवनका निधि ।

अव भने यस्तै अनेक देशी, विदेशी हिरोहरु वजारमा आए कुनै किसान, पसले, वटुवा जत्तिकै महत्व लद्दाखी ले झैँ दिने हो कि ?

अझ त्यस पर प्रश्न गर्ने कि, “के साच्चिकै ति नायक हुन् ? या शक्ति, सत्ता हात पार्ने वित्तकै फेरिने खलनायक ?”


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button