छोरीलाई छोराभन्दा बढी खुशी बनाएर राख्न थालिएको छ

मेनुका शर्मा

“एउटा छोरी त हुनुपर्छ बुढेसकालमा मनको कुरा भन्ने साथी चाहिन्छ”, अझै पाउने उमेर छ पाउनु नी ! म एकदम सजिलै उत्तर दिन्छु, “बुहारी” । यसो भनिरहँदा बुहारी हुनेहरू बिहे नगरुन्जेल छोरो तिम्रो हो त्यसपछी सकियो भन्नुहुन्छ । हुनत म पनि आजसम्म त बुहारी नै छु ।

अनि एउटा कुरा के वर्तमान समयमा म एकदम खुशी छु । भोलि के होला ? छोरी पाईएन अब मैले अरूले भनेजस्तै आफ्ना मनका भावनाहरु कसलाई पोख्नी भनेर आजबाट नै चिन्तित हुन के जरुरी छ,आज म खुशी छु, भोलिको चिन्ता किन गर्नू के थाहा, झन् म आज =भन्दा भोलि पो खुशी हुन्छु की, मनगणन्ते कुरा गरेर मन भारी किन पार्नु व्यर्थमा, फरक तरिकाले आफूलाई परिवर्तन पनि गर्नुपर्छ ।

हाम्रो मनस्थिति नै यस्तो बनेको छ । म सासू हुन नपाउँदै हुने बुहारी यस्ती हुन्छिन्, उस्ती हुन्छिन् भनेर मेरो मानस पटलमा अनावश्यक कुराहरुले घर बनाईसक्छ । म किन उनकी आमा बन्न सक्दिनँ भनेर प्रश्न गर्न किन सकिँदैन आफुलाई ? सासू कहिल्यै आमा हुँदैनन् र बुहारी कहिल्यै छोरी हुँदैनन् ? भनिरहन्छन् यो समाजमा । जवसम्म यो मनस्थिति हटाउन सकिँदैन तवसम्म यस्तै सुन्नुपर्छ, देख्नुपर्छ र भोग्नुपर्छ ।

म भन्छु, मैंले छोरी जसरी राखेँ भने ऊ पनि छोरी हुन्छे नी ? सबै बुहारी खराब हुँदैनन् ! मेरी सासूआमाले कहिल्यै रोकटोक गर्नु भएको छैन, म पनि उनको चाहना अनुसार आफ्नो कार्य समाल्दै अगाडी बढ्न प्रोत्साहन दिन्छु । कोही हो हो हुन्छ, हुन्छ भन्नुहुन्छ भने कोही हुँदैन छोरी जस्तै बुहारी हुँदैनन् भन्नुहुन्छ ।

मेरो बुवा सधैं भन्नुहुन्थयो, छोराछोरीको हृदयमा माया प्रेम उस्तै हुन्छ, छोराले कमाएर खान दिन्छ, उपचार गर्न लान्छ, औषधी ल्याइदिन्छ अनि छोरीले बुबा फोनमा कुराकानी गर्दै बुबा औषधी समयमा खानुस् है भन्छे, बस् फरक यति हो छोराले कर्तब्य गर्छ, छोरीले ख्याल राख्छे ।

हेर्नुस् म आफूलाई जतिसुकै परिवर्तन ल्याउछु भने पनि समाजभन्दा बाहिर जान सक्दिन । किनभने, म बस्ने घर यही समाजमा नै छ । यसको मतलब यो होइन कि म समाजमा भएका रुढीवादी, अन्यायमा परेका नारीलाई साथ दिन्न भन्ने होइन । तर एकै पटकमा सब कुरा बदल्नुपर्छ भने बदल्न खोज्नु मूर्खता पूर्ण हुनसक्छ ।

हामी बस्ने समाज छरछिमेकमा दिनहुँ हुनेगरेका घर-घरको कहानी जस्तो कतै बुहारी पिडित त कतै सासूआमा पीडित हुनुहुन्छ । सम्झिने हो भने हामी आउन त अर्कै घरबाट नै ल्याईएका अरुकै छोरी हौं । हाम्रो काम त्यही नै हो, आमाले जसरी परिवार खुशी पार्न सकिन्छ भनेर दिन रात एक गर्नुभएको थियो, आज बुहारीले पनि त गर्दै छन् ।

हिजोआज आमाहरू बेलाबेला कुरा गर्नुहुन्छ, बिहान घरको काम गरेर, दिँउसो खेतमा काम गरेर, खेतमा बच्चा पाएको, श्रीमानबाट अहिले जस्तो साथ नपाइएको, साथ दिन खोज्दा आमा-बुबाहरुसँग लाज त डर पनि हुन्थ्यो, कति दुःखका कुरा गर्नुहुन्छ, सबथोक दाउरामा पकाएको, दुःख पीडा कति हो कती । त्यसमा पनि आर्थीक, सामाजीक मान्यता अनुसार काम गर्दा आईपरेका समस्याहरु आमाहरूसँग बसेर सुन्दा अचम्म लाग्छ । साँच्चै भन्नुपर्दा हिजो आमाहरुलाई असाध्य कष्ट थियो, बुबाहरुलाई पनि सुख त थिएन, उस्तै थियो, कमाएर ल्याउन त जसरी पनि पर्ने नै थियो ।

त्यसबेला छोराछोरीलाई पनि कष्ट नै थियो, छोराहरू हलो जोतेर स्कुल जानेदेखी लिएर, पैसा नभएर किताब कापी कलम किन्न नसकेर नपढ्ने, अनि छोरीले पढ्नै नपाउने, कोही कोही भने नाम लेख्नेसम्म पढ्न पाउनुहुन्थ्यो । मेरै आमालाई, फुपूहरुलाई पढ्ने अवसर मिलेको थिएन, हामीले जति पढ्न सकिन्छ, त्यो पढ्न पायौं ।

आज अलिकति भए पनि आफ्नो खुट्टामा उभिन सक्ने क्षमता राख्नुपर्छ भनेर आफ्नो योग्यता र क्षमताका आधारमा नारीहरू पनि घर बाहीर निस्कन्छन् । यो त खुशीको कुरा हो । छोरीले होस् या बुहारीले बाहीर काम गर्दा आर्थिक विकासमा सहयोग हुन्छ, परिवारमा हरेक सदस्यलाई जिम्मवारी बहन हुन्छ ।

ऊ बेला र आज धेरै अन्तर छ । छोरीलाई जति पढ्न सक्छे उति नै पढाउन थाले । आज छोरीलाई छोरासरह अझ छोराभन्दा बढी खुशी बनाएर राख्न थालिएको छ । छोरो हो, जे गरेर नी खान्छ, नभए बिदेश जान्छ पैसा कमाउँछ भन्ने चलन छ, अझै पनि तर जे होस् हामीले जति पढ्न पायौं त्यो भाग्य भन्नपर्छ । जति आज पढेका छौं, त्यो हाम्रो कर्म हो, त्यही अनुसार काम गर्नुपर्छ ।

छोरी पढ्नुपर्छ भन्ने सचेतना हुँदै गर्दा आजकल बुहारीलाई छोरी सरह पढाउन थालिएको छ । विधुवा बुहारीलाई छोरी बनाएर बिहे गरेर पठाउन थालिएको छ । यो सामाजमा ठूलो परिवर्तन हो । त्यसैले आफूले देखेका कुराहरूलाई मनन गर्नुपर्छ, भोगेका कुरालाई विचार गर्दै आफूले गर्नुपर्ने सम्पूर्ण कार्यलाई निरन्तरता दिन कहिल्यै छोड्न हुँदैन अनि एकदिन त सफल कसो नभईएला त नी ।

सबथोक परिवर्तन हुँदै आएको छ । अन्धविश्वास, रुढीवादी परम्परा केही हदसम्म भए पनि हट्दै गएको छ । आजसम्म मेरो मनले सोचेको नै छैन, छोरी हुनुपर्छ भनेर मलाई आमा भनेर बोलाउने छदै छ । त्यस्तो कुनै सोच नै छैन छोरा-छोरी फरक नै देख्दिनँ म । बस्, आफूसँग भएका सन्तान असल र कर्तब्यपरायण हुन्, यो भन्दा ठूलो उपलब्धी केही पनि छैन, यो भौतिक सन्सारमा ।

एउटा नारीले आमा बन्न र पुरूषले पिता बन्न पाउनु नै सन्सारमा सबैभन्दा भाग्यमानी मान्नुपर्छ। छोरा छ छोरी अब बुहारीको रुपमा आउँछिन्, म सँग जे छ त्यसमा भगवानको मर्जी छ । यहाँ यस्ता दम्पती हुनुहन्छ, जो चाहेर पनि माता-पिता हुन सक्नु भएको छैन, केही कुरा हामीले मात्र निर्णय गरेर हुँदैन । समयलाई पनि पर्खनुपर्छ ।

कहिलेकाँही सोच्न बाध्य हुन्छु, साँच्चै यो सब कसले चलाई रहेछ, who is the driver of the life? चाहेर मात्र सबथोक हुँदैन कुनै कुरा नियतिको लेखन हुन्छ, भगवानले त चाहेको कुरा पूरा भएन भनेर हाम्रो भागवत गीता, रामायण, महाभारत, पुराणमा उल्लेख गरिएको पाइन्छ भने हामी त साधारण मान्छे, जे छैन त्यसैको लागि आफ्नै मन दुखाउनु भन्दा जे छ त्यसलाई नै परिपूर्ण मान्न सके जीवन जिउन सफल होइन्छ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button