
‘मेरो चिया किन छोएको ? म छुवाछुत मान्दिनँ भन्ने थाहै थियो, बेहोरा देखाको ?’
तत्कालका लागि वर्गीय र जातीय आरक्षणको हाइब्रिड मोडल आवश्यक हुन थालेको हो कि ?
मोहन ढुंगेल
मेरो बाल्यकालको सम्झनामा त्यसबेला “बालिघरे” प्रथा निकै प्रचलित थियो । कपडा सिलाउनु परे बालिघरे दमाइ, फलामका काम गर्नु परे बालिघरे कामीसँग अन्य जातिबीच काम र ज्यालाको साझेदारी हुन्थ्यो । अर्थात् यो एक किसिमको अलिखित सम्झौता जस्तै थियो, काम गर्ने र लगाउनेबीचको । त्यसबापत वार्षिक रुपमा घोषित सम्झौता अनुरुप अन्नबाली दिइन्थ्यो, श्रम गर्नेलाई । विशेषगरी दशैंका बेला बालिघरे दुवै समूदाय घर घरमै पुगेर आफनो सेवा दिन्थे ।
२०४२ साल हुँदो हो, झापा गौरादहको सितापुरी भन्ने ठाउँमा हाम्रा बालिघरे दमाइ बाले हामीलाई त्यस्तै सेवा दिनुहुन्थ्यो । अधिकांश समय म नै नयाँ वा पुराना कपडा लिएर तिनै बाकोमा पुग्थेँ । शायद मेरा बा विदेश हुनुभएको र भाइहरु सानै भएकाले कपडा खुटाउन म नै जानुपरेको होला । बालिघरे बाले मलाई नाति भन्नुहुन्थ्यो, म उहाँलाई बा भन्थेँ, किनभने उहाँ मेरो मामली गाउँ धनकुटा चानुवाका हुनुहुन्थ्यो । मेरो आमालाई छोरी भन्नुहुन्थ्यो । आमालाई उहाँले ठुली भनेर सम्बोधन गर्नु हुन्थ्यो ।
्
म बालिघरे तिनै बाकोमा जाँदा उहाँको भान्सामा जे पाकेको छ, उहाँका नाति नातिना सरह मेरो पनि भाग लाग्थ्यो । एकदिन त्यो घरमा बाका छोरी, ज्वाइँ, नाति नातिनी आउनुभो, विदेशबाट । मलाई बाले नाति भनेर संबोधन गरेकै कारण होला, उहाँहरुले परिवारका अन्य सदस्य सरह मानेर मलाई पनि जाँडको डबका राखिदिनु भो, सगुनको रुपमा । तर, बाले “बाहुनको छोरालाई के गरेको” भनेर हप्काउनुभो । उहाँहरुलाई लाज भो क्यार, डबका फिर्ता लान खोज्नुभो । तर, मलाई भने त्यो डबकाको चिज कस्तो हुँदोरहेछ भन्ने खुल्दुली लाग्यो र भनेँ “बा, म पनि चाखुम् न त ।” बाले जवाफ फर्काउनु भो, “हुन्न भरे ठुलीले मार्छे ।” मलाई त्यो चिज कस्तो हुँदोरहेछ भनेर जान्ने हुटहुटी नै थियो, टेरिन, फेरि भनेँ, “हैन बा म आमालाई भन्दिन, आज चैं चाख्छु ।” मेरो हुटहुटीको अर्को कारण पनि थियो, आज मौका छ चाख्ने, अरुबेला कहाँ पाइन्छ र यस्तो मौका । किनूँ त ठाउँ था छैन, पैसा पनि साथमा हुँदैनथ्यो । मेरो ईच्छाका अगाडि बा र उनका छोरी ज्वाइँको केही चलेन, मैले जीवनमा पहिलो पटक क्षेत्री बाहुनले नाम लिनै नहुने चिज पनि चाखेँ ।
घर फर्केँ, आमालाई सुनाएँ । आमाको प्रतिक्रिया थियो, “थुक्क बजिया ।” तर, आमाले बाहुन, दमाइ, कामीबिचको विभेद भनेँ सुनाउनु भएन । मलाई लाग्यो, चिज चैं खान नहुने रैछ, कसले दियो र कसकोमा खाइयो भन्ने कुराले खासै अर्थ राख्दो रहेनछ । किनभने त्यसअघि पनि म बालिघरे बाको घरमा भात, मासु, चिउरा, मकै र मोही खाएरै फर्केको हुन्थेँ । आमालाई सुनाउँथेँ, फिस्स हाँस्नु हुन्थ्यो, सकियो ।
अर्का सहपाठी थिए । नाम बिर्सेँ तर थर याद छ अहिले पनि । पोर्तेल थर थियो उनको । स्कूलमा कलको पानी पेलिदिने उनै थिए । तिर्खा लाग्थ्यो, पानी खाने बेलामा “पख् म पेल्दिन्छु” भन्थे, मलाई पनि आनन्द आउँथ्यो, पानी पिउथेँ । एकदिन उनी मेरो घर आए । सरासर मेरो कोठामा मसँगै पसे । आमाले सोध्नुभो, “नानी, तिमी के थरि ?” उसले बालसुलभ लवजमै भन्यो, “पोर्तेल आमा ।” आमाले मतिर हेरेर जिब्रो काडनु भो, भन्नु केही भएन । मलाई लागिरहेको थियो । मेरो साथीको थर सुनेर आमाले किन जिब्रो काड्नु भो ? बेलुका सोधेँ । आमाले उत्तर दिनुभो, “अबदेखि तेरो साथीलाई घरमा नले है ।” किन ? मेरो प्रश्न नसकिँदै आमाको जवाफ थियो, “के गर्छस्, साथी त तेरो हो नि, तर गाउँमा राम्रो मान्दैनन्, तल्लो जातकोलाई घरमा पसायो भनेर हाम्रो पानी चलेन भने ?”
आमालाई धेरै कुरा सोध्न त मन लागेको थियो तर, मेरो बालमस्तिष्कमा गाउँलेले गर्ने व्यवहारले सोधिनँ । बरु हाट बजार र स्कुलमै भेटौंला तर उनलाई म अब मेरो घर जाउँ भन्दिन । किनभने त्यो दिन मैले नै कर गरेर उनलाई मेरो घर ल्याएको हुँ ।
त्यसपछिका दिनमा मसँग धेरै उपल्लो भनिने र दलित भनिने साथीहरुसँग संगत भयो । म पनि पढ्नलाई काठमाडौं छिरेँ । सम्झनलायकका घटना केही रहेनन् । तर, जब म कामको सिलसिलामा धनकुटा आएँ । एकजना दलित समूदायकै साथीको व्यवहारले भने फेरि मेरो मनलाई घचघच्यायो । उनी मेरै कार्यकक्षमा थिए, म जातपात छुवाछुतमा भेदभाव गर्दिन भन्ने पनि उनलाई ज्ञान थियो । चिया आयो, उनलाई र मलाई । उनले मेरो गिलास आफूतिर ताने र उनको गिलास मतिर सारे । यो गर्नु जरुरी थिएन । चिया पनि उस्तै थियो, गिलास पनि उस्तै । मलाई लाग्यो, शायद उनलाई मैले पिउने चिया छुन मन लागेछ । अलि रिसाएकै पारमा भनेँ, “मेरो चिया किन छोएको ?, म छुवाछुत मान्दिन भन्ने थाहै थियो, बेहोरा देखाको ? मेरा अफिस, मेरो टेबल, मेरै अफिसको चिया, तपाईलाई मैले पो चिया दिने हो त, तपाईको अफिस वा घर हो ?” छुनै मन भए तपाईको घरमा बोलाउनु सय पटक छोएर मलाई दिनु, मलाई आनन्द लाग्छ साथी, यो राम्रो काम होइन, आफुलाई कहिलै तल्लो जातको भावनाले नहेर्नु ।
यी तीन प्रतिनिधि घटना, आजै किन सम्झैँ भनेँ, आज छुवाछुत तथा भेदभावविरुद्ध राष्ट्रिय दिवस हो । यी तीन घटना प्रतिनिधिमूलक हुन् । यी तीन घटनाले दुई महत्वपूर्ण पाठ दिएको छ मेरो जीवनमा । सबैभन्दा पहिलो जातपात, छुवाछुत, विभेद सामाजिक शिक्षाको निरन्तरता हो । जुन हामीलाई हाम्रौ समूदायले नजानिँदो ढंगले सिकाउँदै आएको छ । समाजले को कुन जातको हो र कसले छोएको कसले खानु हुँदैन भन्ने विषय निकाल्नै बन्द गर्ने हो भने त्यहीँ नै भेदभाव अन्त्य हुने रैछ । यो जात कसले बनाएको हो ? हाम्रौ समाजले हैन ? यसको पालना गनुपर्छ भनेर कसले सिकाएको हो ? हाम्रै समाजले हैन ? नत्र नेपालमा काला र गोराबीच भेद छ ? तर, यही विभेद अमेरिकामा अहिले पनि छ । त्यहाँको समाजमा बाहुन, क्षेत्री र अन्य जातको संरचना नै छैन । त्यसैले त्यहाँ जातीय विभेद छैन, यहाँ रंगभेद छैन । तर, विभेद त छ, दुवै विभेदले समाजलाई दुखाएको छ । समाजलाई रुवाएको छ ।
विशेष गरेर हाम्रो शहरी क्षेत्र र युवा जमातमा अहिले तुलनात्मकरुपमा जातीय विभेद धेरै नै कम भएर गएको छ । तर, यसलाई राज्यले नै फेरि मलजल गर्दैछ । जातीय आरक्षण यसैको एउटा कडी हो । दलित र अल्पसंख्यकका लागि यो नीति बरदान होला कि भन्ने सोचेर राज्यले आरक्षणको व्यवस्था गरेको होला । यसबाट आरक्षणप्राप्त जातिका सदस्यहरुले लाभ पनि लिएका होलान् । तर, यसले कथित उपल्लो र तल्लो जातिको अवधारणा हाम्रो समाजमा छ भन्ने ज्ञान अहिले पनि हामी बाँडिरहेका छौं, त्यसका राज्य समेत सामेल भएको छ । युवाहरु जो जातीय अवधारणालाई हटाउन चाहँदैछन्, उनीहरुको मस्तिष्कमा फेरि भर्ने काम त भइरहेको छैन ? किनभने मेरी आमाले बालिघरे बाको घरमा केही खानु हुँदैन भनेर सिकाउनु भएको भए मेरो बाल मस्तिष्कमा त्यसैले घर गर्ने थियो र आज पनि म त्यही मान्यता बोकेर हिँड्ने थिएँ । हो, सम्मान सबैलाई दिनुपर्छ । आज हाम्रा बाजे बजु र आमाका लागि पुरानो मान्यताले यति जह्रो गाडेको छ कि बरु मर्न तयार हुन्छन्, त्यो मान्यता त्यागेर आधुनीकीकरणतर्फ जान सक्दैनन् । उनीहरुको मान्यतालाई पनि आत्मसात गर्दै नयाँ पुस्ताले जातीय भेदभावलाई त्याग्दै जानसक्छन् तर, यसको बाधक राज्यको नीति हो । यसको पुनरावलोकन गर्न जरुरी छ । किनभने यसले युवा पुस्ता जो क्षमता भएर पनि उपल्लो जातकै कारण राज्यको विभेदमा परिरहेका छन् । उनीहरुलाई कसरी र कुन रुपमा समेट्नु पर्ने हो राज्य र नीति निर्माताले सोच्नुपर्ने आवश्यकता छ ।
मानिलिउँ, कुनै स्थानमा उपल्लो मानिएको जातिको बाहुनको छोरा वा छोरी आर्थिक रुपमा साह्रै विपन्न छन् र त्यही ठाउँमा दलित भनिएकाहरुको आर्थिक अवस्था ज्यादै मजबुत छ, अब राज्यको यो नीतिले दलित समूदालाई आरक्षण दिँदा बाहुनका छोरा छोरीमाथि विभेद भयो कि भएन ? हो, अहिलेको मूल समस्या नै यही हो । मेरै छोराले मलाई एकदिन गरेको कटु प्रश्नले पनि मलाई यो लेख्न प्रेरित गरेका छ । मेरो चाहना थियो, छोरालाई यतै कतै टाढा भए भारतको बैंग्लोरसम्म लगेर कम्प्यूटर इृन्जिनियर बनाउँ, सात समुद्रपारि अमेरिका नपठाउँ । किनभने सात समुद्रपारि पुगेका धेरै कम सन्तान स्वदेश फर्केको उदाहरण धेरै छ । तर, छोराले यो सम्झाइरहँदा मलाई भनेको थियो, “बाबा, तपाई भन्नुहुन्छ नि तर, मैले राज्यको कुनै निकायमा सेवा गर्ने इच्छा राख्दा मैले ९० प्रतिशत अंकभार ल्याएँ, तर, त्यही कोटामा आरक्षणमा परेको मानिसले ६० प्रतिशत मात्र अंकभार ल्यायो भने म रिजेक्ट हुन्छु, ऊ सेलेक्ट हुन्छ । मेरो र उसको समान हैसियत हुन्छ, क्षमताको कदर नहुने यस्तो देशमा बसेर के हुन्छ ?” आरक्षणका विविध पक्षका बारेमा बताएर उसलाई मनाउने हरप्रयास खेर गएपछि लाखौं रुपैया कर्जा लिएर मैले छोरालाई उसले चाहेकै ठाउँमा पढ्न पठाउनु प¥यो । त्यो कर्जाको बोझ मैले अहिले पनि सकिनसकी धान्नु परिरहेको छ ।
जातीय आरक्षणको अवधारणा लागू भएको पनि डेढ दशक नाघिसकेको छ । यसबीचमा पनि आरक्षणबाट खासै लाभ मिल्न नसकेको गुनासो आउन छाडेको छैन । त्यसैले अब यसबारेमा पुनरावलोकन पो गर्ने बेला भयो कि ? जातीय आरक्षणको सट्टा आर्थिक अवस्थामा आधारित वर्गीय आरक्षणको अवधारणा पो अगाडि सार्ने हो कि ? अथवा जहाँ जातीय विभेद ज्यादा छ, त्यस्ता समूदाय वा व्यक्तिलाई केही समयका लागि आरक्षण नदिए मूलधारमा ल्याउन नसकिने अवस्था छ, त्यस्ता स्थानमा जातीय आरक्षणलाई नै निरन्तरता दिँदै अन्य विशेष गरी शहरी क्षेत्रहरुमा वर्गीय आरक्षणको अवधारणा कार्यान्वयन गर्न थाल्ने हो कि ? तत्कालका लागि हामीकहाँ वर्गीय र जातीय आरक्षणको हाइब्रिड मोडल पो आवश्यक हुन थालेको हो कि ?
…
(कविता, कथा, लघुकथा, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)


