पढेकाहरु फेरि पनि किन किरा, फट्याङ्ग्रा, छेपारा र मलसाँप्राजस्तै ?
शिक्षाले सक्षम र जिम्मेवार बनाउनु पर्दछ
गोविन्द मैनाली
जुन समाज र देशले शिक्षालाई महत्त्व दिएन, त्यो समाज पछि पर्यो । प्राचीन कालमा नेपाल, भारत विश्वमै शिक्षा, संस्कृति र सभ्यतामा अगाडि रहेछ भन्ने प्रमाण बौद्ध, वैदिक, सनातन धर्मका ग्रन्थभित्र भएका अत्यन्त गहन ज्ञान र शिक्षाबाट थाह हुन्छ तर पछि आएर यो परम्परा आक्रमणकारीहरुको आक्रमणका कारण संसारकै प्राचिन विश्वविद्यालयहरु नासिएको, ज्ञानका भण्डारहरु आगो लगाएर जलाइएको कारण त्यो शिक्षाको स्वर्ण युगको पनि नाश भएर अन्धकार युगमा प्रवेश गर्यो । अझ भारतमा बृटिश उपनिवेश भयो भने नेपाल त झनै राणाकालिन अन्धकारको युगमा १०४ बर्ष जेलमा बन्दी हुनुपर्यो । हाम्रा बाजे त के बाबुहरु समेत शिक्षाबाट बन्चित हुन पुगे । हाम्रो पिँढी समेत अधिकांश शिक्षाबाट बन्चित हुनुपर्यो । भारतीयहरुलाई नेपालीको तुलनामा बढी नै शिक्षामा अवसर रहन गयो । प्रायः भारतीय गोर्खाहरुका तेस्रो पिँढी शिक्षित हुँदा नेपालीहरुको दोश्रो पिंढी मुश्किलले बामे सर्दै छ भने भरतीय बंगाली, तमिल ,मराठी, तेलुगुहरुका बाह्र पन्ध्र पिंढीदेखि शिक्षित छन् ।
हाम्रा बाबुबाजेले अक्षर सिक्ने अवसर नै पाएनन् । शिक्षाबिना मानिस आँखा देखे पनि अन्धो, कान सुने पनि बहिरो, बोल्न जाने पनि लाटो हुने रहेछ । आजको विश्व प्रतिस्पर्धाको युगमा त अझ सामान्य शिक्षाको अर्थ अशिक्षा नै हो । त्यसैले कुखुरा बाख्रा बेचेर हुन्छ कि घर जग्गा बन्धकी राखेर हुन्छ कि छोराछोरी पढाउनै पर्छ । जुन दिन हामी ज्ञान, विज्ञान, प्रविधि र अनुसन्धानको खेती गर्छौँ, त्यही दिनदेखि नेपालीको आँगनमा बल्ल घाम लाग्छ । जुन दिनदेखि हरेक नेपालीको घरमा टिभी, मोबाइलसँगै ठेलीका ठेली पुस्तक सजाइन्छ, त्यही दिनदेखि मात्र हाम्रो सफलताको यात्रा शुरु हुन्छ ।
विश्वका धनी र सम्वृद्ध देशको इतिहास हेर्ने हो भने पनि विकास र परिवर्तनको शुरूवात शिक्षाबाट नै भएको छ र शिक्षामा नै निहित रहेको छ । सक्षम शिक्षक, प्राध्यापक, डाक्टर, अर्थविद, प्राविधिक राष्ट्रका मुटु हुन्, मस्तिष्क हुन भने दक्ष जनशक्ति हिँड्ने गोडा र काम गर्ने हात हुन् । सबल राष्ट्र निर्माणका लागि यी अपरिहार्य छन् । राष्ट्रको नीति निर्माणको तहमा बस्नेहरूले यो नबुझेसम्म देश अगाडि बढ्ने त के कल्पना पनि गर्न सकिन्न । नेतृत्व वर्ग राष्ट्रको मस्तिष्क हो जुन स्वस्थ सक्षम र संतुलित हुनुपर्दछ त्यतिकै समर्पित पनि । कर्मचारी भनेका रक्तवाहिनी नली जस्तै हुन्, ती स्वच्छ र स्वस्थ नभै शरीर चल्दैन । तर सबै भन्दा रुग्न नै यी भएपछि के लाग्छ र ? परम्परागत लोकसेवालाई आमूल परिवर्तन गरी सेवा प्रवेशमा नै सक्षमता, स्वच्छता र व्यवहार परीक्षणको मापदण्ड कायम गर्नु पर्दछ ।
डाक्टरहरु समाज राष्ट्रका मुटु हुन् । विरामीहरुका लागि भगवान । मर्न मन कसलाई पो हुन्छ र, हुन त मर्नलाई जन्मेका हामी तर मर्न मात्र हैन । मर्न मन नलाग्नु र एक दिन मर्नै पर्ने बाध्यताका बीच हामी बाँचिरहेका हुन्छौँ अनि त्यहाँ सबैका अगाडि हुन्छन् डाक्टर । यो बीचमा डाक्टरको भुमिका हुन्छ अहम् अनि जटिल । त्यसैले मानव समाजमा डाक्टर पूजनीय हुन्छन् तर कतिपय डाक्टर व्यापारी भैदिन्छन् । ब्यापारी मात्र हैन कालाब्यापारी नै बन्छन् । गोडो मर्केर गयो भने खुट्टै काट्नु पर्ने जस्तो गरी तर्साउँछन् र कागती निचोरे जसरी पैसा असुल्छन् । यस्ताहरु जन्मेकै लुट्न र ठग्न हुन् क्यारे । हरेक क्षेत्रमा नै यस्तै भएकाले दिक्क र निराशाबाहेक सर्वसाधारणले केही देख्दैन ।
इन्जिनियरहरु राष्ट्र निर्माणका आधारशिला हुन् । कतिपय इन्जिनियर यस्ता छन् जसको काम बनाउनु भन्दा बिगार्नु हुन्छ । एउटा मेसो मिलाएर देश विदेशको बजेट्मा तर मार्नु हुन्छ । लाग्छ, यी पनि खान मात्र जन्मिएका ।
पीएचडीवालाहरु समाजमा अति सम्मानित हुनु स्वाभाविकै हो । यिनीहरू समाज राष्ट्र निर्माणका निर्देशक नै हुनुपर्ने । विडम्बना, यिनीहरु पनि अधिकांश यस्ता छन्, यो उपाधी नै विश्वको सबैभन्दा ठूलो भन्ठान्छन् र आफुलाई दम्भ र अहङ्कारको डोकोभित्र हाल्छन तर व्हाङ्गै हुन्छन् । सर्वसाधारणहरु यिनलाई धेर पढेर बहुलायो भन्छन् ।
डाक्टर, इन्जिनियर, शिक्षक, प्राध्यापक, नेता, पीएचडी हुनु भनेको आफ्नो समस्या मात्र हल गर्नु हो र ? यी समस्या त किरा, फट्याङ्ग्रा, छेपारा, मलसाँप्राले पनि समाधान गरेकै छन् । यिनले त आफ्ना विद्यार्थीलाई, सर्वसाधारणलाई ज्ञानले ओतप्रोत पार्नु पो हो त । ठूलो सोच्ने बनाउनु हो र समाजलाई दिशानिर्देश गर्ने क्षमता विकास गर्नु पो हो ।
शिक्षित हुनु भनेको पढ्नु, उपाधि हासिल गर्नु, दालभात डुकुको जोहो गर्नु, आफ्नो शिक्षा र चतुर्याइँको प्रयोग गरी देश र जनता लुट्नु हो र ? त्यत्ति नै हो भने त बर्षौँ लगाएर त्यत्रो मिहिनेत गरेर किन पढ्नु पर्यो र ? त्यसैले शिक्षित, सभ्य हुनु, डाक्टर, इन्जिनियर हुनु शिक्षक, प्रधानाध्यापक, प्राध्यापक, नेता हनु भनेको ब्यक्तिगत जीवन बाँच्नु, कमाउनु, खानु, मोज गर्नु मात्र नभै देश, समाजको लागि जिम्मेवार भएर दायित्व निर्वाह गर्नु हो । हामीले केही त गर्यौँ होला तर पक्कै पनि गर्नु पर्ने जति गरेका छैनौँ । त्यो प्रमाण हाम्रा अगाडि हाम्रो देश र समाजको रुपमा ठिङ्ग उभिएको छ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)