
शनिदेवः न्यायका त्यस्ता देवता जसलाई हनुमानले तेल मालिस गर्थे
प्रा.डा. वीणा पौड्याल
वैदिक साहित्यको ६ वटा अंगहरुमध्ये ज्योतिषशास्त्र एउटा महत्वपूर्ण अंग हो । शिक्षा, कल्प, निरुक्त, व्यारकण, छन्द र ज्योतिषशास्त्रमध्ये ज्योतिषशास्त्रलाई नेत्र मानेर सर्वोत्कृष्ट भनिएको छ ।
यद्वत शिखा मयुराणां नागानां मणयो यथा
तद्वद वेदाङ्ग शास्त्राणं ज्योतिषं मूर्धनी तिष्ठती ।
मेसोपोटामिया, ग्रीस र भारत वर्षमा प्राचीन समयदेखि नै ज्योतिषशास्त्रको अध्ययन र अभ्यास गरिदैं आएको उदाहरण पाईन्छन् । भारत वर्षमा सूर्य, चन्द्र, मंगल, वृहस्पति, सुक्र र शनि सात प्रमुख ग्रहहरुमा अरु दुई काल्पनिक ग्रह राहु र केतुको पनि गणना गरेर नौवटा ग्रहको पुजा आराधना गरिन्छ ।
शनिलाई पापग्रह र क्रुरग्रहको रुपमा पनि वर्णन गरिएको छ । स्याट्रन ग्रहलाई नै सनातन धर्मावलम्विहरु शनिदेवको रुपमा मान्दछन् । ग्यालिलियो ग्यालिलिले (सन् १६१०) पत्ता पहिलो पल्ट दुर्विनको प्रयोग गरेर शनिग्रहको वरपर चारैतिर चक्र रहेको तथ्य बताएका थिए । त्यसलाई सन् १६५५ मा क्रिस्टियन ह्युगेन्सले शक्तिशाली टेलिस्कोपको प्रयोग गरेर शनि ग्रहलाई रिङले घेरेको प्रस्ट पारे । यसरी वैज्ञानिकहरुले शनिको बारेमा नौलोनौलो तथ्यहरु पत्ता लगाउंदै गएका छन् । पूर्विय ज्योतिषशास्त्रमा शनिश्चरलाई छायासुत र सूर्यपुत्र भनेर सम्बोधन गर्दै स्तुति गर्ने परम्परा छ ।
ज्योतिषशास्त्र र त्यसको ग्रहहरुसँगको सम्बन्ध र ज्योतिषविद्यालाई केहि वैज्ञानिकहरुले सुडो साईन्स भनेर तर्क गरेका छन् । उनीहरुको विचारमा तथ्यमा आधारित नभएर तर्क गर्ने विज्ञान विषय हो ज्योतिषशास्त्र । तर भारत र नेपालमा ज्योतिषशास्त्रलाई पूर्णसत्य विज्ञान सरह मान्ने जमात ठुलै छ । ज्योतिषशास्त्र पढाईने विद्यालय र महाविद्यालय पनि छन् । जन्मदेखि मरणसम्मका संस्कार ज्योतिषमै आधारित छन् । भारतको बम्बै, शिरणी, शिगणापूर, प्रतापगढ आदि स्थानमा शनिका प्राचीन प्रसिद्ध मन्दिरहरु छन् । शिगणापुर र प्रताप गढको शनि मन्दिर शनिधामको रुपमा प्रख्यात छ । शिंगणापुरमा शनिको ५ फुट ९ ईन्च अग्लो मूर्ति खुल्ला डवलीमा स्थापित छ । शनिबारको दिन शनि मन्दिरमा दर्शनार्थी भक्तहरुको घुईंचो बढ्दो छ । शनिधाम रहेको शिगणापूर गाउँको घरमा ढोका बनाउने र ताल्चा मार्ने चलन छैन । यस गाउँमा यो चलन आजसम्म पनि कायमै छ ।
नेपालमा शनिदेवको बेग्लै मन्दिर छैन । अधिकांश सूर्य मूर्तिहरुमा अन्य ग्रहसँगै शनिको मूर्ति वा चिन्ह कुँदिएको हुन्छ । ग्रहदशा शान्त पार्न शनिदेवको विशेष पुजाआजा, आराधना, व्रत र कथा श्रवण गर्ने चलन छ । महाभारतको अनुशासन पर्वमा सर्धैं पुजा गर्ने ग्रहमा शनिको गणना गरिएको छ । अधिकांशले शनिबार शनिदेवको पुजा गर्दछन् । शनिको अशुभ दृष्टि नपरोस भनेर आधुनिक कालका मानिसहरु पनि सतर्क भएर दैनिक कार्य गर्दछन् ।
शनिको मूर्ति वा ढुंगामा तेल दल्ने वा खन्याउँने गर्दछन् । भारतको शिंगणापुरस्थित धामको शनि मूर्तिमा दिनमै हजारौं लिटर तेल चढाईन्छ । शनिलाई तेल अर्पण गर्ने कारणको सम्बन्ध रामायणकालसँग जोडिएको छ । लंकाका शासक रावण सारै घमण्डी थिए । त्रिलोक विजय गरेपछि यिनले नवग्रहलाई समेत बन्दी बनाएर राखेका थिए । शनिको दृष्टिबाट बच्न रावणले शनिलाई उल्टो पारेर झुण्ड्याएका थिए । हनुमानले लंका प्रवेश गरेर त्यहाँ आगो लगाउँदा ग्रहहरुलाई पनि मुक्त गराएको वर्णन रामायणमा पाइन्छ । त्यहि अवसरमा शनिदेवको शारीरिक पिडा कम गर्न हनुमानले तेल मालिस गरेको उल्लेख छ । त्यहि बेलादेखि नै शनिलाई प्रसन्न पार्न तेल अर्पण गर्ने परम्पराले निरन्तरता पाएको विश्वास छ । शनिपुजामा तेल अर्पण सबैभन्दा महत्वपूर्ण विधि मानिन्छ ।
शनिको प्रतिमा लक्षण
१) विष्णुधर्मोत्तर पुराणमा शनिको लक्षण यसरी बताइएको छ । कृष्णवर्ण, कृष्णवस्त्रधारी, दण्ड र अक्षमाला धारण गरेका, दुई वाहुका, आठवटा सर्पयुक्त फलामको रथमा शनि विराजमान छन् ।
२) अग्निपुराणमा शनिदेवले किङ्किणीसुत्र धारण गरेको उल्लेख छ ।
३) विष्णुधर्मोत्तरमै उल्लेख भए अनुसार शनिको स्वरुप कालो कपडा लगाएको बनाउँनु पर्दछ । दुईवटा हातमा दण्ड र अक्षमाला लिएको बनाउँनु पर्दछ । आठवटा सर्पहरुले युक्त भएको कालो फलामले बनेको रथमा रहेको बनाउँनु पर्दछ ।
४) मत्स्य पुराणमा वायु समान वेगशाली र बलवानघोडाले तानेको फलामको रथमा शनि घुम्ने बताइएको छ ।

५) मत्स्यपुराणका ९४ अंकमा शनिको आयुधबारे वताईएको छ । शनिको कान्ति ईन्द्रनिल मणी जस्तो छ । गिद्धमा चढेका, यिनको हातमा धनुष, वाण, त्रिशुल र वरदमुद्रामा देखाईन्छ ।
६) मत्स्यपुराणको ९३ औं अध्यायमा लक्ष्मी, शान्ति, वृष्टि, दीर्घा्यु र पुष्टिको लागि ग्रहयज्ञ गर्नुपर्ने बताईएको छ । दशहजार आहुति यज्ञलाई ग्रहयज्ञ, नवग्रहयज्ञ भनिन्छ ।
७) सूर्य, चन्द्र, मंगल, बुध, वृहस्पति, शनि, राहु, केतुलाई हितकारी ग्रह मानिन्छ, नवग्रहको यज्ञ गर्दा ग्रहको जस्तो रंग छ, त्यस्तै फूल र वस्त्र अर्पण गर्नुपर्दछ । सूर्यलाई सख्खर र चामलको खिर, चन्द्रमालाई दुध र घिउको पकवान, मंगललाई गोझिया, बुधलाई क्षिर षस्टिक (दुधमा पकाएको चामल), वृहस्पतिलाई दहि र भात, सुक्रलाई घिउ र भात, शनिलाई खिचडी राहुलाई अजा नामक वृक्षको फलको गुदी र केतुलाई विचित्र रंगको भातको नैवेद्य अर्पण गरेर पुजा गर्नु पर्दछ ।
शनिबार शनिको १०८ वटा नाम पाठ गर्ने प्रचलन छ, समयअभावमा एक वा १२ वटा नामहरु शनैश्वराय, शान्ताय, सर्वाभष्टिप्रदायने, सख्याय, वेदव्याय, सर्वसाय, सुखन्ध्याय, सुरलोक विहारिणी, घनाय, सुन्दराय, सुखासनोपविष्टाय, घनरुपाय, बारम्बार पाठ गरिन्छ ।
न्यायका देवता भएकाले मानिसहरु शनिदेवसँग बढी डराउँछन् । अन्याय अत्याचार गर्नेलाई अनेक रुपमा दुखकष्ट दिने र सज्जन परोपकारीलाई सुख दिने देवताका रुपमा शनिदेव प्रसिद्ध छन् । मनुष्य लोकमा आएर उनले न्याय निसाफ आज पनि गर्ने गरेको विश्वास गरिन्छ । सूर्यदेव र शनिको वादविवादका प्रसंगहरु पुराणमा प्रशस्त छन् ।
सनातन धर्मको अमुल्य सम्पतिको रुपमा रहेका शास्त्रहरुले बालबालिका र युवापुस्तादेखि प्रौढसम्मलाई मार्गनिर्देशन गर्दछन् । देवता, दानव, मानव र पशुपंछीलाई पात्र बनाएर यी शास्त्रहरुबाट राम्रा उपयोगी विषयवस्तु मात्र ग्रहण गर्ने शिक्षा बारम्बार दिएको छ ।
धर्म शब्दको अर्थ र उपयोग धार्मिक विधि, नैतिक नियम, कर्तव्य पुजापाठ दान आदि अर्थमा गरिन्छ । धर्म शब्दलाई मनन् गरेमा धर्म त्यो हो जस्को कारण वस्तुको वस्तुत्व सिद्ध हुन्छ । उदाहरणर्थ अग्निको धर्म तातो हो तथा सूर्यको धर्म प्रकाश हो । तातोविना अग्निको अस्तित्व र प्रकाश विना सूर्यको सूर्यत्व नै सिद्ध हुँदैन । (चिन्मयानन्द, श्रीमद्भागवदगीता, श्री चिन्मय आध्यात्मिक सेवा संघ, काठमाण्डौ, २०६०, पृ. ९ )
धर्मले हामी सबैलाई अहिंसाको पालना गर्न, क्षमाशील बन्न, धैर्य गर्न, साँचो बोल्न, सम्पूर्ण प्राणीलाई माया गर्न र तनमन दुवै शुद्ध राख्ने आचरण गर्न निर्देशन गरेको छ । धर्मलाई प्रष्ट पार्न निष्काम कर्म गर्न प्रेरित गर्न तयार पारिएका थुप्रै धर्मग्रन्थहरु छन् । मानिस, देवता, असुर, यक्ष, गन्दर्भ र नागहरुको आख्यानले भरिएका यी शास्त्रबाट शिक्षा लिने, अनुकरण गर्ने विषयवस्तुहरु थुप्रै छन् । हाम्रा यिनै ग्रन्थहरुमा वर्णित आख्यान र गरिमामय गाथाका पात्रहरु मध्ये शनिदेव पनि एक हुन् । हाम्रो मनमा आएको कुकर्म र खराव नियतलाई शनिदेवको स्मरण मात्रले पनि टाढा भगाईदिन्छ ।
त्यसैले हिजोआज शनिदेवका प्रतिमा स्थापना र पूजा गर्दा कालो वस्त्र, ५६ भोगसहित तेल चढाएर शनिदेवको पूजा आराधना र कथा श्रवण गर्ने प्रचलन व्यापक हुँदैछ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)