
संसारमा दुई प्रकारका नेता हुन्छन्- एक थरी हर्क, बालेन र रविहरुजस्ता

सामयिक लेखः युवा बेरोजगार भएको देख्न सक्तिनँ म !
पेशल आचार्य
‘युवा बेरोजगार भएको देख्न सक्तिनँ म !’ गहिरो जीवनवादी सोच र शीर्षकका लागि पूर्वको सुन्दर नगरी धरानका मेयर हर्क साङ्पाङ्जीलाई हार्दिक आभार प्रकट गर्नु आफ्नो कर्तव्य सम्झन्छु । यो संसारमा दुई प्रकारका नेता हुन्छन्– एक, आफ्नो लागि नेता र दुई अर्काका लागि नेता । मेयर हर्क साङ्पाङ् यतिखेर अहिले अर्काका लागि नेता भएका छन् ।
आफ्ना लागि नेता जो सुकै हुन सक्छ । जहिले सुकै हुन सक्छ । जसरी पनि हुन सक्छ । पैसा खर्च गरेर चुनावमा मत किन्न सक्छ । विराशतमा पाएको पदलाई बाबु बराजुको हिङ बाँधेको टालोसँग भँजाउन सक्छ ।
कथा र व्यथा सबैको फरकफरक भए पनि कमि र आवश्यकता भने सबैको पैसा नै रहेछ । यो कुरा राजनीति गर्नेहरुमा झन धेरै देखियो । कसै कसैमा अपवादमा मात्र देखिएन । जस्तोः हालै केही महिनाअघि मात्र दिवङ्गत भएका नेपाली काँग्रेसका वैचारिक नेता प्रदीप गिरीको जीवन, सोच, आदर्श र राजनीति गराइको तौर तरिकाहरु पैसाका लागि मरिहत्ते गरेको देखिएन । उहिले नेपाली काँग्रेसकै आदर्शवादी नेता सिके प्रसाई (छत्रमानकेसरी प्रसाईं) त्यस्तै भन्थे । अझ उनी त ‘मन जे मान्यो त्यो सत्य’ भन्थे ।
मनले मानेको र ठानेको कुरा सत्य हो । चाहे त्यो निरक्षरको सोच होस् या साक्षरको या शिक्षितको नै । हरेक मानिसको हृदयमा हरिको बास छ । मानिस जति नै नपढेको होस् उसमा ज्ञान छ भने संसारलाई बुझाउन सक्ने तागत उसमा हुन्छ । यो देखिएको पनि छ । विगत् ७ महिना यता मेयरको पदमा आसीन हर्क साङ्पाङ्को काम गराइको शैली र सोचमा त्यो देखिएको छ । चुनाव अघि उनी एक्लै मायक लिएर प्रचार प्रसारमा हिँडेका, कसैले उनले भनेको नसुनेको देखिएको तर चुनावमा उनी विपक्षी उम्मेदवारका विरुद्ध करिब ५ हजार मत अन्तरका साथ सानदार मेयर पदमा विजयी हुनुले उनको प्रचारप्रसार ह्वात्तै बढ्यो ।
यतिखेर उनी मेयर भएर चुप लागेर बसेका छैनन् । उनले आफूले सुविधामा पाउने गाडी समेत नकिनेर नगरको विकासका लागि डोजर र जेसिबी किनेका रहेछन् । उनी धरानका लागि पानी खुवाउन लागि परेका छन् । उनको सिको गर्दै काठमाडौँका मेयर बालेन्द्र शाहले समेत कहिले टुकुचा खोल्ने काम गरेका छन् भने कहिले थापाथलीको एरिया बागमती नदी किनारमा बसेका अवैध सुकुम्बासी उर्फ हुकुम्बासीलाई उठाउनका लागि लागि परेका छन् । केही दिन मात्रै लोक सेवा आयोगबाट परीक्षा लिएका तर वैकल्पिक तथा अस्थायी सूचिमा परेर जागिर खान नसकिरहेका इन्जिनियरहरुलाई बालेन शाहले काठमाडौँ महानगरपालिकाका इन्जिनियरमा मेरिट लिष्टबाट चुनेर लिने निर्णय गर्नाले यतिखेर सबैका हाईहाई बनेका छन् । लोभानीपापानी नभएका स्वतन्त्र जनप्रतिनिधिहरुले गर्ने काम भनेकै यस्तै खालका जनप्रिय हुनु पर्दछ । अनि मात्र जनताले पत्याउने गर्दछन् । जनतालाई एक हिसाबले हेर्दा राजनीतिक पार्टीका कार्यकर्ता वा नेताहरु चुनिएर सत्तामा आउनुभन्दा स्वतन्त्रहरु नै चुनिएर सत्तामा आउनु धेरै गुणा राम्रो रहेछ भन्ने कुरा देखिएको छ ।
यो कुराको सकारात्मक असर हालै सम्पन्न प्रतिनिधि सभाको चुनावबाट निर्वाचित जनप्रतिनिधिहरुमा समेत परेको देखियो । चितवन क्षेत्र नं–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित सांसद रवि लामिछानेले चितवन जिल्लाको उनको निर्वाचन क्षेत्रमध्ये खानेपानीको सुविधा नभएको स्थानमा मुहान पत्ता लगाई खानेपानी ल्याउने कामको नेतृत्व समेत लिएका छन् । त्यसैगरी उनले खेतीपातीका लागि रासायनिक मल आयात सम्बन्धमा केकस्तो व्यवस्था हुन्छ त्यो बुझ्नका लागि चितवनस्थित साल्ट ट्रेनिङ् कर्पोरेसनको अफिसमा गएर बुझ्ने काम गरेका छन् । यतिखेर हिउँदे बालीका लागि गहूँ लगाउने ठिक्क समय भएको छ । भारतबाट आउने मलमा पूरै कागजी प्रक्रियाले गर्दा किसानहरुले भनेका बेला मल नपाउने समस्या खेतीपातीका लागि चर्को हुँदै गएको छ भने अर्कातिर निजी कम्पनीहरुले मगाएको मलमा भने जथाभावी भाउ राखेर ब्ल्याकमा विक्री वितरण गरिएको समेत पाइएको छ । यस्तो अवस्थालाई अन्त्य गर्नका लागि जनप्रतिनिधिहरु नै नताती भएकै छैन । यो कुरा अबका नयाँ र युवा जनप्रतिनिधिहरुले बुझेरै होला जन सरोकारका सबालमा हात हाल्न थालेका छन् । यो सोह्रै आना राम्रो काम हो ।
कृषिलाई प्राथमिकतामा नराखी नेपाल अब उँभो लाग्दैन । यो कुरा नयाँ र ऊर्जावान् तथा भिजनेबल नेताहरुलाई गज्जबसँग थाहा छ त्यसैले उनीहरुले अब कृषिमा हात हाल्नैका लागि मल, बीउ, आधुनिक कृषि औजार, सिँचाई, उत्पादन, बजार, वितरण र मुनाफालाई बुँदागतरूपमा छोटकरीमा विश्लेषण गरेर ‘भिजन, मिसन र गोल’ सेट गरेरै अघि जानुपर्ने बेला भैसकेको छ । यही कुरालाई नेपाली काँग्रेसका युवा नेता तथा काठमाडौँ क्षेत्र नं.–५ का जनप्रतिनिधि प्रदीप पौडेलले आफ्नो क्षेत्रको समस्या राम्रोसँग गहिराइमा बुझेर नै रिङ् रोडको सडक निर्माण कार्यमा भएको ढिलासुस्ती बारे गहिरो चासो लिँदै व्यापक रुपमा बुझ्ने काम गरेका छन् ।
अबको पाँच वर्ष अहिले जति पनि युवाहरु संघीय र प्रादेशिक संसदमा चुनिएर गएका छन् तत्तत् स्थानमा फाष्ट ट्रयाकमा गएर काम नगर्ने हो भने आउने चुनावमा ती युवाहरुका विकल्पमा समेत थप नयाँ युवाहरु जुलुस बनेर संसद बनेर छिर्ने पक्कापक्कीजस्तै छ । त्यसैले बूढा, पुराना, काम टोल्ने, अनेक बहानाबाजी गर्ने साथै अगर, मगर, लेकिन, बट, किन्तु तर भन्नेहरुलाई जनताले एकातिरबाट खबरदारी गरिरहने छन् भने अर्कातिर संसदमै गएका युवा र नयाँ सांसदहरुले छाड्ने छैनन् ।
यो पाँच वर्ष जेजस्तो रुपमा सरकार सञ्चालन भए पनि युवाहरुको स्पिरिट पक्रन नसक्ने सांसदहरुलाई संसद भित्रैबाट काम गर्न व्यापक जनदबाव आउने छ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)