रातोले शासित-शोसित आधा आकाश

सौभाग्यको घेराभित्र कैद नारी

देवकी केसी

रातोसितको हामी नारीको नाता पास्नीबाट नै सुरु भएको हुन्छ । त्यहि दिन नै हामीलाई बेहुलीजस्तै राता पहिरन, टीका, चुरा र बालामा सजिएका हुन्छौं । तर यही समाज हो, जसले हामी नारीहरुको रातो पहिरन र सौभाग्यलाई केवल पुरुषहरूको एक चिम्टी सिन्दुरबाट मात्र सुरुवात हुन्छ भनेर हामीलाई साँघुरो घेराभित्र बाँध्ने कोसिस गरेको छ । कुनै पुरुषसित जीवनमा लगनगाँठो कसिएपछि सौभाग्यको रेखा कोरिने एउटा नारीको जीवनमा जब त्यहि जीवनसाथीको आफुभन्दा पहिले अन्त्य हुन्छ, फेरि त्यहिँबाट नै राता सौभाग्यका रेखाहरुको अन्त्य हुन्छ । र, एउटा नारीको जीवन उजाड हुन पुग्छ । आखिर के एउटा नारीको रंगिन जीवन पुरुषसित मात्रै जोडिएको हुन्छ र ? एउटा पुरुषसित नारीको रंगिन जीवन र सौभाग्यको नाता हुन्छ भने एउटा नारीसित चाहिँ किन एउटा पुरुषको रंगिन जीवन हुँदैन र ? एउटा पुरुषको जीवनचाहिँ उसको जीवनमा नारी होस् वा नहोस् सधै रंगिन भइरहने तर पुरुषको अन्त्यसँगै नारीको जीवनसितको राता रङ्ग हरुको सम्बन्ध किन पखालिन्छ होला ?

आखिर एउटा नारीले राता लुगा, चुरा टीका त जहिले पनि लगाउन सक्छे । तर त्यहि पुरुषले दिएको एक चिम्टी सिन्दुरमा नारीको सौभाग्य किन जोखिन्छ ? सायद सनातनदेखि नै नारीमाथि लादिँदै आएको बन्देज र भेदभावको उपज हो यो अवश्य पनि । जब एउटा नारीले कुनै पुरुषसित लगनगाँठो कस्दछे, उसैले दिएको एक चिम्टी सिन्दुर, पोते र उसैले दिएको गहना र दुलही पोसाकमा नारीको सौभाग्यको रेखा कोरेर त्यसै दिनबाट दासत्त्व लाद्न सुरु हुन्छ नारीमाथि । आफ्नो शरीर उहि पुरुषको, गहना, लत्ताकपडा पनि उसकै, घर पनि उसकै । नारीको त केहि पनि छैन । एउटा पुरुषसित नाता गाँसेकै दिनदेखि एउटा नारी रित्तो भैसकेकी हुन्छे । केवल बाहिर लत्ताकपडा, गरगहना, सिन्दुर, चुरा र पोतेले डेन्टिङपेन्टिङ गरेर पुरुष आफ्नो लागि मात्रै प्रयोग गर्न मिल्ने नारी बनाउने कोसिस गर्छ । उस्तै परे त्यो पुरुष गहना र लत्ताकपडाको चुरीफुरी गरेर आफैले लगनगाँठो कसेर ल्याएकी नारी जसले आफ्नो जन्मेको घर त्यागेर आएकी हुन्छे उसैमाथि नै शारीरिक र मानसिक यातना बर्षाउन थाल्छ । अझ परिवार नै उस्तै परे त्यहि नारीकै लागि नन्द, आमाजु र सासु भन्ने अर्का नारीहरु त्यो पुरुषको यातनामा बलेको आगोमा घिउ थप्न पनि पछि पर्दैनन् । त्यस्तो परिस्थितिमा त त्यो नारीलाई त्यहि पुरुषले सौभाग्य भनेर लगाइदिएको गहना, लत्ताकपडा पनि निल्नु न ओकल्नु जस्तो घाडो हुन थाल्छ ।

विचरी, आफ्नो स्वाभिमानमा अडिग नारीलाई तिनै पुरुषले सौभाग्य र चिनो भन्दै थमाइदिएका गहनाहरु उतारेर उजाड बनेर आफ्नो स्वाभिमान उचो राख्नुबाहेक दोस्रो विकल्प नै हुन सक्तैन । सौभाग्यका चीजबीजहरु छोड्नु कि स्वाभिमान छोड्नु भन्ने चुनौती नारीमाथि आइलाग्छ । यदि कुनै नारीले आफ्नो स्वाभिमान अडिग राख्न लगनगाँठो कस्सिएको पुरुषले सौभाग्यको रूपमा दिएका सारा गहनापात उनीहरुलाइनै समर्पण गर्ने साहस गर्छे भने त्यस्ता नारीहरु यो समाजमा बिरलै पाइन्छन् । यदि नारीले कुनै पुरुषले सौभाग्यको रुपमा थमाइदिएका बस्तुहरुले आफुमाथि लादिएका शारीरिक, मानसिक यातनालाई मिल्काउनु छ भने, त्यो पुरुषले लगनगाँठो कसिएकै दिन दिएका सारा गहनापात र दौलत उसैको परिवारको लागि मिल्काइदिन सक्नुपर्छ तबमात्र नारी सौभाग्यको नाउँमा दासताको घेराभित्रबाट उम्कन सक्छे । जबसम्म एउटा नारीमा सौभाग्यको रुपमा पुरुषले दिने सारा चीजबीजहरु जोड्ने क्षमता आफैमा हुँदैन, तबसम्म सौभाग्यको नाउँमा नारीले यातना सहिरहनु पर्छ । आफ्नो लागि मात्र सौभाग्यको चीजबीज तय गर्ने होइन, आफुसित लगनगाँठो कस्ने त्यो पुरुषको लागि पनि उसका नाउँमा सौभाग्यका चीजबीज तय गर्न सक्ने क्षमता सबै नारीमा रहोस् । तब मात्र नारी सौभाग्यको साँघुरो घेराबाट कैदमुक्त हुनेछिन । नारी आफैमा सौभाग्य हो भने नारीको साथ पाउनु त पुरुषको अहोभाग्य हो । त्यस्ता नारी माथि दासत्त्व लाद्ने काम गर्नु त अपराध हो । बरु नारी र पुरुष असल साथी बनेर जीवनका रथलाई निरन्तर अघि बढाउने काम गर्नु नै उत्तम हुन्छ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

One Comment

  1. हार्दिक बधाई साथै सधै कलम चलिरहोस।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button