
अरुको त कुरै छोडौं, राजा महेन्द्रले समेत महाकविको सत्कार्यलाई ‘हाईज्याक’ गरे
सन्दर्भः नेपाल, सुन्दर शान्त विशालका द्रष्ट्रा महाकविकाे ११४ औं जन्मजयन्ती!
अरविन्द रिमाल
नपूरिएकाे घाउ उप्केकाे पीडाभावबाट सृजनाका यी सदा नवीन मुहान एवम् कहिल्यै नरित्तिने स्राेतप्रति शब्दाञ्जलीकाे थालनी गर्न मन लाग्याे ! अनि याे भाव पनि उम्लेर आयाे– यत्रतत्र सर्वत्र, प्राय: सबै क्षेत्रमा भ्रष्टाचार तथा व्यभिचार व्याप्त भएकाे यथार्थमा के हामी महाकविप्रति सच्चा श्रद्धासुमन अर्पण गर्न याेग्य छाैँ ? तर जहाँ जस्ताे अवस्था एवम् परिस्थिति हाेस्, मुलुकका विभूतिहरुकाे सम्मानमा कुनै न कुनै समाराेह मनाइरहिएकाे हुन्छ भने त त्यस्ताे समाज कदाचित गतिहीन हाेला तर प्राणहीन हुन सक्दैन, भलै त्यसका सामु कठिनता- वाधाका जत्तिसुकै नाघ्न नसकिनेलाग्ने पर्खाल ठडिएकाे हाेस् ।
सकल नेपालीका पावन लक्ष्मीपूजाकाे दिन ! २०१७ सालदेखि वर्षेनी नियमितरूपमा मनाइँदै आइएकाे महाकवि लक्ष्मीप्रसाद देवकाेटा जन्मजयन्ती! यस उपलक्ष्यमा नेपाल साँस्कृतिक संघकाे सभाभवन, रत्न पुस्तकालय प्रतिष्ठानकाे सभाभवन तथा देशका अन्य अनेक स्थानमा कविता, मन्तव्य तथा भाषणले गुञ्जायमान रहन्थ्याे । महामारीकाे कारण विगत दुई वर्ष टुटेकाे जन्मजयन्ती, पाेहाेरकाे ११३ औं जन्मजयन्ती ने. साँ. सं काे पटाङ्गिनीमा, महाकविकाे जाज्वल्य प्रतिमाकाे वरिपरि साैम्य शान्त वातावरणमा, अनन्य साधकहरुकाे सीमित सहभागितामा परन्तु अत्यन्त श्रद्धाभावका साथ पुष्पाञ्जली अर्पण गरेर मात्र मनाइयाे ।
त्यस उपलक्ष्यमा कुनै कविता वाचन भएनन्, न त भाषण तथा मन्तव्य नै प्रवाहित भए । आफैँले लागू गरेकाे निषेधाज्ञा आफैँले भङ्ग गर्ने र गर्नदिने परमादेशीय शासनकाे चर्तिकला देख्दा- भाेग्दा चाहिँ सवैकाे मनमा महाकविका यी मार्मिक हरफहरु गुञ्जिरहेका थिए भनेमा अत्युक्ति हुँदैन:
‘फर्क,फर्क हे, जाऊ समाऊ दु:खीहरुकाे पाउ,
मलम लगाऊ आर्तहरुकाे चहराइरहेकाे घाउ ।’
आज महाकविकाे वन्दना गर्दा याे साधक बालकृष्ण समका उत्तिकै भावप्रधान हरफहरु उद्धृत गर्नु सर्वथा उपयुक्त ठान्दछ:
‘दिएँ अञ्जुलीले पानी बिर्सी सागरकाे जल,
दिएँ आरती बत्तीले सूर्यकाे छवि बिर्सेर,
अनि हराभरा पृथ्वीलाई बिर्सेर एउटा
बाेहतामा पुष्पाञ्जलीसम्म चढाइयाे,
तर सद्भक्तिकाे गाेल विश्वभन्दा विशाल छ ।’
पाेहाेरकाे दिन एउटा प्रशंसनीय घटनाले पनि उल्लेखनीय भयाे । स्वयं महाकविले ताशकन्दकाे अफ्राे- एशियाली साहित्यिक सम्मेलनमा आफ्नाे ऐतिहासिक सम्वाेधनमा नेपाली वाङ्गमयकाे ध्येय, उद्देश्य तथा चरित्रकाे विशद् व्याख्या गर्दै २००७ सालपछिकाे समयका ‘प्रतिनिधिमूलक समालेचकहरु’मध्येका एक भनी जसकाे नाम लिएका थिए, उनै साहित्यसर्जक गाेविन्दप्रसाद लाेहनीकाे ९४औं जन्मजयन्तीकाे उपलक्ष्यमा नेपाली वाङ्मयमा यशश्वी याेगदान गर्ने साहित्यिक पत्रिका ‘शारदा’ले प्रकाशित गरेकाे उनै सम्बन्धित विशेषाङ्ककाे सामूहिक विमाेचन भयाे। यसले गर्दा महाकविकाे जन्मजयन्ती बडाे अर्थपूर्ण, झनै गरिमामयी भएकाे पनि सबैले अनुभव गरे ।
विषय प्रवेश
महाकवि लक्ष्मीप्रसाद देवकाेटाकाे जीवनदर्शन उजागर गर्ने, विश्वलाई नेपालकाे अन्तर्आत्मा चिनाउने उनकाे ताशकन्द सम्वाेधन बुझेर नपढेमा कुनै पनि विधाकाे नेपाली साहित्यकारकाे कर्तृत्व सार्थक हुनेछैन । याे चेत रहाेस् ! स्मरण रहाेस्, उक्त सम्वाेधन सन् १९५८ काे अक्टाेबरमा तत्कालीन साेभियत संघकाे एक गणराज्य उज्बेकिस्तानकाे राजधानी ताशकन्दमा भएकाे थियाे ।
किनभने, अचेलका अनेक खबरपत्रिका तथा समालेचकहरुका ‘मिमांसा’ले महाकविकाे अलाैकिक, असाधारण, अद्वितीय सृजनशीलतालाई ‘मिथ’काे भ्रमद्वारा ‘सत्य’काे पगरीले गुँत्थ्ने जाेखिम बढाएको पाइन्छ ।
महाकवि लक्ष्मीप्रसाद देवकाेटा असाधारण, विशिष्ठ, विलक्षण, अप्रतिम, विशेेषणातीत, अर्थात शब्दातीत स्रष्टा थिए, हुन् र सदा रहिरहने छन् । उनकाे याे महत्तालाई धेरैले बुझ्न सकेनन् । त्यसैले प्रजातन्त्रवादीहरुले उनलाई चिन्न चुकेर कदाचित ‘कम्युनिष्ट समर्थक’ शंका गर्नपुगे । प्रगतिशीलताकाे ठेक्का लिएकाहरुले महाकविकाे क्रान्तिकारीताबाट तर्सेर उनलाई ‘सामन्ती सँस्कारका प्रवर्तक’काे डाम लगाउन नपुगेर उनकाे खैराे खन्न चुकेनन् । तिनका रक्तबीजहरु अचेल पनि यदाकदा प्रकट हुन्छन् । महाकविले शिक्षाप्रचार नीति र नेपाली भाषालाई राज्यीय स्तरमा उभ्याउन गरेका सद्कार्यलाई राजा महेन्द्रले ‘हाईज्याक” गरेगरे, साथै उनकाे ताशकन्द सम्वाेधनमा विश्व परिस्थितिकाे पृष्ठभूमिमा देश, जनताका अभिलाषा, नेपालका साहित्यकारहरुकाे साेच एवम् चिन्तनकाे जुन व्याख्या गरिएकाे थियाे त्यसकाे अर्थ र महत्वलाई कतई बुझेनन् । फलत: आफ्ना चाटुकारहरुकाे मनगढन्ते कुरा सुनेर वा ईर्ष्यावश उनीबाट महाकविकाे दाल, भात, डुकु जुटाउने भान्सा नै बन्द हुनेसम्मकाे निन्दनीय काम गयाे । अनि, साहित्य क्षेत्रका मठाधीश, पण्डा- पुराेहितहरुले त उनलाई ‘विधर्मी, नास्तिक, अराजक’ आदिकाे नाम राख्न हच्केनन् ।
मान-अपमान, रागद्वेषभन्दा माथिका महाकवि आफ्नाे जीवनध्येयमा अविरल, अविचल गतिले अघि बढ्दै गए ।
महाकविलाई, यसप्रकारले, ओझेलमा पार्न नसकिने देखेर, उनकाे वरिपरि मनगढन्ते ‘मिथ’काे सहाराले अवमूल्यन गर्ने चालबाजी गर्न थालियाे, जुनकि आज पनि चलिरहेछ ।
अब प्रश्न उठ्न सक्ला, के परारकाे ‘हिमाल’ पनि यही काेटीमा पर्छ भन्न खाेजिएकाे हाे ? अँह, हाेइन, कदापि हाेइन । शेखर खरेलकाे सामयिक, माधवप्रसाद घिमिरेकाे संस्मरण, टीका ढकालका टिप्पणी, डा. नम्रता चतुर्वेदीकाे पनि टिप्पणी, दीपक अर्यालकाे अभिलेखले आआफ्ना ठाउँबाट महाकविकाे यशाेगान गरेकाे प्रशंसनीय छ । डम माेरेकाे संस्मरण त विशिष्ट नै हाे र छ, पनि । तर, किन त ताराेकाे ईशारा भन्ने प्रश्न उठ्न सक्छ ? ताराे हाेइन ! कदापि हाेइन, चित्त दुखाई चाहिँ निश्यय नै हाे । किनभने, मदन पुरस्कार गुठीजस्ताे सम्मानित संस्थाका प्रस्तावक- सञ्चालक, आफ्नाे लामाे जीवनकालकाे आखिरी समयसम्म नेपाली साहित्य- सम्वर्द्धनका अथक अभियन्ता एवम् नेपाली छन्द कविता अभियानका संरक्षक कमलमणि दीक्षित, कदी, ‘हिमाल’काे प्रकाशनसित कुनै न कुनै हैसियतले संलग्न भएका हुनाले, उनका भावलाई आत्मसात गर्नुपर्ने हाेइन ? यति मात्र नभई, महाकविका एक साहित्य- अनुरागी निकटतम मित्र, जुद्धाेदय हाई स्कूलका अध्यापक हरिहरनाथ रेग्मी त दीक्षितका जेठाे भिनाजु थिए र गणितीय पद्धतिबाट महाकविकाे यशाेगान गर्ने प्राे. इन्द्रनाथ अर्याल साहिँला भिनाजु । अनि महाकविका अर्का मित्र, आफ्नाे समयकाे प्रख्यात साहित्यिक पत्रिका ‘प्रगति’का नाम चलेका सम्पादक नारायणप्रसाद बाँस्काेटासित पनि कदीकाे निकट सम्बन्ध थियाे । यी तीनै व्यक्तिहरुबाट पनि दीक्षित महाकविकाे साहित्यिक एवम् राष्ट्रिय महत्तासित राम्ररी परिचित नभएका त हाेइन हाेलान् ! त्यसैकारण याे स्तम्भकारकाे गुनासाे यस्ताे नासाे पाएकाे, उत्तरदानप्राप्त पत्रिकाकाे ‘आधिकारिक अभिव्यक्ति’सित र त्यसका नियमित स्तम्भकार मेरा पुराना मित्र भैरव रिसालकाे ‘अझै रनभुल्लमै छु’ भन्ने निष्कर्षसित छ ।
१. १०-२३ कात्तिक, २०७६ काे ‘हिमाल’ खबरपत्रिकाकाे आवरण पृष्ठमा महाकविकाे चित्रलाई कलाकारकाे कुशल रचना ठानेर सम्पादकीय समितिले चयन गरे पनि महाकविकाे जीवन्तता दर्शाउने कुनै चित्रले नै त्याे पृष्ठ सुशाेभित हुनुपर्थाे । अत: याे चित्रकारीले त ‘मिथ’कै पक्षपाेषण गरेकाे लाग्याे, यस पङ्कतिकारलाई ।
प्रशंसनीय याेगदान
२. अब पत्रिकाकाे सम्पादकीयलाई लिउँ । ‘महाकविकाे महत्ता’मा मूलत: उनकाे अतुलनीय सृजनात्कम प्रतिभाकाे यशाेगान हुँदाहुँदै पनि सम्पादकीयले ‘नयाँ सामाजिक र राजनीतिक परिदृश्यमा महाकवि देवकाेटालाई पुन: परिभाषित गर्नुपर्नेछ’ भन्दा, त्याे आफैँ महत्ता बुझ्न चुकेर ‘खुम्चियाे’ भन्न नलागिरहन सकेन । अझ, उनकाे जीवन दर्शनलाई, नेपालकाे नयाँ- हुर्किँदाे प्रजातान्त्रिक समाजकाे इच्छा- आकांक्षालाई, र साथै समस्त नेपाली साहित्यिक जगतकाे सम्पूर्ण अभिलाषालाई समवेतरुपमा विश्वसमक्ष चिनाउने उनकाे सुविख्यात ताशकन्द सम्वाेधनकाे उल्लेखसम्म नगर्दा त ‘स्थानीयतामा उभिएरै पनि उनले दिएका विश्वजनीन दृष्टिकोणलाई पर्गेल्नुपर्नेछ’ भनेर सम्पादकीय आफैँ ‘मिथ’मा फस्नपुगेकाे लाग्याे । अनि, सर्वकालिक भएका, कालजयी रहेका महाकविलाई ‘साँच्चै नै सर्वकालिक, कालजयी बनाउने हाे भने उनकाे मिथ हाेइन, महत्ता स्थापित गर्नुपर्नेछ’ भनी सम्पादकीय टुङ्ग्याइँदा त झनै रनभुल्लमा नपरिरहन सकिएन । के हामी बेलायतमा शेक्सपीयर, कीट्स्, शेलीलाई, रुसमा पुश्किन तथा लर्मेन्ताेभलाई, भारतमा प्रसाद- पन्त- निरालालाई, पाकिस्तानमा फैज अहमद फैजलाई तथा बाङ्गलादेशमा काजी नजरूल ईस्लामलाई ‘पुन: परिभाषित गर्नुपर्ने’ साेच आउला भन्ने साेच्न सकाैँला ?

३. महाकविकाे ताशकन्द सम्वाेधन नपढेकाकाे त कुरै छाडाैँ, ‘पढेर’ पनि नबुझेकाे गर्दा नै ‘मिथ’काे जाेखिममा महाकवि आवरण कथा रचिएकाे लाग्दछ । सृजनात्मक क्षणमा, मित्रहरुमाझमा, प्रशंसक तथा टाेले युवाहरुबीच रहँदा वा आफ्नाे कार्यालय समयमा पनि साहित्य- शिक्षा प्रसारमा अथकरुपमा व्यस्त रहँदा, राणाशाहीविरुद्ध प्रजातान्त्रिक क्रान्तिमा हाेमिनेक्रममा,राणा प्रधानमन्त्री पद्मशम्शेरकाे शासनकालमा नेपालमा संविधान निर्माणमा सघाउन आएका भारतीय संविधानविद् श्रीप्रकाशलाई गाेप्यतवरले भेटेर १९९७ सालकाे राजनीतिक महाअभियानका नायक, जेलबन्द टङ्कप्रसाद आचार्यकाे आग्रहमा नेपालका संवैधानिक आकांक्षा बताउँदा, बनारसमा राजनीतिक प्रवासकालमा क्रान्तिकाे शंखघाेष गर्ने कविता रच्दा, २०१० सालमा सल्लाहकार सभामा विपक्षका नेता रहँदा, त्रिभुवन विश्वविद्यालयका सिनेट सदस्य, राजकीय प्रज्ञा प्रतिष्ठानका सदस्य रहँदा, शिक्षामन्त्री भई काम गर्दा नेपाली भाषालाई राज्यीय मान्यता प्रदान गर्नेजस्ताे कीर्तिमान कार्य गरेकाे देख्ने व्यक्तिहरु आज पनि हाम्राेमाझ हुँदाहुँदै पनि महाकविकाे शाश्वतता, जीवन्तता नदेखी, वा देखेर पनि नबुझी उनलाई ‘मिथ’मा परेकाे भन्नू आफैँ नै जाेखिममा परेकाे ठहर्दैन हाेला त ?
यथार्थमा मामूली खालकाे चियापसलमा बेलाबेलामा आफ्नाे गरिमामयी उपस्थितिबाट त्यसलाई विविधतापूर्ण, सदा युवा साेच एवम् शहृदयकाे आसुकवि श्यामदास वैष्णवका कालजयी नामाकरण अनुसार ‘जागरणकाे थलाे’मा परिणत गरिदिई, त्यसलाई ‘डिल्लीबजारकाे लप्टनकाे हाेटेल’काे सम्मानित दर्जा दिई त्यसकाे यशाेगान गर्दै त्यसै थलाेबाट ‘What Dillibazar thinks today, rest of the country thinks tomorrow’ (आज डिल्लीबजारकाे जाे साेचाई हुन्छ, भाेलि गएर त्यही पूरै देशकाे साेचाई हुन्छ) भन्ने अभियान थाल्न प्रेरित गर्ने हामीजस्ता राजनीतिक सक्रियतावादीहरुलाई, नेपाल साँस्कृतिक संघकाे सदस्य भई त्यसका गतिविधिमा सामेल भएकाे घटनाका हामीजस्ता प्रत्यक्षदर्शीहरुलाई, त्यतिञ्जेल जीवित माधवप्रसाद घिमिरे, सत्यमाेहन जाेशी, आज पनि हामीमाझ विद्यमान रहेका नगेन्द्रराज शर्मा, राेचक घिमिरे, माेहनबिक्रम सिँहका साथै स्वयं भैरव रिसालजस्ता अरु धेरै व्यक्तित्वहरु रहँदारहँदै पनि महाकविलाई ‘मिथ’ भित्रै रहेकाे कथ्नु घाेर काल्पनिक कुरा हाेइन त ?
साच्चैँ, भन्ने हाे भने, डिल्लीबजार लप्टनकाे हाेटेलसँग महाकविकाे संग्लनतालाई ओझेलमा पार्नु वा त्यसकाे महत्त्वकाे अवमूल्यन गर्नु भनेकाे ‘मिथवादिता’कै पक्षपाेषण गर्नु हाे ।
मुद्दा भाेग्नुपरेकाे पीडा !
४. महामना महाकविका उज्वल जीवन एवम् कार्य उनकाे जन्मशताब्दी वर्षमा नेपाल साँस्कृतिक संघले प्रकाशन गर्दा ‘विद्यावारिधि’ गरेका, संघकै सदस्य पनि रहेका उनका एक सन्तानले कपी राइट ‘उल्लंघन’ गरेकाे भन्ने उजुरी गरी मुद्दा हाल्दा पीडा भाेग्ने हामीहरुले याे दुखेसाे पाेख्दा महाकविकाे ‘मिथ’ रचेकाे त, भनिन्न हाेला नि ?
२०१० सालकाे दशककाे प्रारम्भतिर नेपालबाट सर्वश्री लेखनाथ पाैड्याल, बालकृष्ण सम आदिसँग दार्जिलिङ साहित्यिक भ्रमणमा जाँदा त्यहाँ आयाेजित एक सार्वजनिक समाराेहमा जाडाेबाट बेखबर बालस्वभावका महाकवि नाकबाट सिँगान झर्नलाग्दा पनि बाेल्दैजाँदा सभाका सभापति धरणीधर काेइराला जुरुक्क उठेर आफ्नाे लामाे काेटकाे बगलीबाट दूधजत्तिकै सेताे रुमाल झिकेर महाकविकाे नाक पुछिदिएर साेही रुमाल आफ्नाे गाेजी राखेकाे घटनाबारे तारानाथ शर्माकाे संस्मरण जुन एकताका ‘कान्तिपुर’काे ‘काेसेली’मा छापिएकाे थियाे, त्याे पनि ‘मिथ’मा पर्छ हाेला त ?
अरु कति बताउने ? तर मुख्य कुरा के भने, महाकविकाे अङ्ग्रेजीमा लेखिएर पढिएकाे ऐतिहासिक ताशकन्द सम्वाेधन जसकाे नेपाली अनुवाद साहित्यिक अनुवादकाैशलमा स्थापित नाम कृष्णप्रकाश श्रेष्ठले गरेका छन् र जसकाे पूर्ण पाठ त्यही वर्षकाे कात्तिककाे ‘मधुपर्क’ र केही समयअगडि नेपालनाम्चामा पनि छापिएकाे छ, त्याे पनि ‘मिथ’मा त पर्दैन हाेला नि ? त्यसलाई पुराना कवि- साहित्यकारले पूर्वाग्रह, दूराग्रह, विग्रह वा ईर्ष्याका कारणले नपढेका हुन् वा पढेरै पनि बुझपचाएका हुन्, क्यै छैन । तर, यदि आफूलाई गम्भीर तथा सकारात्मक ठान्ने कुनै साहित्य- साधकले एवम् यस मानवीय विधामा पाइला टेकेकाे कविले साे सम्वाेधन बुझेर पढेकाे छैन र हुँदैन भने उसकाे जीवन निरर्थक नभए पनि, अपूराे त हुन्छ, हुन्छ । तर, यति लेख्दालेख्दै पनि एउटा साँच्चैकाे ‘मिथ’चाहिँ, उल्लेख नगरी रहन सक्दैन, याे पङ्कतिकार !
तिनताकाकाे शान्तभवन अस्पतालमा आफ्नाे अन्तिम दर्शन गर्नआएका युवा साहित्यकार- कविहरुलाई महाकविले ‘नयाँ नेपाल निर्माणमा लाग्न’ भनेकाे आशीर्वचनलाई कुनै एउटा हिँसावादी राजनीतिक समूहले २०५०-६० काे दशकतिर चाेरेर आजकाे जस्ताे दुर्व्यवस्थालाई ‘नयाँ नेपाल’ भन्नु चाहिँ सत्यसत्य मिथ नै हाे ।
साह्रै नै चाेट परेकाे विषय !
५. अब साह्रै नै चाेट परेकाे विषय । आध्यात्मिकता बुझेका र मर्मस्पर्शी ‘महाकविसँगकाे त्याे अन्तर्वार्ता’ हामीलाई बताउने, ‘प्राचीनकालीन’ मित्र भैरव रिसाल जब याेगेश्वर श्रीकृष्णप्रति महाकविका श्रद्धावचन उनकाे जीवनकाे अन्तिम क्षणमा जगतकाे लागि घाेषित हुन्छ, त्याे जीवनभरि उनमा अन्तर्निहित निष्ठाभाव हाे भन्न नमानेर ‘जीन्दगीभर ईश्वरमा विश्वास नगर्ने महाकवि अन्तिम क्षणमा कसरी यस्ताे भन्न पुगे? म भने अझै रनभुल्लमै छु’ भन्छन् भने याे पङ्कतिकार झन कति र कस्ता रनभुल्लहरुमा परेकाे हाेला ? त्याे याे लेखमा बाहेक अरु कहाँ बताउने, सुनाउने ?
मूर्धन्य भारतीय साहित्यकार एवम् विश्व परिव्राजक राहुल साँकृत्यायनकाे मतमा त महाकवि देवकाेटा भारतका तात्कालीन तीन शीर्षस्थ साहित्यकार– जयशङ्कर प्रसाद, सुमित्रानन्दन पन्त, सूर्यकान्त निराला बराबर साहित्यिक प्रतिभाका स्वामी हुन् ! यसर्थ उनी आफ्नाे ताशकन्द सम्वाेधनकमे हैशियदबाट मात्रै पनि, दक्षिण एशियाली उपमहादेशका पाकिस्तानी राष्ट्रकवि फैज अहमद फैज तथा बाङ्गलादेशका राष्ट्रकवि काजी नजरुल इस्लामका दाजु भने अत्युक्ति नहाेला ! यस प्रकारले हाम्रा महाकवि मिथातीत हुन् नभनी कसरी रहनसकिने ?
अन्त्यमा, याे आलेख कसैमाथि दुराग्रह राखी नलेखिएकाे ठानिदिनुहुन विनम्र निवेदन गर्दै सबैमा जय नेपालकाे अभिवादन !
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)


