
बहसः महिलावादी पुरुषसहित महिला पार्टी चाहियो
मक्किएको पितृसत्ता, महिलावादी दृष्टिकोण
प्रतिमा शर्मा
महिला अधिकारवादी अभियन्ता
स्थानिय निर्वाचनमा पुरुष युवाहरूले स्वतन्त्र उमेदवारी दिँदा ‘बा’ हरुले खास फरक पर्दैन भन्ने सोचेका थिए तर जब स्वतन्त्र उमेदवारले जिते, ‘बा’हरुको मन तर्सिन थालेको छ । निर्वाचनमा स्वतन्त्र उमेदवारको माहौल बनेको अनुभूत गरेका रवि लामेछानेले स्वतन्त्र पार्टी नामक दललाई अगाडि ल्याए, जसलाई असंगठित युवाहरूले संगठितरुपमा सहयोग गर्न थालेका छन् ।
निर्वाचनको पुर्वसन्ध्यामा फरकफरक स्वतन्त्र नामक युवा समुहहरुले नयाँ शक्तिको रुपमा मोर्चा र स्वतन्त्र दल बनाएर देशब्यापी ठूलो ठुलो भीडमा कार्यक्रम गर्दै हिड्दा ‘बा’हरुको मन झन झन तरल भएको छ । यिनीहरू देश भडुवा हुन् समेत भन्न थालेका छन् । पुरुष युवाहरू भएकोले देश भडुवा मात्र भने, यदि महिलाहरूले दल बनाएर सम्मेलन गर्दै हिँडेको भए यो भन्दा चर्को स्वरमा घर, समाज, संस्कृति, र देश भडुवा भनेर लान्छना लगाउँथे र सबै प्रकारका मिडियाले महिलाकै खेदो खन्थ्यो किनकी यहाँ सबै अंग, प्रत्यङ्गमा पितृसत्ता छ । मिडिया पनि त्यसबाट अछुत छैन । पुरुष युवाहरूलाई त कमसेकम मिडियाले साथ दिएको छ ।
आफुलाई मात्र राम्रो देख्ने सेतै फुलेका पुराना मान्छेहरुले उहिले उहिलेका तात्कालिन सत्ताविरुद्द लड्दा जेल गएको सम्झिदै भन्न थालेका छन् कि राजनिति भन्ने कुरा युद्ध तथा आन्दोलान लडेका र जेल परेकाले मात्र बुझ्दछन् र उनीहरूलाई लाग्दछ कि राजनिति गरेका र जेल परेकाले मात्र देश चलाउन सक्छन् । यो त उनीहरूको बाल हठ हो, शक्तिभन्दा टाढा बस्न नसक्ने एउटा मनोसामाजिक र मनोराजनितिक रोग हो । दोस्रो र तेस्रो पुस्ताले राजनिति बुझेका छन् भन्ने विश्वास पहिलो पुस्तालाई लाग्दैन किनकी पितृसत्ता जडसुत्रवादी छ र अरुलाई शक्ति हस्तान्त्रण गर्न चाहन्न । पितृसत्तात्मक संरचनामा एक पुस्ताले अर्को पुस्ताको न त मन, भावना, विचार र ज्ञानको आदर गर्न सिकेका छन, न शक्ति, पद र भूमिका हस्तान्त्रण गर्न सिकेका छन् । पितृसत्ताको असली रुप हो यो ।

आफ्नो बलियो र ठूलो दल किन साँघुरिदै गयो भनेर फर्केर हेर्दैनन्, आफुमा भएको कमजोरीलाई सुधार्नतिर पनि लाग्दैनन् र अरूहरू शक्तिमा आएको देख्नन पनि सक्दैनन् । अरू शक्तिमा आउँदाको खास डर व्यक्ति विशेषको भन्दा पनि पितृसत्ता विशेषको हो । पितृसत्ताको बलियो घर भत्किन थाल्यो भन्ने डर हो ‘बा’हरूलाई । यसो भन्दै गर्दा स्वतन्त्रहरू पितृसत्ता विरोधी चैं होइनन् तर पनि पितृसत्ताको एकलौटी शक्तिमा ह्रास अवश्य आउँछ जसको फाइदा महिलावादीहरूले बुद्धिमता तरिकाले लिनुपर्छ र यहि सन्दर्भमा महिलावादीहरूले पनि आफ्नो नेतृत्वमा शक्तिशाली दल बनाउनुपर्छ ताकी यो पितृसत्ता झन् छिटो भत्किन् सकोस् ।
घर जब पुरानो हुँदै जान्छ, त्यो घरको जति माया लागे पनि माक्किन्छ, जिर्ण हुँदै जान्छ, र चोक्टा चोक्टा उक्किन्छ । अन्ततः त्यो प्रिय घर अस्तिपञ्जर हुँदै विस्तारै नचिनिने हुन्छ, विलाएर जान्छ र एकदिन त्यो प्रिय घर एकादेशको कथा बन्छ यदि, त्यो घरलाई विकसित सामाग्रीहरुको सही प्रयोग गरी मर्मत सम्हार गर्दै समयसान्दर्भिक बनाइएन भने, परिवारका सदस्यको आवश्यकता र समयको माग बमोजिम परिस्कृत गरिएन भने, जिर्ण घर नभत्की सुखै छैन, यो प्रकृतिको नियम हो । त्यसरी नै आदिम साम्यवादी युगको अविकसित र अपरिपक्व मातृसत्ताको प्रयोग र व्यवस्थापनमा समयसान्दर्भिक परिवर्तन र परिस्कृत गर्न नसकेका कारण त्यो मातृसत्ता बिस्तारै बिस्तारै भत्कियो र पितृसत्ताको रुपमा विकसित भयो । परिवर्तनको क्रमलाई हेर्दा आदिमसाम्यवादी युग जहाँ मातृसत्ता थियो, त्यो सत्ता बदलिएर कृषियुग हुँदै पूँजिवादी युगमा प्रवेश हुँदा नेपालमा २४से राज्य, जहाँनिया राणाशासन, पञ्चायती व्यवस्था, बहुदलिय व्यवस्था हुँदै लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्था आएको छ । यी सबै परिवर्तनमा राजनितिक योगदान पनि छन्, यसमा कुनै विमति छैन तर हरेक परिवर्तनमा महिलाको पनि ठुलो योगदान छ तर हरेक परिवर्तनपछिका सिमित प्राप्तीमा पितृसत्ता नै हावी हुँदै आयो, र अहिले पनि पितृसत्ताकै एकलौटी छ ।
हजारौं वर्षदेखि आर्थिक, सामाजिक साँस्कृतिक, राजनितिक, शैक्षिक र कुटनितिकरुपले केन्द्रिकृत र अकल्पनिय रुपमा पितृसत्ता शक्तिशाली थियो र छ । तर अब पितृसत्ता पुरानो घर जस्तै नराम्रोसँग माक्किएको छ, जिर्ण भएको छ र टुक्रा टुक्रा भएर निस्किँदै छ, यसैको नमुना हो, गुट, उपगुट, पार्टी विभाजन, स्वतन्त्र व्यक्ति र स्वतन्त्र पार्टीहरू । यसैको परिणाम हो, गैरसरकारी संस्थाको जन्म र मानवअधिकारवादी अभियानको विकास । अदुरदर्शी पितृसत्ता, विभेदकारी पितृसत्ता, भ्रष्टचारको पर्यावाची पितृसत्ता, पुरुषबाहेक अरुको अस्तित्व स्वीकार नगर्ने पितृसत्ता, र लिङ्गको दम्भ प्रदर्शन गर्ने पितृसत्ता वास्तवमै जिर्ण भएको छ । माक्किएको पितृसत्ताबाट विभिन्न नाम, उपनामका टुक्राहरू निस्किएता पनि त्यसमा पितृसत्ताकै अवशेषहरू छन् तथापि केन्द्रिकृत शक्ति विभाजित हुनु, विकेन्द्रित हुनु वा फुट्नु महिलावादीहरूको लागि दुखद होइन, सुखद घटनाको रुपमा लिनुपर्छ र यसलाई भरपुर प्रयोग गर्नुपर्छ ।
पार्टी भित्रका गुट, उपगुट, फुट र नयाँ नयाँ पार्टीको जन्म हुनु भनेको माक्किएको पितृसत्ताको एउटा उदाहरण हो, यसरी नै ढीलो छिटो पितृसत्ता भत्किनु नै छ मातृसत्ता भत्किए झै । माक्किएको घर त भत्किन्छ नै । अझ धेरै भत्कियोस् र पितृसत्ताको अन्त्य होस् । यसको मतलव मातृसत्ताको जन्म होस भन्ने पनि होइन तर लैंङ्गिक समानताको सत्ता जन्मिनु जरूरी छ ।
जसरी पितृसत्तामा पदलोलुप्ता छ, शक्तिको दम्भ छ, आफुबाहेक अरुलाई राम्रो नदेख्ने संस्कार र अहंकार छ, महिला शक्तिलाई उठ्न नदिने कलुषित रणनिति छ, त्यसरी नै पितृसत्ताले पितृत्व र ममत्वमाथि पनि कब्जा गरेको छ । मानिसहरूलाई क्रुर बनाएको छ पितृसत्ताले, चाहे ती पुरुष हुन्, महिला हुन् वा यौनिक तथा लैंङ्गिक अल्पसंख्यक नै किन नहुन्, सबैलाई शक्ति र भक्ति मन पर्छ । त्यसैले मक्किएको पितृसत्तालाई सच्चाएर जानुभन्दा भत्काएर जानु बेहत्तर छ ।
पितृसत्ताले महिला शक्तिलाई निरिह बनाएको छ । यसरी निरिह बनाएको छ कि, ४० प्रतिशत युवाहरूको नेतृत्व गर्दै मक्किएको पितृसत्ताको दम्भ तोड्न युवाहरूले संगठन बनाउँदै हिँड्दा, ५१ प्रतिशत जनसंख्या भएका हामी महिलाहरूले आफ्नो शक्ति प्रदर्शन गर्ने हिम्मत गर्दैनौँ, र पितृसत्ताको आज्ञाकारी बनेर केही महिलाले सिधै त केही महिलाले घुमाउरो पाराले पितृसत्ताकै जरो बलियो बनाउँदै छौ जो सिधै गलत अभ्यास हो ।
हरेक पटक मौका आउँदैन पितृसत्ता भत्काउनको लागि । अहिले सही मौका हो, मौकाको उचित प्रयोग गर्दै हामी महिलाले पनि आफ्नै नेतृत्वमा महिलावादी पुरुषलाई सँगै लिएर नयाँ पार्टी बनाउनु आवश्यक छ, रुपान्त्रणका लागि आम महिलाको एउटा साझा पार्टी बनाएर हजारौ वर्ष पुरानो, मक्किएको, विभेदकारी, भ्रष्ट र नालायक सत्ताको अवशेष समेत नष्ट हुने गरी टोलटोलमा संगठन बनाउँदै सदाचारी नेतृत्वको अगुवाईमा लैङ्गिक समानताको नविन सत्ताको स्थापना गर्न जरूरी छ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)


