मनोरञ्जन श्रमिक महिलाको श्रमको मुल्य कति ?

हिरा दाहाल

साँझको झण्डै ९ बजेतिरको समय छ । पोखराको मुटु लेकसाइडका बाटाहरुमा मनोरम आनन्द लिँदै लेकसाइडकै बाटोबाट एउटा छेउको दुईतल्ले घरमा अलि अँध्यारो र सानो भर्याङ उक्लंदै एक तलामाथिको उज्यालो र गीतको आवाजले रन्किएको कोठामा हामी ५ जना साथीहरु प्रवेश गर्छौं ।

स्टेजमा राता पहेंला, हरिया, निला बत्तीहरु त्ांछाडमंछाड गर्दै बलिरहेछन् । बत्तीको प्रकाशलाई स्वीकार गर्न नसकेर होला शायद हाम्रा आँखाहरु त्यो उज्यालोमा सुरुमा रमाउन नै गाह्रो मान्छन् । बल्लतल्ल बस्ने ठाउँ हेर्दै कुनामा रहेको रातो सोफामा बस्छौं र अगाडि स्टेजको नाचतिर ध्यान लैजान्छौं ।

आँखाले जस्तै कानले पनि अत्याधिक ठुलो आवाज सुनेर छट्पट मात्रै गर्दै थियो । एकछिनको लािग जवर्जस्ती कानलाई पनि थम्थम्यायौं । स्टेजमा त्यो… काले काले काले केटाले….. भन्ने गीतमा एकजना बहिनी नाच्दै थिईन् । नाच्ने भन्दा सिधा शब्दमा भन्दा शरीर हल्लाईरहेकी थिईन् ।

उनको पालो सकेर उनी स्टेजबाट बाहिर निस्किन् र हाम्रो अघिल्लतिर बसेको एक केटा ग्राहकसँग आफ्नो जिउ पुरै जोडेर बसिन् । मेरा आँखा उनीतिर भएपनि स्टेजमा अर्को हिन्दी गीत बजिसकेको थियो । अहिले नाच्न आउने बहिनीको पहिरन अगडिको भन्दा अझै कामुक थियो ।

स्टेजलाई घेर्ने बारसँगै एक स्टिलको खम्बा (डन्डी) राखिएको थियो । उनको नाचको सुरुवात नै त्यहि खम्बालाई स्पर्श गर्दै, जिउ टाँस्दै अनि केहि कामुक पोजहरु दिंदै सुरु भयो । ती पोजहरुसँग उनको आँखा त्यहाँ बसेका केटा ग्राहकहरुमाझ नाचिरहेको थियो । उनको ईशारा उनकै शरीरमा हेरुन् भन्ने देखिन्थ्यो भने उनको अनुहारमा हाँसोको नाटक र अत्याधिक मेकअप थोपरिएको आभाष हुन्थ्यो । उनको त्यहि पोज हेर्दै अनि ईशारामा लट्ठींदै आफु बसेको ठाउँबाट उठी उनको लागि पैसा उडाउने केटा ग्राहकहरुको लर्को पनि कम थिएन ।

पछिल्लो पटकको भ्रमणमा पोखराको एक डान्सबारको दृश्य हो यो । यसरी सरसर्ती हेर्दा यस डान्स बारमा काम गर्ने डान्सर तथा वेटर दवै वर्गको काम भनेको केटा ग्राहकहरुलाई आफुप्रति आकर्षित गर्नु हो । उनीहरुको कामलाई सभ्य भाषामा भन्नुपर्दा स्वयंलाई यौन उत्पीडनमा पार्दै साहुको लागि व्यापार चलाईदिनु हो । मनोरञ्जन क्षेत्रमा काम गर्ने सबैजसो श्रमिक महिलाहरुलाई यस्तै नै काम गराईन्छन् । ठाउँ केहि फरक होला । तरीका केहि फरक होला । ग्राहक केहि फरक होलान् । साहु साहुनीको ब्यवहारमा केहि फरक होला । उनीहरुले पाउने पारिश्रमिकमा केहि फरक होला । तर यस्ता क्षेत्रको मुख्य उद्धेश्य भनेको महिला तथा किशोरीलाई ग्राहकलाई यौन आकर्षण गर्न लगाउनु नै हो ताकि ग्राहकहरु त्यसैमा भुल्लिउन्, कामुक बनुन् अनि उक्त महिला तथा किशोरीको लागि जति पनि पैसा फाल्न सकुन् । अनि उक्त महिला श्रमिकको नाममा फालिएको पैसा साहुको हातमा पुगोस् । र, साहुको ब्यापार चलोस् ।

श्रमिकहरुले पनि पैसा पाउँछन् । पाएका पनि छन् । तर मेरो प्रश्न यति मात्र हो, आफ्ना अंग प्रदर्शन गरेर, ईशारा गरेर आफुलाई असजिलो लाग्ने अंगमा छुन दिएर, ग्राहकलाई पुरै कामुक पार्नुपर्ने जागिरको तलव कति हो ? यसको मुल्य कति हुन्छ ?

श्रम ऐनले तोकेको न्युनतम पारिश्रमिक मनोरञ्जन क्षेत्रका श्रमिक महिलाहरुलाई दिईनु पर्छ भनेर हामीले नै आवाज उठाउन थालेको धेरै बर्ष भयो । तर उनीहरुको कामको संवेदनशीलताको मुल्य त्यहि श्रम ऐनले तोकेको न्युनतम नै हो त ? के ईट्टाको थुप्रोबाट ईट्टाहरु हातले एक एक गर्दै डोकोमा हालेर ढाडमा डोको बोकी अर्को ठाउँमा खन्याउने काम गरेकी एक महिला वा पुरुषको ज्याला र प्रत्येक घन्टामा आफुलाई फरक ग्राहकको अगाडि मानसिक, भावनात्मक र शारीरिक रुपमा एक जिवीत बस्तु बनिदिन तयार महिलाको ज्याला एउटै होला ? ईट्टा बोक्दा त केवल पिठ्युं मात्र दुख्छ, टाउको मात्र दुख्छ । यसरी प्रत्येक घन्टामा फरक फरक ब्यक्तिसँग तन, मन र भावना नै दिएर रमाएको नाटक गर्दा उनको शरीर तथा दिमागको के के अंग अनि कति चाहिं दुख्छ होला त ? अनि यसको ज्याला सरकारले तोकेको न्युनतम पारीश्रमिकले क्षतिपुर्ति दिन सक्ला ?

के नेपालमा कुनै त्यस्ता कानुन छन् जसमा आफु स्वयंले आफुलाई यौन उत्पीडनमा पारी ग्राहकहरुलाई आफुतिर आकर्षित गरी र ग्राहकहरुलाई कामुक पारेर पैसा झार्ने काम गर्नुपर्छ र साहुको ब्यापारमा नाफा गरिदिनुपर्छ भनेर लेखिएको छ ? यदि यसरी लेखिएको भए शायद त्यस्ता महिलाहरुको न्युनतम पारिश्रमिक तोक्ने बेलामा पनि शायद गहिरिएर सोचिन्थ्यो कि ? त्यसैले यदि श्रम ऐन लागु नै भएर यदि न्युनतम पारिश्रमिक नै दिए पनि उनीहरुको यति धेरै संवेदनशील कामको ज्याला पर्याप्त हो त ?

यो उनीहरुको आफ्नो ईच्छाएको काम हो भन्ने तर्क पनि कसैबाट आउन सक्छ । यो उनीहरुको यौन अधिकार हो भन्ने कुरा पनि आउन सक्ला । तर अधिकार भन्नेवितिक्कै आफुलाई ईच्छा लागेको ब्यक्तिसँग मात्र बोल्न, ब्यक्त गर्न र सम्बन्ध राख्न पाउनुपर्ने अधिकारको कुरा त झन् यो क्षेत्रमा काम गर्ने महिलाको अवस्थासँग ठ्याक्कै उल्टो छ । यहाँ ईच्छाको प्रश्नै उठ्दैन । मनको कुरा उब्जनै पाउँदैन । यहाँ केवल बस्तु नै बन्नुपर्छ । अझै भन्नुपर्दा जिउँदो बस्तु बन्नुपर्छ । त्यहिं ईट्टा जस्तो बस्तु जसलाई जसले मन लाग्यो त्यसले छुन सक्छ । हेर्न सक्छ । मजा लिन सक्छ अनि फालिदिन सक्छ ।

त्यसैले मनोरञ्जन क्षेत्रमा काम गर्ने श्रमिक महिला तथा किशोरीहरुको ज्याला सम्बन्धमा एक बहसको विषय बनाईनुपर्छ । मनोरञ्जन क्षेत्रमा अहिले पाउने ज्याला हेर्दा पनि आफ्नो तलव तोकेजतिकै पाउने अनि महिना मर्नासाथ तलव पाईहाल्ने अवस्था त एकदमै थोरै छ भने तलब बढाउनुपर्छ भन्ने बहस सायद धेरैलाई स्वीकार्य नहोला । तर कामको प्रकृति, यस क्षेत्रमा काम गरेवापत महिला श्रमिकहरुले जीवनभरी चुकाउनुपर्ने पारिवारिक, सामाजिक र मनोवैज्ञानिक मुल्यलाई एकपटक मात्र बिश्लेषण गर्न सकेमा शायद उनीहरुको ज्यालाको बारेमा सकारात्मक आवाजहरु उठ्न थाल्छन कि ? उनीहरुले पाउने आर्थिक न्यायमा केहि खुड्किलो अगाडि बढ्न सक्छ कि ?

(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

One Comment

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button