
वीपी, प्रदीप र बाबुरामजस्तै राइटब्रेनवाला घनश्याम भुसालको भविष्य
ओम बानियाँ
लेखक साइकोथेरापिष्ट हुन् ।
स्व. प्रदिप गिरी नेपाली काँग्रेसका नेता थिएनन् । उनले कहिल्यै आफुलाई नेता पनि ठानेन्न । मुलतः उनी चिन्तक थिए, विचारक थिए, अध्येयता थिए । उनीसँग पढेका ज्ञानलाई मिठो र रोचक शैलीमा प्रस्तुत गर्ने अद्भुत कला थियो । यही कलाका कारण नै उनको नेपाली राजनीति आकाशमा एक बौद्धिक राजनीतिज्ञको पहिचान बनेको छ । मनोवैज्ञानिक दृष्टिमा प्रदीप गिरी राइट ब्रेन अर्थात् दायाँ मस्तिष्कवाला व्यक्ति हुन् ।
बनौटको दृष्टिकोणले मानिसकको मस्तिष्कको प्रमुख र ठुलो भाग सेरेब्रम (ठूलो मस्तिष्क)का दुई भागहरु हुन्छन्, दायाँ गोलाद्र्ध र बायाँ गोलार्ध (राइट र लेफ्ट हेमिस्फिर), जसलाई आम भाषामा राइट ब्रेन तथा लेफ्ट ब्रेन पनि भनिन्छ । यी दुवै गोलार्धलाई कोर्पस कोलोसमले जोडेको हुन्छ ।
राइट ब्रेन तथा लेफ्ट ब्रेनको एउटा विशेषता के छ भने राइट ब्रेनले शरीरको बायाँ अंगहरूको क्रियाहरू सञ्चालन तथा नियन्त्रण गर्ने कार्य गर्छ भने लेफ्ट ब्रेनले दायाँ अंगहरूका क्रिया सञ्चालन तथा नियन्त्रण गर्ने कार्य गर्छ । त्यसैले नै त टाउकाको दायाँपट्टि चोटपटक लागेर दायाँ मस्तिष्कमा क्षति पुग्यो भने बायाँ हात–खुट्टा नचल्ने हुन्छ । त्यसैगरी बायाँ मस्तिष्कमा क्षति पुग्यो भने शरीरको दायाँ भागमा असर पर्न सक्छ । यसका साथै यी दुई मस्तिष्कको अर्को विशेषता पनि छ, त्यो के भने राइट ब्रेन संगीत, नृत्य, चित्रकला, लेखन, अभिनय, भाषण, कविता वाचन, प्रत्यक्षीकरण, सिलाइबुनाइ इत्यादि सृजनात्मक कार्यहरूसँग सम्बन्धित हुन्छ भने लेफ्ट बे्रन तर्क–बितर्क गर्ने, परीक्षण गर्ने, हिसाबकिताब गर्ने, संगठन, भाषा र विज्ञान इत्यादि एक्सनपूर्ण कार्यहरूसँग सम्बन्धित हुन्छ ।
राइट ब्रेन बढी सक्रिय भएका मानिसहरू बढी सृजनशील र भावानात्मक हुने गर्छन् । उनीहरूको सिक्ने र याद राख्ने क्षमता राम्रो हुन्छ । तर लेफ्ट ब्रेन बढी सक्रिय भएका मानिस तार्किक हुने गर्छन्, संगठन तथा एक्सनमा उनीहरूको राम्रो दखल हुने गर्छ । राइट ब्रेन तथा लेफ्ट ब्रेनको सम्बन्धमा स्नायुमनोविज्ञानको निचोड छ कि साधारणतया वयस्क र दायाँहाते मानिसहरूको लेफ्ट ब्रेन बढी सक्रिय हुन्छ । तर बालबालिकाको राइट ब्रेन बढी सक्रिय हुने गर्छ । जति–जति मानिसको उमेर ढल्कँदै जान्छ, उनीहरूको राइट ब्रेन निस्क्रिय हुँदै जान्छ । यसै कारणले गर्दा नै बालबालिका कुरा भुइँमा खस्न नपाउँदै टप्प टिप्ने क्षमताका हुन्छन भने पाका मानिस दिन प्रतिदिन भुलक्कड हुँदै जान्छन् । तर संसारमा केही यस्ता दुर्लभ मानिसहरु पनि जन्मिने गर्छन्, जसको राइट ब्रेन तथा लेफ्ट ब्रेन, दुवै सक्रिय रहन्छन् । दुवै ब्रेन सक्रिय रहनु भनेको मेची महाकालीरूपी ज्ञान र कर्मको दोभान बन्नु जस्तो हो । त्यसैले नै यस्ता व्यक्तिहरू जीवनमा महान् कार्य गर्न समर्थ हुन्छन् ।
नेपाली राजनीतिको आकाशलाई हेर्ने हो भने बिपी कोइराला पनि यस्तै एक असाधारण मानिस भएको तथ्य उनको सोच, शैली, व्यवहार र कर्मबाट पुष्टि हुन्छ । बिपी जति बौद्धिक र सृजनशील थिए, उति नै कुशल संगठनकर्ता पनि थिए । त्यसैले बिपी कोइरालाको राइट ब्रेन तथा लेफ्ट ब्रेन दुबै सक्रिय रहेको अनुमान गर्न सकिन्छ ।

यहाँ उल्लेखनीय कुरा के भने राइट ब्रेनवाला व्यक्ति सृजनशील, कलात्मक र भावानात्मक त हुन्छ । तर ऊ आफुले आर्जेको ज्ञानलाई कर्ममा रुपान्तरण गर्न असमर्थ हुन्छ । उसले अद्भुत र अकल्पनिय सपना त देख्न सक्दछ, तर त्यो सपनालाई बिपना बनाउन सक्दैन । प्रदिप गिरीलाई आफ्नो यो मनोविज्ञान राम्रोसँग थाहा थियो । त्यसैले उनले मन्त्री तथा प्रधानमन्त्री बन्ने ईच्छा आकांक्षा कहिल्यै देखाएनन् । मन्त्री बनिहालेको भए पनि उनले कुनै उल्लेखनीय काम गर्न सक्दैन्थे । असफल मन्त्री नै कहलिन्थे । त्यो किनभने मन्त्री र प्रधानमन्त्रीको पद भनेको ज्ञान बाँढ्ने र सपना सजाएर बस्ने पद होइन, डेलिभरि गर्ने पद हो ।
तर, नेकपा एमालेका तत्कालिन नेता तथा सांसद घनश्याम भुसाल केपी शर्मा ओली नेतृत्वको सरकारका मन्त्री भए, कृषि मन्त्री भए । भुसाल कृषकका छोरा भएता पनि, खेतवारीमा नै हुर्केबढेको भएता पनि उनी न त कृषि विशेषज्ञ थिए न त कृषि क्षेत्र उनको अध्ययनको विषय थियो । परिणाम कृषि मन्त्रीकारुपमा उनीले जेजसरी काम गर्न सक्नु पर्दथ्यो, त्यो गर्न सकेनन् । उनी सफल मन्त्री हुन सकेनन् । यो कुरा उनले स्वीकारेको हुनुपर्छ । मनोवैज्ञानिक अध्ययनलाई सही मान्ने हो भने घनश्याम भुसाल सफल मन्त्री तथा प्रधानमन्त्री बन्ने खालका व्यक्तित्व पनि होइनन् । यसको मतलब घनश्यामले रुपन्देहीबाट राजनीति गर्ने नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले भन्दा राम्रो गर्न सक्दैनन् भन्ने चाही पक्कै होइन ।
घनश्याम भुसाल पनि प्रदिप गिरी जस्तै एक चिन्तक हुन्, विचारक हुन् । एक अध्येयता हुन् । उनीसँग अथाह ज्ञान छ । तर उनीमा ज्ञानलाई एक्सनमा उतार्ने र संगठन बनाउने जति क्षमता हुनुपर्छ, त्यति छैन । उनी पनि प्रदिप गिरी जस्तै राइटब्रेनवाला व्यक्ति हुन् । र, प्रदिप गिरी जस्तै एक्लो । त्यहीमाथि केपी ओलीको सस्तो उखानटुक्कामा क्याबात क्याबात भनेर रमाउने एमालेका ओली कार्यकर्ताहरुमा उनको ज्ञान बुझ्ने सामथ्र्य हुने कुरा पनि भएन । तर घनश्याम जस्ता व्यक्तित्वहरुको कमजोरी के हुन्छ भने यस्ता व्यक्तिहरु न त कार्यकर्तालाई आफ्नो पछि पछि लगाउन सक्छन् न त आफु कुनै नेताको पछि लाग्न सक्छन् । केपी शर्मा ओली सामु कान समाएर उठबस गरेर खुट्टामा नाक रगडेको भए घनश्याम भुसालले टिकट नपाउने कुरै थिएन ।
नेपालका अर्का राजनीतिज्ञ डा. बाबुराम भट्टराई पनि यही राइटब्रेनवाला कोटिमा नै पर्छन् । हो, डा. बाबुराम भट्टराईको स्मरण शक्ति निकै तेज छ, समकालिन राजनीतिले हेर्ने हो भने सम्भवत् डा. भट्टराई सबै भन्दा उच्च आई.क्यु. भएका व्यक्ति हुन् । तर मनोवैज्ञानिक अनुसंधान भन्छ, बुद्धिलब्धी (आई. क्यू.) ठूला–ठूला शैक्षिक योग्यता तथा प्राविधिक विशेषज्ञताहरू भन्दा बढी महत्वपूर्ण हुन्छ, भावनात्मक बुद्धिमत्ता (ई. क्यू.) । बुद्धिमत्ता समर्थता त्यो अश्वशक्ति हो, जसले मानिसको मस्तिष्कलाई सफलताको चुचुरोमा पुग्ने आत्मविश्वास, शक्ति र सामथ्र्य दिन्छ । कठिन, असहज तथा विषम परिस्थितिमा बुद्धिको भन्दा पनि भावनात्मक समर्थताको महत्वपूर्ण भूमिका हुन्छ, जुन मस्तिष्कले भावनात्मक समर्थता प्रर्दशन गर्न सक्छ, उसले जस्तोसुकै परिस्थितिमा पनि समस्याहरूको निक्र्याैल निकाल्न सक्दछ ।
बुद्धिलब्धी (आई. क्यू.) र भावनात्मक बुद्धिमत्ता (ई. क्यू.) फरक फरक मानसिक क्षमताहरु हुन् । साधारणतया जुन व्यक्तिको स्मरणशक्ति तथा आई.क्यु. बढी हुन्छ, त्यो व्यक्तिले पढाइलेखाइमा राम्रो गर्न सक्छ । तर आई.क्यु. बढी भएका तथा उच्च शैक्षिक सफलता प्राप्त गरेका सबै व्यक्तिले उच्च पेशागत दक्ष्यता वा प्रभावकारी नेतृत्वदायी भूमिका प्रर्दशन गर्छन् भन्ने छैन ।
यसको ठीक विपरित आई.क्यु. कम भएका तथा उच्च शैक्षिक सफलता प्राप्त गर्न नसकेका कतिपय व्यक्तिले उच्च पेशागत दक्ष्यता वा प्रभावकारी नेतृत्वदायी भूमिका निभाउन सक्दछन् । हाम्रो वरिपरि यस्ता हजारौं उदाहरणहरु छन् । यसको कारण के हो ? यसको प्रमुख कारण हो, आई.क्यु. भन्दा बढी महत्वपुर्ण हुन्छ, ई.क्यु. (इमोसनल कोसेन्ट अर्थात् भावनात्मक बुद्धिमत्ता), स्मरणशक्ति भन्दा बढी महत्वपुर्ण हुन्छ, बौद्धिक स्मरणशक्ति (इन्टेलिजेन्स मेमोरी ।) त्यसैले कुशल तरिकाले संगठन गर्न र मन्त्री र प्रधानमन्त्री भएर डेलिभरि गर्न नेतामा ईमान्दारिता र सपना भएर मात्र हुँदैन, मस्तिष्कमा भावनात्मक बुद्धिमत्ता (ई.क्यु.) हुनुपर्छ ।
आफ्नो क्षमता र अरुको मनस्थितिको पहिचान गर्न सक्ने, जस्तोसुकै प्रतिकुल परिस्थितिहरुमा पनि होशह्वास नछोडिकन दूरदर्शी निर्णय गर्न सक्ने, कठिनाइहरुमा औसर खोज्न सक्ने, आफूलाई आफैंले उत्प्रेरित गर्न सक्ने तथा आफ्नो र मानवीय अन्तर्सम्बन्धको भावनाहरूको तालमेल गर्नसक्ने खुबी नै भावनात्मक बुद्धिमत्ता (ई.क्यु.) हो ।
मनोवैज्ञानिक अध्ययनका अनुसार राइट ब्रेन र लेफ्ट ब्रेन दुवै सक्रिय भएर तालमेलका साथ काम गर्ने व्यक्तिमा मात्र भावनात्मक बुद्धिमत्ता (ई.क्यु.) बढी देखा पर्छ । ई.क्यु. बढी भएका अधिकांश व्यक्तिले जन्मिदै यस किसिमको मानसिक क्षमता लिएर आएका हुन्छन् । यो मुलतः पैदायशी क्षमता भएता पनि व्यक्तिमा यस किसिमको मानसिक क्षमता बढाएर व्यक्तित्व निखार्ने उत्कट भोक जागेको खण्डमा केही हदसम्म यस क्षमता बृद्धि गर्न सकिन्छ । बृद्धि गरेका प्रशस्त्र उदाहरणहरु पनि छन् ।
मनोविज्ञानमा एउटा प्रविधि छ, जसलाई मोडलिङ भनिन्छ । यस प्रविधि रामले कुनै कार्य गर्न सक्दछ भने श्यामले पनि त्यो गर्न सक्छ भन्ने सिद्धान्तमा आधारित छ । यसैको आधारमा भावनात्मक सक्षमताहरू सिक्न र आफूमा विकास गर्न सकिन्छ । यसका लागि सम्बन्धित पेशामा उच्च दक्षता प्राप्त गर्नका लागि कस्तो किसिमको सक्षमताहरू आवश्यक हुन्छ, सो अवगत गर्न सर्वप्रथम त्यो पेशामा संलग्न प्रसिद्ध मानिसहरूलाई हेर्नुपर्दछ । उनीहरूले आफ्नो पेशामा कस्तो सक्षमता प्रदर्शन गरेका छन्, त्यो निर्धारण गर्नुपर्दछ । र, त्यो सक्षमता आफुमा विकास गर्न सधैँ अग्रसर हुनुपर्दछ । तर नेपाल र नेपाली नागरिकको बिडम्बना नेपालका कुनै पनि नेता यस दिशातर्फ अग्रसर भएको देखिदैन । त्यसैले जुन नेता जति पटक सत्तामा पुगे पनि अक्षम नै साबित भएका छन् । त्यसैले नेपाली राजनीतिका शिर्ष नेताहरु शेरबहादुर देउवा, केपी शर्मा ओली तथा प्रचण्डहरुलाई जति पटक प्रधानमन्त्री बनाए पनि केही हुनेवाला छैन । देश त बन्दै बन्दैन, उल्टो अझ बिग्रन्छ । ठुलो बलिदानीबाट प्राप्त लोेकतन्त्र नै खतरामा पर्न सक्दछ ।
अन्तमा, नेकपा एमालेबाट घनश्याम भुसालको बर्हिगमन पार्टी अध्यक्ष केपी शर्मा ओलीका लागि टाउकाको एउटा रौं खसेका जस्तो नलागे पनि ढिलोछाडो एमालेलाई केही न केही घाटा हुने निश्चित छ । त्यसो त टिकट नपाउँदैमा उनले यसरी पार्टी छोड्नु हुँदैन्थ्यो भन्नेहरु पनि थुप्रै छन् । घनश्याम भुसालले टिकट नपाएपछि रातरात पार्टी छोडेको जस्तो देखिएता पनि सिर्फ टिकट नपाएकै कारण उनले पार्टी छोडेका हुन् भन्ने निश्र्कष निकाल्नु चाहीँ ठिक छैन ।
ओली नेतृत्व रहेसम्म नेकपा एमालेमा आफ्नो अस्तित्व र भविष्य नेदेखर नै उनले पार्टी छोडेको हुनुपर्छ । तर नेकपा एमाले जस्तो एक प्रमुख पार्टी नै छोडेपछि झन घनश्याम भुसालको भविष्य के होला त भन्ने प्रश्न उठ्न सक्दछ । हो, घनश्याम भुसालले पार्टी महासचिव तथा अध्यक्ष बन्ने वा मन्त्री तथा प्रधानमन्त्री बन्ने अभिलाषाको साथ राजनीति गरे उनको भविष्य खासै देखिदैन । तर उनले आफुलाई एक चिन्तकका रुपमा, एक विचारकका रुपमा उभ्याए भने उनी नेपाली राजनीति आकाशको एक जाज्जल्यवान नक्षत्र बन्न सक्छन् । उनले देश हाँक्ने सक्षम युवा नेतृत्व जन्माउन सक्छन् ।
तर अहिले घनश्याम भुसालले नेकपा एमाले छोडेर रुपन्देही क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्ररुपमा उम्मेदवारी दिएका छन् । घनश्याम भुसालले चाहेको भए माओवादी (केन्द्र) बाट पनि उठ्न सक्थे । माधव नेपालको समाजवादी पार्टी त झन छँदै थियो । तर उनी स्वतन्त्र रुपमा उठेका छन् । अहिले देशमा स्वतन्त्रको जुन लहर छ, त्यो लहरबाट प्रभावित भएर वा निर्दलीयता प्रसय दिने हिसाबमा उनी स्वतन्त्र रुपमा उठेका चाहिँ पक्कै होइनन् ।
त्यसैले ठुलो बलिदानीबाट प्राप्त गणतन्त्र र लोकतन्त्रमाथि नै खतरा मडारिएको अहिलेको परिस्थितिमा घनश्यामले जित्न आवश्यक छ । घनश्याम जस्ता विचारक संसद पुग्नु भनेको संसदको गरिमा बढ्नु हो । लोकतन्त्र बलियो हुनु हो ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)


