खानेपानीमा ब्ल्याककाे चर्चा, बालेन शाहलाई सडक परामर्श !

अरविन्द रिमाल

साेमवार दिन अपरान्हमा लाैराेटेक्दै डिल्लीबजार रामचन्द्रबहाल, श्री बजरङ्गबलीकाे दर्शन गरियाे,वारि सडक पेटीबाटै । फर्केर नेपाल साँस्कृतिक संघमा साेमवारकाे नियमित भेटवार्तामा जाँदा बाटामा दुईजना टाेले गृहस्थसँग भेट भयाे । अभिवादनपछि एकजनाले चिन्तित स्वरमा साेध्याे: ‘अस्ति बिहीबार कतिबेर पानी आयाे, तपाईँ कहाँ ?’ मैले जवाफ फर्काएँः ‘हेर्नाेस् न, दुई घण्टामै बन्द भयाे ! तीन घण्टा आएदेखि एक घण्टाकाे पानीले दुई दिनकाे दरले जिनतिन एक साता पुर्‍याउन सकिन्थ्याे । पानी किन्नुपर्दा त ढाडै सेकिने सुर्ताकाे कुरा सुन्नुपर्छ, श्रीमतीबाट ।’

‘त्यही त’, अर्काेले कुरा बढाउँदै भन्याे, ‘बुझ्नु भएन, तपाईँ-हाम्राे भागकाे पानी पानी ब्ल्याक हुन्छ, ब्ल्याक ।’

जानकार टाेले मित्रले यस्ताे आराेप त्यसै लगाएकाे हाेला त ?

तर सरकारले पैसा लिएर बाँड्ने पानी ब्ल्याक हुन्छ भन्ने कुरा सुन्दा मात्र पनि मेराे त जीउभरि काँढा उम्रियाे– यस्ताे पनि पाप कर्म! यत्रतत्रसर्त्र भ्रष्टाचार, महाभ्रष्टाचारकाे खबर, चर्चाबाट भइआएकाे आक्राेश, घिन, असहायतामा यस आराेपबाट चरम हीनताबाेधले छाेप्याे, आफूलाई !

साह्रै निराश हुँदै म अगाडि लागेँ– म साेमबार र बिहीवार सकेसम्म नियमितरूपले नेपाल साँस्कृतिक संघ जान्छु भन्ने उनीहरु जान्दथे ।

माेडदेखि संघकाे कार्यालयभित्र पुगेर सुस्ताउँदासम्म पनि मेराे मनस्थिति शान्त भएकाे थिएन । कार्यालय सचिव रवि ओझाले मेराे मुखकाे रङ्ग देखेर केही असामान्यता भएकाे त अनुमान गरे, तर उनले जिज्ञासा उप्काएनन् र मैले पनि धेरै जस्ताे उनीसँग मनकाे कुरा बाँडिन, त्यसदिन !

पाँच बजे आफ्नाे नियमित साधना- भजनमा लाग्न म उठेँ, लाैराेले पनि त्यस दिन आफ्नै उदाश मूडमा टेकाे लिएकाे लागिरहेकाे थियाे ।

एक घण्टाकाे एकान्तताकाे आनन्द अनुपम रह्याे ।

तर समाजमा बसेर समाजका कामकुरासित कहाँ उदासीन हुनसकिँन्छ र ! ‘हुनु पनि हुन्न, है’ भन्ने श्रीसद्गुरुदेवकाअमरवाणी तत्कालै कानमा गुञ्जिए । अनि ‘उदारवाद’ , ‘प्रजातन्त्र’ ‘स्वतन्त्र विश्वकाे रक्षा’काे खाेलमा मनुष्यहन्ता नाजीवादकाे समर्थनबाट विश्वमाथि नाभिकीय महाविनाशकाे तरवार झुण्डिरहेकाे वर्तमान भयावह समय कायम नै रहिरहेकाे हाेस् तापनि बाचुञ्जेल त सामाजिक कर्तव्यकर्ममा नलागिरहन सकिँदैन भन्ने अठाेट फेरि बलवान भयाे ।

माथिकै कुरा मनमा फेरि उठ्याे अनि कपिल लाेहनीले त्यस्ताे कष्टसाध्यरूप एवम् खाजमूलक तवरले एकपछि अर्काे गरी तीन तीनाेटा खुलापत्र काठमाडौंँ महानगरका नव- निर्वाचित मेयर बालेन शाहलाई लेखेकाे, आफूले गहीरिएरू अध्ययन, हाे, अध्ययन गरेकाे,पनि केलाउँदै गइयाे !

तर किन हाे किन, कुरा चाहिँ मनमा यही नै दृढतापूर्वक उठ्याे । बालेनले आफ्नाे काम बेला नकुबेलामा उँघ्नलागेकाे कुलमानबिजुली बत्तीलाई निरन्तर सजग गराउन र कालाेबजार गरिने भनी सुनिएकाे सरकारी पानीलाई सातामा दुई दिन राजधानीका नागरिकहरुलाई नियमितरूपमा तीनघण्टा दिने व्यवस्था र, अनिवार्य आवश्यकता रहिआकाे सडक सफाईबाट थाले भने त्याे सर्वाेत्तम श्रीगणेश हुनेछ उनकाे, प्रकाशमा आएकाे वा नआएकाे, आफ्नाे अभियानकाे भन्ने लाग्याे । अनि कामपाका मेयरका यी सद्कार्यरूपी हाेस्टेमा हैँसे गर्ने काम वडा अध्यक्षहरुले गरिदिएमा झन सुनमा सुगन्ध थपिने भन्ने पनि लाग्याे ।

यसै प्रसङ्गमा आफ्नाे थप्ने एउटा विशेष कुरा पनि लेखिहाल्न मन लाग्याे: यी तीन काम सम्पन्न हुन गए तथा नयाँ सडक चाेकमा रहेकाे जुद्धशम्शेरकाे शालीक उपयुक्त स्थानमा सारिदिई त्यहाँ चार शहीद शुक्रराज शास्त्री, धर्मभक्त, गङ्गालाल तथा दशरथ चन्दका प्रतिमासहितकाे शहीद स्तम्भ खडा हुनसके बालेन शाहले राष्ट्रिय कर्तव्यकर्म सम्पन्न गरेकाे हुनेछ । राजनीति लाभकै लागि नगर्ने आस्था- विश्वासकाे काेही छ भने पनि उसका लागि याे महान यश सुनिश्चित गराउने कार्य हुनेमा दुई मत हुँदैन ।

याे पछिल्लाे कर्मकाे उल्लेख किन पनि आवश्यक छ भने वि. सं १९९७ , माघमा शहीदत्व वरण गरेका सबभन्दा कान्छा शहीद गङ्गालालकाे जन्म शताब्दी गङ्गालाल जन्म शताब्दी समाराेह समितिले तीन वर्षअघि चैत ३ गते मनाउँदा कामनपाका तात्कालिक मेयर कार्यक्रममा सबैलाई बिझ्नै गरी अनुपस्थित रहँदा पनि उनले सुन्ने गरी नयाँ सडककाे त्यसै चाेकमा चार शहीदका प्रतिमासहित शहीद स्तम्भ बन्नुपर्ने प्रस्ताव पारित भएकाे थियाे! याे सद्कार्य उनकाे बाँकी कार्यकालभित्र सम्पन्न , निश्चय नै , हुनसक्थ्याे! तर जुन नहुनु, साह्रै लाजमर्नु कुरा हाे।

आजलाई यत्ति नै ! जय नेपाल !


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button