
मुठ्ठिभरका व्यक्ति मोटाए, देश दुब्लायो, खाँटी कुरा यहि हैन र ?

समृद्धि बोल्ने मात्र कुरा हैन गरिदेखाउने कुरा हो
दुर्गाप्रसाद शर्मा
बुटवल
देशको समृद्धि कोसँग खोज्ने ? के समृद्धि आफैंबाट सुरु गर्ने हैन र ? समृद्धि अरुहरुले मात्र ल्याईदिनु पर्ने हो र ? आफूँले केहि गर्नु पर्दैन र ? एउटा देशको नागरिकको हैसियतले आफ्नो दायित्व के हो, मैले के गर्नुपर्छ भन्ने कुरा बुझ्नु पर्ने कि न पर्ने ?
सुनिन्छ, देशलाई समृद्धितर्फ डोराउन हामीहरुले यो गर्नु पर्छ उ गर्नु पर्छ, यसो गर्दा राम्रो उसो गर्दा राम्रो भन्ने आदर्शका भाषण र कुरा सतहि र उग्ररुपमा सुन्दा खुव मजा मानिमानी रमाईन्छ तर यथार्थ ठिक उल्टो छ । कथनी र करनीमा आकाश पातालको फरक छ । देशको बस्तुस्थिती एकातिर, यथार्थ आर्कोतिर । कुनै अमुकअमुक विदेशी संघ संस्थाको लहैलहैमा लागेर उचालेका नाराले कति दिनसम्म हामी समृद्धिको नारा रटाउने हो र ? देश समृद्धिमा ल्याउन त राम्रो कार्य योजना, चुस्त व्यावस्थापन, कडा मेहनत, स्वअनुशासन, स्वविवेक, कानुनी राज्यको अनुभूति, समयको सदुपयोग, कर्तव्य वोध र तोकिएको उचित समयमा उपस्थिति जनाउने र आफ्नो काममा लागि पर्ने गर्नाले मात्र देश समृद्धितर्फ उन्मुख हुन्छ । वास्तविक कर्म नगर्ने, भाषणले उचाल्ने अनि कसरी हामी उँभो लाग्ने ?
कोरा नाराको भरमा देश समृद्धिमा जाने भए विगत ३२ वर्षको यो लामो अवधिमा किन यतिविघ्न देशको अर्थतन्त्र ओरालो लाग्थ्यो होला र ? हो, केहि व्यक्ति, संघसंस्थाको उन्नति भए होला तर राज्य भताभुङ्ग र लथालिङ्ग भएको अवस्था हामीले देखिरहेका छौ । देशका मुख्य अंगहरुमा नै राजनिति घुसाएपछि देश समृद्धिमा जाने कुरा दिवासपना मात्रै हुनेछ । न्यायपालिकाको हविगत, कार्यपालिकाको हविगत, व्यावस्थापिकाको हविगत, संवैधानिक संस्थाको हविगत र संचार क्षेत्रको हविगत हेर्दा कस्को हृदय नरोला र ?
देशको समृद्धिको कुरा गर्दा नयाँपुस्ताका केहि यूवाहरु पुस्तौली सम्पति वा आफ्नै आर्जनबाट आर्थिक पाटो सवल बनाउनु भएको होला र राजनितिमा पनि अग्रपंक्तिमा देखिनु भएको छ तर अधिकाँश यूवायूवतिहरु राजनितिबाट वितृष्णा पैदा भएको कुरा गर्नुहुन्छ । राजनितिको यो फोहरी खेलमा नयाँपुस्ता जोडिने आधार देखिएको छैन । देशका सक्षम कर्णधार विदेशिने, मुग्लान पस्ने, पलायन हुने वा आफ्नो सम्पूर्ण उर्जा विदेशिको भूमिमा खर्चिने अनि आफ्नो भूमिमा फर्केपछि उत्पादनमा सरिक हुन नसक्ने अवस्था रहेपछि घरका जेष्ठ नागरिकहरुको अवस्था कस्तो होला ? कल्पना पनि गर्न सकिंदैन । देशमा भएका केहि टाँठाबाठा यूवा पंक्ति झोले राजनितिमा लाग्ने र नेताहरुले उपद्रो राजनिति गर्ने भए पछि कसरी देश समृद्धिमा जान्छ ? खेतिपाती, बोटविरुवा लगाएर मात्र फल दिन्छ र ? जलमल, गोडमेलको आवश्यक पर्दैन र ? अवश्य पर्छ । फल खान कर्म गर्नु पर्छ, मेहनत गर्नु पर्छ, विधि पुर्याएर सुरक्षित राख्नु पर्छ तव न फल हातमा आउँछ र सुमर्न पाईन्छ । बुद्धी र पसिनाले मात्र फल आर्जन हुन्छ । गफ र कितावी रटानले फल लाग्दैन । अच्छा तरिकाले कर्म गर्नु पर्छ अनि मात्र व्यक्ति, घर, समाज र देश समृद्धिको बाटोमा अघि बढ्दछ । देश समृद्धितर्फ उन्मुख हुनका लागि थुतुनु बजारेर मात्र हुन्छ र ? कर्ममा पाखुरा बजार्न सिक्नु पर्छ । मष्तिक र शरिरबाट तपतप पसिना चुहाउनु पर्छ ।
हामीले यतिका वर्षसम्म पनि देशलाई चिन्न सकेका छैनौ र त उन्नतिको गोरेटोमा हिंडाउन सकिरहेका छैनौ । हामी कस्तो र कस्को चक्रव्यूहमा फसिरहेका छौ हँ ? दोस्रो विश्व यूद्धको अन्त्यतिर भारत, जापान, कोरिया, मलेशिया आदि देशहरु कुन अवस्थामा थिए र अहिले कस्तो अवस्थामा पुगेका छन्, अलिअलि चेत त हामीमा हुनु पर्ने हैन र? तुलना गरिहेरौं त, हामीले के कुरामा फड्को मारी देशलाई र नागरिकलाई समृद्धितर्फ लगेका छौ ? हामीमा के कुरामा कमि रह्यो ? मुठ्ठिभरका व्यक्ति मोटाए, देश दुब्लायो, खाँटी कुरा यहि हैन र ? चलायमान जनशक्ति देशबाहिर । सिप, श्रम, उत्साह जाँगर र उमेर देश बाहिर । देश भित्र साना बालबच्चा र पहिलो पुस्ताका मातापिता अनि अशक्त परिवार । देश कसरि समुन्नति हुने र समृद्धिको आश गर्ने ? स्वअनुशासन, काम, अनुभव, लगन र पे्ररणाले खारिएका जेष्ठ नागरिकले एक्लो महशुस गर्न थाले । मर्दापर्दा, विरामी हुँदा, औषाधीमूलो गर्दा, घर सरसफाई गर्दा, खानाको लागि जोहो गर्दा, यात्रा गर्दा वा कुनै तिर्थ स्थल जाँदा, घरधन्दा गर्दा, खाना पकाउँदा वा भाँडा माझ्दा, रामरमितामा जाँदा फगत एक्लो जिर्ण शरिर भएको जेष्ठ नागरिक ? उहाँहरुलाई कस्ले सघाउने ?
बुटवल लक्ष्मीनगरका समाजसेवी नारायण भट्टराई भन्नुहुन्छ, “जेष्ठ नागरिकहरुलाई सामुहिक रुपमा टोलटोलमा रेखदेख गर्ने, स्याहारसुसार गर्ने, स्वास्थ्य उपचार गर्ने, मनोरन्जन र खान बस्नको लागि सुविधायूक्त ठाउँको प्रवन्ध गर्ने समेतको कार्य गर्नसके मात्र कमसेकम उहाँहरुले राम्रो सास फेर्न सक्ने वातावरण बन्ने थियो र समाजवादको एउटा नमूना कार्य सुरुहुने थियो ।” हो, यो कुरा विषेश राज्यको दायित्व भित्रनै पर्दो हो तर पनि नागरिक र समाजको सहयोग साथै दायित्व पनि उत्तीकै महत्वपूर्ण कुरा हो । भट्टराई थप्नुहुन्छ, “समाजलाई रुपान्तरण गर्दै नयाँ मोडेलबाट टोलटोलमा उदाहरणिय काम गर्दै श्रेष्ठता हासिल गरी वडा, नगर, प्रदेश हुँदै संघिय संरचनामा समेत आवश्यक सुधार गरी समाजवाद उन्मुख हुन व्यावहारिक फड्को मार्नु अबको आवश्यकता हो ।” हो, अधिकाँश जेष्ठ नागरिकहरुले आफ्नो पिडा ,व्यथा, र मर्म मनभित्र दवाएर राख्नु भएको होला । कतिको त आर्थिक हैसियत पनि दह्रो होला तर पैसाले नत माया किन्न सकिन्छ न त पिडा नै बेच्न सकिन्छ । कतिले इज्जत र प्रतिष्ठाले पुरा व्यथा लुकाएर राखेको पनि अवस्था छ ।
राजनितिले बिद्रोह गर्न सिकायो तर उत्पादनमा कर्म गर्न सिकाएन । राजनितिले अनुशासनहिनता सिकायो तर स्वअनुशासन सिकाएन । राजनितिले ठग्न सिकायो, सहयोग गर्न सिकाएन । राजनितिले पुच्छर बन्न सिकायो, स्वविवेक सिकाएन । राजनितिले परनिर्भर सिकायो, आत्मनिर्भर, सोनिर्भर वा स्वाभिमान सिकाएन । राजनितिले गफ गर्न सिकायो कर्म गर्न सिकाएन । राजनितिले परिवर्तन ल्यायो तर सभाल्न सिकाएन । राजनितिले डाहा र ईश्र्या सिकायो तर सहनशिल, धैर्य र एकाकार सिकाएन । र पनि यो निराशा हुने कुरा पटक्कै हैन । हामी आशावादि हुनै पर्छ । आशामै त अडिएको छ संसार । तर पनि बाँडेका सपना सम्झिँदा मन कुँडिन्छ र लेख्न मन लाग्छ, मनको वह पोख्न मन लाग्छ, बाँड्न मन लाग्छ र त मन हलुका हुन्छ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)


