
उदेकलाग्दो जातीय विभेद
बाबुराम पौडेल
उपाध्याय ब्राह्मण हो । कलेज पढाउँछ, जाँड रक्सी, पाडो, बंगुर, कुखुरो सुँईक्याउँछ । जैसीलाई छोरी बहिनीलाई विवाह गर्न दिन्न भन्छ । आफ्ना छोराले जैसेनी विवाह नगरोस् भन्छ ।
जैसी ब्राम्हण, सर्वभक्षी भएको छ । जनै समेत लगाउन्न । उपल्ला भाते र तल्ला भातेबीच विवाह गराउन चाहन्न ।
कथित दलित कामी, सुनार, सार्की थर लेख्नेले दमाई थरवालाले छोएको पानी समेत खान्नन्, अरु विभेदको के कुरा गर्नु ?
क्षेत्रीहरु बीचमा पनि यस्तै खालको व्यवहारिक विभेद खास गरी विहेबारीमा छरपष्टै देखिन्छ ।
नेवारी सम्प्रदायभित्र पनि यस्तो विभेद पानी बाराबारसम्मको छ ।
मधेशी समूदायमा जस्तो नीच प्रकारको जातीय र वर्गीय विभेद र उत्पीडन सायद अरु जातीमा छैन होला ।
नेपालको संविधान २०१९ देखि हालसम्मका ऐन कानूनमा जातीय समानताका जतिसुकै धारा उपधारा लेखिए पनि मान्छेको सोचमा परिवर्तन नआएसम्म संविधान, ऐन, कानून निष्प्रभावी हुँदै आएका छन् । मान्छेका व्यवहार जब्बर नै छन् ।
यता जातीय विभेद हटाउने अभियानमा तिनै विभेदकारी, सबै थर समूदायका मान्छेहरु डलरे संस्थामार्फत उधुमपत्ताल मच्चाउन पनि उद्यत नै छन् ।
जातीय विभेद अन्त्यका भाषण गर्छ, डलर खेती गर्छ, सहभोजसम्मको नाटक पनि गर्छ तर आफु व्यवहारमा परिवर्तन हुन्न ।
गज्जव चलिरहेछ थरको विभेद ।
ब्राह्मणमा दोश्रा भाते जैसी दलित,
क्षेत्री समुदायमा बोहरा दलित,
जनजातिमा तामाङ् दलित,
नेवार जातीमा खड्गी दलित,
मधेशीमा तेली डोम दलित,
दलितमै परियार दलित ।
जातीय विभेद अन्त्यका लागि संविधान, ऐन, कानून, संस्था भए पनि यी सबै फगत राजनीतिक नारा र डलर खेती मात्र हुन् भन्दा फरक पर्ला र ?
आरक्षणको कोटा चप्काउने चाँही जनजातीमा शहरको नेवार, दलित मध्येमा करोडौंको सुन पसले, मधेशीमा यादव, सिंह, चतुर्वेदी, दुर्गममा शाही ठकुरी ।
‘तेरी लिला, चलाओ यार अपना व्यापार ।’
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)


