स्वस्थानी: लेख्नेले ‘त्यस्तै’ लेखिदिए, पढ्नेले पढ्दै गए

कमल रिजालका अध्यात्म-दर्शनमा आधारित एक दर्जन पुस्तक प्रकाशित छन् । रिजालसँग स्वस्थानी सम्वाद:

स्वस्थानी कथा श्रृंखला वा स्वस्थानी संस्कृतिसँग नेपाली समाज र सभ्यताका बारे कुरा गरौं ।

एकताका स्वस्थानी नेपाली समाजको अभिन्न अङ्ग नै बनेको थियो भन्दा हुन्छ । हरेक वर्ष पुस, माघ महिनामा स्वस्थानी नभन्ने घर नै हुँदैन थियो भन्दा बढी हुन्छ जस्तो लाग्दैन । सर्वप्रथम संस्कृत भाषाबाट यसको अनुवाद नेपाल भाषामा भएको थियो ।

यो पुरानो कुरा तर धेरैका लागि नयाँ सुचना हो ।

केही पछि गएर मात्र नेपाली भाषामा अनुवाद भई पढिन थालिएको हो । जब नेपाली भाषामा अनुवाद भयो, तब यसको लोकप्रियता यति बढेर गयो कि एकैचोटी ह्वात्तै मेचीमहाकाली समेट्न पुग्यो । सुरुसुरुमा कतिपय मानिसले साक्षरताको पहिचान नै यसैलाई मानेका थिए । जुन बालबालिकाले राम्रोसँग स्वस्थानी भन्न र सुनाउन सक्थे उनीहरू अवल दर्जाको मानिन्थे ।

अहिले यसको लोकप्रियता घटेको छ ?

घटेको छ भन्ने होइन । आधुनिक पुस्ताको कुरा छाडौं, पश्चिमा शिक्षाको हावाले केकतिलाई छोएको छ, त्यो बेग्लै कुरा हो । पुरानो पुस्ताको कुरा गर्ने हो भने अहिले पनि स्वस्थानीको स्थान उत्तिकै सम्मानित छ, समुन्नत छ । काठमाडौं उपत्यकाको शालीनदीमा महिनाभर स्वस्थानी मेला नै लाग्दै आएको छ । पहाड–पर्वतकै कुरा गर्ने हो भने पनि पूरा महिनाभर स्वस्थानीको व्रत बस्ने आमाहरूको समूह ठूलै छ ।

तर यसका केही अशोभनीय अस्वाभाविक पक्ष पनि छन् नि । जस्तो कि बालविवाह, बहुविवाह, स्त्री जाति भनेका भोग्या हुन्, श्रीमती भनेका दाशी हुन, यस्तैयस्तै । यसबारेमा चाहिं के भन्नुहुन्छ नि ?

यो आ–आफ्नो दृष्टिमा भर पर्ने कुरा हो । जस्तो आँखाले हे-यो, संसार त्यस्तै देखिन्छ । कसैलाई गुलियो मन पर्दैन भने उसका लागि त्यो जति सत्य हो, कसैलाई मन पर्छ भने त्यो पनि उसका लागि उत्तिकै सत्य हो । पश्चिमी संस्कृतिको लेप लागेको संस्कृति मात्र सही संस्कृति मान्ने र ठान्नेहरूलाई स्वस्थानी संस्कृति न राम्रो लाग्न सक्छ तर यसको अर्थ यो होइन कि स्वस्थानी संस्कृति आफैमा नराम्रै संस्कृति हो । आफ्नै शिक्षा र संस्कृतिमा रमेका वा रम्न चाहनेहरूले राम्रो मानिरहेका छन्, मान्दै आएका छन् । कसैलाई मन पर्दैन भने उसले नमान्न सक्छ, पाउँछ तर नकारात्मक टीका टिप्पणी गर्दै हिड्न भने कसैले पनि पाउँदैन, हुँदैन । हो, स्वस्थानीमा समयसापेक्ष नभएका वा हुन नसकेका केही प्रसङ्ग जरुर छन् तर त्यो कुन परिवेशमा लेखियो भन्ने पनि हेर्नुपर्ने हुन्छ । तत्कालीन समाजले सायद त्यस्तै रुचाउँथ्यो, त्यस्तैलाई सजिलै पचाउन सक्थ्यो । लेख्नेले त्यस्तै लेखिदिए, पढ्नेले पढ्दै गए । फेरि पनि अपजसको भार पूरा ग्रन्थलाई दिन्छौं भने हत्केलाले आँखा छोपेर अँध्यारो भयो भन्दै हिड्नु जस्तै हो ।

त्यसो भए स्वस्थानी कथा मात्र होइन ? हो भने अरु के हो त ?

रूपमा त त्यही हो । यो कथा हो, कथा मात्रै हो तर सारमा होइन ।

सारमा के हो त यो ?

सारमा भन्ने हो भने यो जीवन हो, जीवनदर्शन हो, जीवन पद्धति हो, दैनिक जीवन चर्या हो, सबैभन्दा बढी काम, कर्तव्य र अधिकारको समन्वयात्मक प्रस्तुति हो, प्रतिविम्ब हो । जीवनमा सबैले आफ्नो हक र अधिकार खोजी गर्नुपर्छ तर कर्तव्यलाई भने बिर्सन हुन्न । स्वस्थानीले सारमा दिएको सन्देश यही हो । हक अधिकार खोज्नेले कर्तव्य बिर्सदै हिड्नु उचित हो भने स्वस्थानी मन गणन्ते कथा मात्र हो । यदि त्यो उचित होइन भने स्वस्थानी पनि कथा मात्र होइन, कथाभन्दा धेरै अरु नै हो । पाप गर्दा विष्णुले पनि त्यसको फल भोग्नुपरेको छ । पितृधर्म पालन गर्दा भिखारी ब्राह्मणीको छोरा पनि राजा भएको छ । अरुको डाहा गर्दा दक्षप्रजापतिको शिरच्छेदन भएको छ । सहयोग गर्दा पहाड पर्वतले पनि सम्मान पाएको छ । यो भन्दा उत्तम सामाजिक शास्त्र अरु के खोज्ने ? आजका शासकहरूले स्वस्थानीबाट अलिकति मात्र शिक्षा लिएका भए पनि सायद समाजको अवस्था अर्कै हुन सक्ने थियो । त्यसैले स्वस्थानी केही पनि होइन भन्दै व्यर्थै उम्लिंदैं हिड्ने होइन कि स्वस्थानीको कक्षा लिनेतिर ध्यान दिनु उचित हुनेछ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button