स्वतन्त्र उम्मेद्वारी मुलुककै लागि विडम्बना !

आगामी निर्वाचनमा चरम अवसरवादका झाँकी

गणेश घिमिरे ‘मार्मिक

लोकतान्त्रिक व्यवस्थाको सौन्दर्य भनेकै निर्वाचन हो । लोकतान्तिक व्यवस्थामा आवधिक निर्वाचनबाट जनप्रतिनिधिको चयन गरी उनीहरुलाई मुलुकको विकास, समृद्घि र सुशासनको जिम्मा दिने गरिन्छ । अर्थात जनताले आफ्ना प्रतिनिधिमार्फत मुलुकको शासन सञ्चालन गर्ने पद्दति यस्तो व्यवस्थामा निहित रहन्छ । तोकिएको अवधि अर्थात् नेपालको सन्दर्भमा पाँच वर्षका लागि चुनिएका त्यस्ता जनप्रतिनिधिहरु भ्रष्ट, दुराचारी र निरङ्कुश नबनुन् भन्ने अपेक्षा राखिएको हुन्छ । यदि त्यस्ता कार्यहरु उनीहरुबाट हुन गएमा अर्को निर्वाचनमा त्यस्ता व्यक्तिलाई जनताले आफ्नो मताधिकारको प्रयोगद्वारा वहिस्कार गर्न सक्ने अधिकार राख्दछन् ।

यस कारण जनताले आफ्ना प्रतिनिधि चयन गर्ने क्रममा नै उम्मेद्वारको व्यक्तिगत स्वभाव, चरित्र, पृष्ठभूमि र व्यवहारको मिहिन मूल्याङ्कन गरेर मात्र आफ्नो मत दिनुपर्छ । अन्यथा क्षणिक लाभ, भ्रम र मोजाहिजामा परी मत दिएको खण्डमा गलत व्यक्तिका हातमा मुलुकको शासन सत्ता पर्नसक्ने खतरा उत्पन्न हुन्छ जसले देश र जनता लाभान्वित हुनुको सट्टा पीडा र पश्चात्ताप मात्र हात लाग्ने गर्दछ । यसकारण निर्वाचनको बेला होसियारीसाथ प्रतिनिधिको चयन गर्नु आवश्यक छ ।

हाम्रो देशको विगत हेर्दा निर्वाचनको बेला जनताले राम्रो मूल्याङ्कन गर्न नसक्दा जनता स्वयम्ले त्यसको दुःखद परिणाम व्यहोर्नुपरेको यथार्थ छर्लङ्ग छ । अशिक्षा, गरिबी, व्यक्तिगत स्वार्थ, नाताबाद, कृपावाद, लोभ लालच आदिको वसमा परी गलत व्यक्तिको चयन गर्नाले भोग्नुपरेका त्यस्ता हण्डरहरुलाई निर्वाचनका बेला हेक्का राख्न नसकिएमा यो क्रम सधैँ दोहोरिइरहने र परिणामस्वरूप मुलुकको विकास उन्नति त परै जावस् राष्ट्रको स्वतन्त्रता, अखण्डता र अस्मितामाथि नै प्रहार हुनसक्ने हुँदा समयमा सचेतता अपनाउनु अत्यन्त जरुरी छ ।

नेपालमा आगामी मङ्सीर ४ गतेका दिन हुन गइरहेको संघीय तथा प्रादेशिक निर्वाचनको माहौल तातिरहेको छ । विभिन्न ठुला साना राजनीतिक दलहरुले त आ–आफ्ना उम्मेद्वारी प्रस्तुत गरी सकेकै छन् तर यसपटकको निर्वाचनमा स्वतन्त्र उम्मेद्वारीको पनि ठुले लहर चलेको देखिन्छ । गत स्थानीय निर्वाचनमा केही महत्वपूर्ण नगरपालिकाहरुमा स्वतन्त्र व्यक्तिले पाएको सफलताले यस संघीय तथा प्रादेशिक निर्वाचनमा पनि त्यसैको धङ्धङीले काम गरिरहेको भान हुन्छ ।

हेक्का राख्नुपर्ने कुरा त के छ भने स्थानीय निर्वाचनमा निर्वाचित जनप्रतिनिधिले स्थानीय सरकार चलाउने र त्यो सरकार पाँच वर्षसम्म परिवर्तन नहुने हुँदा यसको महत्व भिन्नै छ । तर लोकतान्त्रिक गणतन्त्रमा संघीय तथा प्रादेशिक निर्वाचनमा केही स्वतन्त्र व्यक्तिहरु निर्वाचित भइहाले पनि तिनको भूमिका गौण र खासै प्रभावकारी बन्न नसक्ने र स्वतन्त्रहरुको सरकार बनिहाल्ने अवस्था पनि विद्यमान नभएकोले त्यस्तो स्वतन्त्र उम्मेद्वारीको खासै औचित्य देखिँदैन । केवल कतिपय राजनीतिक दलहरुले विगतमा निर्वाह गरेका गैह्रजिम्मेवारपूर्ण व्यवहार र उनीहरुले निम्त्याएको राजनीतिक अस्थीरता तथा विविध विसङ्गतिहरुप्रतिको आक्रोसको अभिव्यक्ति मात्र हुन् यी स्वतन्त्र उम्मेद्वारीहरु । यस्ता स्वतन्त्र उम्मेद्वारीले यदाकदा विजय प्राप्त गरिहाले पनि आखिरमा कुनै न कुनै राजनीतिक दलको गोटी बन्नुपर्ने विडम्वना विगतका अनुभवहरुले प्रदर्शन गरी नै सकेका छन् । बरु स्वतन्त्र उम्मेद्वारीले कुनै अमुक राजनीतिक दलको बहुमत पुग्ने र राजनीतिक स्थीरता आउने संभावनालाई न्यून बनाउन मात्र सहायकसिद्घ बन्नेछन् । मुलुकका लागि यो नै विडम्बना हुन जानेछ ।

कसैलाई हराउनुलाई मात्र अभिष्ट राखेर दिइने यस किसिमका स्वतन्त्र उम्मेद्वारी चरम अवसरवादका अभिव्यक्ति र जनताप्रतिको गैह्रजिम्मेवारी मात्र ठानिने छन् । आगामी निर्वाचनमा प्रत्यासी बनेका कतिपय उम्मेद्वारी कुनै न कुनै राजनीतिक दलबाट आपmूले टिकट नपाएको असन्तुष्टि चरम अवसरवादी चरित्रका रूपमा देखापरेका छन् । कुनै पनि राजनीतिक दलमा योगदान गरेका सबै कार्यकर्ता सबैलाई सिमित सिटमा अटाउन कुनै पनि हालतमा संभव छैन भन्ने कुरालाई पनि इमान्दार कार्यकर्ताले मनन गर्न सक्नुपर्छ । अर्कोतर्फ सधैँ म मात्र माथि जाऊँ, म मात्र अवसर लुटौँ भन्ने खराब प्रवृत्तिले गर्दा पनि यस्ता क्रियाकलापहरुलाई जन्म दिएको देखिन्छ । यो गलत सोच हो । यस निर्वाचनमा पार्टिले बिपक्षी राजनीतिक पार्टिका बिरुद्ध लड्नु त यसै छँदै छ, त्योभन्दा पनि आफ्नै पार्टीबाट बागी उठेका स्वतन्त्र उम्मेद्वारहरुको चरम अवसरवाद र बेइमानीबिरुद्ध पनि उत्तिकै शक्तिका साथ लड्नु आवश्यक छ ।

हो, पार्टी नेतृत्वले पनि कहिलेकाहिँ गल्ती नगर्ने होइनन् तर व्यक्तिका गल्तीका कारण सिङ्गो पार्टीप्रति नै घात गर्नु के सच्चा र इमान्दार कार्यकताहरुलाई सुहाउने कुरा हो र ? अवश्य होइन । कुनै पनि राजनीतिक दलको सिपाही बनेपछि त्यसका कमाण्डरको निर्णयलाई शिरोपर गर्नु राजनीतिक अनुशासन हो । दलभित्रका गलत प्रवृत्रिहरुका विरुद्ध दलभित्रै सङ्घर्ष गर्नुपर्छ तर बाहिर भने एकताको भावना प्रदर्शन गर्नुपर्छ । पार्टीलाई नै आघात पुग्नेगरी गरिने क्रियाकलापहरु कुनै पनि हालतमा मान्य र उचित हुन सक्तैनन् । त्यस्ता चरम अवसरवादी चरित्र, प्रतिशोधको भावना र गरीब चिन्तनका कारण राजनीति बिटुलिने गर्दछ । फलस्वरूप राजनीतिक अस्थीरता उत्पन्न हुने गर्दछ । राजनीतिक अस्थीरताले विकास, समृद्धि र शान्तिको बाटो अवरुद्ध गर्दछन् । मैले र मेरा मान्छेले पाए मात्र ठिक नत्र सबै बेठिक ठान्ने प्रवृत्ति नै चरम अवसरवाद हो । यस्ता खाले क्रियाकलापहरुलाई जनताले प्रोत्साहन होइन निस्तेज बनाउन सक्नुपर्छ ।

त्यसो त यस किसिमको अवसरवादी चरित्र अन्य विभिन्न पार्टीहरुमा पनि छरपष्ट भएका छन् । तथापि, स्थापनाकालदेखि गरिमामय इतिहास रच्दै आएको एमालेजस्तो अनुशासित पार्टिभित्र अहिले देखिएको चरम अवसरवादी चरित्र विडम्वना हो । देश र जनताको एक मात्र भरोसा बनेको पार्टिमा यस किसिमका गलत चिन्तन र अवसरवादी चरित्रले आम जनतामा नैराश्य उत्पन्न गराएको छ । यस प्रवृत्तिमा सुधार ल्याउन पनि यस्ता गलत तत्वहरुलाई यथाशीघ्र पाखा लगाएर पार्टि शुद्धिकरणमा विशेष जोड दिनु आवश्यक देखिएको छ । विगत लामो समयदेखि पार्टीमा महत्वपूर्ण योगदान पु¥याउँदै आएका कतिपय योग्य र सक्षम कार्यकर्ताप्रति न्याय गर्नु पार्टीको कर्तव्य र न्यायपूर्ण कदम मानिन्छ । तर कतिपय अवस्थामा नेतृत्वका वाध्यता र भिन्न दृष्टिकोणका कारण भए गरेका निर्णयबाट उत्पन्न असन्तुष्टिलाई विपक्षीको सिँढी बनाउनु इमान्दारिता होइन गद्दारी ठहरिन्छ । धैर्य र अनुशासनले मात्र सहज बाटो पहिल्याउन सकिन्छ ।

जहाँसम्म राजनीतिक दलहरुलाई सच्याउने उद्देश्यले गरिएका आन्दोलन, चलाइएका अभियान र दिइएका चुनौतीहरुको सवाल छ ती एक हदसम्म उचित पनि छन् जसले राजनीतिक दलका क्रियाकलापहरुलाई सच्याउन योगदान पु¥याउँछन्; सचेत बनाउन मद्दत गर्दछन् र खबरदारी गर्दछन् । विगतका वर्षहरुमा हाम्रा राजनीतिक दलका नेताहरुमा देखापरेको पदलोलुपता, स्वार्थ, सत्तालिप्सा र भ्रष्ट मानसिकताले सिङ्गो मुृलुक आहत भएको यथार्थ हो । नेताका यस्ता असक्षमता, दुस्चरित्र र गलत व्यवहार र प्रवृत्तिका विरुद्ध जनताले आफ्नो मतद्वारा उनीहरुलाई सवक सिकाउनु जरुरी छ । तर नेता कार्यकर्ता नै झन् झन् अवसरवादी बन्दै जानु भने निश्चय पनि उचित कुरा होइन ।

आगामी निर्वाचनमा आम विवेकी मतदाताहरुले नेताहरुका विगतका चरित्र, व्यवहार र उनीहरुको योग्यता, क्षमताको परख गरी मतदान गरी राजनीतिक स्थीरता कायम हुनेगरी स्वतन्त्रलाई होइन, दलकै उम्मेद्वारहरुलाई बहुमत दिई विजयी बनाउनु हुनेछ भन्ने पूर्ण भरोसा छ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button