असहमतिः न तीज तीजजस्तो छ न दर दरजस्तो

सम्झनामा बाल्यकालको तीज

रामेश्वरी पन्त

जिन्दगीले आधा शताव्दी पार गरिसक्दा हरेक वर्ष तीज आउँदै गर्दा यसले अनेक रुप धारण गरेर आइरहेको पाउँछु । हरेक वर्ष कुनै न कुनै विवाद बोेकेर आइरहेको पाउँछु ।

समयसँगै समाज पनि परिवर्तनशील छ, गतिशील छ र हुनुपर्छ, त्यो थाहा छ तर पनि समाजका केही परम्परा र रीतिरिवाजले परिवर्तनको घुम्टो नखोलिकन आफ्नै उही मौलिक ओढनी ओढेर आइदिए कति राम्रो हुन्थ्योहोला जस्तो लाग्छ र लागिरहन्छ । तर हिजोआज यसले आफ्नो मौलिकतालाई थाङ्नामा पोको पारेर एउटा कुनामा मिल्क्याइसकेको छ र आधुनिकता र बजारवादको रेशमी पहिरनमा आफूलाई बजारिकरण गरिरहेको छ ।

साँच्चै भन्नुपर्दा तीज–परम्परा परिवर्तनको नाममा, स्वतन्त्रताको नाममा नाङ्गिदै नाङ्गिदै गइरहेको छ । हुनसक्छ, अबका केही वर्षमा नामबाहेक यसले आफ्नो भन्ने केही कुरा जोगाउन सक्नेछैन । जे होस्, ‘बाँचे अनेक कुरा देख्न पाइन्छ’ भनेजस्तै ‘हेर्दैजाउँ’ भन्नुको विकल्प छैन किनकी अहिलेको अवस्थामा बोल्नु भनेको ‘परिवर्तन विरोधी र स्वतन्त्रता विरोधी’ हुनु हो । त्यसैले आज म आफ्नो बाल्यकालको तीजको सम्झना गरेर यसपालीको तीज मनाउँदैछु ।

तीज भन्ने बित्तिकै माइतिको सम्झना नहुने कुरै भएन, आमाको सम्झना नहुने कुरै भएन । यसबाहेक पनि मलाई मावलीको सम्झना धेरै आउँछ, मामाको सम्झना धेरै आउँछ । अनि आउँछ सम्झना त्यो सातो लिने कहालीलाग्दो लुगाखोलाको ।

कृष्णाष्टमीको दिनदेखि तीजको रमाइलोले छुन्थ्यो । ‘अबको एघार दिनमा तीज आउँछ’, दिन गनेर बस्थ्यौं । जति तीज नजिकिंदै आउँछ, खुशीले फुर्किंदै मामाको बाटो हेरिन्थ्यो । तीजमा मामाघर जान पाउनु कम्ता रमाइलो लाग्दैनथ्यो ! नभन्दै दरखाने अघिल्लो दिन साइँलामामा लामालामा जुङ्गा मुसार्दै सेतो कुर्ता, सेतो सुरुवाल र कालो इस्टकोटमा सजिएर टुप्लुक्क आइपुग्नुहुन्थ्यो ।

बुबाले सकेसम्म आमालाई तीजमा माइत पठाउन खोज्नुहुन्नथ्यो । तैपनि ठूली दिदी माइली दिदीले घरको काम गर्नसक्ने भैसकेकोले कुनैकुनै तीजमा आमाले माइत जाने रहर मेट्नुहुन्थ्यो । आमासँगै काखकी बैनी त जान्थी नै आमाको फरिया समात्दै पछिपछि लाग्न पाउने भाग्यशाली छोरी म नै थिएँ किनभने मलाई बाटोमा बोक्नुपर्दैनथ्यो, आफै हिंडेर जानसक्थेँ । अरु दुई बैनी अलि सानै थिए, न बोक्न सक्नु न हिंड्न सक्ने ।

बिहानको खाना खाएर हिंडेको साँझ बल्ल मामाघर पुगिन्थ्यो । मामाघरकी हजुरआमालाई हामी ‘बोई’ भन्थ्यौं । त्यसो त घरकी हजुरआमालाई पनि बोई नै भन्थ्यौं । बुबाकी आमालाई त मैले देख्न पाइनँ, म जन्मेको चौेध महिनामै स्वर्गे हुनुभएकोले उहँको सम्झना छैन । बुबाकी काइँलीआमा जो हामीसँगै रहनुभयो, उहाँलाई पनि हामी बोई नै भन्थ्यौं । बुबाले नपठाए पनि उहाँले नै आमालाई माइतजाने मौका दिनुहुन्थ्यो र भन्नुहुन्थ्यो– ‘जाऊ दुलही, यहाँको काम म हेर्छु ।’ आमालाई बोईले ‘दुलही’ भन्नुहुन्थ्यो ।

मामाघरकी बोईका सातभाइ छोरा । छोरी त आमा मात्रै । तैपनि सातै वर्षमा बिहे गरेर पराइको पोल्टोमा हालिदिएकी । आमा माइतिघर आउँदा खुशी नहुने को थियो होला र ! झन् बोईले त दिनभर बाटो हेरेर बसिरहनुहुन्थ्यो रे ! बोईले खान दिएको मीठो दर अनि तीजको दिनको चौताराको मेला र नाचगान सम्झनामा अझै ताजै छ ।

मामाघर जाँदा तीनवटा खोला तर्नुपर्ने । चिर्दी खोला तर्न खासै डर हुँदैनथ्यो, फराकिलो र सम्म ठाउँ थियो तर लुगाखोलो हेर्दै डरलाग्दो ! राक्षस जस्तो । खोला झर्ने बाटो निकै चिप्लो । पहरामुनिको साँघुरो बाटो । पहराबाट पानी झरिरहनाले बाटोका ढुङ्गामा लेउ लागेका हुन्थे । तल छङ्छङ् बगिरहेको खोलो, अलिकति चिप्लियो कि सिधै खोलामा । ज्यान हत्केलामा राखेर हिंडुनुपर्ने । यहाँनेर आइपुग्दा भने मामाघरको रहर एकछिनलाई त बेकार लाग्थ्यो । बल्लतल्ल खोलामा पुग्यो, माथिबाट बडेमानको सेतो पानीको झरना सातो लिनेगरि झरिरहने, तल फेरि उस्तै गरि गड्गडाएर बगेको पानी ! बीचमा अलिकति सम्म भाग, गहिरो पानीको सतह, चिप्ला ढुङ्गा । खुट्टो चिप्लियो वा हात छुट्यो त सिधै तल खोलामा कता पुगिने कता !

डरले मुटु काम्थ्यो तैपनि बल्लतल्ल खोला तरेर पारी पुगिन्थ्यो र लामो सास तान्दै उकालो लागिन्थ्यो । यो खोला तरेपछि भने अब बाँचेर मामाघर पुगिन्छ भन्ने लाग्थ्यो र फेरि खुशी हुँदै पाइला अघि बढ्थे । बाँकी अर्को खोला तर्न भने त्यति गाह्रो थिएन ।

त्यो राक्षसी खोलाको नाम ‘लुगाखोला’ किन रह्यो होला ? अँ साँच्ची ! सुन्छु, अहिले त त्यो खोलामाथि पुल बनेको छ रे ! पुलमात्र हो र ! अहिले त मामाघर पुग्ने मोटरबाटो नै बनेको छ रे ! तर खै, अब त्यो पुल तरेर, त्यो मोटरबाटोमा गुड्ने गाडी चढेर त्यो प्यारो मामाघर पुग्ने दिन आउला त यो जिन्दगीमा ? न माया गर्ने बोई हुनुहुन्छ त्यहाँ, न फरियाको मुजो समात्दै पछि लाग्ने आमा हुनुहुन्छ । न जुङ्गा मुसार्दै लिन आउने प्यारा साइँलामामा नै हुनुहुन्छ । सबैसबै यो धर्ति छोडेर अनन्तको यात्रामा लागिसके । सँगै खेल्दै, झगडा गर्दै, हाँस्दै रमाउँदै हुर्केका मामाका छोराछोरीहरू पनि कता कता पुगिसके ।

साँच्ची ! मामाघर भनेको त मामा छँदासम्म त हो नि ! आठ भाइ मामा भएर पनि किन साइँलामामालाई मात्र सम्झेकी भन्ने प्रश्न आउला । यदाकदा कान्छामामा तीजमा लिन आएको याद छ, अरु मामाहरू खासै आउनुभएन । यसो भन्दैमा अरु मामाले माया गर्नुहुँदैनथ्यो भन्ने होइन । माइजूहरूले पनि उत्तिकै माया गर्नुहुन्थ्यो । तर अब, मामाघर पनि सम्झनामा मात्र ।

स्कुल जान थालेपछि मामाघर जाने दिन पनि पातलिन थाले । यतिमात्र होइन, स्कुलसँगै हुर्किँदै गर्दा थपिंदै गएका घरेलु जिम्मेवारीले पनि मामाघरको यात्रामा क्रमशः बिराम लाउँदै गयो तैपनि दशैंमा भने पालैपालो मामाघर जान्थ्यौं र धेरै मामामाइजूको हातको टीका थापेर मुट्ठीभरी पैसा बनाउन पाउँदाको खुशी बयान गरिसाध्यै छैन ।

मामाघरको तीजपछि सम्झनामा बाँचिरहेको छ माइतिघरको तीज, आमाले पकाएको दर अनि चौतारीको नाचगान । त्यस्तै सम्झनामा ताजै छ बुबाले तीजमा लगाउन किनिदिएका लुगा । तीजमा लगाउने लुगा बुबाले साउनमै ल्याइदिनुहुन्थ्यो किनभने ती लुगा सिलाउने दर्जीदाइ बोलाएको करिब एक महिनापछि बल्ल आइपुग्थे त्यो पनि धाउँदा धाउँदा बल्लतल्ल आउँथे । उनले पिँढीमा लुगा सिलाउने कल बिसाएको दिन ठूलो युद्ध जितेजस्तो हुन्थ्यो तर कहिले त उनी पिँढीमा कल बिसाएर ‘धागो किनेर लिम्चु’ भन्दै हिँडेको मान्छे हप्तादिनसम्म पत्तो हुँदैनथ्यो । पछि बुझ्दै जाँदा अर्कै कलले अरुका घरमा लुगा सिलाएको थाहा हुन्थ्यो तर पनि उनलाई पर्खनुको विकल्प हुँदैनथ्यो ।

तीजको दिन नयाँ लुगा लगाएर चौतारीमा नाचगान हेर्न जानको लागि अघिल्लै दिन गाई भैंसीलाई टन्न पुग्नेगरी घाँस काटेर थुपार्नु पथ्र्यो । त्यसैले अरु दिन टाढा बेंसी गएर घाँस काट्थ्यौं र घर नजिकको खेतबारीका कान्लाको घाँस तीजलाई साँचेर राख्थ्यौं । आमा पानी पनि नपिइकन तीजको व्रत बस्नुहुन्थ्यो, हामी दिदीबहिनी भने टन्न खाएर र नयाँ लुगा लगाएर नाच हेर्न जान्थ्यौं । नाच्न गाउन नआए पनि दिनभर अरु आमा दिदीहरूले मादलको तालमा नाचेको र गाएको हेरेर थपडी बजाउँदै बस्थ्यौं र साँझमा बल्ल घर फर्कन्थ्यौं । दिनभर पानी पनि नखाई नाच्ने गाउने शक्ति कहाँबाट आउँथ्यो कुन्नी उनीहरूलाई ?

बुहारीले सासूका ज्यादतीलाई त सासूले बुहारीका खटनलाई गीत बनाएर गाउँथे । कसैले लोग्नेका ज्यादतीलाई गीत बनाएर पोख्थे । यस्तो लाग्थ्यो, तीज मनभित्रका संपूर्ण पीरव्याथा पोख्ने दिन हो । दरखाने दिन पनि छोरीचेलीहरू माइति गाउँको कुनै एक घरमा जम्मा भएर रातभर नाच्दै गाउँदै आधारात भएपछि दर खाएर सुत्थे ।

अहिलेको तीजले भने नयाँ चोला फेरेको छ । न त तीज तीजजस्तो छ न दर दरजस्तो छ । अहिले त नागपञ्चमीको भोलिपल्टदेखि नै महिलाहरूलाई तीज आउनेगर्छ । एक महिनादेखि दर खान शुरु हुन्छ । एकजोर नयाँ लुगा लगाउन तीज कुर्नुपर्ने अवस्था महिलाहरूलाई छैन अहिले बरु एक महिनासम्म लुगा फेरीफेरी दर खाने र दरका नाममा केही पनि खान बाँकी नराख्ने दिन आएका छन् ।

अबका तीजगीत चौतारीमा होइन, पार्टी प्यालेसहरूमा गाइन्छन् । फेरि गीत पनि सासूबुहारीका बुहार्तन र खटनपटनका होइनन्, हिन्दी सिनेमाका गीत र सोही शैलीका नृत्यमा हीट हुन्छन् । अहिले त तीजमा न कसैलाई माइत जाने रहर हुन्छ न न व्रत बस्ने कर नै । इन्टरनेट र स्मार्टफोनले बाआमा, आफन्त, नातागोता सबैलाई नजिक बनाइदिएको छ । भेटघाट र भलाकुसारीको लागि तीज कुर्नै पदैन । महिलामा आएको आत्मनिर्भरता र सशक्तिकरणले गर्दा महिनैभरि दरखान सक्ने भएका छन्, कसैको मुख ताक्न र कसैसँग हात फैलाउन नपर्ने भएका छन् । सर्सर्ती हेर्दा यी पाटाहरू सकारात्मक लाग्छन् तर पनि अहिले तीज नाममा मात्र सिमित भएको छ । यसको मौलिकता ‘कता छ ?’ भनेर खोज्नुपर्ने भएको छ ।

तीजका लोकभाका हराएका छन् र तिनको ठाउँमा ‘काला चश्मा’ जस्ता विदेशी फिल्मका गीतले राज गर्न थालेका छन् । लोकभाका हरायो, मौलिकता हरायो, महिलामा अनुशासन हरायो भनेर भन्नेहरू स्वतन्त्रताविरोधी भएका छन्, पितृसत्ताका पृष्ठपोषक भएका छन् । त्यसैले अहिलेको यो तीजको ‘बजारीकरण’ र ‘रेशमीकरण’ पट्टि पटक्कै रुची जाग्दैन बरु उही बाल्यकालको तीज, उही माइतिगाउँको तीज र आमा र मामाका सम्झनाहरूसँग रमाउँदै रमाउँदै रमाउन मन लाग्छ ।

प्रश्न त यो छ कि हाम्रा भावी सन्ततीहरूको लागि हामीले हाम्रो तीजको के चाहीँ कुरा जोगाएर राख्न सकौंला ?


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button