सहकारीभित्र कति राजनीति छ भने भन्न पनि लाज लाग्यो

प्रतिभा सुवेदी
संस्थापक अध्यक्ष, नारी चेतना केन्द्र

१ सय ७६ जनाको उपस्थितिमा मैले नारी चेतना केन्द्रको काम र अनुभव बताउनु थियो । कार्यक्रमस्थल पुग्दा पाहुना आउँदै थिए । मैले र सहयात्री साथीहरुले गरेका नारी चेतना केन्द्रसँग सम्बन्धित कामका तस्वीरहरु टाँगिएको थियो ।

केही ग्रामिण महिलाहरु जो साधारणबाट असाधारणतिर लम्केर अन्य महिलालाई उत्साह र उर्जा दिनसक्ने भएका थिए । तिनीहरुका बारेमा उनीहरुको फोटोसहित छोटोमा कथा पनि थियो । वास्तवमा उनीहरुका प्रयास सराहनालायक थियो । सासाना पानी संकलनका पोखरी र पानी संकलन गर्ने सिमेन्टका टं्याकी बनाएर तरकारी खेतीहरु गरेको विषय थियो । महिलाहरुले साहु महाजनका खेत भाडामा लिएर खेतीहरु गरेका कथा अनि नेपालको ग्रामीण भेगका महिलाहरुले तरकारी खेती गरेर उन्नती गरेका विषय थिए । त्यतिमात्र होइन, महिलाहरुले वायोग्याँस प्लान्ट बनाएर मिस्त्री काम गरेको विषय पनि थियो ।

थाउजेन्ड करेन्टस् संस्थाले वर्षमा एकपटक आफ्नो वार्षिक कार्यक्रममा आफुले सहयोग गरेका विभिन्न देशहरुबाट हामीजस्ताको अनुभव साटासाट गरेर मनाउने चलन रहेछ ।

उक्त संस्थासँग हाम्रो परिचय धेरै पहिला भएको थियो । हामीलाई खोज्दै बलुअयर नामक विकासविद् आएका थिए १५ वर्षअघि र हामीसँग सहकार्य गर्ने विचार व्यक्त गरेका थिए । हाम्रो अफिस ज्ञानेश्वरमा आएर हामीलाई भेटे । मिटिङ गरे । सानो रकम अनुदान दिने कुरा पनि गरे ।

जवाफमा मैले भनेँ, काम त गर्ने तर यो सहयोग अन्तर्गत एउटा संयोजकको व्यवस्था पनि आवश्यक छ । किनभने हामी सानो संस्था अनि केन्द्रीय कार्यालयमा ४ वा ५ जना छौँ ।

विभिन्न जिल्लाबाट ग्रामीण महिलाहरु उनीहरुलाई सहयोग गरेर बलियो र दिगो समूह बनाउन आग्रह गर्दै हामीकहाँ आउने गर्दथे । सबैतिर पुग्ने हाम्रो क्षमता हुँदैन भनेर चुनौतीहरु बताउन पर्ने थियो । त्यतिबेला मकवानपुरको हटिया गाविसका महिलाहरु नारी चेतना केन्द्रमा सहयोगका लागि आउने गरेका थिए ।

त्यसकारण पनि हामी यस्तो विकासको नमूना निर्माण गर्न लागि परेका थियो धेरैभन्दा धेरै ग्रामीण महिलाहरुले त्यो काम आआफ्ना स्थानमा गएर गर्न सकुन् । हामीलाई हामीले महिलाका माग अनुसार आय आर्जन, आर्थिक कार्यक्रमहरु, पानी मुहान संरक्षण, आधुनिक कृषि, साक्षरता र स्वास्थको बारेका कामका माग आएका हुन्थे । हामीले त्यहाँकै समूहलाई आएको ग्रान्ट पहिलो वर्ष वार्षिक ३ हजार यूएस डलर लगानी गरी शुरु गरेका हौं । उक्त संस्था र हाम्रो उद्धेश्य उस्तै उस्तै भएकाले आजसम्म हामी विभिन्न महिला समूहहरुमा पुग्न सफल भयौं । हाम्रो सहयात्रा कायम छ । मेरा साथीहरु सहयात्री साथीहरुले पनि पुन उनीहरुका साधारणसभामा आफ्ना अनुभव बाँड्न अमेरिका र मेक्सिको जाने र सिक्ने सिकाउने अवसरहरु पनि पाए ।

नारी चेतनाले सानो रकमले यति धेरै महिलाहरुमा पुगेको र बचत ऋण र सहकारी कार्यक्रमले महिलाहरुको उत्पादन र आम्दानी वृद्धि गरेको देखेर लगानीका कार्यक्रम गर्न शूरु गरेका छन् । वास्तवमा यी कामहरुलाई सम्बोधन गर्न अमेरिका र क्यानडाका तीनवटा महिला संस्थाहरुले मद्धत नगरेका भए आजको अवस्थामा आउन पनि हामीलाई कठिन हुने थियो । महिला समूहहरुलाई बचत ऋणमा र आय आर्जनमा बलिया बनाउँदै गयौं ।

बलु अयर हामीसँग मकवानपुर पनि गएका थिए । हिजोआज उनी भारतमा इन्टरनेशनल कोअपरेटिभ एलाइन्समा कार्यरत रहेछन् । पुन काठमाडौं सहकारी महासम्मेलनहरुमा भेट भए । उनले भने, तिमी सहकारीको निर्णायक तहमा छैनौ ।

जवाफमा सम्झेँ र भनेँ, काभ्रे जिल्ला सहकारी सघंले सल्लाहकार त राखेको छ ।

जिल्ला स्तरमा पहिचान गरेको थियो । जिल्ला संघ अध्यक्षमा जब सोमप्रसाद हुमागाई निर्वाचित हुनुभयो, एउटा मिटिङमा पनि बोलाउनु भएन । तर हाम्रो नारी सहकारीका साधारणसभामा आउँदा ज्यादै प्रसंशा गर्ने गर्नुहुन्थ्यो । त्यो दोहोरो मानसिकताको कारण अझै मलाई थाहा छैन ।

अनुमानचाहिँ छ, जुन राजनैतिक पार्टीमा उहाँ आवद्ध हुनुहुन्छ, ती नेताहरुमा बलिया आधारमा उभिएका महिलाहरुसँग डराउने प्रवृत्ति रहेछ । सहकारीमा पनि राजनीति छ । जिल्ला सहकारी संघको चुनावमा उपाध्यक्षमा उम्मेदवार भएर चुनाव लड्ने निधो गरेँ । तर त्यहाँ काँग्रेस र एमाले भएर सहकारीमा राजनीति गरेर मैले हार्ने स्थिति आयो । नारी चेतना सहकारीका बहिनीहरु पनि अरु पदमा उम्मेदवार थिए । तर तात्कालिन एमाले पार्टीले ह्विप जारी गरेका कारण र माओवादी र एमाले मिलेका कारण परास्त हुनेमा परियो ।

काँग्रेसले मलाई सहकारी प्रवद्र्धनलगायत केहीमा सहयोग गरेको पनि छैन । उल्टै नारी चेतना सहकारीहरुमा एमालेका महिलाहरु धेरै छन् भन्न समेत बाँकी राखेनन् । सहकारी सबै विचारधाराका मानिस अटाउने संस्था हो । सहकारी निर्वाचनमा पनि हराउनचाहिँ काभ्रे काँग्रेसका शिव हुमागाई र मधु आचार्यको द्वन्दका कारण साँडेको जुधाई बाच्छाको मिचाई जस्तो हुन पुग्यो ।

काँग्रेसको महाअधिवेशन प्रतिनिधिको चुनावमा पनि मैले जित्ने परिवेश थियो तर यी दुई नेताहरुको खेलका कारण हार्ने परिवेश भयो अनि मैले राजनीतिमा भाग लिने विचार त्यागेँ । त्यतिमात्र होइन, सुशील कोइराला प्रधानमन्त्री हुँदा योजना आयोगका सदस्यमा कुरा चलेको थियो । त्यो पनि सम्भव भएन ।

त्यसपछि मलाई पार्टी राजनीतिमा वितृष्णा आयो । अर्को विडम्बना, सहकारी क्षेत्रमा पनि राजनितिक हस्तक्षेप हुने गरेको देखियो । यो सबै मैले ती पाहुना बलु अयरलाई अथ्र्याइनँ । तर सहकारीभित्र पनि कति राजनीति छ भने मलाई भन्न पनि लाज लाग्यो ।

पार्टीका नेताहरुको पछिपछि लागेर हिँड्ने र चुनावमा पार्टीलाई व्यक्तिगत र संस्थागत सहयोग गर्नेहरुले चुनाव जित्ने स्थिति छ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button