थर नभएका हामी ‘शर्मा’ ब्राम्हण

सम्पादक महोदय ! केही समयपछि मैले तपाईलाई आफ्नोे नामको पछाडि थर कायम गरेर लेख पठाउँदा नझुक्किनु होला । म उही नाम भएको, थर मात्र नयाँ भएको ब्राम्हणपुत्र हुनेछु ।

भरत शर्मा, एमफिल

२०६० सालमा राष्ट्रिय समाचार समितिमा संवाददाता हुँदा तत्कालीन पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा माधव भट्टराईसँग शून्य सालमा विवाह गर्न नहुने ज्योतिषी आधारबारे प्रश्न गर्न जाँदा उहाँले मलाई पहिलो प्रश्न सोध्नु भयो, ‘बाबुको थर चाहिँ के हो ?’

हाम्रो समाजमा तपाई हाम्रो परिचय गर्दा पहिले नाम र त्यसपछि थर भन्ने प्रचलन छ । थर र गोत्रज्ञान भएकाले ‘तपाई कुन गोत्रको पर्नुभयो’ भन्ने प्रश्न पनि तत्कालै राख्दछन् । त्यसो त हाम्रो परिचय भनेको आफू जन्मेको स्थान र देश, धर्म, वर्ण, जाति, गोत्र–प्रवर बताउनु नै हो । प्रा.डा भट्टराईले सोध्नु भएको प्रश्नको उत्तर अहिले पनि मसँग छैन अर्थात मेरो ‘थर’ खोजी जारी छ ।

हामी आर्यजाति हौं । वैदिक सनातन वर्णाश्रम धर्मानुयायी सनातनीहरुको परिचय भनेकै थर, गोत्र र प्रवर हो । हामी ब्रह्माजीको सृष्टिका गोत्रप्रवर्धक, मन्त्रद्रष्टा ऋषिहरुका सन्तान हौं । आफु र आफ्ना पिता–पुर्खालाई चिनाउनका लागि पनि आफ्नो थर र गोत्रको मियो समाउने गर्दछौं । सनातनी परम्परामा जन्मदेखि मुत्युसम्मका अनेक सत्कर्म गर्दा नाम, गोत्र, प्रवर उच्चारण गर्नु हाम्रो मौलिक परम्परा नै हो । कुल परम्पराको सत्मार्गलाई हामी कुलायन भन्छौं । हरेक थर र जातिहरुले आ–आफ्ना पूर्वजले गर्दै आएका परम्पराका आधारमा हामी सबैले कुलदेवताको पूजा गर्दै आएका छौं ।

श्रीमद्भागवत महापुराण अनुसार सृष्टिको आरम्भमा ब्रह्माले आफ्ना मानसपुत्रहरुद्वारा मैथुनी सृष्टि सञ्चालन गरेका थिए । ती महर्षिहरुबाट गोत्र र प्रवर्तक बनेपछि वंश परम्परा दुई प्रकारले चलेको मानिन्छ । पहिलो बिन्दुवंश परम्परा र दोस्रो नादवंश ।

बिन्दुवंश भनेको मैथुनी सृष्टि– रजबीर्यबाट बढ्दै गएको बाजे, बाबु, छोरा, नाति, हो भने नादबंश भनेको ज्ञानबंश हो । अर्थात् गुरुले शिष्यलाई शब्दद्वारा (महावाक्य श्रवण गराएर) शिष्य बनाएर फैलाएको परम्परा । म भने विन्दुवंश परम्पराको सन्तान भए पनि थर नभएको कुमाई ब्राम्हण रहेछु । पुर्खाहरु हाल भारतको नैनीताल, अलमोडा, कुमाऊ, बदरीनाथको हिमालय पहाडबाट नेपाल प्रवेश गरेको इतिहास काठमाडौंको मच्छेगाउँमा जन्मिएर भारतको काशी निवासीे पं. शिखरनाथ सुवेदीले एकसय बर्ष अगाडि लेखेको पुस्तक ‘शिखरनाथ थरगोत्रप्रवरावली’ उल्लेख छ ।

पुर्खा शास्त्री र पंण्डित भएका कारण उनीहरु गोर्खाराज्य नेपालमा बसाईं सरेर आए । तत्कालीन गोर्खाका राजाको सल्लाहकार–सहयोगी बने । राजाले सबैलाई उच्चसम्मान दिएर होला ‘उपाध्याय’ भने कि कसो ? हाम्रा पुर्खाले थर नै राख्न भुलेछन् । यो ‘उपाध्याय’ पदवी हुनसक्छ तर पुर्खाले पाएको पदवीलाई हामी हामीले हाम्रो थर नै उपाध्याय यही हो भनेका छौं । ‘उपाध्याय’ नलेख्नेहरुले ब्राम्हणहरुले लेख्ने साझा थर शर्मा लेख्ने गरेका छौं । थर–गोत्र–प्रवर कोशका अनुसार उपाध्याय र शर्मा दुवै थर हुन सक्दैन ।

अहिले हामी थर विनाको उपाध्याय ब्राम्हणका सन्तान भएका छौं । हाम्रो थर छैन, गोत्र त हामीले एउटा मान्दै आएका छौं । तर गोत्रमा पनि केही प्रश्नहरु छन् ।
धेरैजसोले ‘शर्मा’ र केहीले हाम्रो थर ‘उपाध्याय’ नै हो भन्ने दावी गर्दै नामको पछाडि लेख्नु हाम्रो बाध्यता हो । कसै–कसैले न्यौपाने लेखेर नेपाली सेना, प्रहरीमा सेवा गरेका पनि छन् । पुर्खाले थर नलेखिएका कारण सकसमा परेका छौं, हाम्रा खलकका दाजुभाई र म ।

स्वदेश यात्रामा परिचय हुँदा सबैले सोध्ने गर्छन्, तपाईको थर के हो ? उत्तर दिन नसक्दा बर्षदेखि आत्मग्लानिमा छु । सात बर्षको उमेरदेखि मावलीको हजुरबाको फेरो समातेर कर्मकाण्ड गर्दै आएको तीन दशक भएछ । मावलतीरका तीनैजना हजुरबुबामध्ये पंण्डित, ज्योतिषी र कर्मकाण्डी सबैको प्रिय थर नभएको ‘विर्ताली’ नाति थिएँ म ।

बाल्यकालदेखि १४ बर्ष हजुरबाहरुको सान्निध्यमा विद्यालय जीवन पुरा गदैंगर्दा थर नभएको बालक समयसँगै संस्कृत भाषाका ज्ञानको लागि घरमा सुइको समेत नदिइ भागेर काशी पुगेँ । त्यहाँ पनि ‘थर’ के हो भन्ने प्रश्न छँदै थियो । थर बताउन नसक्दाका पश्चाताप स्मरण ताजै छ ।

काशी यात्राबाट काठमाडौं उपत्यका प्रवेशपछि रत्नराज्यलक्ष्मी क्याम्पस, प्रदर्शनीमार्गमा पत्रकारिता अध्ययन, संस्कृतका अध्येताहरुसँग स्वअध्ययन र सम्पर्क र सम्बन्धहरु प्रगाढ भई नै रहे । राष्ट्रिय समाचार समिति र राजधानी राष्ट्रिय दैनिकमा १० बर्ष पत्रकारिता गर्दा समाचारका र लेखका बाइलाइनमा पनि ‘थर’ विना नै काम चलाएँ ।

अध्ययन, लेखन, अध्यापन र अध्येताहरुसँग परामर्शमा दुई दशकको यात्रामा सबैले एउटा प्रश्न गर्नु हुन्छ, ‘थर के हो ?’ उत्तर मसँग छैन । जिल्लाबासी पत्रकार जिवेन्द्र सिम्खडाले ‘हे ! ब्राम्हणपुत्र मलाई मात्र खुसुक्क थर भन न’ भन्नुहुन्छ । मैले मुसुक्क हाँसेर भन्ने गर्छु, ‘थर खोज्दैछु, प्राप्त भएपछि कफी गफमा सार्वजकि गर्छु ।’

बाल्यकालमा गाउँतिर मैले ‘थर नभएको विर्ताली’ हो भन्ने अपशब्द सुनेको थिएँ । एक दिन म हाम्रो पुर्खाको बारेमा अध्ययन गरेर थर कायम गर्छु भन्ने इख लिएर गाँऊ छोडेपछि काशी र काठमाडौं शहर कुँदन थालेको २५ बर्ष पुग्न लाग्दा हामीले पहिलोपटक वंशावली तयार र थर के हो भन्ने तथ्य खोज्न संयोजकको जिम्मेवारी पुरा गर्दैछु ।

सुरुमै उल्लेख भएको प्रसंग यहाँ फेरि सम्झन चाहन्छु । तत्कालीन पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा माधव भट्टराईसँग शून्य सालमा विवाह गर्न नहुने ज्योतिषी आधारबारे प्रश्न गर्न जाँदा उहाँले मलाई पहिलो प्रश्न सोध्नु भयो, ‘बाबुको थर चाहिँ के हो ?’

मैले निन्याउरो अनुहार बनाएर भनेँ ‘उपाध्याय ।’ मैले आग्रह गरेँ, ‘गुरु ! थर खोजी गर्नुछ । मलाई सहयोग गर्नुस् ।’ उहाँ त्यतिबेला नायव बडागुरुज्यूको जिम्मेवारीमा हुनुहुन्थ्यो । ‘हुन्छ, म तपाईलाई सहयोग गर्छु, राष्ट्रिय अभिलेखालयमा पनि तथ्यहरु भेटिन्छ कि खोज्नुस्’ उहाँले त्यसो भनेर उत्साह भरिदिनुभयो । डा भट्टराईसँग निकै घनिष्ट सम्बन्ध बन्यो । र, सम्बन्धको १७ बर्षको यात्रा चल्दैछ । उहाँसँग नेपाल र भारतका कयौं तीर्थस्थल सँगै यात्रा गर्ने अवसर पाएँ ।
पुर्खाको इतिहास खोज्दै २०५८ सालतिर पशुपतिनाथको बनकालीस्थित योगी नरहरिनाथको कुटीमा पुगेको थिएँ । योगीले पृथ्वीनारायण शाहका ऐतिहासिक कथा, उपाध्याय पदवी पाएका ब्राम्हणका कथा सुनाउनु भयो । सानै थिएँ तर मेरा प्रश्न सुनेपछि योगीले शीरमा हात राखेर आशीर्वाद दिनुभयो, ‘बाबु ! पुर्खाको इतिहास खोज्नु ऐतिहासिक धर्म हो ।’ निरन्तर तथ्यहरु खोजेर आफ्नो थर खोजीका लागि ऐतिहासिक पुस्तक अध्ययन गर्न भन्नुभयो । दोस्रो पटकको भेट गर्न पुग्दा योगीको स्वास्थ्यमा समस्याका कारण थप कुरा गर्न पाइनँ । २०६० सालमा उहाँको देहान्त भयो ।

बनकालीमै रहेका अर्का विद्वान काले राई ‘स्वामी प्रपन्नाचार्य’सँग भेट गरेको थिएँ । ‘वेदमा के छ’ भन्ने पुस्तकका लेखक राईले पनि ‘मत्स्यपुराण र थर गोत्रको इतिहासमा पुर्खाले कहीँ नै कतै थर लेखेको हुनुपर्छ । त्यसको लागि इतिहास, धर्मशास्त्रका पुस्तकका आधारमा खोज्दै जाउ’ भन्ने सल्लाह दिँदै भने, ‘केटा ! तिमी निरन्तर अध्ययन गर । एक दिन अवश्य नामको पछाडि थर भेट्ने छौ ।’ उहाँ पनि केही वर्षअघि वैकुण्ठबासी हुनुभयो ।

बर्षौदेखि हाम्रो थर के होला भनेर ऐतिहासिक पुस्तक संकलन र राष्ट्रिय अभिलेखालयमा गएर खोजी गदै आएको थिएँ । बीच–बीचमा आफ्नो अध्ययन, कर्म र व्यवसायमा ब्यस्त भए पनि ऐतिहासिक अध्ययन र आधारहरु के–के होलान् ? भन्नेबारे इतिहासकार, धर्मशास्त्रीहरुसँग परामर्श र उहाँहरुले दिनुभएको सुझाव संकलन गरेर राखेको छु ।
थर–गोत्रसम्बन्धी सबैभन्दा ऐतिहासिक पुस्तक ‘शिखरनाथ थरगोत्रप्रवरावली’ रत्नराज्यलक्ष्मी क्याम्पसमा आइए पढ्दा भाषा र ब्याकरण पढाउने आदरणीय गुुरु श्रीहरि रुपाखेतीले लेख्नुभएको पुस्तक ‘नेपाली थर–गोत्र–प्रवर कोश’मा आफ्नो थर र गोत्रका आधारहरु केलाउँदै छु ।

हाम्रा पुर्खाहरु राजा पृथ्वीनारायण शाहको सल्लाहकार समूहको अधिकारी भएका भन्ने भनाईमा लिखित आधार खोज्न सूर्यविक्रम ज्ञवालीद्वारा लिखित ‘पृथ्वीनारायण शाह’, ‘नयराज पन्तका दृष्टिमा पृथ्वीनारायण शाह’ ‘मत्स्यमहापुराण’, जनकलाल शर्माको ‘हाम्रो समाज एक अध्ययन’ जस्ता पुस्तकहरु अध्ययन गर्दै छु ।

हाम्रा पुर्खाले पृथ्वीनारायण शाहबाट नुवाकोट, कीर्तिपुर र काठमाडौं एकीकरण यात्राका क्रममा धादिङको हालको त्रिपुरासुन्दरी गाउँपालिकास्थित वडा नं ६ को ‘विर्ता’ पाएका थिए । त्यसरी विर्तामा बसोबास गरेका हुनाले हामी विर्ताली भयौं । अहिले हाम्रा पुखा धादिङको विर्ता, सल्यानटार, नलाङ, गोर्खाको ज्यादुल र चितवन जिल्लामा छरिएर रहेका छौं ।
अहिले पनि त्रिपुरासुन्दरी देवी शाहवंशकोे कुलदेवी हो । हरेक शाहबंशीय राजाहरु धादिङस्थित त्रिपुरासुन्दरीको दर्शनका लागि जाने गर्दछन् । पूर्व राजा ज्ञानेन्द्र शाह पनि दर्शन गर्न गएका थिए ।

हाम्रा पुर्खा पृथ्वीनारायण शाहपछि पनि केही पुस्तासम्म अध्यात्म सल्लाहकार अधिकारीको रुपमा रहेका थिए । त्यसबेलामा पनि उहाँहरुलाई दरवारमा ‘उपाध्याय’ नै भनिने गरेको कुरा सुनेको मेरा मावलतिरका हजुरबा स्वं टीकाप्रसाद पाण्डेले बताउनुभएको थियो । उहाँ वीरेन्द्रको मोटर चलाउने चालकको जिम्मेवारीमा हुनुहुन्थ्यो । सेनाबाट अवकास लिएपछि हजुरबाले कर्मकाण्ड र जजमानी कार्य गर्नुभयो । उहाँले बताउनुभएको ऐतिहासिक तथ्य पनि संकलित छन् ।

‘थर’ खोजी यात्रामा अध्ययन, अनुसन्धान र संकलन गर्दैगर्दा संगठनको खाँचो महुसुस हुँदै थियो । २०६५ सालतिर मलाई बाबुको थर के हो भन्ने गुरु प्रा.डा माधव भट्टराईको अध्यक्षतामा म पनि संस्थापक सदस्य रहेर ‘राष्ट्रिय धर्म सभा नेपाल’ गठन भयो । अहिले संस्थाले धर्म, संस्कृति र देशभरका थर गोत्रसम्बन्धी निर्णयमा सल्लाह दिने काम गर्दै आएको छ । अहिले पनि संस्थाको प्रमुख संस्थापक अध्यक्ष प्रा.डा माधव भट्टराई नै हुनुहुन्छ । म हरेक अधिवेशनमा संस्थापक सदस्यको हैसियतमा हालसम्म पनि फरक–फरक जिम्मेवारीमा छु ।

संस्था धर्मशास्त्री, ज्योतिषी, कर्मकाण्डी विश्वविद्यालयका अध्यापक सबैको साझा थलो बनेको छ । हरेक बर्ष राष्ट्रिय पंण्डित सम्मेलन आयोजना गर्ने संस्थाले मेरो संयोजकत्वमा चौथो राष्ट्रिय पंण्डित सम्मेलन सम्पन्न गरेको थियो । हरेक बर्ष नेपाल र भारतबाट सम्मेलनमा सहभागी हुने विद्वानहरुसँग खुसुक्क ‘म थर गोत्रसम्बन्धी अध्ययन गर्दैछु, तपाईसँग केही जानकारी छ कि ?’ भनेर सोध्ने र लेख्ने गरेको छु । ‘सल्लाह सबैको तर निर्णय हाम्रो’ भन्ने खोजनीति अवलम्बन गर्दैछु ।

एकादशी, पूर्णिमा, सोमबार र विहीबार बिहान वा साँझ पशुपतिनाथको दर्शनपछि श्रीका पूर्व मुलभट्ट महावलेश्वर र हालका गणेश भट्ट दुवैले अध्यात्म चर्चामा कुलदेवता र थर सोध्नु हुन्छ ? कुलदेवता त ‘गोपेश्वर’ महादेवको नाम भएकोले तुरुन्तै भन्छु तर ‘थर’ खोजी हुँदै छ भनेर अर्चकसँग वाचा राख्नु परेको छ ।

कोरोनाकाल, लकडाउनको समयमा घैदी (घरमै बस्ने) हुँदा ‘थर’ खोज्ने अभियानमा खोजिएका पुस्तक र लेखिएका डायरीहरु एकैठाउँमा जम्मा पार्दै थिएँ । ऐतिहासिक टिपोटहरु पनि संकलन गर्दै थिएँ । थर र गोत्र, सगोत्र भित्र हामी कहाँ छौं होला भनेर हेर्दैं गर्दा हाम्रा वंशका दाजुभाइहरु बंशावलीको खोजी गर्ने अभियानमा जुटदै रहेको खबर मिल्यो । मुहारपुस्तिकामा ‘विर्ताली उपाध्याय कुल’ समूह नै गठन भएर मलाई पनि अनुरोध आयो । म पनि समूहमा सहभागी भएँ । पुस महिनाको ४ गते मार्गशुक्ल विवाह पञ्चमीको दिन मध्यान्ह काठमाडौंमा बस्ने थर नभएका विर्ताली दाजुभाई भृकुटीमण्डपमा भेला हुने समय तय भएछ ।

शास्त्रमा कलियुगमा ‘संगठन नै शक्ति हो’ भनिएको छ । बल्ल कुलका अग्रज, समादरणीय र अनुजहरुको पहिलो सहभागितामूलक भेटले हामी ब्राम्हणपुत्रको ‘थर’ इतिहास खोज्ने र वंशावली निर्माण गर्ने अध्याय शुरु भएको छ ।
सायद थर नभएको ब्राम्हण हामी मात्र हौं कि भन्ने प्रश्न मैले मेरा गुरु एवं ‘नेपाली थर– गोत्र–प्रवर कोश’का लेखक श्रीहरि रुपाखेतीलाई प्रश्न गरेँ । उहाँले भन्नुभयो, ‘नेपालमा ब्राम्हमणहरुमा थर गोत्रमा केही समस्या छन्, केहीले समाधान खोजिसके । अब तपाईको पनि थर कायम गर्नुपर्छ ।’ हाम्रो थर पनि के होला भन्ने ऐतिहासिक तथ्य र पुर्खाको बसोबासको आधारमा हाम्रो थर कायम गर्ने शोधविधि जारी छ ।

ब्राम्हण भएर पनि थर नभएको अल्पसंङयक समूहका हामी पनि थर कायम गरेर आगामी पुस्तालाई हस्तातरण गर्नसक्यौं भने थर नभएको ब्राम्हणपुत्र भन्ने ठाउँमा नयाँ थर झुण्डाएर हाम्रो नामलाई सुशोभित बनाउने छौं । हामी त्यो दिनको प्रतिक्षामा छौं ।

नेपालमा मात्र होइन, भारत यात्रामा समेत कयौं तीर्थस्थलीमा पुग्दा शर्माजी ‘आप्का थर क्या हैं ?’ भन्ने प्रश्न कायम छ । काशीका विद्वान प्राध्यापक राममोहन पाठक हुन् वा युनान विश्वविद्यालयका प्राध्यापक डा वाङचुङ, उहाँहरुले मलाई बेला–बेला थरको प्रसंग उठाउनु हुन्छ । सोध्नुहुन्छ, ‘थर खोजी अध्ययन कहाँ पुग्यो ?’ गतबर्ष हनान विश्वविद्यालयमा नेपाली भाषामा स्नातकोत्तर अध्ययन गर्ने मेरा चिनियाँ छात्रालाई नेपालको थर–गोत्रको कक्षा पढाउदै गर्दा उनले अन्तमा सोधेका थिए, ‘गुरुजी ! तपाईको थर कसरी ‘शर्मा’ भयो ?’ उत्तर दिन जुक्ति मात्र निकालेँ, ‘नेपालका ब्राम्हणहरुको साझा थर हो ‘शर्मा’ ।’ उनलाई उत्तर चित्त बुझेन ।

आज पनि ‘थर नभएको ब्राम्हणपुत्र’ लेखेर नेपालनाम्चा डटकमका सम्पादक अशोक सिलवाललाई नामको पछाडि ‘शर्मा’ राखेर यो लेख पठाउँदै छु ।

सम्पादक महोदय, केही समयपछि मैले तपाईलाई आफ्नोे नामको पछाडि थर कायम गरेर लेख पठाउँदा नझुक्किनु होला । म उही नाम भएको, थर मात्र नयाँ भएको ब्राम्हणपुत्र हुनेछु ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button