डाक्टर तोसिमा र वकिल सोवितालाई पत्र

हिरा दाहाल

प्रिय तोसिमा र सोविता बहिनीहरु
सबैभन्दा सुरुमा त यो उत्साहपुर्ण जितको लागि धेरै धेरै बधाई !

यस आवधिक निर्वाचनमा तपाईंहरुको चर्चा र त्यसले पाएको सफलता वास्तवमै अद्भुत रह्यो । तपाईंहरु सांच्चै सम्पुर्ण जनताको आशाको केन्द्रविन्दु बन्नुभएको छ । महिला सांसद भएको नाताले तपाईहरुप्रति हाम्रो अपेक्षा अझै बढि रहेको छ । तपाईंहरुलाई थाहा नै होला हरेक बर्ष झैं आज अर्थात २५ नोभेम्बर बाट १० डिसेम्बरसम्म लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान मनाइंदै छ । एक सांसद भएका नाताले पनि लैगिंक हिंसाका प्रमुख मुद्धाहरु के-के छन् भनेर त तपाईंहरुलाई अवगत नै छ ।

त्यति हुँदाहुंदै पनि आफुले दशकौंदेखि काम गर्दै आएको अनुभवमा मनोरञ्जन क्षेत्रमा कार्यरत महिलाहरुको जटिल मुद्धाहरुको बारेमा केहि सुनाउन मन लाग्यो । तपाईहरु स्वास्थ्य विज्ञ र कानुनविद् भएका कारणले सकेसम्म यि दुई विषयका समस्याहरुलाई केलाउने प्रयास गर्नेछु । आशा छ, तपाईंहरु दुवैले भोलि संसदमा पुगेर यि बिषयहरुलाई गम्भीरताका साथ उठाउनुहुनेछ र साँच्चै आज हामीले भोट दिएर तपाईंहरुलाई संसद पुर्याएको परिणाम सार्थक पार्नु हुनेछ ।

काठमाडौं क्षेत्र नं २ मै पर्ने जडिबुटी, कोटेश्वरलगायत काठमाडौंका विभिन्न क्षेत्रमा रहेका मनोरञ्जन क्षेत्र भनेर चिनिने ब्यवसायहरु जस्तै क्याविन रेष्टुरेन्ट, खाजा घर, दोहोरी रेष्टुरेन्ट जस्ता ठाउँहरुमा आज पनि किशोरी तथा महिलाहरु दिनदिनै शोषणपुर्ण अवस्थामा काम गर्न बाध्य छन् । बाँच्नकै लागि आफु बेचिन बाध्य छन् । उनिहरु आफुलाई कसैले चिन्छ कि भनेर आफ्नो परिचय लुकाएर बांच्न बाध्य छन् । आफ्ना बालबालिकालाई खुवाउन र शिक्षा दिनकै लािग जस्तोसुकै ज्यानको जोखिम मोल्नुपर्ने अवस्थामा छन् । आफ्ना विरामी बुवाआमाको उपचार तथा भाईबहिनीको पढाइकै लागि भनेर दिनदिनै आफु आँशुमा डुवेर काम गर्न बाध्य छन् ।

सन् २००८ मा महिला, बालबालीका तथा जेष्ठ नागरीक मन्त्रालयले मनोरञ्जन क्षेत्रमा कार्यरत महिला श्रमिकहरुको एक अध्ययन गरेको थियो । अध्ययनमा करीव ५० हजार महिला श्रमिकहरु यस क्षेत्रमा कार्यरत छन् भनेर देखाईएको छ । यस क्षेत्रमा काम गर्ने महिलाहरुको समयमा तलव नपाउने, श्रम सम्झौता नपाउने, ग्राहकहरुसंग बस्न बाध्य पारीने तथा यौन शोषण र श्रम शोषणमा पर्ने जस्ता अनेकौ समस्याहरु रहेको उक्त अध्ययनले समेत देखाएको थियो । २००८ मै सर्वोच्च अदालतले यस क्षेत्रमा कार्यरत महिलाहरुको यौन उत्पीडन नियन्त्रणको लागि एक निर्देशिका जारी गरेको थियो भने तुरुन्तै कानुन बनाउने आदेश समेत दिएको थियो । उक्त निर्देशिक न त आजसम्म प्रभावकारी रुपमा लागु भएको छ न त महिला श्रमिकका यि समस्याहरुलाई सम्बोधन गर्न कानुन नै बनेको छ ।

मनोरञ्जन क्षेत्रमा कोभिडले के कस्तो असर पारेको छ त भनेर बुझ्नको लागि छोरी संस्थाले सन २०२१ १५० जना मनोरन्जन क्षेत्रमा कार्यरत किशोरी तथा महिलाहरुसँग एक अध्ययन गरेको थियो । यस अध्ययनको उद्धेश्य कोभिड १९ मा महिला श्रमिकहरुको जीवनमा पारेको असरको पहिचान गर्नु थियो । खासगरी उनीहरुको आर्थिक अवस्था, काम गर्ने ठाउँको अवस्था, लकडाउनको समयमा उनीहरुको उनीहरुको आर्थिक, सामाजिक र मनोसामाजिक अवस्थाको विश्लेषण गर्नु रहेको थियो । यस अध्ययनमा सहभागीमध्ये ४६ प्रतिशतले लकडाउन पछिको समयमा आफु बाँच्नको लागि यौन ब्यवसाय सुरु गर्नुपरेको तितो यथार्थ सुनाएका थिए । अध्ययनमा सहभागिहरु मध्ये ५२ प्रतिसतको आम्दानीको अवस्था हेर्दा कोभिड अगाडि महिनाको २० हजार तथा त्यो भन्दा माथि कमाई गरिरहनेहरुको आम्दानी लकडाउनमा ० भएको थियो भने लकडाउन खुलेपछि पनि उनीहरुको कमाई १० हजार भन्दा कममा नै झरेको पाईएको छ ।

लकडाउनको समयमा महिला श्रमिकहरुले कसरी गुजारा गरेका थिए त भन्ने पक्षलाई हेर्दा अध्ययनमा सहभागि ९९.३ प्रतिसत ले एकदमै थोरै पैसाले आफ्नो जिवीकीपोर्जन गरेको अनुभव सुनाएका थिए । मिना (नाम परिवर्तन)ले आफुले कसरी बांचेको थिएं भनेर सुनाउने क्रममा थपेकी थिईन्, म एकछाक मात्र खाना खान्थें । अनि मेरो ३ बर्षको छोरालाई जाउलो खुवाउंथें । छोराले मासु खान मन लाग्यो ममी भनेर रुँदा आफुले छोराको ईच्छा पुरा गर्न नसकेको अवस्था सम्झिँदा मन नै कुँडिएर आउँंछ ।

केहि सहभागिहरुले आफुले अलिअलि बचत गरेको हुनाले त्यसबाटै पुर्याएर खाएको अनुभव पनि सुनाएका थ्एि । तर ३६.७ प्रतिसतको कुनै पनि बचत थिएन । त्यसैले उनीहरुलाई यस समयमा दैनिक जीवीका चलाउनको लािग निकै कठिन भएको पाइयो । यो कठिन परिस्थीती पनि यतिसम्म थियो कि अध्ययनमा सहभागि मध्ये ८७.३ प्रतिसतमा आत्महत्याको सोच आएको थियो । जिवनमा आएका बाधाहरु त्था कठिन परिस्थीतीहरुलाई सामाना गर्ने क्रममा उनिहरुमा मनोसामाजिक असर पनि धेरै परेको देखिन्छ । अध्ययनमा सहभागि मध्ये ५५.३ प्रतिसतले जिवनप्रति पुर्ण निराशा बनेको कुरा सुनाएका थिए भने ५५.३ प्रतिसतले आफु जतिखेर पनि एक्लोपनको महशुस मात्र गर्न थालेको बताएका थिए । त्यसैगरी ६८ प्रतिसतमा निन्द्रा नलाग्ने समस्या बढेको पाईएको छ भने ७४ प्रतिसतमा रिस उठ्ने र ८.७ प्रतिसतमा बदलाको भावना बढेको अनुभव अध्ययनमा सहभागिहरुको रहेको छ । त्यसैगरी ९२ प्रतिसतमा बढ्दो चिन्ताले गर्दा उनीहरु अस्थीर (अनस्टेबल) भएको पनि पाईएको छ ।

मानसिक स्वास्थ्य मात्र नभएर यस क्षेत्रमा काम गर्ने महिलाहरुको यौन तथा प्रजजन स्वास्थ्य अवस्था पनि अत्यन्तै जटिल रहेको छ । सेतो पानी बग्ने, चिलाउने, पाठेघरमा घाउ हुने, महिनावारी गडबड हुने जस्ता समस्याहरु सवैजसो महिला तथा किशोरीहरुले भोग्दै आएका छन । यसैगरी हाई ब्लड प्रेसर, थाईराईड र डाईबेटीजका समस्याहरु पनि अन्य महिलाहरुको तुलनामा यस क्षेत्रमा कार्यरत महिलाहरुमा बढि नै पाईएको छ । कोभिडको समयमा त रोजगार गुमेको कारण धेरैले प्रेसर, सुगर, थाईराईड र मानसिक समस्याका नियमित खाने गरेका औषधिहरुसमेत खान छोड्नुपरेको तितो यथार्थ छ । यहि रमझम शहरमा दिन विताईरहेका महिलाहरुको अवस्था समेत देशको दुरदराजमा बस्ने महिलाहरुको भन्दा कम दयनिय छैन ।

कोभिडको असर कम भए पनि यस क्षेत्रका महिला श्रमिकहरुको शारीरीक तथा मनोसामाजिक स्वास्थ्य समस्यालाई संवोधन गर्नको लागि राज्यले केहि कदम चाल्न सकेको छैन । वास्तवमा मनोरंजन क्षेत्रका श्रमिक महिलाहरु यहां बाध्यताले काम गरिरहेका छन् भन्ने विवशतालाई बुझ्नुको सट्टा उनीहरु आफ्नो ईच्छाले अनि रमाईलोको लागि काम गर्न आएका महिला तथा किशोरीहरुको रुपमा हेरिन्छ । जसले गर्दा उनीहरुले भोग्दै गरेको समस्याको गाम्भीयर्तालाई कहिले पनि राज्यले संवेदनशिल रुपमा बुझ्ने र संवोधन गर्नेतर्फ ध्यान दिएको देखिंदैन । एउटी महिला कुन अवस्थामा आफ्नो शरीर बेच्न बाध्य हुन्छिन् भन्ने बुझ्न एक महिलाकै आँखाले हेर्नुपर्ने जरुरी हुन्छ ।

मनोरञ्जन क्षेत्रमा कार्यरत महिलाहरुले आजसम्म एक श्रमिकको दर्जा पाउन सकेका छैनन् । नेपालमा पार्टटाईम रोजगारीको कुरा उठाइरहने सोविताज्युलाई एक पटक यस क्षेत्रमा कार्यरत महिलाहरुको लिखित श्रम सम्झौता, सम्झौता अनुसारको ज्याला, भईपरी आउने तथा आपतकालीन विदाहरु जस्ता अत्यन्तै आधारभुत कुराहरुको ब्यवस्थापनको लािग नितिगत तहबाटै सम्बोधन हुने गरी आवाज उठाईदिन हुन पनि अनुरोध गर्न चाहन्छु । यस क्षेत्रका महिलाहरुको समस्याहरु तथा सम्वोधन गर्नको लागि यहाँहरुको थप जिज्ञांसा भए उहाँहरुसँग छलफल तथा अन्तरक्रियाको लागि वातावरण मिलाईदिने र यहाँहरुलाई यि समस्याहरुको गहिराईमा पुग्न सक्दो मद्धत गर्ने प्रतिवद्धता पनि गर्न चाहन्छु ।

संसदमा तपाईंहरुको उपस्थितीले हामी सम्पुर्ण नेपालीहरुलाई दिएको उर्जा र आशालाई वास्तविकतातिर बदल्ने तपाईंहरुको अठोटप्रति सलाम छ । तपाईंहरुको उपस्थितिले मनोरञ्जन क्षेत्रका महिला तथा किशोरीहरुको अवस्थालाई संवोधन गर्न पक्कै मद्धत पुग्नेछ भन्ने पुर्ण अपेक्षा लिएको छु ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

2 Comments

  1. मनोरञ्जन क्षेत्रमा कार्यरत दिदि बहिनीको लागि काम गर्दै आइरहनु भएको आदरणीय हिरा म्याम प्रति मेरो उच्च सम्मान छ !
    हरेक दिदी बहिनीहरुको दु:ख पिडा सुनिदिने र उहाँहरुलाइ साथ दिने एक महान अनि शक्तिशाली नारी ❣️तपाईंको हरेक काममा गर्व लाग्छ ?
    डाक्टर तोसिमा र वकिल सोवितालाई लेख्नु भएको यो पत्र मैले 2 पटक पढे ! l feel very happy ?

  2. हिरा म्याड्म ?नमन

    यो बास्तबिकता उठान गर्नु भएको मा

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button