किशोर-किशोरी आत्महत्या, आमअभिभावकले पछ्याउनुपर्ने पाठ

प्रज्ञा अर्याल

काठमाडौंमा कक्षा ९ मा अध्ययनरत दुई किशोर–किशोरीले बुद्धनगरस्थित नवनिर्मित घरको छतबाट हामफालेर आत्महत्या गरेछन् । घटना सुन्दा नै जीउ सिरिङ्ग भएर आयो ।

परिवारहरूप्रति हार्दिक समवेदना व्यक्त गर्न चाहन्छु । घटना हुनुको कारण एक अर्काप्रतिको आकर्षण भन्ने विभिन्न समाचार माध्यमहरुबाट जानकारी भयो । सोझो हिसाबले हेर्ने हो भने दुवैले एकअर्कालाई मनपराए, उनीहरूबीच के अड्चन आयो उनीहरु नै जनुन् या त दैव जानुन्, सँगै मर्ने बाँच्ने कसम खाएका हुनसक्छन्, सँगै आत्महत्या गरे । तर घटनालाई समाजसँग जोडेर हेर्ने हो भने यसको उपज हाम्रै समाज हो ।

हामी अभिभावकहरु आफ्ना छोराछोरीलाई पढाइका अनगिन्ती उदाहरण दिन पछि पर्दैनौं । एकछिन सोच्नुस् त, हामीले कहिले आफ्ना छोराछोरीहरूलाई सँगै राखेर उनीहरूको बढ्दो किशोरावस्थाका बारेमा जानकारी गराएका छौं ? हिजो त्यो उमेरमा मलाई पनि अनगिन्ती समस्याहरू आएका थिए । मेरो पनि मन चञ्चलताले भरिएको थियो । मलाई कति अप्ठारो पर्दा मैले मेरा अभिभावकहरुलाई सुनाउन सकेको थिइनँ तर आज म मेरा सन्तानहरूलाई त्यस्तो हुन दिनेछैन । उनीहरूले आफ्ना हरेक संकोच म समक्ष आएर निर्धक्क सुनाउने मौका मैले दिनु पर्छ भन्ने कुरोको हेक्का हामी सबै अभिभावकहरूले राख्नु पर्छ ।

ठूला विद्यालयहरू भनेर गनिनेहरुले समेत एउटा काउन्सलरको व्यवस्ता गरेको देखिदैँन । शिक्षकहरुले पनि कक्षा कोठाभित्र शिक्षकको भूमिका निर्वाह गरेता पनि कक्षा कोठाबाहिर किशोर किशोरीहरुको साथी बनिदिनु पर्ने अवस्था छ । कहीँकतै उनीहरूले बाटो बिराइहाले भने पनि त्यसको सूचना सम्बन्धित व्यक्तिहरूलाई कसरी दिने भन्ने कुरोले पनि मुख्य भूमिका खेल्छ । उमेर हो, गल्ती हुन्छ भन्ने कुरो नबुझिकन तिललाई पहाड बनाइदिनाले पनि यस्ता घटनाहरु दोहोरिरहन पुग्छन् ।

बाल मनोविज्ञानलाई हामी ध्यान नै दिरहेका हुँदैनौं । समाजले बालमनोविज्ञानको जरो उखेलेरै भए पनि उनीहरूबाट उत्कृष्ट नतिजा खोजिरहेको हुन्छ । नैतिक शिक्षा दिने हेतुले नैतिक शिक्षाको किताब राखिन्छ विद्यालयहरूमा अनि यस्तै घटनाहरूले कोइसन मार्क लागिदिन्छ त्यस्ता किताबहरूमाथि । किताब भित्रको १०–१२ पाठले पूरा भयो त नैतिक शिक्षा ? विद्यालयहरूमा अनिवार्य रुपमा किशोरावस्था शिक्षा दिनु जरुरी छ । साथै, खुलेरै यससम्बन्धी छलफल गर्ने वातावरण हुनु जरुरी छ ।

हाम्रो सबैभन्दा ठूलो गल्ती किशोरावस्थालाई लाजसँग र पढाइलाई प्रतिष्ठासँग जोड्नाले भएको छ । अभिभावक, विद्यालय र समाजले किशोरकिशोरीहरुलाई विश्वासपुर्ण वातावरणको विश्वस्तता पार्न सक्नुपर्दछ । किशोरावस्थामा आउने परिवर्तन, सोचाइ, चञ्चलताको साथै अन्य उतारचढावहरु कुनै पापका उपज होइनन् र यसमा आश्चर्यचकित हुनु पनि पर्दैन, यस्ता परिवर्तनहरू हिजो हामीमा आएका थिए, आज हाम्रा सन्तानहरूमा आउँछन् र भोलि तिनीहरूका सन्तानहरूलाई पनि आउनेछ । परिवर्तित सोच र स्वभाव समय र अवस्था अनुरूप फरक पर्न भने अवश्य सक्छन् ।

यो लेख माथि उल्लेखित घटनाको बारेमा जानकारी पाइसकेपछि मेरा मनमा उब्जिएका भावनाहरु मात्र हुन् । कसैलाई मन नपर्न पनि सक्छ । पिडित परिवारहरूले मसँग चित्त दुखाउन पनि सक्नुहुन्छ । त्यस्मा म क्षमा चाहन्छु । यो लेख लेख्नुको हेतु भोलिका दिनमा कुनै अभिभावकहरूमाथि यस किसिमको घटनाले हमला नगरोस् भन्ने मात्र हो ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button