बाँदरमुढेः एउटा विभत्स घटनाको ‘चस्मदित कहानी’

बाबुराम पौडेल

२०६२ ज्येष्ठ २३ गते बिहान अन्दाजी ०८:३० बजेको समय ।

चितवन माडीको बाँदरमुढे खोलामा यात्रुबाहक बस एम्बुसमा परेर थुपै मानिसको हताहती भएको प्रारम्भिक खबर भरतपुरस्थित सुरक्षा निकायका प्रमुखहरुबीच आदानप्रदान भयो । सायद कसरास्थित निकुन्ज सुरक्षार्थ रहेको पुरानो गोरख गणको पोष्ट वा माडीको ईलाका प्रहरी कार्यालयमार्फत प्रारम्भिक सूचना आएको हुनुपर्छ ।

भरतपुरको फष्ट रैफल गणमा हामी सुरक्षा निकायका प्रमुखहरु भेला भई थप जानकारी लिन थाल्यौं । २०६० चैत्र ६ गतेका दिन राष्ट्रिय अनुसन्धान विभागको चितवन कार्यालयका प्रमुख भरतबहादुर खड्कालाई तात्कालिन विद्रोही पक्षले गोली हानी हत्या गरेका र सो कार्यालयका अन्य ५ जना कर्मचारीको समेत हत्या गरिसकेको आतंकले करीब १४ महिना कार्यालय प्रमुखविहीन रहेको चितवनमा २०६२ ज्येष्ठ १ गते म राष्ट्रिय अनुसन्धान विभागको चितवन कार्यालय प्रमुख हुन पुगेको थिएँ ।

घटनास्थलमा गाडीबाट जाने स्थिती नै थिएन, बाटोमा एम्बुसमा परिने संभावना हुन्थ्यो । उद्धारका लागि नेपाली सेनाको एमआई हेलिकोप्टर भरतपुर आएपछि सुरक्षा निकायका प्रमुखहरु, स्वास्थ्यकर्मीको टोलीसहित १० बजेतिर माडीतर्फ उडियो । बाँदरमुढेको आकाशमा पुग्दा खोला बगरमा कसराबाट पुगेको सेना, स्थानीय प्रहरी, जनतासमेत सयौंको संख्यामा उद्धारमा खटिसकेको देखिन्थ्यो । त्यहाँको कोलाहल, चित्कार र रोदनको आवाजले बाँदरमुढे खोला कोलाहलमय थियो । कुनै दुई देशबीचको लडाईमा बम खसालिएको जस्तो विभत्स दृष्य हेरिनसक्नु थियो । मृतकमध्ये ६ जना जति त भर्खर ५ मिनेट अगाडि बस चढेका थिए । माईत आएर घर फर्कन हिंडेकी माडीकी एक जना चेली आफ्ना पति र २ नाबालकसहित आततायीको सिकार बने ।

बिष्फोटबाट उछिट्टिएका आधाभन्दा बढी जति लाशहरु बगरमा सुताईएका र बाँकी क्षतबिक्षत भएको बसको अबशेषबाट झिक्ने प्रयास हुँदै थियो । लास झिक्ने भन्दा घाईतेको उद्धार प्राथमिकतामा राखियो । प्रारम्भमा सख्त घाईते ६ जना जतिलाई सेनाको सोही हेलिकप्टरबाट छाउनी पठाईयो । बाँकी १७ जना जति घाईतेलाई सुरक्षा निकायका गाडी र एम्बुलेन्सहरुमार्फत भरतपुरका विभिन्न अस्पतालहरुमा पठाईयो । सायद बसको छतमा बसेका बिष्फोटबाट उछिट्टिएका कतिपय सामान्य घाईतेहरुको उपचार बसन्तपुरस्थित स्वास्थ्य चौकी र मेडिकलहरुमा गरियो ।

अपरान्हको करिब १२ बजेसम्म महिला, पुरुष र नाबालक समेत गरेर ३९ जनाको घटनास्थलमै मृत्यू भएको शव गणनाबाट देखियो । घाइतेको संख्या ५० जति भयो । घाइते र अन्य गरी सो बसको भित्र र छतमा गरी करीब १०० जना यात्रु सवार रहेछन् । बस माडीबाट भरतपुरका लागि छुटेको रहेछ । बाँदरमुढे खोला सो समयमा सुख्खा रहेको कारण बगरको बाटोमा बालुवा खनेर करिब ७० केजी बिष्फोटक लुकाईएको पछि खुल्न आयो । बगरमा बसको गति कम हुने हुँदा बिष्फोटनबाट अत्यधिक क्षति गराउन सकिने अपराधीहरुको योजना सफल भएको देखियो । बिष्फोटबाट घाइते ४ जनाको उपचारको क्रममा पछि मृत्यू भयो ।

राज्य र तात्कालिन विद्रोही पक्षबाट भएका आमनेसामने भिडन्त वा आक्रमणहरुमा दुवै पक्षका सयौं नेपाली छोराछोरीहरु एउटै घटनामा मारिनु स्वाभाविक थियो त्यो बेलामा । विद्रोही पक्षका लडाकु वा राज्य पक्षको सुरक्षा निकायहरुमा कार्यरतहरुको सामुहिक र एकल रुपमा हत्या हुँदा, घाईते वा बेपत्ता पारिँदा सामान्य रुपमै लिने अवस्था थियो त्यतिबेला । तर यो घटना बिल्कुलै अमानवीय र गैरसैनिक सर्वसाधारणमाथि आक्रमणको क्रुर कृत्य थियो विद्रोही पक्षको । त्यो पक्षले यसरी युद्ध वा विद्रोहमा असंलग्न गैरसैनिक सर्वसाधारलाई किन सामुहिक हत्या गरेको हो भनेर हालसम्म पनि पीडित पक्षले न्यायको याचना गरिरहेको देखिन्छ । यो घटनाको जिम्मेवार पक्ष नै घटनाको १ बर्षपछि सत्तामा पुगे । पीडितले पीडक पक्ष र पछि बनेका सरकारहरुसँग पनि न्याय खोजिरहे, तर यथोचित सम्बोधन हुन सकेको छैन भनिएको छ । सो घटनामा अङ्गभङ्ग भएकाहरु अद्यापि कष्टपूर्ण जीवन जिएका छन् भन्ने सुनिन्छ ।

पीडितलाई न्याय क्षतिपूर्ति वा परीपूरण त कता हो कता, घटनास्थलमा पीडित पक्षको पहलमा स्मारक बनाउन समेत पीडकले पटक पटक अवरोध गरे । पीडित पक्षका स्थानीय केहीको सक्रियतामा धेरै पछि एउटा सामान्य स्मारक बनाइएको र प्रत्येक बर्षको आज ज्येष्ठ २३ गते सो स्थानमा क्रुर र आततायी मृत्यू वरण गरेकाहरुको स्मरण गरिँदै आएको छ ।

सो विभत्स घटनाका मृतकहरुको आत्माले त कहिले शान्ति पाउला र खै ? तर पनि उनीहरुप्रति हार्दिक श्रद्धान्जली ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button