कस्तो अवस्थामा मातृत्व आगोको भुङ्ग्रो र काँडाको विछ्यौना हुन्छ ?

प्रा. डा. वीणा पौड्याल

मातृ देव भव: अर्थात आमालाई देवतासरह सम्मान गर । पूर्वीय धार्मिक ग्रन्थहरुमा नैतिकताको पाठ सिकाउँदा सधै नै आमालाई सम्मान, श्रद्धा, माया गर्न सिकाइएको छ । आमा वावु र गुरुलाई आदर गर्दा सबैभन्दा पहिला आमाकै नाम लिइन्छ । आमाले यस्तो सम्मान, आदर पाउनाको पृष्ठभूमिमा उनको त्याग तपस्याको ठूलो भूमिका छ । उनीलाई यस्तो विधि सम्मान गरेकोमा कोही पनि आश्चर्यचकित हुँदैनन् ।

लाखौ लाख वर्षसम्म प्रकृतिको वातवरण र विविध प्राणीसँगसंघर्ष गर्दै मानिस आजको स्वरुपमा आइपुगेको छ । प्रकृतिमा जो योग्य छ त्यही बाँच्दछ । सर्भाइभल फर द फिटेस्ट भन्ने तथ्य प्रमाणित भैसकेको छ । पृथ्वीमा जन्मिएका विभिन्न प्राणीहरुले आफ्ना वंश बृद्धि गर्ने गुण जन्मैदेखि पाएका छन् । त्यही गुणले गर्दा नै मानिसको प्रजाति आज पृथ्वीमा हैकम चलाएर बस्न सफल भएको छ ।

मात्तृत्व एउटा वरदान हो । जंगलि अवस्थाको अष्ट्रोलोपिथेकस (नर वानर) र आजका मानिसको जीवनशैलीमा समय अनुसार ठूलै परिवर्तन आइसकेको छ । प्राग ऐतिहासिक समयमा महिला र पुरुष एउटै ठूलो परिवारमा समान स्तरमा जीवन यापन गरिरहेका थिए । विभिन्न काल खण्डमा समाजिक संरचनामा परिवर्तन हुदै गयो र विश्व भरि नै पुरुष वर्गको हैकम र प्रभुत्व कायम भयो ।

पितृसत्तात्मक व्यवस्था

समाजको बनोट, पारिवारिक संगठन, दैनिक क्रियाकलाप आदि संपूर्ण कुरामा आजको मानवको जीवन शैलीमा परिवर्तन आइसकेको छ । त्यसैले सन्तानको जन्म र त्यसमा आमाको निर्णयको बारेमा अब गम्भिर भएर दोहयाएर सोच्ने समय आइसकेको छ । पितृसत्तात्मक हाम्रो समाजमा महिलाले नौ महिनासम्म धारण गर्ने गर्भ र त्यस बालकको जन्मसँग सम्बन्ध विभिन्न कुरामा निर्णय अर्थात प्रजनन् क्षमतामाथि नियन्त्रण गर्ने सपूर्ण अधिकार वावु वा उसको परिवारका सदस्यलाई हुन्छ । हाम्रो ऐन कानून अनुसार नागरिकतामा वावुको नाम र थर मात्र उल्लेख गर्ने र आफ्नो नाम संग वावुको थरमात्र लेख्ने प्रचलन रहेकोले यस कार्यले अझै कानूनी संरक्षण र हौसला पाएको छ । आप्mनो थर गोत्रलाइ निरन्तरता प्रदान गर्ने वंशको दिपक मानिने सन्तानको जन्मको निर्णय सधै वावुकै परिवारवाट हुन्छ । आमालाई त्यस्ता कार्यमा महत्व दिइदैन ।

विकसित र विकासोन्मुख राष्ट्रको नीति निर्माण कर्ताहरुले आवश्यकता अनुसार नारीहरुले थोरै वा धेरै बच्चा जन्माउने निर्णय गर्दछन् । विकसित राष्ट्रहरु जस्तै सुइडेन, अष्ट्रिया, क्यानेडा आदिमा दुइ भन्दा बढी सन्तान जन्माउने दम्पतिलाई विभिन्न सहुलियत दिएर प्रोसाहन गरिन्छ । विकासोन्मुख राष्ट्र चीन, भारत र नेपालमा एक वा दुइटा सन्तान जन्माउने दम्पतिलाइ मात्र विशेष सुबिधा दिइन्छ ।

शैक्षिक क्षेत्र र परिवारिक माहोलबाट महिलाहरुले मात्तृत्वको विविध पक्षबारे त्यत्ति खुलेर जानकारी हासिल गरेको हुँदैनन । साधारण त मात्तृत्वको महत्व र गरिमाको बारेमा मात्र बुझाइन्छ । त्यसको कठिन पक्षबारे खुलेर कुरा गर्ने परीपाटी हामीकहाँ छैन । आमा बन्ने उचित उमेर, बच्चा गर्भमा आएपछि आमाको शारीरिक बनोट र मानसिक शोच परीवर्तन, सन्तुलन खाना, आवश्यक व्यायाम र बच्चाको जिम्मेवारीवारे महिलालाई तथ्य जानकारी गराउनु पर्दछ ।

विदेशतिर गर्भिणी महिला तथा उनका परिवारका अन्य सदस्यलाइ पनि गर्भ धारण, वच्चा र गर्भिणी महिलाको हेरविचार, वच्चाको जन्मपछि जीवनको अन्य परिबर्तनवारे अवगत गराइन्छ । तर हामीकहाँ महिला गर्भवती भएको विषयलाई समान्य प्राकृतिक रुपमा लिने र गर्भवतीले त्यस विषयको कुरा गर्दा संकोच मान्ने चलन छ । नयाँ पुस्ताका सचेत महिलाहरुले गर्भको बच्चाको वारेमा कुरा गर्दा प्रौढ पुरुष र महिलाहरुले उत्तालो भन्दै कुरा काट्ने प्रवृतिमा कमी आएको छैन ।

बच्चा गर्भमा आएको केही समय पछि धेरै महिलाहरुलाई वाकवाक आउने, केही खान मन नलाग्ने, खाए पछि वान्ता हुने, कमजोर भइ रिङ्गटा लाग्ने, ढाड दुख्ने, शरीरको वोझ थाम्न नसकी खुट्टा सुन्निने जस्ता लक्षण देखिन्छन् । केही महिलाहरुलाई भने यस्ता लक्षण बढदै गएर पराकाष्ट नै हुन्छ । दिनमै दर्जनौ पल्ट वान्ता भएर शरीरमा पानीको कमी भएपछि अस्पतालमै राखेर सलाइन दिने र अन्य आवश्यक उपचार गर्नु पर्ने हुन्छ । गर्भको बच्चाको तौल तथा मानसिक स्थिति आमाको खानपान र व्यायाममा पूणरुपले भर पर्छ ।

त्यस्तै गरी गर्भको बच्चाको बसाइको स्थिति र तौल अनुसार आमाको दैनिक क्रृयाकलापमा ठूलो असल पर्दछ । एक वा त्यो भन्दा वढी बच्चा गर्भमा हुने आमाहरुले राति नसुतेर सात आठ महिना विताउन पर्ने अवस्था पनि आउनसक्दछ । राति राम्रोसंग सुत्न नसक्दा शरीरलाइ आराम पुग्दैन, जसको नकारात्मक असर पर्दछ ।

शरीरमा आउने परिवर्तनका कारण गर्भवती हँुदा कसिएका लुगाहरु ठीक हुँदैन । त्यसैले खुकुलो, नकस्सिने पहिरनको प्रयोगबारे जानकारी हुनुपर्दछ । जुत्ता सजिलो र अग्लो कुर्कुचा नभएको लगाउनु पर्दछ ।

चुरोट, रक्सी जस्ता लागुपदार्थको अम्मल भएका महिलाले आमा हुनु भन्दा अघि एकपल्ट गंभीर भएर सोच्नु पर्दछ । ध्रुमपान र मध्यपानले आमा र बच्चा दुवैको स्वास्थमा सारै नराम्रो असर पार्दछ, त्यसैले आमा हुनेले यी पदार्थ त्यागेर स्वस्थ वातवरणमा बस्नु पर्दछ ।

भारी गाग्री बोक्ने, कठीन शारीरिक परिश्रमको साथ साथै तीव्र गतिमा साइकल, मोटर साइकल चढ्ने, कुद्ने उफ्रने दौडने, घोडा चढ्ने, रोटे पिङ्ग खेल्ने, वन्जी जम्प जस्ता साहसिक तथा कठिन कार्यवाट टाढै बस्नुपर्दछ । बन्द कोठमा बस्दा अक्सिजनको कमी हुन्छ । जसले गर्दा गर्भको बच्चालाई असर पर्दछ । त्यसैले त्यस्तो गुम्सिने स्थल, सिनेमा हल, नाइटक्लव र गोष्ठीहरुमा धेरै समय बिताउनु हुँदैन ।

प्रत्यक्ष र अप्रत्यक्ष रुपको मानसिक शारिरीक हिंसावाट गर्भवती महिला टाढै बस्नु पर्दछ । गर्भवती आमाको तनावग्रस्त स्थितिको प्रभाव गर्भस्थ शिशुमा पर्ने कुराको वैज्ञानिक पुष्टि भैसकेको छ । त्यसैले स्वस्थ सन्तानको कामना गर्ने आमाले आफूलाई तनावमुक्त स्थितिमा राख्नु पर्दछ । त्यसको लागि कार्यालय र घर परिवारका सदस्यहरुले पनि वातावरण बनाउन मद्दत गर्नुपर्दछ ।

पंरपरागत सोचाई

सन्तानको स्याहारसुसार तथा लालनपालनको जिम्मा महिलाहरुले नै लिनु पर्ने पंरपरागत सोचाइमा अझै परिवर्तन आएको छैन । दक्षिण एसियाका सवै राष्ट्रहरुमा पंरपरागत सोचाइले अभैm पनि मलजल पाइरहेको छ । सन्तानको हुर्काइमा वाबुको जिम्मा आर्थिक भारमा मात्र टुङ्गाउने सोचाइले गहिरो जरो नै गाडेको छ । प्रेम विवाह गर्ने नया पुस्ताका जोडा जोडीमा भने परपंरगत विचारमा झीनो परिवर्तन आउन थालेको छ । अधिकांश दक्षिण एशियाली राष्ट्रहरुमा सयुक्त परिवार प्रथा प्रचलित भएकोले पंरम्परागत सोचाइमा परिवर्तन ल्याउन त्यति सजिलो छैन । स्तनपानको कारणले गर्दा नवजात शिशु र आमाको शरीरिक र मानसिक सम्बन्ध पकै जिम्मेवारी पूर्ण र धनिष्ट हुन्छ । तर त्यसको मतलब वाबुले बच्चाको अन्य काम गर्नु नहुने हैन । जस्तो बच्चाको सरसफाई, तेल लगाउने, थाङ्गना धुने पट्याउने आदि र भान्छाको काम बावुले पनि गर्नु हुन्छ । दुध खुवाउने काम गर्दैमा संपूर्ण खानपानको जिम्मेवारी आमाको नै हुनु पर्दछ भन्ने हैन ।

उपसंहार

नौ महिनासम्मको रोमाञ्चकारी र कठीन स्थिति पछिको सन्तान प्राप्तीको वर्णन शब्दद्वारा गर्न निकै कठीन पर्दछ । यसरी नै सन्तान जन्मदाको व्यथा भने त्यो स्थितिवाट गुज्रीएका महिलालाई मात्रै जानकारी हुन्छ । हाम्रो जस्तो अविकशित देशहरुमा गर्भिणी स्त्रीको मृत्युदर सारै नै उच्च छ । कठीन भौगोलिक बनोट, स्वास्थ्यकर्मी र अस्पताल सँगसँगै चेतनाको कमीले गर्दा हाम्रो देशमा गृभिणी महिलाहरु आमा बन्न नपाउदै मृत्युको मुखमा पुग्ने तथ्य विभिन्न संघ संस्थाबाट प्रकाशित भै सकेको छन्् । बर्षेनी एक करोड छ लाख ५ वर्ष मुनिका बालबालिकाहरु र करीव ६ लाख आमाहरु मर्छन् । विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेका प्रतिवेदन अनुसार यस्तै असुरक्षित गर्भपतनका कारण बर्षेनी ६८ हजार आमाहरु मर्दछन् । दक्षिण एसियाका प्रत्येक एक हजार महिलामा २२ जना असुरक्षित गर्भपतन गराउनेमा पर्दछन् । त्यसैले यस तथ्यको जानकारी पनि गर्भिणी स्त्रीलाई हुनुपर्दछ ।

अन्त्यमा महिलाको प्रजनन शक्ति र श्रममाथि पुरुषको मात्रै नियन्त्रण नरहेर दुवै महिला र पुरुषको समजदारी भएमा थुप्रै समस्याको समाधान हुन्छ । आमा बन्नु जति गरिमामयी, ममतामयी र सम्माननीय छ, त्यति नै चुनौतिपुर्ण छ । यसबारेमा आवश्यक ज्ञान हुँदाहँदै वा नहुँदा पनि मातृत्व आगोको भुङग्रँे, काँडाको विछ्यौना र मरुभूमि तुल्य हुनसक्छ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button