स्वस्थानी अर्थात नेपाली समाजको चित्र
अनिता कोइराला
माघ महिना जाडो निकै चम्केको छ । हिउँ परेर जीवन कठ्यांग्रिएएको छ। पानी चिम्टाले समात्नु पर्ने अनि आगो हातले छुनु पर्ने बेला साखुँमा भने कयौं धर्मावलम्बीहरु खुट्टाको जुत्ता र मोजा खोलेर चिसो भुइँ टेक्दै, एक छाक मात्र खाएर, जम्न लागेको पानीमा चुर्लुम्म डुबुल्की मारेका छन् । वास्तवमा स्वस्थानीको व्रतले हामीलाई संघर्षको तालिम दिएको छ । के पुरुष के स्त्री, सबैले यो कठिन साधन बर्षमा एक महिना मात्र पालन गर्न सके शरीर र मन खारिन्थ्यो कि ?
उत्तर र दक्षिण कोरियामा हाइस्कुलपछि एक बर्षको सैनिक तालिम सबैले लिनै पर्छ रे । केही हदसम्म हाम्रा धर्म संस्कृतिहरुले पनि हामीलाई थोरै भए पनि सैनिक तालिम दिएको झैं लाग्छ । तर बिड्म्बना महिलाहरुका लागि मात्र । भोक, प्यास, जाडो केही नभनी आफनो ईच्छा माया मारेर नियममा बाँधिनु सानो कुरा होइन । सानैदेखि मैले पनि स्वस्थानी कथा सुन्दै आएको छु । पढेको छु, पूजाआजा गरेको छु । बाल्यकालमा सुनेका स्वस्थानीका कथाले मस्तिष्कमा बेजोडको कल्पनाशक्ति विकास गर्थ्यो । कथाहरु मस्तिष्कमा दृश्य बनेर नाच्थे । कति कथाले मलाई रुवाउँथ्यो । कतिले हँसाउँथ्यो । कतिले जीवन जिउने काईदा सिकाउँथ्यो । कति कथाले सानो मस्तिष्कमा उथलपुथल ल्याउँथ्यो । त्यो बेला पनि स्वस्थानीको व्रत प्रायले लिन्थे ।
गाउँमा अर्कै उत्साह हुन्थ्यो । मनोरञ्जनको धार्मिक उत्सव नै हुन्थ्यो। सबै जातजातिहरुको साझा पर्व थियो । कमलाको किनारमा अवत सुन्दर बगैंचा नै थियो हाम्रो गाउँ । कमलाको पानीमा डुबुल्की मारेर नित्य मध्याह्न कालमा महादेवको पुजा अर्चना गर्थे । साँझ एक ठाउँमा झुरुप्प जम्मा भएर रमाइलो वातावरणमा कथा वाचन हुन्थ्यो । सत्यराज पहाडी, (गायत्रीको बा) कथा वाचनमा अब्बल थिए । साँझ बत्ती बालेपछि प्रसाद बोकेर दगुरी हाल्थें, गायत्रीको घरतिर । मेरो घरमा सबैथोक थियो तर गायत्रीको घर निकै प्यारो लाग्थ्यो ।
सायद सत्यराज पहाडीले मेरो बालमस्तिस्कमा साहित्यको चस्का लगाएका थिए । हामी केटाकेटीहरुलाई अँगेनाको वरिपरि राखेर झ्याम्टे भुत, सुनकेस्री रानी, राँके भुत र कयौं दन्त्य कथाहरु सुनाउँथे । कथा सुन्दा मलाई सिनेमा हेर्या झैं लाग्थ्यो। हरेक सांझ कथा सुन्न गायत्रीको घरमा हामी जम्मा हुन्थ्यौं । मलाई मेरी दिदीले घरमा नदेख्दा सोझै गायत्रीको घरमा लिन आइपुग्थी । कथा मन पराउने हामीलाई माघ महिना त झन पर्व नै हुन्थ्यो । आआफ्नो घरबाट सबैले प्रसाद बनाएर लिएर जान्थौं ।
हरेक बर्ष सतीदेवीको कथाले भित्रभित्र हल्लाउँछ । के एक पिताले आफ्नै ज्वाइलाई सबैका सामु कुवाच्य बोल्न सक्छ ? त्यत्रो निन्दा गर्न सक्छ ? छोरीको भावनालाई गलत्याउँन सक्छ ? कस्तो पिता थियो होला दक्ष प्रजापति ? फेरि सोच्न पुग्छु । कि यो कथाले हामीलाई अर्कै सन्देश दिएको छ ? सतीदेवीसँग रमाइलो गरेर बसेको बेला सदा शिवलाई पूर्वानुमान थिएन होला र दक्षप्रजापतिको यज्ञमा हुन लागेको अनर्थको ? सतीदेवीको कथा एक युगको मात्र होइन रहेछ । कुनै कथा युगयुगान्तरसम्मको लागि हुँदोरहेछ । आफ्नै पिताले ज्वाइको हैसियत हेरेर ब्यवहार गरेको देखाएको छ । अरु छोरी ज्वाइँ, सुन, हिरा मणिमााणिक्यँले सजिएका हुन्छ्न् । शरीरमा चन्दन र अत्तर छर्केर दक्ष सभाको शोभा बढाएका हुन्छ्न् तर त्यो सभामा महादेव नङ्गा झैं लाग्छ, दक्ष प्रजापतिलाई । यो कथाले आजको समाजको चित्रण गरेको छ ।
भौतिकवादले हिजो पनि समाजलाई जकडेको रहेछ, आज पनि छ र भोलि पनि रहने छ । धनभन्दा विद्या ठूलो भन्ने बहस कक्षा कोठामा मात्र सीमित छ । सबैभन्दा माथि ज्ञान निरर्थक भएको छ । ब्यक्तिभन्दा वैभव सम्मानित थियो, छ र अझ हुने छ । आजको पुँजीवादी समाजको यथार्थचित्रण गरेको छ कथाले । नारी मनोविज्ञानलाई पनि उजागर गरेको छ । जब आकाश मार्गबाट हाँस्दैखेल्दै हिडेका आफन्तहरु सतीदेवीले देख्छिन्, नबोलाएको ठाउँमा पनि सतीदेवीलाई जाउँ जाउँ लाग्नु । सतीदेवीको चेतना स्तर बिराट थियो । तर, हाम्रा लागि यो कथा कथिएको हो । सतीदेवी यो समाजको प्रतिनिधि पात्र मात्र भएर सम्झाउन खोजेको मैले अनुमान गरें । माइतीले गरेको अपमान सहन नसकेर मृत्यु रोज्न पुग्ने नारी कदापि होइन सतीदेवी । हामी हो त्यो सतीदेवी ।
कथाले सम्झाउँछ आफ्नै घरमा रमाउन सिक । नारी हृदयको विशालता, प्रेम, करुणा र संवेदनालाई राम्रोसँग झल्काएको छ । कथामा महादेवले सतीदेवीलाई सम्झाउँछन्, तिमी आफ्नो मानमा बसेकी त्यहाँ अपमान होला । म मन नपरेको ज्वाइँ तिमी नरुचाएकी छोरी । जानी हठ नगर । यो संवादले पुँजीवादी समाजमा बाँचेका तमाम परिवारलाई सोच्न बाध्य बनाएको छ, नबोलाएको ठाउँमा नजानु । जहाँ मान हुदैन, त्यहाँ नजानु । जहाँ बौद्धिकताको कदर छैन, त्यहाँ चुप लाग्नु, मुर्खसँग सतर्क हुनु । मुर्खसँग बहस नगर्नु भन्ने अर्थ लगाएँ । सतीदेवीले आफ्नो पिताको बौद्धिक स्तर नापेर मात्र सबैका सामु, महादेवलाई नडाक्नुको कारण सोध्नु पर्थ्यो । जसलाई सभामा कस्तो व्यवहार गर्नु पर्छ, कतिसम्म बोल्नु पर्छ त्यो नै थाहा छैन भने त्यस्तो मान्छेसँग संवाद गर्नु अर्थहीन हुने रहेछ । विनाशकारी हुने रहेछ । कि त अपमान सहन सक्ने हुनु पर्छ । होइन भने चुपचाप लाटो झैं हुनु पर्छ । सतीदेवी जस्तो छोरीले अपमान सहन नसकेर यज्ञ कुन्डमा प्राण त्याग गर्नु परेको सन्दर्भ निकै गहकिलो छ ।
शिव र पार्वतीको अर्को कथा पनि सर्सर्ती पढ्दा सामान्य लाग्छ तर गहिरिएर पढ्ने हो भने हाम्रो चेतना फराकिलो हुन्छ । कथामा जब शिव किँरातको रुप लिएर बन बिहार गर्न जान्छन्, त्यहाँ पार्वती पनि पुग्छिन् । अत्यन्तै राम्री किराँतिनीको रुप लिएर, शिवको चरीत्र बुझ्न । शिव जस्तो उत्तम पुरुषको चरित्र बुझ्नु पर्ने आवश्यक्ता पार्वतीलाई पक्कै थिएन । फेरि शिवजीलाई ती सुन्दरी पार्वती नै हुन भन्ने थाह थिएन होला र ? गहिरिएर सोच्ने हो भने, हामीलाई बुझाउन, सचेत गराउन यो धार्मिक कथा लेखिएको हो ।
त्यो समयमा आजको समाज लेखकले छर्लङ्ग देखेका रहेछन् । भगवान जस्ता पति पनि भ्रष्ट हुन सक्छ्न । ईश्वर जस्तो पुरुष पनि कामको अगाडि लाचार हुँदै विवेक गुमाउन सक्छन् । पर स्त्रीलाई छुन जान सक्छन् । घरमा श्रीमती हुदाहुदै पनि राम्री केटी पाए जुन उमेरमा पनि अर्को बिहे गर्न सक्छन् भन्ने सन्देश यो कथाले दिएको झैं लाग्छ । शिवजीको पछि लागेर हिडेका ऋषि पत्निहरुलाई देखेर । समस्त नारी जातिलाई रिसाउँदै ऋषिहरुले श्राप दिएको प्रसंग पनि आज सिद्ध भएको छ ।
रावणले पार्वतीलाई लिएर लंकातिर हिँडेको कथा पढ्दा मलाई खुब हाँस उठ्थ्यो । रावण प्रकाण्ड विद्वान हुनुका साथै शिवको ठूलो भक्त थिए । त्यस्ता विद्वानले शिवलाई सुखी पारेर पक्कै पार्वती मागेर हिडेनन् होला । सतीदेवीको मृत शरीर पनि पिठ्युँमा बोकेर बौलाहा भएर हिँड्ने शिवजीले परपुरुषले मागेकै भरमा आफ्नी श्रीमती पक्कै जिम्मा लाएनन् होला । जिम्मा नै लगाएका भए पनि कसरी पार्वती खुरुक्क रावणको पछि लागेर गइन होला ? पार्वतीलाई शक्तिको रुपमा आरधना गर्छौ । कसरी त्यति कमजोर भइन होला र ? पतिले अरुलाई लौ लैजा भनेर दिदाँ सरक्क जाने ? पार्वती न कुनै बस्तु थिइनन् न खेलौना नै ।
मलाई यो कथाले सोच्न बाध्य पार्यो । आजको समाजलाई यो कथाले पुनः चित्रण गरेको छ । कलिकालमा महिलालाई वस्तुसरह बेचबिखन गरिने छ । के पिता के पति, के भ्राता, के गुरु, के मित्र विश्वास कसैको हुने छैन । कतै वस्तुको रुपमा नारीको किनबेच हुने छ । कतै स्वागतको रुपमा भेट गरिनेछ । नारी शक्तिशाली हुनु पर्छ नत्र भने आफ्नाले नै बेचेर खान सक्छ्न् भन्ने सन्देश दिन खोजेको अर्थ लगाएँ । कसैलाई खुसी पार्न वा अरुले आफुलाई खुसी पार्दा श्रीमती पनि अरुलाई जिम्मा लगाउन सक्छन् भन्ने शिक्षा कथाले दिएको छ । शिव खुसी भएर रावणलाई पार्वती जिम्मा लागाएको प्रसंग निकै गम्भीर लाग्छ मलाई ।
वृन्दाको कथाले मलाई निकै रुवाएको छ । पुरुषको अहंकारका कारण पतिब्रता स्त्रीलाई पनि छल गर्न नछोड्ने, सत्य डगाउने । यो कस्तो खेलको उदाहरण दिएको छ हाम्रो ग्रन्थले । राक्षसलाई परास्त पार्न भगवानलाई पनि नारीको अस्मिता नै लुट्नु पर्ने । भगवान र राक्षसमा कुनै अन्तर नै नहुने । कथामा छल गरेर वृन्दाको सतीत्व स्वयं नारायणले लिएको उल्लेख गरिएको छ । कसैको श्रीमती राम्री छ भनेको सुन्दैमा त्यसलाई भोग गर्नै पर्ने मानसिकता दर्शाएको छ । यो कुन समयको कथा हो ? जालन्धर र बिष्णुमा कुनै अन्तर छैन । पार्वती राम्री छन् भन्ने कुरा थाहा पाउने बित्तिकै जालन्धर पार्वतीलाई छ्ल्न जान्छ । भगवानजस्ता पुरुषले पनि नीति नियम र अनुशासनको पालना गर्नु नपर्ने ? म फेरि चिन्तन गर्ने गर्छु । के साँच्चै बिष्णुले बृन्दाको सत्य डगाएकै हुन त ? कि यो कथाले आजको अस्तब्यस्त समाजको घिनलाग्दो अवस्थालाई चित्रण गरेको छ । आजको युगलाई सुहाउँदो कथा छ बृन्दा र जालन्धरको ।
हाम्रो समाजमा कयौ बृन्दाहरु जालन्धर र बिष्णुको चपेटामा परेर आफ्नो सतित्व गुमाउन पुगेका छ्न् । कयौंले देह त्याग गर्न पुगेका छन् । जिउँदै जलाईएका छन् । भोग गरेर पछि पनि बीभत्स र निर्मम तरिकाले हत्या गरिएका छन् । स्वस्थानी कथाले आजको समाजलाई छर्लङ्ग देखाएको छ । सांकेतिक रुपमा महिला हिंसालाई उजागर गरेको छ ।
विज्ञानको चमत्कारबाट जन्मिएका गोमा र गणेशको कथा निकै रोचक लाग्छ । भगवानले मात्र गर्न सक्ने काम आज मानवले गरेको देख्दा मख्ख पर्दै हाम्रो पुराणलाई नमन गर्न मन लाग्छ । विज्ञानको चमत्कार पुराणमा उल्लेख गरिएको रहेछ । सानोमा म सोच्ने गर्थें, शिवले कसरी हात्तीको टाउको गणेशमा जोडे होलान् ? माटोले बनाएको सुगाको टाउको जोड्न नसक्दा कतिचोटि शिवजीसँग रिसाएको छु । कसरी मयलबाट जिउँदो गणेश बनाए होलान् भनेर चकित भएको छु । कसरी गोबरबाट गोमा तसलामा उत्पत्ति भइन होला ? लड्डु कसरी सुन भयो होला ? मैले पनि छोपेर सात दिनसम्म गणेशजीले भन्याझैं, लड्डु लुकाएको छु, सुन नभएको देखेर रोएको छु । कथा कति सशक्त हुन्छ है केटाकेटीमा सोच्न नसक्ने काम ? आज विज्ञानले केही हदसम्म बुझ्नसक्ने बनाएको गोमा कसरी सात बर्षमा ब्यबहारिक भएकी होली ? विहेको राती आफ्नी आमालाई सम्झाएको वार्तालाप निकै मार्मिक छ । नारीलाई शिक्षा दिनसके असम्भव केही छैन भन्ने अनुमान गोमाको बौद्धिकताले दिन्छ ।
सतरी बर्षको केटा र सात बर्षको बालखको विवाहले अनमेल र बाल विवाहको परिचय दिन्छ । दुख र गरिवीमा परेकी सासुलाई छोडेर चन्द्रावती माइत जानु, सासु धनी भए पछि मात्र घर आउनु आजको समाजको चित्रण हो । सासु आमा पनि पृथ्वी हो भन्ने सन्देश गोमाबाट लिन सकिन्छ । गोमालाई त्यस्ती बुहारी हुँदा पनि कुनै गुनासो छैन् । बुहारीलाई मान सम्मान दिन्छिन् । छोरा राजा भएपछि लिन पठाउँछिन् । यो कथाले गोमाको विशाल हृदयको अनुशरण गर्न हामी सबैलाई प्रेरित गर्छ ।
चन्द्रावतीले अहंकार गर्दा निकै दुख पाएको कथा छ । सबैलाई सम्मान गर्नु पर्ने र कुनै पनि कुरा प्राप्त गर्न हतार गर्नु नहुने र सेवकहरुलाई हेंला गर्नु नहुने सन्देश कथाले दिन्छ । लावण्यवती र चन्द्रावतीलाई सम्पुर्ण दरवारको साँचो सुम्पेर बृद्धअवस्थामा आफैमा रमाउनु पर्ने आत्मज्ञान दिँदै कथा समाप्त भएको छ । वास्तवमा स्वस्थानीको कथा आजको युगलाई सुहाउँदो छ ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)