
एक थिए राजा वीरेन्द्र
श्रीरामसिंह बस्नेत
आज जेठ १९ गते, अर्थात् नेपाली जनताले आफ्नो जीवनकालमा भोगेका सबैभन्दा त्राशदीपूर्ण घटना भएको मिति । सिङ्गै देश दुखेको अवस्था कस्तो हुन्छ भन्न्ने प्रत्यक्ष अनुभव २०५८ जेठ १९ गते राति देखि कैयौं हप्तासम्म नेपाली जनताले भोगेका थिए । देशभित्र मात्र होइन संसारका विभिन्न स्थानमा रहेका नेपाली र नेपालका शुभेच्छुक विदेशीहरुले समेत घोर आश्चर्य र दुःखको अनुभव गरेका थिए । त्यस अकल्पनीय र असहनीय घटनाको केही महिनापछि एउटा तालिम कार्यक्रमको सिलसिलामा यो पँक्तिकार दुई हप्ताका लागि बैंककमा थियो ।
नेपालबाट आएको भन्ने बित्तिकै मलाई त्यहाँ भेटिने प्रायःजसो विदेशी मित्रहरुको पहिलो जिज्ञासा त्यही घटनाबारे हुन्थ्यो । तर उनीहरुको जिज्ञासा मेटाउन सक्ने अवस्थामा म थिइन । अनेकौं कोणबाट उनीहरु प्रश्न गर्थे । युवराज दीपेन्द्रले गोली प्रहार गरेको भन्ने औपचारिक भनाईलाई पत्याउन कोही पनि तयार थिएनन्, न म आफैं विश्वस्त थिएँ । कोही भारतको षडयन्त्र हो कि भनेर सोध्थे, कोही शङ्काको सुई अमेरिकातिर पनि सोझ्याउँथे । एउटी थाई महिला त मसित कुरा गर्दागर्दै आँखाबाट बरबरी आशु झार्न थालिन् । राजारानी भने पछि हुरुक्कै हुने त्यतिखेरका थाई जनतालाई नेपालको राजपरिवारमा त्यस्तो घटना हुनु सोच्नै नसकिने दुखद आश्चर्य थियो ।
घटनाबारे तथ्य छानविन गर्न तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको अध्यक्षतामा उच्चस्तरीय समिति बनाइएको थियो । यस सन्दर्भमा दुई नेताको प्रवृत्ति उदाङ्गिएको थियो । समिति बन्ने बेलामा ‘ मलाई पनि समितिमा राख्नु, म छुटुला नि ’ भनेका नेकपा एमालेका तत्कालीन महासचिव माधव नेपाललाई प्रमुख प्रतिपक्षी नेताका हैसीयतले उक्त समितिमा राखिएकोमा पछि उनले सो समितिमा बस्न नमानेर बखेडा खडा गरेका थिए र अन्ततः प्रमुख प्रतिपक्षीबीना नै समितिले काम ग¥यो । समितिले काम सकेर प्रतिवेदन सार्वजनिक गरेपछि आयोजित पत्रकार सम्मेलनमा तत्कालीन सभामुख तारानाथ रानाभाटले अर्को नौटङ्की देखाए । दीपेन्द्रले हत्याकाण्डमा प्रयोग गरेको भनिएको स्वचालित बन्दुक उनले उत्ताउलिएर आफैंले उठाएर पत्रकारहरुतर्फ सोझ्याउँदै भटट… गोली चलाइयो भनी घटनाको अभिनय गर्दै अशोभनीय परिहास गरे । उनको यो अपरिपक्व र अमर्यादित कार्यको सबैतिरबाट यति आलोचना भयो कि उनको राजनीतिक जीवनको अवसान यहीबाट सुरुभयो ।
राष्ट्रिय वियोगको त्यस घटना भएको जेठ १९ गते शुक्रबारको रात साच्चि नै जीवनमा बिर्सन नसकिने रात थियो यस पँक्तिकारका लागि पनि । म त्यतिखेर राष्ट्रिय समाचार समिति ( रासस)को प्रमुख समाचारदाता थिएँ । समाचारका लागि हरक्षण चनाखो रहनु मेरो कर्तव्य थियो । घरमै थिएँ, राति करिव १० बजेतिर ल्याण्डलाइन फोन बज्यो । त्यतिखेर मोबाइल फोनको चलन आईसकेको थिएन । फोन गर्ने मेरो विभागीय प्रमुख प्रधानसम्पादक खिलध्वज थापाले सोधे, ‘दरबारमा गोली चल्यो रे, धेरै जना मरिसके रे हो ?’ मैलेमात्र होइन, कसैले पनि पत्याउने कुरो थिएन यो । त्यसैले कसैले चलाएको हावादारी कुरा होला भनेर उनलाई जवाफ दिएँ । एकछिन पछि फेरि अर्को फोन आयो र त्यस्तै प्रश्न सोधियो ।
तीन– चार जनाको यस्तै आशयको फोन लगातार आएपछि मेरो मनमा केही चिसो पस्यो । माओवादी हिंशाको बिगबिगी चलिरहेको समय भएकोले उतैतिर पनि आशङ्का हुनु अस्वभाविक थिएन । त्यसपछि मेरो तत्कालीन हाकिम राससका अध्यक्ष गणेशबल्लभ प्रधानको समेत फोन आयो । उनी नेपालका पुराना पत्रकार र पाका मानिस थिए । तर उनले पनि यकिन जानकारी पाएका थिएनन् । उनले ‘ दरबारतिर ठूलो विस्फोट भयो रे, केही थाहा पाउनु भयो कि ?’ भनेर मलाई सोधेका थिए । त्यसपछि मेरो सहकर्मी निर्मला आचार्यलाई फोन गरें । उनले पनि केही गाईगुईं पाएकी रहिछन् । यतिखेरसम्म राससको रातिको बुलेटिन बन्द भई सम्पादक साथीहरु घर फर्किसकेका थिए । मेरो फोनको घण्टी बजिनै रहेको थियो, सुत्न सक्ने अवस्था र मनस्थिति दुवै थिएन । यस्तैमा एउटा मित्रले फोन गरेर ‘सिएनएनले देखाइसक्यो’ भने । टिभी खोलेको त नभन्दै हो रहेछ । नेपाली सेनाको उच्चपदाधिकारीको हवाला दिंदै घटनाको प्रारम्भिक समाचार दिइरहेको थियो तर कुनै घटनाको दृष्य भने देखाएको थिएन, नेपाल सम्बन्धी केही स्टिल फोटो मात्र देखाएको थियो । दरबारसम्बन्धी कुनै पनि समाचार प्रमुख सम्वाद सचिवालयबाट पास भएपछि मात्र राससले दिने चलन थियो । त्यसैले अधिपछि गर्ने गरेको नम्बरमा फोन गरी सम्वाद सचिवालयमा सम्पर्क गर्न खोजें तर फोन उठेन । रात सिएनएन र बिबिसी टिभी हेरेरै बित्यो । विहान ५ नबज्दै रासस पुगें, अरु रिपोर्टर साथीहरुलाई पनि बोलाएँ । विहान ६ बजेपछि रासस समाचार कक्षबाट प्रमुख सम्वाद सचिवालयमा फेरि फोन गरी हेरें । तै फोन उठ्यो, हामीले समाचारका लागि सम्पर्क गर्ने गरेका अधिकारीले नै फोन उठाएका थिए । उनलाई मैले समाचारबारे जिज्ञासा राख्दा उनले दिएको उदेक लाग्दो जवाफ सम्झदा अहिले पनि अनौठो लाग्छ । उनले भनेका थिए ‘अरु कुरा छोेड्नुस्, तपाईहरु चार–पाँच जना कालोसेतो (राष्ट्रिय पोसाक)मा स्ट्याण्डबाई रहनुस् ।’ त्यसै गरियो, अरु उपाय थिएन ।
घटनाबारे अन्तर्राष्ट्रिय माध्यमबाट निरन्तर समाचार आईरहेका थिए तर देशभित्रका सञ्चार माध्यम भने मौन रहन बाध्य थिए । राजाको निधन भएमा युवराजलाई गद्धी आरोहण गराई नयाँ राजा धोषणा नगरी राजाको निधन भएको घोषणा नगर्ने परम्परा र राजपरिषदको नियमको मारमा नेपालका मिडिया परेका थिए । गोली लागी अचेत अवस्थामा सैनिक अस्पतालमा अन्तिम सास लिइरहेका युवराज दीपेन्द्रलाई राजा घोषित गरेपछि मात्र राजा वीरेन्द्र, रानी ऐश्वर्यलगायतको निधन भएको घोषणा गरियो । दीपेन्द्र राजा भएको समाचार दिइसकेपछि मात्र राजा,रानीको निधन भएको समाचार दिइयो । त्यसबारे पनि सम्वाद सचिवालयबाट कुनै आधिकारिक समाचार आएन, त्यसको लागि अनुरोध गर्दा ‘तपाईहरुले आफ्नै हिसावले रिपोर्टिङ गर्नुस्’ भनियो । त्यसपछि मैले नै भारी मन लिएर दरबार हत्याकाण्डको समाचार लेखें र राससबाट सम्प्रेषण भयो । त्यही समाचार गोरखापत्रको स्काई हेड ( मास्ट हेड भन्दापनि माथि विरलै मात्र दिइने समाचार) मा प्रकाशित भयो । त्यही समाचारमा मैले सो घटनालाई ‘अकल्पनीय’ भन्ने शब्द प्रयोग गरेको थिएँ । त्यस घटनाको सन्दर्भमा पहिलो पटक प्रयोग भएको यो ‘अकल्पनीय ’ शब्द नै पछि व्यापक रुपमा प्रयोग भयो ।
विहानदेखि राष्ट्रिय पोसाक लगायर ‘स्ट्याण्ड बाई’ बसेका रिपोर्टर साथीहरुसहित म पनि दीपेन्द्रको कथित ‘गद्धिआरोहण’, राजा– रानीको शवयात्रा र अन्येष्टी आदिको ऐतिहासिक एवम् गम्भीर रिपोर्टिङ सकेपछि रातिमात्र कामको तनावबाट मुक्त भइयो, तर मन भने पछिसम्म भारी नै भई रहेको थियो ।
शाही संहारका सन्दर्भमा केही कुरा अनौठा थिए भने केही अझसम्म अनुत्तरित नै छन् । त्यतिखेर प्रधानमन्त्री तथा राजदरबार मामिलासम्बन्धी मन्त्री गिरिजाप्रसाद कोइराला थिए । तर विश्व हल्लाउने त्यस घटना पछिका परिदृष्यहरुमा उनको निरिहता अनौठो थियो । उनी कुनै पनि निर्णायक भूमिकामा थिएनन्, घटनाबारे यथासम्भव छिटो उनलाई जानकारी दिन पनि कसैले आवश्यक ठानेनन् । उनी घटनाको भोलिपल्ट मात्र घटनास्थल पुगेका थिए ।
गोलीकाण्डमा घाइते भई जीवनमरणको दोसाँघमा पुगेका देशका राजा, रानी, युवराज, अधिराजकुमार, अधिराजकुमारी आदिलाई दरबारबाट पाँच मिनेटको दुरीमा रहेको देशको सबैभन्दा ठूलो र साधनसम्पन्न वीर अस्पताल नलगी झण्डै आधा घण्टा टाडाको छाउनी सैनिक अस्पताल किन पु-याइयो ? र त्यो निर्णय र त्यसलाई कार्यान्वयन गर्ने आदेश रगतको आहालमा डुबेको दरबारभित्र कसले ग-यो ? टाउको, छाती जस्ता महत्वपूर्ण अङ्ग जोगिएको तर तिघ्रामा मात्र गोली लागी रक्तश्राव भईरहेकी अधिराजकुमारी श्रुतिलाई किन बचाउन सकेन सैनिक अस्पतालले ? आफ्नो नाम नदिइकन घटनाको लगत्तै सिएनएन, बिबिसीलाई जानकारी दिएर संसारभर खबर फैलाउने ती ‘एक उच्च सैनिक अघिकृत’ को थिए ? तिनकोबारेमा नेपाली सैनिक प्रशासन जानकार थियो ? तत्कालीन प्रधानसेनापति प्रज्ज्वल शमशेर जबराले ‘दरबारको सुरक्षा हाम्रो ( नेपाली सेना) जिम्मेवारी होइन,दरबारको सुरक्षाका लागि दरबारभित्रै सेना छ’ भन्ने विवादास्पद र गैरजिम्मेवार जवाफ दिएका थिए । के नेपालका राजाले आफ्नो लागि बेग्लै सेना राख्ने चलन थियो त ? जबकि दरबारभित्रको सुरक्षाका लागि पनि सैनिक हेडक्वाटरले खटाएअनुसार नै नेपाली सेनाका अघिकृत तथा जवानहरु तैनाथ रहन्थे ।
राजा र राजपरिवारका सैनिक अङ्गरक्षकहरुको निकम्मापनको ज्वलन्त उदाहरण थियो दरबार हत्याकाण्ड । प्रधानसेनापतिबाट अवकास पाएपछि उनै जबरा फ्रान्सका लागि नेपालको राजदूतमा नियुक्त भए । कडा लागुपदार्थको सेवनले आफैंलाई सभाल्न नसक्ने अवस्थामा पुगेका कारण अरुले सहारा दिएर कोठामा लगेर सुताइएको भनिएका युवराज दीपेन्द्र फेरि तुरुन्तै कसरी स्वचालित हतियारलिएर रात्रिभोजस्थलमा पुगी गोली काण्ड मच्चाउन सफल भए ? मदिरा र कडा लागुपदार्थको कुलतमा फँसेका भनेर दरबारभित्र सबैलाई जानकारी हुँदाहुँदै दीपेन्द्रलाई स्वचालित हतियारसम्मको खुला पहुँच किन दिइएको थियो ? गोली काण्ड भएको मुख्य घटनास्थल त्रिभुवन सदन सरकारलाई समेत जानकारी नदिई हतार हतारमा किन भत्काइयो ? यस्ता कैयौं प्रश्नको सही जबाफ आएको छैन र सायद कहिल्यै आउने पनि छैन । त्रिभुवन सदन नभत्काइएको भए अहिले त्यो नारायणहिटी संग्रहालायको एक प्रमुख दर्शनीयस्थल हुने थियो ।
अब केही चर्चा गरौं राजा वीरेन्द्रकाबारेमा । नेपालका शाह राजाहरुमा पृथ्वीनारायण, त्रिभुवन, महेन्द्र र वीरेन्द्र विशेष उल्लेखनीय र स्मरणीय छन् । ती बाहेक अरु राजाहरु जनमानसको हेक्कामा छैनन् र हुनु आवश्यक पनि छैन । तर २०६२ पछि ती चार राजाहरुलाई उपेक्षा गर्ने दुष्चरित्र राजनीतिक वृत्तबाट देखाइएको छ । इतिहासलाई वर्तमानले अपमान ग-यो भने त्यसको मूल्य भविष्यले चुकाउनु पर्दछ । हिन्दुधर्मले राजालाई भगवान बिष्णुको अंश माने पनि राजाहरु मानिसनै थिए, भगवान थिएनन् । त्यसैले उनीहरुका पनि कमीकमजोरी, त्रुटी हुनु अस्वभाविक होइन । लेनिन,माओ,महात्मा गान्धी, नेल्शन मण्डेल जस्ता विश्व नेताहरुका पनि त्रुटी, कमी, कमजोरी थिए ।
राजा वीरेन्द्र खुला र उदार विचारका साच्चिकै शान्तिप्रेमी राजा थिए । उनीसँग प्रत्यक्ष भेटेर कुराकानी गर्नुअघि बाहिर उनको चर्को आलोचना गर्नेहरुले पनि उनीसित भेटेपछि आलोचना गर्न छोडेका थिए । २०४६ सालको जनआन्दोलन सफल भएपछि राजासँग वार्ता गर्न दरबार पुगेका नेताहरुले वार्ता पछि राजालाई आफूहरुले सोचेभन्दा धेरै सकारात्मक पाएको बताएका थिए । उक्त वार्ताका सहभागी नेपाली काँग्रेसका तत्कालीन सभापति कृष्णप्रसाद भट्टराईले राजालाई ‘थरो जेन्टलम्यान’ भनेर पत्रकारसमक्ष बताएका थिए । खुलामञ्चबाट राजालाई ‘श्रीपेच फुकालेर चुनाव लडन आउनु’ भनेर हुङ्कार गर्ने कम्युनिस्ट नेता मदन भण्डारीको पनि दरबारमा राजासँग कुराकानी भएपछि राजाप्रतिको दृष्टिकोण बदलिएको बताइन्छ । राजा वीरेन्द्र आमजनमानसमा लोकप्रिय थिए भने अन्तर्राष्ट्रिय जगतमा प्रतिष्ठित । २०४६ सालमा भारतले गरेको नाकाबन्दी र बहुदलको माग गरी चलेको जनआन्दोलनको दोहोरो चेपुवामा परेका कार्यकारी राजा वीरेन्द्रले भारतसँग झुक्नुभन्दा आफ्नै देशका नेताहरुसँग सम्झौता गर्न गरेको निर्णय उनको सुझबुझ र राष्ट्रप्रेमको ज्वलन्त उदाहरण हो । राजा वीरेन्द्रसम्म कुनै समस्या पुग्यो भने त्यसको उचित समाधान उनले दिन्थे । तर बाधा कहाँनिर थियो भने समस्यालाई उनीसम्म पुग्नै दिइदैन थियो । उनीसम्म यथार्थ कुरा पु-याउन बीचमा रहेका धेरै प्रक्रियारुपी पर्खालहरुलाई छिचोल्नु पर्दथ्यो, जो सहज थिएन । राजानै सर्वेसर्वा रहेका पञ्चायतकालमा पनि राजाले चाहेका कतिपय काम सम्पन्न हुन सकेका थिएनन् । यसको मुख्य कारण राजालाई घेरेर बसेका पँक्तिको प्रवृत्ति थियो ।
राजा वीरेन्द्रको मुख्य कमजोरी पारिवारिक मामिलामा थियो । राजपरिवारभित्र राजा निस्क्रिय र रानी ऐश्वर्य हावी थिइन । पत्नीब्रत हुन नसकेको आरोपमा आफ्नै कान्छो भाई धीरेन्द्रलाई रानीको दबाबमा श्री ५ अधिराजकुमारको पदवी खोस्नु राजाको ठूलो त्रुटी थियो । त्यतिखेर मुमा बडामहारानी रत्नले आफ्नी जेठी बुहारी रानी ऐश्वर्यसमक्ष हात जोडेरै धीरेन्द्रलाई त्यसो नगर्न अनुरोध गर्दा पनि रानीले नटेरेको कुरा दरबारका जानकारहरु बताउँछन् । राजपरिवारभित्र विग्रहको सुरुवात त्यही घटना देखि भएको थियो । अनौठो के थियो भने अधिराजकुमारसँग विवाह भएको कारण श्री ५ अधिराजकुमारीको पदवी पाएकी धीरेन्द्रकी पत्नी प्रेक्षाको सो पदवी पतिको पदवी खोसिएपछि पनि रानीको दबाबमा कायमै रहेको थियो । उनी रानी ऐश्वर्यकी कान्छी बहिनी थिइन । दरबार हत्याकाण्ड भएको केही समयपछि उनको पनि रारा तालमा भएको हेलिकोप्टर दुर्घटनामा आश्चर्यजनक रुपमा निधन भयो । युवराज दीपेन्द्रलाई सही अभिभावकत्व दिन नसक्नु पनि राजारानीको ठूलो कमजोरी थियो । राजा र युवराज अर्थात् बाबुछोराबीच नियमित भेटघाट, छलफल बीरलै मात्र हुन्थ्यो भन्ने दरबारीया जानकारहरु बताउँछन् भने रानी छोरा दीपेन्द्रमाथि अनावश्यक रुपमा कडा नियन्त्रण राख्न खोज्थिन,जो प्रत्युत्पादक हुनगयो । राजगद्धीका उत्तराधिकारी युवराज छोरालाई ३० वर्षको उमेरसम्म पनि अविवाहित नै राख्नु र विवाह गर्ने कन्याबारे अवाञ्छित दबाब दिनु कुनैपनि दृष्टिले उचित थिएन । २०४७ को संविधानबाट राजा वीरेन्द्रले कार्यकारी अधिकार छोडी संवैधानिक राजा मात्र भएर बस्न सहमत भएकोमा पनि राजपरिवार उनीसित खुशी थिएन । नेपालका यी दुई असाधारण घटना दासढुङ्गा र दरबार हत्याकाण्डको यथार्थ पत्ता लाग्न अब असम्भव हुँदै गएको देखिन्छ ।
तर आज २१ वर्षपछि पनि ‘राजा वीरेन्द्र’ भन्ने सन्दर्भ कतै आउँदा जोसुकै नेपालीको मनमा पनि उनकै त्यो हँसिलो मुहारको झझल्को आउन छोडेको छैन । राजा वीरेन्द्रलाई देख्ने र जान्ने जोसुकैले पनि जीवनभर उनलाई बिर्सन सक्ने छैनन् । उनको अवसानपछि जन्मिएकाहरु पनि अब त २०÷२१ वर्षका युवा भईसके । उनीहरुले इतिहास र आफूभन्दा अग्रजका माध्यमबाट भएपनि राजा वीरेन्द्रकाबारेमा यथेष्ठ जानकारी राख्नु आवश्यक छ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)


