मान्छेले किन आत्मदाह गर्छ ?
एकछिन पछि के हुन्छ भन्ने कसैलाई थाह हुँदैन । कतिखेर कसको मिति सकिन्छ कसलाई थाह छ र ? त्यसो हो भने लामालामा निजी योजनाको के अर्थ ? हरेक दिनलाई, हरेक छिनलाई महत्वपूर्ण मानेर जीवनको अन्तिम दिन र अन्तिम छिन मानेर सजगतापूर्वक बाँच्नु नै बुद्धिमानी हो
जीवनलाई सही ढंगले बुझौँ
गोविन्द मैनाली
बुद्धले उहिल्यै भन्नुभएको छ, ‘जन्मेपछि दुख सुरु हुन्छ । जन्मनु नै दुख हो । जन्मेपछि दुखको सिलसिला सुरु हुन्छ । दुख सत्य हो, त्यसलाई स्वीकार्नु पर्दछ । स्वीकार गर्नु सत्यलाई स्वीकर्नु हो । दुखको कारण छ । हरेक मान्छे कुनै न कुनै दुखबाट पीडित छ । कोही रोगी छ, कोही गरीब छ, कोही पीडित छ, कोही शोषित छ । सबैथोकले सम्पन्न मानिस पाउन त संभव नै छैन । सबैलाई कुनै न कुनै समस्याले पिरोलेकै हुन्छ । जीवनलाई सजगता र सरलताका साथ बिताउनु नै उत्तम उपाय हो । अर्को कुरा, संसारका सबै चीज, वस्तु, घटना अनित्य छन् । परिवर्तनशील र नाशवान छन् । कुनै पनि कुरा सँधै रहिरहने होइन । ढिलो या चाँडो हरेक चीज नाश हुन्छन् नै, चाहे त्यो हामी बस्ने पृथ्वी या हामीलाई प्रकाश, उर्जा, जीवन दिने सूर्य नै किन नहोस् । त्यसकारण जीवनलाई अत्याधिक गम्भीरतापूर्वक नलेऊ, यदि लियो भने तनाव मात्र हात लाग्छ अनि शुरु हुन्छ दुखको यात्रा । आत्मदाह, आत्महत्याजस्ता घट्नाहरु आफुलाई गम्भीरतापूर्वक लिने, बढी आकाँक्षा, तृष्णा पाल्ने कारण नै हुने हुन् । तृष्णाको कुनै समाधान छैन । तृष्णा पूरा गर्ने उपाय संसारमा छँदै छैन भलै मानिसका सामान्य आवश्यकताहरु पूरा गर्न सकिन्छ तर तृष्णाको भाँडो कसैले भर्न सक्दैन । बुद्ध, बोधिसत्व, अरहंत, संतबाहेक बाँचुन्जेल कोही मानिस तृप्त भएका कुनै उदाहरण पाइन्न । विश्वकै एकछत्र सम्राट नै भए पनि मानिसका आकांक्षा तृप्त हुँदैनन् ।’
बितेका कुराहरु बितिसके ती फर्कन्नन् भलै तिनले हाम्रो मस्तिष्कमा, अवस्थामा कुनै न कुनै प्रभाव र छाप त छोड्छन् नै तर ती अहिलेको यथार्थ होइनन्, सकिइसके भोगिसक्यौँ, केही परिणामरुपी छिटाहरु बाँकी हुन सक्छन् । त्यसैगरी भविष्यको चिन्ता ब्यर्थ हो । भोलि के होला ? यो कसले देख्या छ र ? यो कसैको नियन्त्रणमा छैन, सोच्नै नपाई आइसक्छ ।
हामीसँग वर्तमान मात्र छ, अहिले जे छ त्यो नै हामी हौँ । बाँच्ने भनेकै वर्तमानमा हो । भूत र भविष्यको पर्वाह नगरी वर्तमानमा ठीकसँग बाँच्नु अर्थात सम्यक तरिकाले बाँच्नु नै दुखबाट छुटकारा पाउने उपाय हो ।
हामी अक्सर के सोच्छौँ भने जीवनको सबैभन्दा ठूलो सुख मलाई कसैले माया गर्छ भन्ने विश्वास तर यथार्थमा त्यो विश्वास नै धोखा हो । कसैले कसैलाई न माया गर्छ घृणा, ती सबै समय परिस्थिति र आ–आफ्ना सम्बन्धका जोड्घटाउ मात्र हुन् ।
बुझ्ने मानिसलाई कर्तव्यको साङ्लोले मात्र बाँध्छ, कर्तव्य नबुझ्नेलाई कुनै उपाय छैन । जसको मन शान्त हुन्छ, सुख आफैँ आउँछ । सुख खोज्न कतै धाउनु पर्दैन, आफैभित्र छ । मानिसले जीवनभर जे जति कार्य गर्दछ ती सबै तन र मनलाई सुख दिने प्रयत्न मात्र हुन् तर त्यस सिलसिलामा हामी कहाँ चुक्यौँ भन्ने भेउ पाउन गाह्रो छ किनकि हाम्रो विवेकलाई तृष्णाको, मोहको जालोले ढपक्कै ढाकेको हुन्छ । सफलतामा अक्सर मान्छे मात्तिँदै जान्छ, आफ्नो यथार्थ भुल्छ ।
धन, सम्पत्ति, पद, मान, प्रतिष्ठाका लागि मान्छे के पो गर्दैन । ती सबै साँसारिक पुरुषार्थका लागि सम्यक तरिकाले आर्जन गरे उचित हुन् तर अस्थायी हुन्, नाशवान हुन्, वास्तविक सुख दिने चिज होइनन् किनकि न सम्पत्ति जस्ताको तस्तै रहन्छ न त मान प्रतिष्ठा ।
संसारमा कोही कसैको मित्र या शत्रु हुँदैन । त्यो त व्यवहार र कर्मका कारण केही समय शत्रु र मित्रका भूमिकामा देखिने हुनश, ती पनि स्थायी होइनन् । शत्रु भन्नु नै भ्रम हो हामीलाई कसैले शत्रु सम्झला तर हामी कसैलाई शत्रु नै नमानौँ न । घटिया मान्छे जो छ, ऊसँग न शत्रुता ठिक हुन्छ न त मित्रता । कुकुरले चाटे पनि टोके पनि ठीक हुन्न । त्यसैले घटिया मानिसको संगतबाट नै टाढा रहनुपर्छ ।
फेरि पैसाको कुरा गर्ने हो भने पैसाले सबैलाई चिन्छ, धेरैलाई किन्छ । यो आवश्यक छ तर आफुलाई नै बेच्ने गरी आवश्यक छैन । सरलतापूर्वक चल्ने हो भने बाँच्न सकिन्छ, आत्मदाह गर्नु पर्दैन । पृथ्वीमा मानिसमात्र त्यस्तो प्राणी हो, जो अप्राकृतिक ढंगले बाँच्छ ।
आफुलाई मन नपरेको काम गर्नु परेकाले नै मानिसमा अनेक समस्या र असफलता आइपर्छन् । यहाँ रोजेर काम गर्न पाइन्न बध्यताले गर्नु पर्दछ । कन्फ्युसियस भन्छन्, मन परेको व्यवसाय रोज्यौ भने तिमीले जीवनमा एक दिन पनि काम गर्नु पर्दैन । अर्थात त्यो काम होइन सोख हुन्छ र तिमीले आजीवन सोख गरेर जीवन बिताउँछौ । मानिस जन्मदै एक खाले प्रकृति, प्रतिभा लिएर आउँछ हामी पर्गेल्न सक्दैनौँ अनि जबर्जस्ती उसको प्रकृति विपरित शिक्षा र पेशा लाद्छौँ जसका कारण व्यक्ति र समाजले त्यसको दुष्परिणाम भोग्नु पर्छ ।
औसत मान्छेले जीवनमा खोज्ने धन, मान र यौन हो । त्यो भन्दा माथि चढ्ने त एकाध हुन्छन् ।
आज विचार पनि यति संश्लेषित भैसकेको छ कि कुनै पनि विचार नयाँ छैन, केवल सान्दर्भिक र असान्दर्भिक मात्र हो । गहिरिएर सोच्ने हो भने बुद्धका विचार संधै सान्दर्भिक हुन्छन् । दुख छ, दुखको कारण छ, दुखको निवारण छ र दुख निवारणको मार्ग छ तर हामी यस्तो जीवनमा नभै नहुने कुरातिर गम्भीर हुँदैनौँ अनि सँधै दुखको गर्तमा भासिइरहन्छौँ ।
हामी यथार्थ बुझ्नतिर लाग्दैनौँ अनि सँधै भ्रममा बाँचिरहेका हुनेछौँ ।
हामी के सोच्छौँ, नम्र भयौँ भने हेप्छन् ,हीन सम्झन्छन् । व्यबहार नै मान्छेको स्वभाव हो । स्वभावको अलङ्कार नम्रता हो । नम्रता हीनता होइन, कमजोरी होइन, मात्र यो अहङ्कारहीनता हो तर हामी व्यबहारको मर्म बुझ्दैनौँ । अंग्रेजीमा बडी ल्याङ्वेज भन्छन् नि । मान्छेको बोलीले बोल्नु पर्दैन । शरीर बोल्छ, भाव भङ्गी बोल्छ, अनुहार बोल्छ, व्यबहार बोल्छ । त्यो झन बुझिने हुन्छ । कोही विनम्र भएर बोल्छन्, कोही गजक्क पर्छन् । विचार गरौँ त, बाँच्ने र बुझ्ने कुन तरिका ठीक ?
वास्तवमा मान्छेले आफुलाई जे होइन, त्यो हो र जे हो, त्यो होइन भनेर बुझेको हुन्छ । साधारणतया आफुलाई कसैले चिन्दैन अनि भएन त गड्बड । जब आफुलाई चिन्न थाल्छ नि, समस्या विस्तारै हल हुन्छ । कमिकमजोरी बिनाको मानिस त पाइन्न । कमजोरीहरुनाट नै सिक्दै जाने हो । कोही पनि एकैचोटि पौडी खेल्न जान्दैन । पौडी खेल्न ओछ्यानमा लडिबुडी गरेर पनि जाँनिँदैन, नदी वा तलाउमा नै हेलिनु पर्दछ । पानी खाँदै छाद्दै गर्नै पर्दछ । घोडा चढ्दा कति पटक लडिन्छ लडिन्छ । लड्दै धुलो टक्टक्याउँदै अगाडि बढ्दै, यही न हो जिन्दगी ।
सांसारिक जीवन भनेकै असन्तोष हो । जोसँग जे हुन्छ, त्यसले हुँदैन, पुग्दै पुग्दैन । यति भए त अलिक पुग्थ्यो कि भनिठान्छ तर त्यो प्राप्त भएको केही दिनमा नै अर्को चाहिन्छ । जे हुँदैन त्यो चाहिन्छ, नभै हुँदै हुँदैन । जे छ र जे छैन, त्यसैको बीचमा सन्तुलन मिलाउनु, रमाउनु, बाँच्न सिक्नु सन्तोष हो । जे आफुसँग छैन, त्यो प्राप्त गर्न प्रयत्न गर्नु प्रगति हो तर अहिले जे छैन, त्यसमा रमाउन खोज्नु दुख हो । रमाउन जान्नु र नरमाउन जान्नु कला हो । बाँच्नु भन्नू नै कला हो । वास्तवमा सबै चीज अस्थायी हुन्, सकिने हुन्, विछोडिने हुन् । संसारमा तृप्त हुने चिज नै केही छैन । यो यथार्थ बुझ्न खोज्नु नै दुखबाट पार पाउनु हो । जुन चीज छँदै छैन, त्यसैको आशामा हामी पीडित हुन्छौँ । आखिर जीवन भन्ने धान्ने र जान्ने प्रक्रिया हो । जसरी सकिन्छ धान्ने अनि यथार्थ जान्दै जाने ।
एकछिन पछि के हुन्छ भन्ने कसैलाई थाह हुँदैन । कतिखेर कसको मिति सकिन्छ कसलाई थाह छ र ? त्यसो हो भने लामालामा निजी योजनाको के अर्थ ? हरेक दिनलाई, हरेक छिनलाई महत्वपूर्ण मानेर जीवनको अन्तिम दिन र अन्तिम छिन मानेर सजगतापूर्वक बाँच्नु नै बुद्धिमानी हो ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)