नेपाल एकीकरणमा ‘पृथ्वीविजय’

पृथ्वीनारायण शाहद्वारा पश्चिममा नुवाकोटदेखि पूर्वमा टिस्टासम्मका राज्यहरू विजय गरी आरम्भ गरिएको नेपालको राष्ट्रिय एकीकरण अभियानलाई उनका वंशज राजेन्द्रलक्ष्मीदेवी शाह र बहादुर शाहले पूर्णता प्रदान गरी पूर्वजको सपना साकार पारेका थिए ।

प्रा.डा. टेकबहादुर श्रेष्ठ

नेपालको मध्यकालको उत्तराद्र्ध तथा आधुनिक कालको पूर्वाद्र्धको राजनैतिक इतिहासमा गण्डकी प्रश्रवण क्षेत्रमा विस्तारित चौबिसी राज्यहरूको महत्वपूर्ण भूमिका रहेको पाइन्छ । विक्रमको बाह्रौँ शताब्दीको पूर्वाद्र्धमा पश्चिमका कर्णाली प्रदेशमा नागराजाद्वारा स्थापित खस राज्यको सीमा पूर्वमा गोरखा तथा पश्चिममा गढवालसम्म पैmलिएको थियो । सैनिक तथा आर्थिक दृष्टिले मजबुत यो राज्यको गौरवमय इतिहास राजा अभय मल्लको राज्यकालपछि कायम रहन सकेन । परिणामस्वरूप यो विशाल राज्य टुक्रिई कर्णाली प्रदेशमा बाइस र गण्डकी प्रदेशमा चौबिसओटा राज्यहरूमा विभाजित भयो । कुनै समयमा यी राज्यहरूको सङ्ख्या कर्णाली प्रदेशमा बाइस तथा गण्डकी प्रदेशमा चौबिस पुग्न गएको हँुदा यिनीहरूको नाम ‘बाइसी’ र ‘चौबिसी’ हुन गएको देखिन्छ । यी बाइसी र चौबिसी राज्यहरू एकै समयमा भने स्थापना भएका थिएनन् । यसरी नेपालमा बाउन्नभन्दा बढी स्वतन्त्र राज्यहरू देखापरेको पाइन्छ । तापनि समय समयमा यी राज्यहरूको सङ्ख्या घटबढ हुने गर्दथ्यो ।

गण्डकी प्रश्रवणमा विस्तारित विक्रमको पन्ध्रौंदेखि सत्रौँ शताब्दीसम्ममा स्थापना भएका पूर्वमा गोरखादेखि प्युठानसम्मका यी चौबिसी राज्यहरूमध्ये गोरखा, पाल्पा, पर्वत, लमजुङ, तनहुँ, कास्की, प्युठान आदि राजनीतिक दृष्टिले निकै प्रभावशाली थिए । अरू राज्यहरू क्षेत्रफल, जनसङ्ख्या आदिका दृष्टिले ससाना थिए भने यिनीहरू आत्मरक्षाका लागि शक्तिशाली राज्यको पक्ष लिन्थे अर्थात् क्षेत्रीय सङ्गठनमा सम्मिलित हुन्थे । यी चौबिसी राज्यहरू परस्परमा लडाइँ–भिडाइ गर्दथे तापनि अत्यावश्यक परेको समयमा सङ्गठित पनि हुने गुणले तीन शताब्दीजति स्वतन्त्र रूपमा आफ्नो अस्तित्व जोगाउन यिनीहरू समर्थ भएको देखिन्छ । यी चौबिसी राज्यहरूमध्ये बाह्र हजार घरधुरीसहितको गोरखा राज्य आफ्नो क्षमता वृद्धि गर्दै चौबिसी राज्यमा अगाडि बढेको देखिन्छ ।

प्रेरणाको स्रोत
वि.सं. १७७९ मा जन्मिएर वि.सं. १७९९ मा गोरखाका राजा भएका पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्ने प्रेरणा कहाँबाट प्राप्त गरेका थिए भन्ने विषयमा पनि यहाँ सङ्क्षिप्त चर्चा गर्न आवश्यक देखिन्छ । वि.सं. १६१६ मा महत्वाकांक्षि राजकुमार द्रव्य शाहले आफ्ना दाज्यू तथा लमजुङ राज्यका राजा नरहरि शाहसँग छुट्टिएर एउटा बेग्लै स्वतन्त्र राज्य ‘गोरखा’ को स्थापना गरेका थिए । गण्डकी प्रदेशका केही प्रभावशाली राज्यहरूको जन्म कालको तुलनामा कान्छो गोरखाको उदयपछि चौबिसी राज्यहरूबिच राजनीतिक चलतापुर्जापन बढेको थियो भने गोरखा राज्य लमजुङको जन्मजात शत्रुका रूपमा देखा परेको थियो । द्रव्य शाहपछि राजा राम शाहले गोरखालाई अगाडि बढाउन नेपाल उपत्यकाका ललितपुर राज्यका प्रसिद्ध राजा सिद्धिनरसिंह मल्लसँग मैत्री सम्बन्ध स्थापना गर्नुका साथै गोरखामा नयाँ व्यवस्था बाँधेका थिए । यिनीपछिका राजा डम्बर शाहले सिद्धिनरसिंह मल्ललाई कान्तिपुरका राजा प्रताप मल्लद्वारा गरिएको आक्रमणविरुद्ध सैनिक सहयोग गरेका थिए भने यिनले वि.सं. १७३५ मा कान्तिपुरका राजा नृपेन्द्र मल्लसँग मित लगाउनुका साथै वि.सं. १७४२ मा कान्तिपुरका राजा पार्थिवेन्द्र मल्ल तथा भक्तपुरका राजा जितामित्र मल्लसँग वार्तालाप गरेका थिए । यी उदाहरणहरूबाट गोरखाका राजाहरूले उपत्यकाका राजाहरूसँग मैत्री सम्बन्ध गाँस्ने प्रयास गरेका थिए भन्ने देखिन्छ ।
गोरखाका राजाहरूलाई आफू पूर्वतर्फ बढेको समयमा जन्मजात शत्रु लमजुङबाट कुनै पनि बेला आक्रमण हुन सक्ने कुराको ठुलो त्रास थियो । यसबाट सुरक्षित हुन राजा नरभूपाल शाहले अनुकूल मिलाई लमजुङसँग वि.सं. १७९६ मा ‘एकानि शत्रु एकानि मित्र’ रूपको महत्वपूर्ण सन्धि गरे । यसमा गोरखा पूर्वतर्पm बढ्दा लमजुङले हस्तक्षेप गर्न नहुने तथा गोरखाले लमजुङविरुद्ध कुनै कार्य गरेमा धरौटी स्वरूप ४०,००० रुपियाँ लमजुङले लिन पाउने व्यवस्था बाँधिएको थियो । यो सन्धिबाट सर्परूपी गोरखाले गरुडरूपी लमजुङको आँखा छलेर भ्यागुतारूपी नेपाल उपत्यकाका मल्ल राज्यहरूलाई खान सक्छ भन्ने भनाइलाई पुष्टि गर्न सक्ने देखिन्छ । यही सन्धिका सर्तमा टेकेर नरभूपाल शाहले कान्तिपुर राज्यअन्तर्गतको साङ्ग्रामिक तथा आर्थिक दृष्टिले महत्वपूर्ण नुवाकोटमाथि आक्रमणको प्रयास गरेकोमा उनी विफल भएका थिए । वास्तवमा आफ्ना पूर्वजहरूका महत्वाकाङ्क्षा तथा राजनैतिक गतिविधिबाट पृथ्वीनारायण शाह प्रेरित भएका थिए भन्ने देखिन्छ । अङ्ग्रेज शक्ति उत्तरतर्फ बढ्दै आएको देखी यिनी निकै चिन्तित र सतर्क भएका थिए ।

एकीकरण कार्ययोजना
गोरखाका राजा पृथ्वीनारायण शाह आफ्नो एकीकरण योजनालाई आधिकारिक र योजनाबद्ध शैलीमा अगाडि बढाउन लागेका थिए । यसका लागि यिनले गोरखालाई चौबिसी समूहमा गणना नगर्नुका साथै ‘आठ टिका शाह’ परिवारलाई त्यागी काश्यप गोत्र अपनाई आफ्नो छुट्टै अस्तित्व बनाएका थिए । यसरी यिनी एकीकरण अभियानलाई सफल पार्न अझ अगाडि बढेका थिए । पृथ्वीनारायण शाहले आपूmलाई अर्थात् गोरखालाई चौबिसी समूहमा नरहेको भन्ने उपर्युक्त कुरालाई पुष्टि गर्न यहाँ आवश्यक देखिन्छ । यिनले भगवन्त नाथलाई वि.सं. १८३१ तिर लेखेको एउटा पत्रमा ‘अरू चौबिसीसँग त हाम्रो जसतो छ आफ्ना पावमहाँ मालुमै छ भरिसक्य हामीलाई हान्नै खोज्छन् उनका पुग्दैन र षुमची रह्या छन् …..’ भनी लेख्छन् भने अर्कोतर्फ यिनैको उपदेशमा बाइसी चौबिसीहरूलाई ‘हात्तीहौवा’ तथा वि.सं. १८२६ को एउटा अभिलेखमा ‘…घरका बाघ ती पश्चिमाहरू (बाइसी चौबिसी राज्यहरू)….’ भनिएको हुँदा गोरखा चौबिसी राज्य समूहबाट पृथक् रहेको कुराको पुष्टि भएको मान्न सकिन्छ ।

पृथ्वीनारायण शाहको एकीकरण अभियान कुन दिशाबाट आरम्भ गर्ने भन्नेबारेमा पनि यहाँ चर्चा गर्नु उपयुक्त देखिन्छ । हुन त यिनका पिता नरभूपाल शाहले नुवाकोटमाथि आक्रमण गरिसकेका थिए तापनि यसबारे निर्णय गर्नु आवश्यक थियो । यस्तैमा वि.सं. १८२५ मा पृथ्वीनारायण शाहले बाइसी राज्यहरूमध्येका जाजरकोटका राजा गजेन्द्र शाहलाई लेखेको एउटा पत्रमा ‘….पूर्वतर्फ साफ भयापछि बाइसी चौबिसीलाई मनसुवा गरिने छ …” भनी स्पष्ट उल्लेख भएकोबाट यिनले नुवाकोटदेखि टिस्टासम्म पहिलो चरणमा चौबिसी र बाइसी दोस्रो चरणमा एकीकरण अभियान सञ्चालन गर्ने निधो गरेको देखिन्छ ।

नुवाकोट विजय
दूरदर्शी पृथ्वीनारायण शाहले नेपालको एकीकरण अभियान सञ्चालन गर्ने योजनाअनुसार पहिलो चरणमा पूर्वका छिमेकी कान्तिपुर राज्यको पश्चिमी ढोका रूपको सामरिक तथा आर्थिक दृष्टिले महत्वपूर्ण प्रदेशमाथि पहिलो आक्रमणमा विफल भएपश्चात् दोस्रो आक्रमणका लागि योजनाबद्ध रूपमा सैन्य सामग्रीको आवश्यक व्यवस्था र सैनिक सङ्गठन गरेका थिए । यस पल्ट यिनले अघिल्लो आक्रमणबाट पाठ सिकी युद्धकलामा आमूल परिवर्तन गरेका थिए । यिनले त्रिशूली नदीपश्चिमको खिन्चेतमा सैनिक अखडा खडा गरी तालिम दिने ‘कुलो छेडे, पहरो खोपे’ शैलीमा सुरुङ मार्ग बनाई सुभाघाट पुग्ने र त्यहाँबाट त्रिशूली नदी तरी महामण्डल उत्रने योजना बनाए । वि.सं. १८०१ आश्विन १३ गते रातको साइतमा जलुवा माझीद्वारा निर्मित नाउद्वारा सुभाघाटबाट नदी तरी महामण्डल पुगेका गोर्खाली सेनामध्ये सरदार कालु पाँडे, राजकुमार महोद्दामकीर्ति शाह तथा पृथ्वीनारायण शाह स्वयम्को नेतृत्वका सैन्यहरूले क्रमशः अशोकबारी, धर्मपानी र तीनधाराको बाटो गरी तीनै दिशाहरूबाट आक्रमण गर्दा सामान्य लडाइँपछि नुवाकोट गोरखाको हात परेको थियो । यो सफलतामा सिद्ध अवस्थी र जलुवा माझीको भूमिका पनि महत्वपूर्ण रहेको थियो । यसपछि कान्तिपुरका राजा जयप्रकाश मल्लले गुमेको नुवाकोट प्रदेश फिर्ता लिने प्रयास गरेकामा यिनी विफल भएका थिए । पृथ्वीनारायण शाह वि.सं. १८०१ को दोस्रो आक्रमणमा विजयी बनेदेखि यिनी आर्थिक दृष्टिले पनि निकै सम्पन्न हुँदै गएका थिए ।

मकवानपुर विजय
पृथ्वीनारायण शाहले नुवाकोट, दोलखा आदि महत्वपूर्ण प्रदेशहरू विजय गरिसकेकाले अब आर्थिक तथा सामरिक दृष्टिले निकै महत्वपूर्ण राज्य मकवानपुरतर्फ आँखा लगाए । भारतबाट नेपाल उपत्यका पस्ने दक्षिण–पश्चिममा अवस्थित मकवानपुर राज्यलाई गोरखा राज्यमा गाभी आर्थिक नाकाबन्दी गर्नु आवश्यक थियो । पृथ्वीनारायण शाहको मकवानपुरका राजा दिगबन्धन सेनसँग मैत्री सम्बन्ध थिएन । यिनले राजा हेमकर्ण सेनकी छोरी इन्द्रकुमारीसँग विवाह गर्दा गहनाका रूपमा प्रयोग गरिएका नौलखा हार तथा वहान एक दन्ते हात्तीको माग पूरा गर्न दिगबन्धन सेनले ठाडै अस्वीकार गरेकाले मकवानपुरमाथि आक्रमण गरेका हुन् भन्ने भनाइ पनि छ । वास्तवमा मकवानपुर विजय गरी नेपाल उपत्यकालाई आर्थिक नाकाबन्दी गरी कायल पार्नुका साथै यसबाट उल्लेखनीय आर्थिक लाभ हुने विश्वास लिइएको थियो ।
अन्ततः वि.सं. १८१९ भाद्रमा गोर्खाली सेनाले मकवानपुरको सैन्य फौजमाथि आक्रमण ग-यो । त्यसपछि दुई पक्षबिच घमासान युद्ध भयो । परिणामस्वरूप मकवानपुर धेरै सैन्य क्षतिसहित नराम्रोसँग पराजित भयो । दिगबन्धन सेन आफ्ना परिवार तथा केही भारदारसहित जीवनरक्षार्थ सामरिक दृष्टिले महत्वपूर्ण हरिहरपुरगढीतर्पm लागे भने केही सैन्य दोलखातर्पm लागे ।

राजा दिगबन्धन सेन आफ्नो राज्य गुमेपछि चुप लागेर भने बसेनन् । यिनले आफ्नो गुमेको राज्य फिर्ता लिन बङ्गालका नवाब मीर कासिमसँग सहयोग माग्नुबाहेक अर्को विकल्प थिएन । यिनले मन्त्री कनकसिंह बानियामार्पmत मीर कासिमसँगबाट सहयोग प्राप्त गर्न सफल भएका थिए । मीर कासिमले पनि आफ्नो स्वार्थ सिद्ध गर्न यो मौका उपयुक्त ठानी जनरल गुर्गिन खाँको नेतृत्वमा ठुलो सैन्य फौज मकवानपुरमाथि आक्रमण गर्न पठाए । यो सेनाले वि.सं. १८१९ मार्ग २ गते मकवानपुरको डढुवाठाना कब्जा गर्दै हर्नामाढीमा बसेको अवस्थामा गोर्खाली फौजले एक्कासि आक्रमण गर्दा नवाबका हजारौँ सेना मरे भने बाँकी सेनाले आफ्ना हातहतियार छोडी भागे । अन्ततः मकवानपुरका राजा दिगबन्धन सेनले आत्मसमर्पण गरेपछि उनी र उनका पारिवारका सदस्यसहित केही भारदारहरू कैदमा परे ।

यसरी आर्थिक दृष्टिले महत्वपूर्ण मकवानपुर राज्य नेपाल अधिराज्यमा समाविष्ट भएको थियो । नेपाल एकीकरणको इतिहासमा मकवानपुर विजयको ठुलो महत्व रहेको छ । यसबाट गोरखालाई ठुलो आर्थिक लाभ हुनुका साथै हातहतियार पनि उपलब्ध भई सैनिक सङ्गठनमा ठुलो सघाउ पुगेको थियो । यो विजयले गोर्खालीको मनोबल बढ्न गएको मात्र नभई नवाबको त्यत्रो सैन्य फौजलाई परास्त गरी अङ्ग्रेज शक्तिलाई चुनौती दिएको थियो ।

कीर्तिपुर विजय
नेपाल उपत्यकाको ललितपुर राज्यअन्तर्गतको कीर्तिपुर सामरिक दृष्टिले महत्वपूर्ण मानिएको थियो । कीर्तिपुर नेपाल उपत्यकाको मुटु हो र यसमाथि कब्जा जमाउन सके तीनै मल्ल राज्यहरू सजिलै जित्न सकिन्छ भन्ने पृथ्वीनारायण शाहलाई लागेको बुझिन्छ । कीर्तिपुर गोर्खालीले जितेको खण्डमा तीनै मल्ल राज्यहरूको अस्तित्व रहने छैन भन्ने मल्ल राजाहरूले पनि बुझेका थिए । यसर्थ गोरखाविरुद्ध सङ्गठित रूपमा प्रतिकार गर्नुपर्छ भन्ने कुरामा यिनीहरू दृढ थिए । यस्तैमा वि.सं. १८१४ मा सरदार कालु पाँडेको नेतृत्वको गोर्खाली फौजले कीर्तिपुरमा आक्रमण ग¥यो, दुवैतर्पmका फौजहरूबिच घमासान युद्ध भयो । यो लडाइँमा गोर्खाली फौजका सरदारसहित धेरै सैनिकको मृत्यु भयो । यो पहिलो लडाइँको सात वर्षपछि राजकुमार शूरप्रताप शाहको नेतृत्वमा वि.सं. १८२१ मा गोर्खाली सेनाले कीर्तिपुरमाथि आक्रमण ग¥यो । यो दोस्रो लडाइँमा शूरप्रताप शाह घाइते भएसँगै धेरै सैनिकहरू मारिए ।

वि.सं. १८१४ मा कान्तिपुर र गोरखाबिच महत्वपूर्ण सन्धि हुन गएकाले कान्तिपुरले गोरखाविरुद्धको यो दोस्रो लडाइँमा भाग लिएको थिएन भन्ने बुझ्न सकिन्छ । यो सङ्क्रमण कालमा गोरखाले कान्तिपुरलाई ललितपुरबाट अलग गरी विभाजनको नीति अपनाएको देखिन्छ । वि.सं. १८२२ चैत्र ३ गते गोर्खाली सेनाले कीर्तिपुरमाथि आक्रमण ग-यो । यो आक्रमणविरुद्ध कीर्तिपुरवासी एक्लैले सशक्त प्रतिकार गरे तापनि तेस्रो युद्धमा भने पराजय स्विकार्नुप¥यो । तीनै युद्धहरूमा गोर्खाली सेनापति कालु पाँडेसहित धैरै सैनिक मारिनु, शूरप्रसाद शाह घाइते हुनु तथा पृथ्वीनारायण शाहलाई ज्यान जोगाउन धौ धौ पर्नु जस्ता घटनाहरूको प्रतिशोधस्वरूप कीर्तिपुरवासीको नाक काटिएको थियो भन्ने भनाइ छ ।

गोरखा र इस्ट इन्डिया कम्पनीबिच युद्ध
जयप्रकाश मल्ललाई आफ्ना र छिमेकी राज्यहरूका सीमावर्ती प्रदेशका साथै मकवानपुर राज्य नै गोरखाको कब्जामा परिदिनाले पूर्ण रूपले आर्थिक नाकाबन्दीको असर परेको थियो । उपत्यकाभित्र नुन, ऊन, कपास, खाद्यान्न आदि दैनिक उपभोग्य वस्तुहरू ल्याउन नपाउँदा उपत्यकामा हाहाकार भएको थियो । उपत्यकामा उत्पादन भएका सामग्री उपत्यकाबाहिर निर्यात गर्न नपाउँदा व्यापार बन्द जस्तै भएको थियो । साथै उपत्यकाको बाहिरी जगत्सँग सम्बन्ध नै रहन सकेको थिएन । वि.सं. १८२२ मा कीर्तिपुर प्रदेश गोरखा राज्यमा विलय भएपछि तीनै मल्ल राज्यहरूका राजाहरू झन् त्रसित र चिन्तित थिए । जयप्रकाश मल्लले चौबिसी राज्यहरूबाट गोरखाविरुद्ध सैनिक सहयोग पाउने आशा नभएपछि भारतस्थित इस्ट इन्डिया कम्पनीसँग सहयोग माग्नुबाहेक अर्को विकल्प थिएन । तसर्थ यिनले सहयोगका लागि कम्पनी सरकारको वाणिज्य दूत गोल्डिङकहाँ प्रतिनिधि पठाए । यी प्रतिनिधिहरूले गोरखाद्वारा सञ्चालित आर्थिक नाकाबन्दीको असरबारे जानकारी दिँदै गोरखाविरुद्ध सैन्य सहयोगको माग प्रस्तुत गरे र गोल्डिङले गोरखाविरुद्ध सैनिक सहयोग दिन पटनास्थित प्रमुख अधिकारी थोमस रम्बोल्डकहाँ पत्र पठाए । वास्तवमा कम्पनी सरकारलाई नेपाल भएर चीन, तिब्बत राज्यहरूसँग व्यापार गर्ने तथा धर्म प्रचारक इसाई पादरीहरूलाई आफ्नो धर्म प्रचार गर्ने आदि कुरामा बाधा पुगेको थियो । कम्पनी सरकारका गोल्डिङ तथा रम्बोल्ड दुवैले गोरखाविरुद्ध कारबाही गर्न ठुलो फौजको आवश्यक पर्दैन भन्ने कुरामा विश्वास गरे । रम्बोल्डले आफ्नो स्वार्थ पूरा गर्न जयप्रकाश मल्ललाई गोरखाविरुद्ध लड्नका लागि सैन्य सहयोग गर्ने कुराको सिफारिस गरे । गोरखाले मल्ल राजाहरूविरुद्धको आर्थिक नाकाबन्दी नहटाएको खण्डमा उनलाई कम्पनी सरकारले शत्रु ठानी कारबाही गर्ने जनाएको थियो । तर गोरखाले उपत्यकाका मल्ल राजाहरूविरुद्ध कारबाही गर्ने सूचना रम्बोल्डलाई पठाएको थियो ।

कम्पनीको निर्णयअनुसार कप्तान किनलकको नेतृत्वमा एउटा फौज गोरखाविरुद्ध लड्न जनकपुर भएर सिन्धुलीतर्फ प्रस्थान ग-यो । सिन्धुलीगढीमाथि विजय प्राप्त गरी पौवागढीतर्फ अगाडि बढेको अङ्ग्रेज सेनामाथि गोर्खाली सेनाले दुईतर्पmबाट आक्रमण गर्दा दुवै पक्षबिच घमासान युद्ध भयो । दिनभर भएको लडाइँमा कम्पनी सरकारको फौज गोर्खालीको अगाडि टिक्न नसकी कप्तान किनलक जीवन रक्षाका लागि भागे भने इस्ट इन्डिया कम्पनीका धेरै सैनिक युद्धस्थलमा मारिए । बचेका सैनिकहरूले पनि आफ्ना हातहतियार छोडी भागे । यसबाट पृथ्वीनारायण शाहले अङ्ग्रेज शक्तिलाई नराम्ररी पराजित गरी गोर्खालीको वीरता प्रदर्शन गरी प्रतिष्ठा बढाए । मकवानपुरको युद्धमा पराजित नवाबका सैनिकहरूले छोडेर गएका हातहतियारबाट सैनिक सङ्गठनमा वृद्धि गरेजस्तै यो युद्धमा पनि हातहतियार प्राप्त गरी सैन्य शक्ति अरू बढाउने अवसर गोरखाको विरुद्ध पाएको थियो । कम्पनी सरकारको पराजय हुनमा भौगोलिक स्थितिको राम्रो ज्ञान नहुनु, पहाडमा लडाइँ गर्ने कला नहुनु, खाद्यान्न आदि सामग्रीको अभाव हुनु आदि मुख्य कारण देखिन्छ । यो हारबाट जयप्रकाश मल्ललाई ठुलो असर परेको थियो ।

उपत्यकाका मल्ल राज्यहरूमाथि विजय
पृथ्वीनारायण शाहले वि.सं. १८०३ मा नेपाल उपत्यका प्रवेश गर्ने क्रममा उपत्यकाको शिर मानिने दहचोक (कोटडाँडा) विजय गरी यसै स्थानलाई ‘मुकाम’ बनाई अभियान सञ्चालन गरेका थिए । नेपाल उपत्यकाका तीनै मल्ल राज्यहरू विजय गर्न युद्धद्वारा मात्र सम्भव नहुने देखेर उनले साम, दाम, दण्ड, भेद जस्ता नीतिहरू अवलम्बन गरेका थिए । उपत्यकाका प्रदेश प्रदेशका प्रमाण, द्वारे, अमाली जस्ता पदाधिकारीहरूलाई ‘हामीसँग मिल्न आए, तिमीहरूको रक्षा हामी गरिदिन्छौँ नत्र बल प्रयोग गर्नुपर्ने छ’ भन्ने आश्वासन र चेतावनी दिएर पत्र पठाउने यिनको यो नीति प्रभावकारी भएको देखिन्छ । यसबाहेक यिनको आर्थिक नाकाबन्दी अझ धेरै प्रभावकारी भएको मान्न सकिन्छ ।

वि.सं. १८०३ देखि वि.सं. १८२१ सम्ममा उपत्यकाका उत्तर पूर्वका महत्वपूर्ण प्रदेशहरू शिवपुरी, नालदुम, महादेव पोखरी, साँखु, दोलखा, सिन्धुली तथा पश्चिम दक्षिणतर्पmका चित्लाङ, फर्पिङ, मकवानपुर आदि प्रदेशहरू कब्जा गरी चारै दिशाबाट उपत्यकालाई आर्थिक नाकाबन्दी गर्न उनी सफल भएका थिए । यसबाट दैनिक उपभोग्य वस्तुहरू नुन, ऊन, खाद्यान्न आदिमा पूरै नाकाबन्दी हुँदा उपत्यकावासी निराश भएका थिए ।

अन्त्यमा वि.सं. १८२५ आश्विन १३ गते जयप्रकाश मल्ल र कान्तिपुरवासी प्रसिद्ध कुमारीजात्रा मनाइरहेको मौका पारी गोर्खाली फौजले भीमसेनस्थान, नरदेवीस्थान र टँुडिखेलको बाटो गरी तीनतिरबाट कान्तिपुरमा एक्कासि आक्रमण ग-यो । जयप्रकाश मल्लले केही समय गोर्खालीविरुद्ध लडे तापनि गोर्खालीसमक्ष आफू असुरक्षित ठानी ललितपुरका राजा तेजनरसिंह मल्लकहाँ शरण लिन पुगे । त्यहाँ पनि असुरक्षित ठानी जयप्रकाश मल्ल र तेजनरसिंह मल्ल भक्तपुरका राजा रणजित मल्लकहाँ शरण पर्न गए । यता पृथ्वीनारायण शाहले मितबाका नाताले रणजित मल्लसमक्ष ती दुई पराजित राजाहरूलाई हस्तान्तरण गरी आत्मसमर्पण गर्न भनी प्रस्ताव पठाए । तर रणजित मल्लले ‘शरणको मरण नगर्ने’ भनी अस्वीकार गरेपछि दुई पक्षबिच युद्ध भयो । परिणामस्वरूप वि.सं. १८२६ मार्ग १ गते भक्तपुर राज्य पनि गोरखा राज्यमा समाविष्ट भयो । अन्ततः तीन शताब्दी जति लामो नेपालको मध्यकालिक इतिहासमा महत्वपूर्ण भूमिका रहेका यी राज्यहरूको अस्तित्व मेटिन गयो । यी तीनै राज्यका राजाहरू र गोरखाका राजा गरी चार राजाहरू एकै ठाउँमा भेटिइनु राजनैतिक इतिहासमा स्मरणीय तथा उल्लेखनीय मान्न सकिन्छ ।

सतहुँको युद्धमा पराजय
पृथ्वीनारायण शाह उपत्यकाका तीनै मल्ल राज्यहरू विजय गरी आर्थिक तथा सैन्य दृष्टिले निकै शक्तिशाली भएका थिए । यिनले काजी केहरसिंह बस्नेत तथा काजी वंशराज पाँडेको नेतृत्वमा चौबिसी राज्य विजय गर्न पठाए । यो सेनाले रिसिङ, घिरिङ, गजरकोट, ढोर, नुवाकोट, गरहुँ, भिरकोट, पैयुँ राज्यहरू विजय गर्दै सतहुँको डहरे लेकबाट पर्वत राज्यतर्फ अगाडि बढ्ने क्रममा वि.सं. १८२८ पौष ५ गतेका दिन पर्वतका राजा कीर्तिबम मल्ल र सतहुँका राजा दीर्घराज शाहको संयुक्त फौजले नेपाली फौजमाथि भीषण आक्रमण गर्दा नेपाली पक्षका सरदार केहरसिंह बस्नेतसहित धेरै सैनिकको मृत्यु भयो । घाइते काजी वंशराज पाँडेलाई कैद गरी पर्वत राज्यमा लगियो । यसबाट गोर्खाली फौजको ठुलो हार भएको थियो ।
सतहुँको युद्धबाट चौबिसी राज्यका शासकहरू आफूमाथि गोरखाले कुनै पनि बेला अप्रत्याशित आक्रमण गर्न सक्नेमा विश्वस्त भएको देखिन्छ । यिनीहरूले गोरखालाई पराजित गरेपछि चौबिसी राज्यहरूलाई उत्साही र गोरखालाई निरुत्साही पार्न एक किसिमको अफवाह प्रसार गरिदिएका थिए भन्ने कुरा एउटा पत्रमा ‘…..गोर्षामहा त मानिस पनि घर छैनन्, भयाका मानिसले पनि मुष अध्यारो गरी राख्या छन् नाच किर्तम् पनि केहि हुदैन गोर्षा बहुतै गलि रहेछ ….’ भनी उल्लेख भएकोबाट स्पष्ट हुन्छ ।
पृथ्वीनारायण शाहले पूर्व निर्धारित एकीकरणका दुई चरणमध्ये पहिलो चरण सफलतापूर्वक सम्पन्न नहुँदै दोस्रो चरणको योजना सञ्चालन गरेकाले ठुलो क्षति बेहोर्नुपरेको थियो ।

चौदण्डी राज्य विजय
सेन परिवारद्वारा शासित चौदण्डी राज्यको अवस्था दिन प्रतिदिन कमजोर हुँदै थियो । पृथ्वीनारायण शाहका विरोधी उपत्यकाका मल्ल राजाहरू पराजित भइसकेको, कम्पनी सरकारबाट सैनिक सहयोग उपलब्ध नहुनु आदि कारणले कर्ण सेन निराश थिए । राज्यभित्रका केही प्रभावशाली व्यक्तिहरू उनीसँग असन्तुष्ट थिए । त्यस बेला खार्पाका धनाढ्य हरिनन्द उपाध्याय र त्रिलोचन उपाध्याय पृथ्वीनारायण शाहका पक्षमा थिए । हरिनन्दले पृथ्वीनारायण शाहलाई ‘चौदण्डी राज्यको माटो लिएर आएको छु, चढाउँछु, यथासम्भव धनको समेत सहायता गर्दछु’ भनी माटो चढाएको हुँदा यिनी कर्ण सेनविरुद्ध पृथ्वीनारायण शाहलाई मद्दत गर्न तयार भएका थिए । अर्कोतर्फ चौदण्डीकै प्रभावशाली अधिकारी स्वरूपसिंह कार्की पनि मन्त्री अजित राईसँगको खटपटले गर्दा पृथ्वीनारायण शाहको शरणमा परेका थिए । यसरी चौदण्डीको रहस्य उद्घाटन हुन थालेको थियो । पृथ्वीनारायण शाह शत्रुराज्यका प्रभावशाली अधिकारी, धनीमानी आदि व्यक्तिहरूलाई प्रलोभन देखाई आफ्नो पक्षमा मिलाउन सफल भएका थिए । यी व्यक्तिहरूले पनि पृथ्वीनारायण शाहले चौदण्डी राज्य अवश्य विजय गर्ने छन् भन्ने कुरा बुझेका थिए । साथै यिनीहरूले पृथ्वीनारायण शाहको पक्ष नलिएमा जनधनको सुरक्षा हुने छैन भन्ने कुरा पनि राम्ररी बुझेका थिए ।

चौदण्डी विजय गर्ने योजनाअनुसार पृथ्वीनारायण शाहले सरदार अभिमानसिंह बस्नेतलाई एक कम्पनी र रामकृष्ण कुँवर र अमरसिंह थापालाई भिन्दै एक कम्पनीसहित पूर्वतर्पmको अभियानमा पठाए । रामकृष्ण कुँवरको नेतृत्वमा रहेको सैन्य फौज चौदण्डीका त्रिलोचन उपाध्यायको मद्दतले वि.सं. १८२९ भाद्र १३ गते दुधकोसी पार गरी चौदण्डी राज्यमा घुस्न सफल भएको थियो । नेपाली सेनालाई नदी तार्ने, खाद्यान्न उपलब्ध गराउने, खरखजाना ओसारपसार गर्ने आदि कार्यमा हरिनन्द उपाध्याय र त्रिलोचन उपाध्यायले मद्दत गरेका थिए ।

यसै क्रममा चौदण्डीका मन्त्री अजित राईले सुरक्षा व्यवस्था मिलाएका थिए । पूर्वतर्पm बढ्दै आएको नेपाली सेना तथा रावा खोलाका चेत्मे राई र पामा खोलाका अटल राईको नेतृत्वमा रहेको फौजबिच घमासान युद्ध भयो । यसमा किराँती फौजको हार भयो । किराँती फौजले नेपाली फौजलाई पूर्वतर्पm बढ्नबाट रोक्न दिङ्ला, सभाघाट, सतीघाट आदि पूर्वी सीमासम्म रोक्ने प्रयास गरे तापनि गोर्खालीको उत्साह र बन्दुकको गोलीको अगाडि किराँती सेनाको विषालु धनुकाँड, घुयेँत्रो आदि हतियारको केही सिप लागेन । परिणामस्वरूप नेपाली सैन्य फौजले अरुण नदी साँध लगाई माझ किराँतमा आफ्नो अधिकार जमाएको थियो ।

चौदण्डी राज्यको बाँकी भाग विजय गर्न गएका अभिमानसिंह बस्नेत र पारथ भण्डारीले दक्षिणबाट उत्तरतर्पm र रामकृष्ण कँुवर र अमरसिंह थापाले उत्तरबाट दक्षिणतर्पm आक्रमण गर्दा चौदण्डीको फौजसँग घमासान युद्ध भयो र किराँती सैनिक पक्षको हार भएपछि राजा कर्ण सेन राज्य छोडी विजयपुरतर्फ भागे । त्यहाँ उनलाई राजा बनाइएको थियो । यसरी चौदण्डी राज्य नेपाल अधिराज्यमा गाभियो ।

विजयपुर राज्य विजय
पूर्वको विजयपुर राज्यमा पनि राजा र मन्त्रीबिचको घातक झगडाले राज्य धेरै कमजोर हँुदै गएको थियो । यस मौकामा सरदार रामकृष्ण कँुवरको नेतृत्वमा गएको सैन्य फौजले विजयपुर पक्षका किराँती फौजलाई पराजित गर्दै अरुण नदीपारिको महत्वपूर्ण प्रदेश चैनपुर कब्जा गरी पूर्वोत्तरका इसलिम्बा, च्याङथापु आदि प्रदेशहरू आफ्नो कब्जामा पा¥यो भने यता सरदार अभिमानसिंह बस्नेत नेतृत्वको फौजले वि.सं. १८३१ का दिन विजयपुर कब्जा गरी नेपाल अधिराज्यको सिमाना पूर्वमा टिस्टा नदी साँध लगाउन सफल भएको थियो ।

विजयपुरका पूर्व राजा कर्ण सेन र मन्त्री बुद्धिकर्ण राईहरू सिक्किममा शरण पर्न गएका थिए । तर त्यहाँ पनि असुरक्षित ठानी यिनीहरू भारतको पूर्णियामा गएका थिए । यिनीहरू गुमेको राज्य फिर्ता लिन अङ्ग्रेजको सहायता पाउनका लागि निरन्तर लागिरहेका थिए । यता कर्ण सेनकी पत्नी पनि नाबालक छोरा लिएर अगमसिंहसँग भारततर्फ लागेकी थिइन् । यसै बिच कर्ण सेनको मृत्यु भएकोले अङ्ग्रेजसँग सहयोग माग्ने काम पूरा भएन ।

बुद्धिकर्ण राईलाई नपक्रीकन विजयपुरमा शान्ति सुरक्षा स्थापना हुने छैन भनी पृथ्वीनारायण शाहले वि.सं. १८३१ मा सरदार अभिमानसिंह बस्नेतलाई बुद्धिकर्ण राईको असल हात्ती माउतेलाई धनको प्रलोभन देखाई चोर्ने तथा गुप्त रूपले हत्या गराउन आदेश दिएका थिए । बुद्धिकर्ण राई उता भारतको चिलमाडीमा बसी नेपाली भूमिमा उपद्रो मच्चाउँदै आएको सूचना पाएपछि नेपाली सेनाको एक टुकडीले आफ्नो भेष बदली वि.सं. १८३४ मा बुद्धिकर्ण राईलाई पक्रेर विजयपुरमा ल्याई कठोर यातना दिई हत्या ग-यो ।

अर्कोतर्फ गुमेका राज्यहरू फिर्ता लिन कर्ण सेनकी विधवा रानीले गरेको अन्तिम प्रयासबारेमा पनि यहाँ उल्लेख गर्न आवश्यक देखिन्छ । यिनी पनि कतैबाट आफ्नो इच्छा पूरा गर्नका लागि सहयोग प्राप्त गर्न नसकेपछि अन्त्यमा पाल्पाका राजा मुकुन्द सेन द्वितीयका छोरालाई धर्मपुत्र मानी विजयपुरको राजा बनाउने इच्छा व्यक्त गरेकीले वि.सं. १८३६ मा राजाले आफ्ना छोरा ध्वजवीर सेनलाई स्वरूपसिंह कार्कीका साथ पठाइदिए । यो कुरा थाहा पाई सरदार अङ्गद घलेको नेतृत्वमा भेष बदलेर गएको सैन्य फौजले धुमगढस्थित निवासमा अकस्मात् आक्रमण गर्दा राजकुमार ध्वजवीर सेनसहित अरू केही मानिस मारिए । अन्ततः विधवा रानीको राज्य फिर्ता गर्ने प्रयास पनि विफल भयो ।

उपसंहार
पृथ्वीनारायण शाहले नेपाल उपत्यका विजयपश्चात् महोद्दामकीर्ति शाह, दलजित शाहहरूले एकीकरण अभियानमा योगदान पु-याएबापत पुरस्कारस्वरूप छुट्टाछुट्टै राज्य माग्ने प्रस्तावलाई आफ्नो उद्देश्य विपरीत भएको कारणले अस्वीकार गरी राज्य विभाजन हुनबाट बचाएका थिए भन्ने देखिन्छ । पहिलो चरणको एकीकरण अभियानलाई पूर्णता दिई दोस्रो चरणको अभियान आरम्भ गर्ने उद्देश्यले कर्मभूमि नुवाकोट पुगेका महत्वाकाङ्क्षी राजा पृथ्वीनारायण शाहको माढीस्थित रङ्गमहलमा वि.सं. १८३१ माघ १ गते असामयिक निधन भयो ।

अन्त्यमा पृथ्वीनारायण शाहद्वारा पश्चिममा नुवाकोटदेखि पूर्वमा टिस्टासम्मका राज्यहरू विजय गरी आरम्भ गरिएको नेपालको राष्ट्रिय एकीकरण अभियानलाई उनका वंशज राजेन्द्रलक्ष्मीदेवी शाह र बहादुर शाहले पूर्णता प्रदान गरी पूर्वजको सपना साकार पारेका थिए ।

(पृथ्वीनारायण शाहको २९९औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस–२०७७ का अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित ‘पृथ्वीनारायण शाह र नेपालको एकीकरण’ विषयक विचार–गोष्ठीमा प्रा डा टेकबहादुर श्रेष्ठले ‘पृथ्वीनारायण शाहको एकीकरण अभियानः सङ्क्षिप्त चर्चा’ विषयमा प्रस्तुत सम्पादित कार्यपत्र । कार्यपत्र उपलब्ध गराउने नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य तथा संचार संयोजक शशी लुमुम्बुलाई विशेष धन्यवाद ।)

थप कुरो, यसैबीच एकता दिवसको अवसरमा प्रतिष्ठानले साताव्यापी पुस्तक प्रदर्शनी आयोजना गरेको छ । प्रदर्शनीमा प्रतिष्ठानका चर्चित नयाँ तथा पुराना प्रकाशनहरु राखिएको छ । प्रदर्शनी अवधिभर १५ देखि ४० प्रतिशत छुटको व्यवस्था गरिएको प्रतिष्ठानले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button