त्रिविलाई ‘त्रिशुल’ अर्थात् ‘म चिट चोर विद्यार्थी’

भरत शर्मा

त्रिभुवन विश्वविद्यालय केन्द्रीय परिसर कीर्तिपुरमा अहिले स्नातकोत्तर तह (एमए) पहिलो समेष्टरको परीक्षा चलिरहेको छ । गत १७ जेठदेखि शुरु भएको परीक्षा आगामी २७ जेठसम्म सञ्चालन हुने तालिका छ ।

संयोग, यो परीक्षामा म हिन्दी भाषा साहित्यको एमए प्रथम बर्षको छात्र भएर सामेल छु । बिहिबार दिउँसोको परीक्षामा सहभागी हुँदा म र मसँगै सहभागी भएका एमए पढ्ने विद्यार्थीको कार्यशैली देखेपछि विरक्त भएर आफैमाथि आरोप लगाएर, आफैलाई अपमानित हुनेगरी केही लेख्न बस्दैछु ।

परीक्षा सकेर शौचालय जाँदा चीट तस्वीर देखेपछि आफूले आफैलाई धिक्कार्दै नेपालको शिक्षा प्रणालीको बारेमा आफूले आफैलाई प्रश्न गर्दै शौचालयबाट बाहिरिएँ । अलि अगाडि बढेपछि पुरुष शौचालयमा मात्र हो कि महिलाको शौचालय यस्तै होला भन्ने लागेर महिला शौचालयमा ढोकाबाट चियाएर हरेको त, पुरुष शौचालयमा भन्दा महिला शौचालयका चिटका पोका र कापीको टुक्राले भरिएको दृश्यदेखिपछि फर्कंदै गर्दा एकजना बहिनीले प्रश्न गरिन्, ‘तपाई पनि विद्यार्थी हो ?’

मैले भनेँ, ‘हो, म पनि विद्यार्थी हो ।’ परीक्षा दिएर बाहिर निस्किएको मैले उनलाई प्रश्नपत्र र प्रवेशपत्र देखाएँ । उनले भनिन्, ‘महिला शौचालयमा संकलन गर्ने हो भने एक बोरै चिट छ होला ।’ बिहिबारको परीक्षामा परीक्षा समयभन्दा १५ मिनेट पहिले बाहिर निस्किएको थिएँ । आफूले जाने जति र प्रश्नले उत्तर खोजे जति लेखेपछि दाहोेर्याएर पढ्ने बानी नभएर होला, हरेक परीक्षामा तोकिएको समयभन्दा १५ मिनेट पहिला उत्तरपुस्तिका बुझाएर फर्कने मेरो परीक्षा इतिहास र अभ्यास छ ।

मंगलबारदेखि शुरु भएको एमएको परीक्षामा पहिलो दिन त विद्यार्थीको कुनै चेकजाँच नै भएन । विद्यार्थीहरु मोवाइल हेरेर चिट चोरिरहेका थिए । कक्षाका कोठामा बस्ने गार्डहरुले पनि देखेर पनि नदेखेजस्तो गरिहरेको दृश्यले मलाई पोलिरहेको थियो ।

पत्रकारिताको विद्यार्थी भएर होला गलत कुरामाथि प्रश्न उठाउन मन लाग्छ । मैले मेरो बेन्च नजिकै बस्ने बहिनीलाई भने, हल्ला नगरिकन चोर्ने अभ्यास सिक्नुस् । उनले क्षमा भाग्दै भनिन, के गर्ने चिट चोर्न थालेपछि सिर्जनात्मक लेखन अभ्यास पनि भुल्ने रहेछ ।

पहिलो दिनको भन्दा दोस्रो दिनको परीक्षा शुरुमा कडा गर्न खोजेजस्तो देखियो । विश्वविद्यालयका क्याम्पस प्रमुख र विभागीय प्रमुखहरुले मोवाइल स्मार्ट वाच र झुक्किएर ल्याउनु भएको कुनै चिज छ भने पहिले नैं अगाडि ल्याएर राख्नुस्, हामी अब तपाईहरुको शरीरमा खानतलासी गर्छौं भनेपछि विद्यार्थीहरुले मोवाइल र खल्तीमा ल्याएका चिज (चिट) निकालेको देख्दा फेरि अच्चममा परेँ ।

अरे, एमए पढेका विद्यार्थीहरुको यस्तो चाला ! त्यति नै बेला मैले आफ्नो लेखको शीर्षक चयन गरेँ । ‘म चिट चोर विद्यार्थी !’ शीर्षकमा शनिबार नेपालनाम्चामा लेख्ने छु ।

शिक्षा पत्रकारितामा करिव १५ बर्ष कलम चलाएँ । ६० को दशकमा पत्रिकारिता गर्दा त्रिभुवन विश्वविद्यालयका बारेमा सबैभन्दा बढी शिक्षा समाचार लेख्ने सम्वाददाता म आफै थिएँ । अहिले अध्यापन र केही सेवामूलक व्यबसायमा लागे पनि शिक्षाका सवालमा कैयौं लेख्ने मन लाग्छ ।

कुनै बेला हामीले शिक्षा समाचारमा भनाई (कोट) गर्दा निकै सजिला पात्र शिक्षाविदर विद्यानाथ कोइरालाले मलाई पटकपटक भने, तपाईले त्रिभुवन विश्वविद्यालयको परीक्षा प्रणालीका बारेमा बहस गरेर लेखिरहनु पर्यो । सम्वाददाता भएर जागिर जाँदा सम्पादक र प्रमुख समाचारदाताको कारिन्दा भएर काम गर्दा विज्ञहरुले भनेको कुरामा बहस गर्न सकिएन होला ।

अहिले सम्झँदै छु, विद्यानाथ कोइरालाले भनेको कुरा सही रहेछ । दिनदिनको पत्रकारिता छोडेको पनि करिव ९ बर्ष हुनु लागेछ । त्यसबीचमा छिनछिनको पत्रकारिता अनलाइन र विचार लेखन गरे पनि शिक्षाका सवालमा समाचार लेख्न छोडियो ।

बताए, जोड दिए र उल्लेख गरे भन्दै लेखिने दैनिक समाचार लेख्न छोडे पनि पत्रकारिता छोडिएको छैन । पत्रकारिता गर्दिन भन्ने विषय पनि होइन । जागिर छोडेर त्रिभुवन विश्वविद्यालय, पत्रकारिता तथा आमसञ्चार विभागबाट एमफिल (दर्शनाचार्य) अध्ययन गर्दा र दर्शनाचार्यको परीक्षामा सामेल हुँदा सबभन्दा आनन्द महसुस गरेँ । सायद एमफिलको परीक्षामा सहभागी हामी कसैले पनि चिट भन्ने कुरा नैं देखेनौं । एमफिल सकेको ४ चार बर्षपछि त्रिभुवन विश्वविद्यालयमा हिन्दी विषयमा एमए पढ्दा जति रमाइलो भयो, तर परीक्षा दिन जाँदा मन कुडिँएको छ ।

परीक्षा भनेको आफ्नो विचार, तर्क र प्रश्नको उत्तर तर्कपूर्ण रुपले जे जानेको छ त्यही लेख्ने हो भन्ने मान्यता छ मेरो । नक्कल गरेर, साथीसँग सोधेर लेखिन विषय होइन परीक्षा । ६ महिना पढेको कुरा तीन घण्टामा लेखेर विद्यार्थीको क्षमता कति हो भन्ने मापन पनि गलत हो भन्ने मान्यता छ मेरो ।

२०६४ सालमा पत्रकारिताको एमए परीक्षामा सामेल हुँदा र २०७९ सालमा हिन्दी भाषाको एमए छात्र भएर विद्यार्थीहरुले नक्कल गर्ने कलामा पनि फरक पाएँ । अहिले त विद्यार्थीहरु मोबाइल र स्मार्ट वाचबाट चोरी गर्दा रहेछन् ।

बिहिबारको परीक्षामा एकजना बहिनीले भाषा विज्ञानको परीक्षा दिएजस्तो लाग्छ । उनी स्मार्ट वाचबाट नक्कल गदै थिइन् । त्यो चित्र देखेर म छक्क परेँ । उनले मोबाइल र चीज (चिट) बाहिर निकाले पनि स्मार्ट वाचचाहिँ लगाइन् र त्यहीँबाट नक्कल गरिन् ।

नेपालीमा एउटा उखान छ, खाने मुखलाई जुँगाले छेक्दैन । परीक्षाको मध्यान्हीतिर एकजना डिन कार्यालयका हाकिम जस्तो लाग्ने पात्र आए । उनले भने, तपाईंहरुले स्मार्ट वाच लगाउनुभएको छ निकाल्नुस् । विद्यार्थीहरुले कान बन्द गरे गरे ।

माथिका दृश्यहरु आफैले देखेका सत्य घटना हुन् । शिक्षाविज्ञ विद्यानाथ कोइरालाले भनेजस्तै अब त्रिविको परीक्षा प्रणालीको बारेमा एक पटक बहस चलाउनु पर्ला भनेर शिक्षा पत्रकार समूहलाई अनुरोध गर्ने विचार गर्दैछु ।

प्रकृति अधिकारी, ईश्वरराज ढकाल, भवानीश्वर गौतम, प्रकाश सिलवाल, सूर्य पाण्डे, रुवि रौनियार शिक्षा लगायतका पत्रकारहरुलाई भेटेर त्रिविको परीक्षा प्रणालीको कथा सुनाउने सोच छ ।

अब मेरो अझै तीनवटा विषयको परीक्षा अर्को हप्ता सोमबार, बुधबार र शुक्रबार बाँकी छ । म त परीक्षाको लागि हिन्दी साहित्यको आदिकाल, भक्तिकाल, रितीकाल र आधुनिककालको सामग्रीहरु खोजेर पढ्दै छु ।

त्रिभुवन विश्वविद्यालय मानविकी संकायका डिन, सहायक डिन, परीक्षाका सहायक डिनसँग मेरो व्यक्तिगत सम्बन्ध छ । उनीहरुसँग टेलिफोन र कार्यालयमा गएर परीक्षा प्रणालीको अवस्थाको बारेमा बताउन सक्छु । तर, उनीहरुलाई पनि यो सूचना पुगिसकेको भएर होला, पहिलो दिनको भन्दा दोस्रो दिनको परीक्षा अलिकति कडा थियो ।

अब सोमबारको परीक्षा अझै कडा हुने र विद्यार्थीहरुले मोबाइल, स्मार्ट वाच र भुक्किएर लगेका चिज अर्थात चिट नहेरी प्रश्नको उत्तर लेख्ने वातावरण हुने आशा राखेको छु । तर, विश्वास गर्ने आधार छैन ।

यो लेख प्रकाशित भएपछि त्रिवि परीक्षा शाखा हेर्ने डिनलाई अवश्य पठाउने छु । हेरौं, सोमबार उनीहरुको आदेश र निर्देशनपछि विद्यार्थीहरुले चिट चोर्न पाउने अवसरलाई अलि कडा गर्नुहुनेछ कि ?


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button