मेरो सपनाको नेपाल

बासुदेव गौतम
तिलोत्तमा नगरपालिका

म नेपालको रमणीय आगतको जुन कल्पना वा आशा गरिरहेको छु, त्यही नै मेरो सपनाको नेपाल हो । भविष्यको नेपालको जुन मानसचित्र मेरो हृदयमा टाँसिएको छ, त्यही नै मेरो सपनाको नेपाल हो । प्रकृतिको क्रीडाभूमि, ऋषिमुनिहरूको तपोभूमि, वीरयोद्धाहरूको कर्मभूमि मेरो नेपाललाई उत्तरमा हिमालयको अभेद्य किल्लाले सगरसँग सम्बन्ध जोरिदिएका छन्; पूर्व र पश्चिममा मेची र कालीले सीमाना कोरिदिएका छन्; सागरसँग साइनो गाँसिदिएका छन् । दिव्यसौन्दर्यको पुञ्ज मेरो नेपालले अत्यन्तै मीठो गौरवमय अतीत बोकेको छ ।

मेरो सपनाको नेपाल आत्मनिर्भर हुनेछ । यस देशका जनताले सुनदेखि लिएर नुनसम्मका लागि विदेशको मुख ताक्नुपर्नेछैन । समानता, श्रमशीलता, नैतिकता, न्यायशीलता, सेवाभावना र कर्मठता मेरो सपनाको नेपालका अद्वितीय आदर्श हुनेछन् मेरो सपनाको नेपालबाट शान्तिको ज्वाला प्रोज्ज्वलित हुनेछ र त्यसले विश्वलाई नै आलोकित तुल्याउनेछ । “न्याय नपाए नेपाल जानू” भन्ने उखान विश्वभर फैलिनेछ । मेरो सपनाको नेपालमा संस्कृतिको ससम्मान विकास गरिनेछ र विकृतिहरूको विनाश गरिनेछ । अतः मेरो सपनाको नेपालबाट राजनैतिक, सामाजिक, प्रशासनिक एवम् प्राज्ञिक क्षेत्रमा देखिएका यावत् विसङ्गतिहरूले बिदा लिनेछन् र अतीतको गौरवगाथा यहाँ पुनर्जागृत हुनेछ ।

मेरो सपनाको नेपालको नयाँ कायाकल्प हुनेछ । अतीतका गौरवगाथाहरूको संस्मरण गर्दै तिनको साहसिक अनुसरण हुनेछ, यहाँका माटाबाट वेदव्यासले अठार पुराणको रचना गर्दै परोपकारी भावनाको सञ्जीवनी फिंजाएको कुराको सम्झना हुनेछ । यहीं माटामा उदाएका एसियाकै ज्योतिर्पुञ्ज गौतम बुद्धले विश्वभरि नै ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’ को भाव अनि शान्तिको सन्देश फिंजाएको कुराको स्मरण हुनेछ यहीँकै उर्वर माटाका जन्मेर आत्माहुति दिने वीर-वीराङ्गनाहरूको अदम्य साहसको गुणगान हुनेछ अनि तिनकै सम्झना र गुणगानमात्र होइन, तिनका सत्कार्यहरूको अनुसरण पनि हुनेछ । मेरो सपनाको नेपालमा बुद्धको जन्मस्थल लुम्बिनीमा बौद्ध विश्वविद्यालयको स्थापना हुनेछ अनि विश्वशान्तिको अजस्रस्रोत विश्वभर फिंजिनेछ । विश्वभरिका युद्धपिपासहरूलाई ल्याएर सोही विश्वविद्यालयको प्रयोगशालामा ग्रन्थिहरूको शल्यक्रिया गरिनेछ ।

मेरो सपनाको नेपालले अशिक्षा र अज्ञानको कुहिराभित्र रुमल्लिनुपर्ने छैन । अधिकांश निरक्षर नेपालीहरूका घर-आँगनमा चेतनाको मिर्मिर झुल्कनेछ; ज्ञानको ज्योति चम्कनेछ । महँगो शिक्षा आर्जन गरेर रोजगारको भिक्षा माग्दै आजीवन परजीवी बन्नुपर्ने दुर्नियतिबाट शिक्षित वर्ग उम्कनेछ | जीवनोपयोगी प्राविधिक व्यावसायिक शिक्षा आर्जन गरेर पढे लेखेकाहरू आफ्ना खुट्टामा आफै उभिनेछन् । शिक्षा र सुविधाका अवसरहरू सहरमा मात्र केन्द्रित हुनेछैनन्; गाउँ गाउँमा विद्यालय र महाविद्यालयहरू स्थापना हुनेछन् । नेपाली जाति शान्ति र आध्यात्मिक शिक्षाको आलोक विश्वभर फिजाउन र स्वावलम्बी एवं आत्मनिर्भर बनी विश्वमा आफ्नो गौरव पुनर्जागृत गर्न उद्यत रहनेछ, यसरी मुलुकमा शिक्षा र चेतनाको झुल्केघाम उदाउँदा हिमालयले मुसुक्क मुस्काएर त्यस घामलाई मीठो स्वागत गर्नेछ ।

मेरो सपनाको नेपालले अशिक्षा र अज्ञानको कुहिराभित्र रुमल्लिनुपर्ने छैन । अधिकांश निरक्षर नेपालीहरूका घर-आँगनमा चेतनाको मिर्मिर झुल्कनेछ; ज्ञानको ज्योति चम्कनेछ । महँगो शिक्षा बनाउनेहरू तिरस्कृत होइन पुरस्कृत हुनेछन् । अनि देशप्रेमीहरूको बिचल्ली हुनेछैन । मेरो सपनाको नेपालमा एउटा स्वच्छ-पवित्र एवम् राष्ट्रिय हितका लागि विकासको राजनीति हुनेछ । जनताको आस्था र विश्वास जितेर निर्वाचित प्रतिनिधिहरू व्यक्तिगत चिन्तन अनि सोचको गर्तबाट माथि उठेर स्वच्छ राजनीतिको र राष्ट्रिय विकासका अभियानमा संलग्न हुनेछन् ।

सत्तासमीकरणभन्दा विकासको समीकरणमा बढी जोड दिइनेछ, कृषिप्रधान देश कुर्सीप्रधान देश बन्नेछैन । परीक्षामा अनुत्तीर्ण हुनेहरू राजनीतिमा सत्ता आरोहण गर्ने दुस्प्रयास पनि हुनेछैन न त नदीनाला सुम्पेरै सत्ता जोगाइराख्ने अभ्यास नै हुनेछ । हिजोसम्मको भित्रिया आजैदेखि अछुत हुनेछैन । हिजोसम्मको अछूत आजदेखि भित्रिया हुनेछैन । राष्ट्रिय विकासका लागि सहमति हुनेछ, विनाशका लागि होइन प्राडा र पजेराहरूभन्दा पाखा र पखेराहरूप्रति मोह हुनेछ । नेताको नाम सम्झदा नाक थुन्नुपर्नेछैन मेरो घर बनाउन भनी होइन, मेरो मुलुक बनाउन भनी राजनीति हुनेछ । मुलुक मार्नेहरू पुरस्कृत होइन तिरस्कृत हुनेछन् । मुलुक बनाउनेहरू तिरस्कृत होइन, पुरस्कृत हुनेछन् । अनि देशप्रेमीहरूको बिचल्ली हुनेछैन । मेरो सपनाको नेपालमा एउटा स्वच्छ पवित्र एवम् राष्ट्रिय हितका लागि विकासको राजनीति हुनेछ ।

मेरो सपनाको नेपालमा वीर वीराङ्गनाहरूले पुनर्जन्म लिनेछन्, यहाँको माटाबाट नयाँ नयाँ जानकी जन्मनेछन्; हिउँबाट साहसिक पासाङ् जन्मनेछन् । नालापानीका बलभद्र कालापानीबाट पुनर्जन्म लिएर खुकुरीमा साँध लगाउँदै उदाउनेछन् । देशभक्तिको भावना पुनर्जागृत गर्न भक्ति थापा नयाँ शक्तिसाथ आउनेछन् । वर्षमा एक दिन बन्द कोठाभित्र बसेर शहीदप्रति ओठेभक्ति देखाइनेछैन शहीदका सपनालाई विपनामा अनुवाद गर्न नयाँ नयाँ वीरहरू जन्मनेछन् । यहाँ शहीदको खेती गरेर आफ्नो भकारी भरिनेछैन अनि शहीदपरिवारका आँसुको मदिरापान पनि गरिनेछैन । खाऊ खाऊँ र लाऊ लाऊँको उमेरमा कान्छा र बहादुर भएर विदेशका जुठ्यानमा नेपालीका सन्तानहरूले हात कुहाउने छैनन् । नेपालीहरूले भाडाको बन्दुक बोकेर पराइको जितका लागि आफूलाई उत्सर्ग गर्नेछैनन् । मामका लागि तमाम नेपालीहरूले विदेशीको दरबान, कुल्ली बहादुर र कान्छा बन्नुपर्नेछैन ।

मेरो सपनाको नेपालमा कवि, कलाकार, शिक्षक प्राध्यापक र बुद्धिजीवीहरूको सम्मान हुनेछ । मेरो सपनाको नेपालमा कविकलाकारले औषधोपचारका अभावमा पीडामय मृत्यु बेहोर्नुपर्नेछैन न त सरस्वतीका वरद पुत्रहरूले कविता बेचेर पेट नै मर्नुपर्नेछ । पेसाप्रति निष्ठावान् शिक्षक, कर्मचारी र प्राध्यापकहरूको अपमान र अवनति हुनेछैन । सम्मान र इज्जतका लागि राजनैतिक दलका पाउमा सेवा चढाउन शिक्षक र प्राध्यापकहरूको म्याराथुन हुनेछैन । राजनैतिक दलहरूले गुणस्तर चिह्न लगाएका बुद्धिजीवीहरूभन्दा आफ्नो बुद्धि विवेक र ब्रह्मले देखेको कुरो बिख पिउनुपरे पनि निर्धक्कसाथ ओकल्ने बुद्धिजीवीहरूको सम्मान हुनेछ । बौद्धिक वेश्यावृत्तिले प्रश्रय पाउनेछैन । बाँचुन्जेल तिरस्कार गर्ने अनि मरेपछि पुरस्कार दिने प्रथा त्यागिनेछ अनि जीवनभर अपमानित गर्ने र मरेपछि सम्मान गर्ने आठौं आश्चर्यले मेरो सपनाको नेपालमा कदापि स्थान पाउनेछैन । जनताले भय र त्रासबाट मुक्ति पाई शान्ति र अमन चैनसाथ जीवनयापन गर्न पाउनेछन् । न्याय सस्तो र प्रशासन सुलभ हुनेछ ।

यो मेरो सपना सपना मात्रै होइन, जपना हो; आदर्श मात्रै होइन, यथार्थ हो मेरो सपना मेरो सोचाइ हो, चिन्तन हो, सङ्घर्ष हो, समर्पण हो र लक्ष्य पनि हो । मेरो सपना भनेको मेरो नेपालको सुनौलो भविष्य हो ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button