अन्नपूर्णः बेसक्याम्प पुग्दापुग्दै किन भटाभट लुगा फुकाल्न थाले पर्यटकले ? (५)

गन्तव्यमा पुग्दाको खुसी

जयनाथ भण्डारी

भोलिपल्ट एमबीसीबाट त्यो पदयात्राको अन्तिम गन्तव्य अन्नपूर्ण बेसक्याम्प थियो । त्यहाँको मौसमी अवस्थाले गर्दा बेसक्याम्प पुगेर एमबीसीमै बास फर्किने निधो भएकोले त्यहीअनुसार तयारी गरियो ।

राधाले किचनको कुनामा मेट्रेस ओछ्याएर हाम्रा लागि सुत्ने व्यवस्था मिलाइदिइन् । त्यो ठाउँ अटसमटस गरेर राम, बुद्धिमान मनोज र मलाई मात्र पुग्ने भयो । स्टाफ र भरियाहरू भने बाहिरकै चिसो टेन्टमा सुते ।

पर्यटक मजदुर विशेषगरी ट्रेकिङ मजदुरहरूको लागि भने त्यो बेला कसैले पनि सुत्ने बस्ने व्यवस्था गरेको हुँदैनथ्यो । उनीहरू जस्तोसुकै अवस्था होस्, ओढार, पहरा वा प्राकृतिक छादन, त्यो पनि नभए खाली आकाशमुनि नै रात गुजार्नु पर्ने बाध्यता थियो । उनीहरुसँग पनि न राम्रो ओढो, कपडो नै थियो ।

भारीकै धाप, धपडीको र थकानको भरले निदाउन बाध्य । त्यो बेला हाम्रा स्टाफहरूको नि त्यही दशा वा त्यही रीतको भागीदार नबनेर सुखै थिएन । भोलिको गन्तव्य लागि सबेरै उही बोझ उठाँउदै उकाली ओराली, विकट पहाड, भन्ज्याङ छिचोल्न हाजिर हुनैपथ्र्यो । कस्तो चुनौतिपूर्ण र कहालीलाग्दो जीवन ।

मेरो जीवनमा पहिलो पटक सबैभन्दा उचाईमा पुग्ने दिन । सबेरै गाइड दाइले भनेकै बेला सबैजना तयारी भईयो । अन्नपूर्ण बेसक्याम्पसम्म लगभग दुईदेखि तीन घण्टासम्मको उकालो छिचोलेर ४१३० मि. सम्मको उचाईमा पुग्नु थियो । राम दाइले अघिल्लो दिन यी सबै कुरा बताएका थिए ।

गाइड हुनु पनि त्यति सजिलो काम थिएन । गाइडले हरेक अवस्थामा पाहुना, स्टाफ र मजदुरहरूलाई त्यही रूपले तयारी रहन प्रेरित गर्न र सेवामा जुट्न, डर त्रासबाट जोगाई साहस भरिदिन, हरपल आफु पहिला दृढसङ्कल्पित हुनुपर्ने । सबैलाई सुरक्षित र खुसी पार्नु पर्ने । यसका लागि आवश्यक अध्ययन, अनुभव तथा अभ्यास र चतुर्याई पनि । चतुर्याई त राम दाइमा छँदै थियो ।

सबेरै मेम्बरहरू टाउकोमा बत्ती बालेर योद्धाजस्तै बाहिर निस्किए । भरिया र स्टाफहरू चाहिँ त्यो दिन केही किचन स्टाफबाहेक सबै क्याम्पमै बस्ने भए । म भने सधै जस्तै सामान्य अवस्थामा थिएँ । आवरण मेरो सामान्य भएता पनि मानसिकरूपले साहसिक र पुरै तम्तयार थिएँ । हिउँले सबैतिर छपक्कै ढाकेको थियो । हिउँले ढाकेको बाटोमा हिँड्दा कुनै कुनै ठाउँमा जिउ पुरै भासिन खोज्थ्यो । मिरमिर उज्यालो पोखिन थाल्यो, सँगै हिमालका चुलीहरू खिसिक्क हाँस्न थाले । पाहुनाहरू क्यामरा निकालेर क्लिक क्लिक गर्न थाले । रिता प्राय मसँगै हुन्थी ।

जय, क्यान यू पास मी द वाटर बोटल फर्म द साईड पोकेट अफ माई ब्याग ?

वसन्त याम भए पनि मौसमी तापमान शुन्यभन्दा तल थियो । त्यस्तो अवस्थामा पनि उसलाई तिर्खा लाग्यो ।

टोपी, रेयो, आईरी, मनोज र राम अलि अगाडि बढिसकेका थिए । हामी नौ दश जना हिमालको त्यो प्रलय हिउँ छिचोल्दै अघि बढ्दै गर्दा गति थोरै मन्द हुन पुग्यो । बिसाउने थुम्काहरू पनि थिएनन् । ठूल्ठूला चट्टानहरु पनि आधा पुरिएका थिए, बिसाउने ठाउँ कतै भटिदैनथ्यो । तैपनि उकालोमा बिस्तारै पाइलाहरू चलिरहे । कोही कोही बेला उकालोमा चिप्लो र चिसोले खुट्टाहरू गलेर थरथराउन थाल्दथे, हात झमझमाउँथे, दाँत कट्कटाउँथे र बोली लरबराउँथ्यो ।

त्यस्तो चिसोमा पनि कोही गर्मी भयो भन्दै लुगा फुकाल्दथे । त्यो दख्दा मलाई उदेक लाग्दथ्यो ।

खुट्टोले भर नदिँदा लडिन्थ्यो पनि । रेयो धरै चोटि लड्यो । भाग्यले उसको हातखुट्टा र नाक भने जोगियो ।

मौसमले अस्थिरता देखाइराखेको थियो । कोही बेला आकाश खुल्ने, कोही बेला बादल आएर ढपक्क ढाक्ने गर्दै थियो । अप्ठ्यारो उकालो कटिसक्दा सबैजना लखतरान भईसकेका थिए । अलि बस्न सकिने सजिलो ठाउँ खोजेर सबैजना थकाइ मार्न लागे ।

बादल हटेको बखत हिउँले भरिएका चुली र पाटाहरुमा बिहानी लालीमा छरिन थाल्थे र चुलीहरू लजाउँदै मसक्क हाँस्न थाल्थे । त्यसरी मसक्क मस्किरहँदा उडिरहेका बादल रूपी पछेउरीेका सप्काहरूले छपक्क छेकिदिन्थे । त्यस्तो हुँदा मन सम्हालिनसक्नु हुन्थ्यो ।

अझै सबैका पाइला लोलार्ई नै रहेका थिए, चिप्ले किरा झै सबै जना घिस्रिदै अघि बढ्न थाले । सानो उकालो कटेपछि तेर्पाय शुरु भयो । उचाईमा लेक नलागोस् भनेर थकाइ मार्दै अगाडि बढ्दै गर्दा हिउँले नढाकेको बडेमाको ढुँगो अघिल्तिर देखाप-योे ।

रामदाइ भन्दै थिए कि “बल्ल हामी यहाँ आईपुगे छौं, यसपछि बाटो सजिलो छ, धेरै उकालो पनि छैन, धरैजसो तेर्पाय छ । लगभग एक घण्टामा त एबीसी पुग्छौं ।”

उनले पाहुनालाई इशारा गर्दै उनको आफ्नै शैलीमा भने, “इस्कुक मी, वन आवर एबीसी ।”

“ल ल हेर, उ त्यो ठूलो ढुँगाको उत्तरपट्टी छाप्रो जस्तो देखिन्छ नि, त्यही हो अन्नपूर्ण सेन्चुरी” भनेर औल्याँउदै देखाए ।

मनोजः “ए ए दाइ, त्यही ठाउँ हो हामी जाने ?”

रामः “अँ, हो ।”

त्यो देखेपछि मेम्बहरूको सजिलै पुगिने आशाको किरण छरिएर उनिहरुको मुहारमा कान्ती छायो ।

“ओ के, धेरै टाढा रहेनछ” भन्दै सबैले पाइला चाल्न थाले । जब ठूलो ढुँगा कटेर अगाडि चउरमा पुगियो, रहस्यमय तरिकाले सबैको गतिमा तिब्रता आउन थाल्यो । यात्रीहरू उत्कट आनन्दका साथ अलकापुरीमा नाचगान गर्दै गरेका अप्सरा जस्तै झुम्न थाले । उनीहरूको बोली पनि लयबद्ध सुरिलो गीत जस्तै लाग्न थाल्यो । हिमालहरू पनि नर्तकीलार्ई जिस्क्याउँदै गरेका जोक्कर जस्तै देखिने, कोही बेला राजसी ठाँटमा अप्सराहरूसँग मोहित भएर लट्ठीए जस्तै पनि लाग्दथे । एउटा घनिभुत आकर्षण, अद्भूत आनन्दको अनुभूति गर्न सकिने । यही भएर होला, त्यो ठाउँलाई अन्नपूर्ण सेन्चुरीको नामले चिनिएको ।

तुरुन्तै बादलको फेरोले छोपी हाल्यो त्यो अलकापुरीलाई । बादले छोप्दा सन्नाटा छायो, मनमा विग्रह, अनि गतिमा आलस्यता बढ्यो ।
अन्तिम गौडो आईपुग्यो । सबैलाई एउटा छटपटहाट र अधैर्यता, हतारो । जस्तो कि लामो यात्रा सकेर घर आईपुग्दा दैले ठेलो कट्ने बेला यात्रीलाई हतार हुँदा हत्त न पत्त दैलोबाट खुट्टा भित्र्याउने मन भए जस्तै कुतकुति हुने । रेयो र टोपी हतारहतार गौडो कटेर हात हल्लाउँदै सबैलार्ई उत्साह भरिदिने काम गर्दै स्वागत गर्दै थिए ।

रितालाई अलि श्वास प्रश्वासमा कठिन हुन थालेकोले पछिपछि हिँडिरहेकी थिई भने उसको पछि म । जसलाई मेरो सहायताको खाँचो पर्छ उनीहरूकाल ागि म हाजिर हुनु पथ्र्यो, त्यो मेरो ड्यूटी, त्यो मेरो जागिर थियो ।

उनीहरूलाई मैले साहस भरिदिने, आत्मबल बढाई दिने प्रयास गर्दै थिए । अब थोरै त हो, जम्मा–जम्मा दुई मिनेट, वा दुई पाइलाको उकालो त हो । तिमीले यतिका कठिनाई त झेलिसक्यौँ भने यो यी यत्ती छ, दुई पाइला त तिमीले सजिलै पार लगाउन सकिहाल्छौ नि । तिमी यो संसारको बहादुर आईमाई, बहादुर छोरी, बहादुर मान्छे भन्दै फुक्र्याउँदै र खुसी बनाउँदै गौडो उक्लिने साहस भर्न सहयोग गरिरहेँ ।

माथिबाट गाइड रामले पनि यता सजिलो छ भन्दै सजिलो खुड्किलो देखाउँदै थिए ।

लक्ष्य प्राप्तीको त्यो क्षण, अन्तिम खुड्किलो उक्लेपछि जिन्दगीको एउटा महान विजय यात्राको सफलता चुली पुगिन्थ्यो । अन्तत सबैलाई सफलताको चुली प्राप्त भै छोड्यो । त्यही बेला सम्पूर्ण सेन्चुरी खुल्यो देख्दा प्राकृतिक सौन्दयको सँग्राहलय लाग्दथ्यो । हिमालहरु विजयी यात्रीहरुको स्वागतार्थ मुस्कुराए जस्तै लाग्दथ्यो ।

विजयोत्सव शैलीमा सबैजना त्यहाँको सौन्दर्यसँग साक्षात्कार हुनथाले र विजयोत्सव कसरी मनाउँछन् भन्ने पहेली थाहा पाउन मुस्किल भएको बेला टोपीले ज्याकेटको भित्री खल्तिमा हात घुसाए । अनौठो खालको एउटा बोतल निकालेर मलाई ईशारा गर्दै भने, “जय, वी सेलेब्रेट आवर मोमेन्ट अफ ह्याप्पीनेस विद दिस स्पेशल टिचरस ह्विस्की ।”

उनीहरुको आशय कि त्यस यात्राको अन्तिम गन्तव्यसम्म आउन सफलता मिलेको उपलक्ष्यमा एक सीप ह्वीस्की पियर उत्सव मनाउने भन्ने थियो ।

बिर्को खोलेर त्यसैमा ह्वीस्की भरेर पहिला मलाई लिन भने । म अलि हच्किएँ, पहिला तिमीहरूले लेउ न, त्यसपछि म लिउँला भनेँ । उनीहरूले भने, तिमी हाम्रो लागि महत्वपूर्ण हौ, तिमीविना हामी यो ठाउँसम्म आउन सम्भव थिएन । तिमीले हरपल हामीलाई साथ दियौ । त्यसैले हामी चाहन्छौँ कि तिमी पहिला लेउ ।

यसरी सम्मानले दिएको कुरालाई किन नलिने ? मैले हात बढाएर बिर्को उठाउँदै अलक्क ठाडो घाँटी लगाइदिएँ । अनि सबैले त्यसरी नै लिए, चेयर्स भन्दै । बेहदको खुशी छाएको थियो त्यहाँ ।

त्यो क्षण राम, मनोज र आईरी र हामीसँग आएका थिएनन् । लजमै थकाइ मार्दै थिए उनीहरू । स्टाफहरु लजमै लन्चको व्यवस्था गर्दै थिए ।

राम दाइले बोलाए, जय, त्यहाँ भएका हाम्रा मेम्बरलाई लिएर आईजा टि, ड्रिंक्स र लन्च सबै रेडी भयो ।

“लन्च रेडी ।”

पाहुनाहरूलाई लन्च तयार भएको कुरो बताएँ ।

टोपीले यो कुरो सबैलाई उनीहरको फिनिस भाषामा बतायो । रेयोले “एक्कै छिन अन्तिम फोटो लिन्छु अनि तिमिहरू जादै गर म आई हाल्छु” भनेर डिलतिर कुद्यो । आकाशको बादल पनि सररर फाटेर हिमाल घुम्टोबाट निस्किएर झलमल्ल देखिए, रेयोलाई ल हाम्रो फोटो खिच भने जस्तोगरी पन्ध्र बिस सेकेण्ड देखिएको त्यो सेन्चुरी, त्यो स्वर्गीय स्वप्न बगैचा फेरि बादलको घुम्टोले ढकमक्क ढाक्यो ।

हत्केलामा ज्यान

लन्च खाएपछि हजारौँ हिउँका भड्खाराहरूमा भास्सिँदै निस्कदै सबैजना ओरालो पाइलो लाग्यौँ ।

माथि जानुभन्दा ओरालो जानु निकै जोखिमपूर्ण थियो । त्यो ओरालो कसरी कटियो, कति बल्ड्याङ लडियो, सबै सम्झेर साध्य भएन । सबै जना शिकारीले लखेटेको मृगसरी थाकियो, त्योबाहेक सबै सकुसल नै क्याम्प पुग्यौं ।

जुन उद्धेश्य (अन्नपूर्ण बेसक्याम्प पुग्ने) थियो, त्यो पुरा भएपछि जुन बाटो माथि आएका थियौँ, त्यही बाटो ओरालो लाग्नु थियो । दिन पनि धेरै बाँकी थिएन, त्यसै जति कस्यो उति छिटो तल झर्न पर्ने थियो ।

एमबीसीबाट सबै आ–आफ्नो पोको पन्तुरो बोकेर आरालो झरियो । बाटो उत्तिकै चिप्लो, धारीलो तिखो चुच्चो भएका, ठडिएका पेचिला ढुँगामाथि टेक्दै हिँड्दा जीउ सिरिङ्ङ हुन्थ्यो । जीवन हत्केलामा राख्नुपर्ने थियो । यदि पाइला चलाउँदा थोरै मात्र असावधानी वा तलबितल भयो भने जीवन नै जोखिममा पर्न सक्दथ्यो ।

त्यस बखत घाम, पानी, हावा, हुरी, झरी, बतास तथा हिउँ र असिनाका बखत पनि ट्रेकिङ (पदयात्रा) जारी नै राख्नु परेको थियो । किन कि, त्यति बेला निश्चित दिन र मिति मा ट्रेकिङ सक्नु पर्ने गरी इजाजत दिने तत्कालिन अध्यागमन नियम भएकोले तोकिएको मिति भित्र ट्रेकिङ सक्नुपर्ने बाध्यता थियो ।

तोकिएको मिति भित्र बम्बु, छोमरोङ, लान्द्रुक र धम्पुस हुँदै पोखरा पुग्नु थियो ।

यात्रा भनेको घाम, पानी, हावा, हुरी, झरी, बतास तथा हिउँ र असिनाको अवस्थामा पनि जारी नै राख्नु पर्ने रमाइलो मात्र हैन, एक चुनौतीपूर्ण पाटो पनि जोडिएको थियो । यसै सिलसिलमा हामी एमबीसीदेखि हिमालय, हिमालयदेखि धम्पुससम्मको कठिन बाटो नछिचोली उपाय थिएन ।

हिमालयमा बुद्धिमान र बहादुर किचन स्टाफले बनाएको लन्च खाएर के हिँड्न मात्र के लागेका थियौँ, मुसलधारे पानीले हामीलार्ई रोक्यो ।

पानी राकिएपछि अगाडि बढ्दै गर्दा पानीका बाछिटा फेरि झर्न थाले । तर पनि हामी त्यो दिनको गन्तव्यतिर निरन्तर बढिरह्यौं । गन्तव्य थियो दोभान । पुरानो दोभान । झरना कटेर तल पुग्दा पानी निकै दर्कियो । पानीले चुट्नुसम्म चुट्यो । उनीहरूले त्यो दिन आफुसँग ओढो राख्न पनि बिर्सिइछन । ओभानो लुगा फेर्नलाई पनि संभव थिएन ।

उनीहरूको लगेज भरियाहरूले अगाडि क्याम्पतिर लगिसकेका थिए । पाहुनाहरू भिजेर निथ्रुक्क भए । मेरो हालत पनि त्यही भयो । मन निकै आत्तियो । मन आत्तिदै जाँदा बाटो पनि लम्बिए जस्तो लाग्दो रहेछ । जति हिँड्यो क्याम्प कहिल्यै नआउने । चिसो त्यत्तिकै बढ्दै थियो भने निगाला र रुखका जराहरूले थाकेका खुट्टा अल्झाउन थाले ।

दर्कदो पानीबाट जोगीन निगालाका गाँज वा रुखका छहारीले पनि साथ दिन सकेनन् । उपाय नलागेपछि रिता र टोपीले डाउन जाकेट नै लगाई दिए । नभिज्दै त त्यसले मुतको न्यानो त बन्यो तर भिजिसकेपछि त्यही भारी बनेर आयो उनीहरूलाई । बाटोभरी पानीको भल बगिरहेको थियो । त्यो मुस्किलले पार गरेर दोभान पुग्दा झपक्कै अँध्यारो । पाहुनाहरू थकाईले लखतरान थिए ।

सबैजना गोठभित्रको निगाले टाँढमा भिजेकै शरिरमा टक्रुक्क बसे । राम दाइ भन्दै थिए कि आजको रात यही गोठमा दुखैले बिताउन पर्ने भयो । यो पानीले पार्नु पिर पा-योे ।

भकारी चित्रा र निगालाले बनेको गोठ, सुत्ने बस्ने ठाउँमा पनि निगालोे र चित्रा ओछ्याईएको थियो । राम दाइले पाहुनालाई पनि हामी आज यसरी नै रात बिताउनु पर्ने भो भन्दा एक छिन त उनीहरू ईन्तु न चिन्तु भएका थिए । निःशब्द भएका थिए । सोचमग्नमा परे ।

यूरोपको सुविधाजनक जीवनशैली कटाएकाहरूको त्यो दिन त्यस्तो कठिन परिस्थिति भोग्नुपर्ने हुँदा चित्त दुख्यो होला उनीहरूको । मेरो आशङ्का । सायद थकाइले पनि बोल्न नसकेको हुनसक्छ । त्यो दिन त खाना खाइयो–खाइएन, त्यसको अत्तो पत्तो केही भएन । थकाइले गर्दा केही कुराको हेक्का भएन । भोलिपल्ट दोभानदेखि बम्बुसम्म आइसक्दा पनि मेरो मानसपटलले केही सोच्न सकेन ।

तर बम्बुदेखि सिनुवासम्मको यात्रा भने स्मरणयोग्य रह्यो । रमाइलो थियो त्यो क्षण, वातावरण, मौसम, वन, यात्रीहरूको लयबद्ध चाल, मोदी खोलाको सङ्गितमय सुसाइ । गुराँसहरू रुखबाटै तल झुलेर हाम्रो स्वागतका लागि हामीप्रति समर्पित देखिन्थे । हिमालले तिलस्मी हाँसो हाँसेर फेरि फेरि आउन अनुरोध गर्दै बिदाइको भाषामा सुरक्षित यात्राको कामना गरे झैँ लाग्दथ्यो ।

टोपी, रेयो, सिनिक्का र रिता मसँगै भएकोले उनीहरूको मुहारमा पनि खुसी छचल्किएको देख्न सक्दथेँ तर राम, मनोज र आईरी ओरालोमा प्राय दश पन्ध्र मिनेट अगाडि नै थिए । उनीहरूले के अनुभव गरे गर्भ मै रह्यो ।

रितालाई खुसी देखे पनि उसैको मुखबाट ब्यक्त गराउन मन लाग्यो, आज तिमीहरूलाई कस्तो छ ? भनी उसलाई सोधेँ । प्रति उत्तरमा उसले भनी, सबै कुरा राम्रो छ । सायद अहिलेसम्म ट्रेकिङ गरेकोमा आज सबैभन्दा राम्रो लाग्यो, यो तिमीले गर्दा यो सबै सम्भव भएको हो, धन्यवाद भनी । म खुसीले त्यसै त्यसै पूmलेल भएँ । मख्ख परेँ । धन्यवाद भन्नै आएन । तर विदेशीहरुको हरेक समय कसैबाट केही लियो वा दियो भने वा खुसी पा-योे भने उसलाई धन्यवाद भन्नु पर्ने संस्कृति ।

त्यो कुराको बारे यादै भएन । यसरी हरेक क्षण औपचारीकता निभाउनु पर्ने नेपालीहरूको चलन पनि छैन ।

रिता बाटोमा हिँड्दै गर्दा वा बसेको बेला पनि चकलेट मुखमा र खोल बाहिर नफाली खल्तीमा हाल्थी, म तीनछक परेँ । किन कि हामीले त्यसरी खाएपछि खोल, कागज, प्लाष्टिकहरू बाहिर जताततै बाटोमा फाल्ने बानी थियो र छ नेपालीको यो बानी कहिल्यै नहट्ला पनि ।

उसले त्यो काम नलाग्ने फोहर पनि खल्तीमा हाल्दथी । मैले सोधी हालेँ, रिता किन तिमीले खाएर फाल्नु पर्ने फोहोर खल्तीमा हाल्दैछौ ? जवाफमा उसले भनी, यदि मैले यो फोहर फालेँ भने यति सुन्दर स्वर्ग जस्तो ठाउँ नर्क जस्तो हुन्छ । मलाई लाज लाग्यो, यस्तो किन सोधेँ होला भनेर । उसलाई यो ठाउँको के मतलव थियो, त्यति धेरै माया गरी ? म मनमनै एकलापमै घोत्लिएछु ।

त्यो पाली भने पाहुनासँगै हिँडेको हुँदा उनीहरूबाट सिक्ने मौका मिल्यो । त्यस पर्यन्त आजसम्म कायम रहेको छ । मेरो बानी परेको छ ।

सफा मौसम, सजिलो बाटो त्यसमाथि सुन्दर प्राकृतिक छटाले भरिभराउ भएको रमणीय वातावरण, त्यसैमा रमाउँदा मन फुरुङ भइरहेको थियो । एक्कासी रिताले कस्तो छ जयनाथ? भनेपछि के भनौं के भनौं भयो, अल्मलिएँँ ।

उसले दोहोर्याएर सोधी ।

मैले उत्तर दिएँ, आज रमाइलो छ, तिमीलाई राम्रो भएपछि मलाई पनि राम्रो हुन्छ ।

गफगाफको सुरमा बाटो कटेको पत्तै भएन, अलि पर डिलमा सिनुवा दखियो । मैले उनीहरूलाई जानकारी गराएँ । त्यो देखेपछि ओ नाइस भनेर खुसी ब्यक्त गरे । अघिल्लो पल्ट माथि जाने बेला त्यो ठाउँमा निकै रमाएका थिए ।

सिनुवाको सिर्सिर

बम्बुदेखि एकतार लुरुलुरु हिँडेर आउँदा उनीहरूलाई थकाइ पनि लागेको थियो । सिनुवामा हामी पहिल्यैको चिया पसलमा गयौ । सबै जना टाँडमा बसे र सररर हावा खान थाले ।

यहाँ केही स्मरण कोर्दै गर्दा मलाई सरुभक्तले कोरका पङ्क्तिहरूको सम्झना भयो ।

हिमाली खर्क मन्तिर यौटा, सिनुवा गाउँ छ
सिर्सिर हावा थकाइ मेट्ने, क्या राम्रो ठाउँ छ
पुराना घर अरूका भर, भट्टी र पसल
मान्छेमा हेर्दा देखिने सबै, असाध्य असल ।

अघिल्लो पटकमा झै यो पालि पनि त्यहाँको युवती तानमै व्यस्त देखिन्थि । रेयो उसको नजिक गएर उनको कामलाई आफ्नै क्यामरामा कैद गर्न थाल्यो । निकै राम्रो देन्थ्यिो त्यो ।

राम दाइ आएर उनीहरूलाई गाह्रो साह्रो केही भयो कि भनेर सोधे । पाहुनाहरूले पनि सबे ठीक छ भनेर धन्यबाद दिए ।

राम दाइले स्टाफलाई भने, “ए केटा हो, मेम्बरलाई जुस ल्याई देउ । अनि शेर्पालाई पनि ।”

विभिन्न समुदायका मानिसहरू आफुलाई आवश्यक चिज आफै उत्पादन गर्थे । गुरुङहरूले पनि चोयाबाट, डोको नाम्लो, चित्रा, भकारी, मान्द्रो, स्याखु र चाल्ने सिस्नो बाट जावो, गादो, डोरा, बोरो, थैलो आदी । त्यो उनीहरूको पूर्खादेखि चल्दै आएको स्वाभलम्वी संस्कृति थियो । तर आज आधुनिक उद्योगहरूको विकास र समाजमा आधुनिकिकरणको नक्कल गर्ने प्रवृतिको बिकाससँगै ती ईलम वा परम्पराहरू लोप भएर जाने अवस्थामा पुगेका छन् ।

स्पेयर भाइले तात्तातो सुन्तलाको जुस लिएर आए, त्यसैको चुस्कीसँगै पाहुनाहरू पनि सुन्दर प्राकृतिक दृश्य भित्र लिप्त हुँदै परम आनन्दमा डुबेका थिए भन्ने कुरो उनीहरूको अनुहारमा चम्किरहेका कान्ति र हाँसीखुसी बोलीचालीले देखाउँथ्यो । मेरो मन पनि त्यसै त्यसै उचालिएको थियो । त्यहाको वातावरणले मलाई पनि पुलकित पार्दै थियो । प्रकृतिले कुनै बेला रुवाई दिन्छ त कुनै बेला खुसी ।

लन्च खाईसकेर सबैजना छोमरो खोलातिरजाने ओरालो लाग्यौँ । छोमरोङ खोलाको त्यो बेलाको काठकोे झोलुङे पुल तरे लगत्तै बाटो उकालोतिर मोडियो । उकालोमा मनोज र आईरी अगाडि लागे । खोलैदेखिको एकनासको उकालो भए पनि रमाइलोकोहीको ही गौडाहरू भने अलि गाई भैँसीको गोबर, खच्चडको लिडी र पिसावले नाक थुनेर हिँड्नु पर्ने । तल्लो छोमरोङको गाउँ कटेपछि ज्यानै खाने उकालो हिँड्नु प-यो यसले सबै जनाको फाक्सो फुलायो ।

रिता अरूभन्दा अलि बढी थाकेकी थिई, उसको डे ब्याग बोकी दिएर सहयागे गरौँ भने पनि अरूले बोकिदिएकोमा अप्ठेरो मान्दथे । त्यसैले मलार्ई उनीहरूको ब्याग बोक्न दिएनन् ।

लगातार डेढ घण्टाको उकालो चढ्दा सबैजना रातो र पिरो र उनीहरूका आँखाबाट रगत चुइएला जस्तो देखिन्थ्यो । कुन त गोरा छाला, त्यसमाथि घामले तात्दा सबैका गाला गोलभेँडा जस्तै राता भएका थिए । क्याम्पमा आईसकेपछि हस्याङफस्याङ गर्दै उनका डे ब्यागहरू पछि नचाहिने जस्तै गरी मिल्काएर हिमालतिर फर्की चउरमा थकाइ मार्न थाले ।

जे होस्, एबीसीको सहासीक यात्राको अरू बाँकी दिन पनि सुरक्षित रूपमै सम्पन होस् भन्ने हामी सबैको चाहना थियो ।

त्यो दिन मौसम सफा भएकोले क्याम्पमा घाम बेलुकासम्म लाग्ने छाँट थियो । माथिबाट हामी भिज्दै झरेका थियौ । सबैका लुगा निथ्रुक्क भिजेका थिए । सबैजनाले भिजेका लुगा लस्करै सुकाए । क्याम्प रङीचङी देखिन्थ्यो ।

हिमालहरू पनि मुस्कुराए जस्ता देखिँदै गर्दा बादलका सानासाना गुच्छाहरू आएर उनीहरूलाई ढाक्ने धृष्टता गर्दथे तर घामको प्रचण्ड ताप र रापले एक छिन पनि टिक्न सक्दैनथे ।

हुरी बतास, झरी बादल, असिना पानीले कुनै पनि बेला बिथोल्ने चैत्र बैशाखको महिनामा, त्यो दिन भने शरदमा जस्तै थियो मनोरम थियो सुन्दर थियो, केके थियो थियो । दिन जसरी प्रस्तुत थियो, त्यसै गरी मेरो कर्म पनि ।

लान्द्रुके साईलाको भेडीगोठे जीवन

छोमरोङबाट लान्द्रुक जाँदा तालुङदेखि कोमरोङ खोलासम्म छुरै ठाडो बीचबीचमा कोदोबारी, अप्ठेरा गौंडाहरू र पहरा साँघुरो बाटो हुँदै जानु परेको थियो । कोमरोङ खोला तरेपछिकोदो बारी निगाला घारी छिचल्द हिमालपानी पुगेपछि लन्चको लागि रोकिैयौँं । हिमालपानी बाट झोलुङे पुल तरेर अन्नपूर्ण आधार शिविरदेखि आएको मोदी खोलाको पूर्वी किनारबाट निउरो, बिललौनी, र उतिस घारी, चउर रकोदोबारी, खोल्सा, पखेरा छहरा हुँदै तल लगभग एक घण्टा जति खोलालार्ई पछ्याई रह्यौं । किनार छोडेर बाटो उकालो लाग्यो । आखिर हामी बाटो जता जान्छ, उतै त पाइला चाल्ने प-यो, हामी पनि उकालोतिरै उकालियौं ।

खेतबारी आउने आउने बेला एउटा चौतारो भेटियो । सबैले यही चौतारेमा एक छिन थकाइ मार्न लालयित भए । लालयित पनि किन नहुन्, उनीहरू चिसोबाट लामो बाटो हिँडेर तातो क्षेत्रतिर झर्दा बढी थाक्ने रहेछन् । उनीहरू लखतरान थिए तर ब्यक्त गर्दैनथे । हिमाल पानीमा खाएको खाना एक डढ घण्टामै सकिएछ कि सबैको जिउ भोकले लल्याकलुलुक गलेजस्तो थियो । र, हिँड्दा पनि एकछिन उभिने अनि पाइला सार्ने गरेका थिए । टोपी रीता र सिनिक्का चौतारमा आडलागे । तल बाट उकालो चढ्दै गरेका आईरी र मनोजलाई हौसला दिँदै थिए ल ल उकालो सकिन लाग्यो एक्कै मिनेट भनेर ।

राम दाइले भने, “उ त्यही माथिको गाउँ हो लान्द्रुक, अब बिस्तारै हिँडे पनि डेढ घण्टामा पुगिन्छ ।”

हामीलाई ती डाँडाका घरहरूले बोलाई रहेका जस्ता तरंगहरू कानमा गुञ्जिए जस्तै लाग्थ्यो ।

म सानो छँदा केसबाङतिर भेडीगोठ लिएर आउने एकजना मान्छेलाई लान्द्रुके साईला भन्ने गरेको कुरा सम्झना आयो । लान्द्रुकतिरबाट हरेक बर्ष कालीमाटी, तादीखोला र कौदीको डाँडाबाट केसबांगमा हाम्रो घरमाथिको कारा र कप्तानीको बारीमा सय डेढ सयको संख्यामा उसले भेडाहरू खक्र्याउन ल्याउने गर्दथ्यो ।

भेडाहरुको बथान देख्दा म निकै रमाउने गर्दथेँ । कुनै बर्ष त्यहा भेडा नल्याउदा मनै नरमाइलो हुन्थ्यो कहिले भेडालएिर आउँछन् भन्दै त्यही भेडाहरू ल्याउने बाटो हेरेर बस्थेँ ।

त्यही लान्द्रुके साईलाको गाउँ देख्ने मौका मिलेकोमा मलाई निकै खुसी महसुस भयो । साईलाको भेडीगोठे जिवनशैली अति कठिन थियो, आफ्नै खाना, बास बनाउनकोको लागि चाहिँने, चित्रा, भकारी, निगाले धतुरा (डाँडाभाटा), खर्च, रखानधरानका लागि ढेक्सो, जावो त्यस माथि सना हिँड्न नसक्ने कलिला पाठा, बिरामी परेका अरू माउ समेत लगायत चार पाँच सयको बथान मा रहेका भेडाबाख्रा सुरक्षित साथ एकठाउँबाट अर्को ठाउँ लग्नु, पाल्नु र परिवारलाई समेत पाल्नु उसको जिम्मेबारी बहन गर्नु कम चुनौति थिएन । यस्तै थियो त्यसबेला जीवनचर्या, आयआर्जनको श्रोत वा बाटो थियो उसको । त्यो नै उसको सर्वस्व थियो ।

त्यस समयका उसको आगमनले हरेक हिउँदहरूमा मेरा जीवनमा उभार ल्याई दिन्थ्यो । रोमान्चित बनाईदिन्थ्यो । मेरो मनमा यिनै कुरा खैल्दा चौतारोदेखि लान्द्रुक पुगको पत्तै भएन । गाउँको पुछारदेखि क्याम्पसम्मको आधा घण्टाको उकालो निकै रोचक र सकसपूर्ण पनि थियो । रोचक त्यो मानेमा कि त्यहाँका परम्परागत तरिकाले बनेका घरहरू विशेष र चाखलाग्दा थिए ।

टेन्टहरू उकालो सकिने बित्तिकैको लालीगुराँस लजको क्याम्पसाइटमा मिलाएर सेट गरिएका थिए ।

त्यहाँबाट मोदी खोलाको पश्चिम, लान्द्रुकको पारीे देखिने गाउँ घान्द्रुक हो भनेर रामदाइ ले भन्यो । त्यो निकै ठूलो र रमाइलो दखिन्थ्यो । राम दाइ भन्दै थियो कि त्यो पनि टुरिष्टिक, गुरुङ लाहुरेहरूको गाउँ हो भनेर । उत्तरतिर सुन्दर अन्नपूर्ण हिमाल दक्षिणतिर तरेली परेका पबखा, खेत बारी तथा समग्र सुन्दर मोदी उपत्यका थियो । लान्द्रुक गाउँ वास्तवमै सुन्दर थियो । तरेली परेका गराहरूमा बनेका रातो माटो, कमेरोले पोतका ढुँगाको गारो वा भित्ताहरू ढुङ्गाले छाएका छाना, ढुँगाका छपनी ओछ्याईएका आँगन, गोठ र कटेराहरूले त्यो गुरुङ गाउँमा सुनमाथि सुगन्ध दिईरहेका थिए ।

धम्पुसको धरमर

बेलुका खानापछि ब्रिफिङको बेला लान्द्रुकपछिको हाम्रो क्याम्प धम्पुस भएको कुरा रामदाइले बताए ।

बिहानीपख उत्तरतिर चाँदी जस्तै टललल तल्किने अन्नपूर्ण र हिउँचुली सुनौलौ रवी छरिदा सुनको जलप लगाए जस्तै झललल झल्किरहेका थिए ।

भरियाहरूले भारीतारी बोक्न ठिक्क बनाइसकेका थिए । टोपीले भने, रेयोले आज यो रमाइलो ठाउँमा सम्झनाको लागि एउटा सामुहिक तस्बिर लिन चाहान्छ रे । सबै जनाले सामुहिक तस्बिर खिचायौं ।

तरेली परेका बारीसँगै बाटो धम्पुसतिर लम्बिएको थियो । त्यसैलाई पछ्याउदै लान्द्रुकबाट तोलका, भेरीखर्क बाटोबाट तल देखिने गाउँबस्ती र पालुवा चढेका वनपाखाको रमाइलो दृश्य सँगै अघि लाग्यौँ । चराहरूको चिरबीरसँग लयबद्ध पाइलापाइला चाल्दै जाँदा भेरीखर्कबाट बाटो उकालो लाग्यो । भेरिखर्कदेखि पितम देउरालीसम्म ठाडो उकालो छ । यी जाँठी बुढीहरूको फेरि बिहे देखिने भो, रामदाइले भने । आईरीले त उसको हैन, उसकै बाउको बिहे देखी । धकारो लाग्दा फोक्सो फुटे झै गर्दथी ।

उकालो जति माथि गयो, उति रमाईलो लाग्दथ्यो । चिलाउने, अम्फिक खस्रु र फलाँटका चौडापाते वन जति हेर्यो, उति राम्रा । कुनै ठाउँमा बाटोभरी लटरम्म झरेका अम्फी, त्यसमाथि टेकिदा लडिएला जस्तो । सानोमा ती अम्फीका दानालाई गुच्चा बनाएर खेलिन्थ्यो, त्यही सम्झना आयो मलाई । मैले पाहुनालार्ई अम्फी देखाएर भनेँ, म सानो छँदा गुच्चाको सट्टा यसैलाई गुच्चा मानेर खेल्ने गर्थें ।

‘गुड आइडिया, न्याचुरल प्ले आर अलवेज प्लेजर ।’

यात्राका त्यस्ता क्षणहरूले जीवनमा त्यो बेला भोगेकाकुराहरू चलचित्र बनेर आई पुनस्मरण गराईदिन्थे । जसले आफैमा एक खुसीको सञ्चार गराईन्थ्यिो त कुनै क्षण गम्भीर भावनामा बहकाई दिन्थ्यो । मलाई त्यस्तै गराईदियो । अरूलाई पनि यस्तै हुन्थ्यो होला तर अब्यक्त नै हुन्थ्यो ।

पितम देउराली, त्यो दिनको लागि बाटोमा पर्ने उच्च भन्ज्याङ, त्यही भन्ज्याङमा सररर चिसो हावाले थाकेको जिउ सितल बनाइदियो ।

बुद्धिमानको टोलीले त्यही ठाउँमा तयार गरेका थिए । लन्च खाएर त्यहाँबाट धम्पुससम्म तिन घण्टाको ओरालै ओरालो गुराँस, चिलाउने र महुवा (सेतो चन्दन) वन छिचलेर पुगियो । निकै सुन्दर लाग्दथ्यो त्यो गाउँ ।

तर एउटा त्रास पनि थियो मलाई, किनकि सरदार रामदाइले मलाई त्यो ठाउमा कैयौँ पटक पर्यटकका पाल काटेर थुप्रो धनमाल लुटिएको, चोरिएको कुरा सुनाएका थिए । त्यस्तो नराम्रो घटना हाम्रो क्याम्पमा पनि घट्न सक्छ भनेर रातीको ड्यूटी राम्रोसँग गर्नु पर्ने, ननिदाई पाल र क्याम्प कुर्ने हरेक आधाआधा घण्टामा मेम्बरलाई होहल्ला (डिस्टर्ब) नहुने गरी क्याम्प वरिपरि घुमेर हेर्नुपर्ने थियो । क्याम्प र पाहुनाको सुरक्षाको जिम्मेवारी मेरो ।

क्याम्पमा टेन्टहरू पनि सुरक्षित ठाउँतिर देखबाल गर्न सजिलो हुने गरी सेट गरियो ।

भोलिपल्ट सबेरै पोखरा पुग्ने सबैको चाहना भएकोले खाना खाई, नियमित कामधन्दा सकेर सबै शयनकक्षतिर लागे । म भने असुरक्षाको त्रासले धम्पुस धर्मराएको कथा लिएर अरूप्रति लज्जा हुने गरेको थियो, तर त्यो पालि ऊ चोखिएर प्रस्तुत भयो ।

माछापुच्छेको सुन्दर साम्राज्य

अघिल्लो साँझ मौसम त्यति राम्रो नभए पनि बिहानीपख मौसम सफा थियो । हिमाल खुलेका थिए । त्यस ठाउँबाट माछापुच्छे कैलाश अग्लिएर आफ्नै सौन्दर्य साम्राज्यको विरासत फैलाईरहेको थियो । अझ त्यसको चुलीमा सुनौला प्रकाश छरिँदा स्वर्गलाई नि फिका पारिदिँदै थियो ।

पाहुनाहरू सबैजना तिनै हिमालतिरै फर्किएर तिनै दृश्यहरूसँग आफ्नै मन साट्दै थिए जस्तो लाग्दथ्यो । ब्रेकफास्टको समयमा पनि उनीहरू उतै पर्किएर आन्न्दले मन, पेट र नयन सबै भरिभराउ पारे ।

सुन्दर धम्पुस त्यहाँका सुन्दर घरहरू खेतबारी, धरातलीय भू–बनोट र प्राकृतिले अझ मनमोहक थियो । पोखरा पुग्न दुई घण्टाको ओरालो हिँडेर फेदीबाट आधा घण्टाको बस चढ्नु पर्दथ्यो । हामी त्यही सौन्दर्यतालाई नियाल्दै ओरालो लाग्यौँ ।

लखने झरेपछि एउटा ठाडो ओरालो आयो त्यहाँबाट पारी दक्षिणतिर म जन्मेको गाउँ थियो । त्यो ओरालो त्यही थियो जहाँ म पर्यटकको भारी बोक्ने काम पाउने आशमा उनीहरूलाई पछ्याउदै कैयौँ चोटि दौडिँदा पनि काम नपाउदा मन कटक्क दुखाउनु परेको थियो । त्यस दिन भने सोहीकाम पाई त्यही बाटो ओरालो झर्दै थिएँ । मन खुसीले भरिभराउ थियो ।

ओरालो सकिंदै गर्दा त्यस पैदल यात्राको अन्तिम पाइलो फेदीमा पुगेर मेटियो ।

बस पर्खिरहेको थियो ।

अन्तिम बास पोखराको हल्लन चोककै क्याम्पाचउरमा ।

ट्रेकिङ सकिने अन्तिम दिन विशेष दिन हुनेरहेछ, हरेक चिजमा विशेष व्यवथासहितको सेवा र शिष्टचार । पाहुना खुसी भए भने अन्तमा सबै स्टाफहरू पनि खुसी हुन पाउने रहेछन् किनकि पर्यटकहरू यात्रामा खुसी भए भने अन्तमा सबैजना कामदारलाई उचित बक्सिस् दिने रहेछन् । स्वयम पाहुनाहरू दोहोराई तेहराई नेपालमा आएर रोजगार श्रृजना गराइदिँदारहेछन् । यो देशका लागि वैदेशिक मुद्रा उपार्जन गर्ने बलियो आधार हुँदोरहेछ ।

त्यो दिनको हरेक चिज विशेष, खाना पक्क्वान, बसाई, अनि सेवा सम्पूर्ण विशेष । सबैमा खुसी छाएको थियो । खाना खाईसकेर किचनको काम सकिसकेपछि सबैजना क्याम्पसँगैको चउरमा जम्मा भएर अन्तिम भोज पछिको रमाईलो गर्न थाले ।

कलकत्ते काइयो केश मेरो बाङो,
टेबुलमा ऐना छ
पिरती मैले नलाको हैन,
तक्दीरमा रैनछ । ……
रेशम फिरिरी ….
कुकुरलाई कुतिमा कुति
बिरालोलाई सूरी
तिम्रो हाम्रो माया प्रीति
दोबाटोमा कुरी
रेशम फिरिरी…. ।

सुरक्षितपूर्वक ट्रेकिङ सम्पन्न भएको खुसीयालीमा यस्तै यस्तै लोकगीतहरू गाएर रमाइलो गरिरहेका थिए तर एकजना दाइ चाहिँ ठसक्क परेका थिए । पाहुनाले उनलाई मनग्य बक्सिस् नदिएकाले होला । श्रमको सम्मान नभएको, उनी र स्टाफहरूको अपमान भएको भन्दै गुनासो पोख्दै थिए उनी । अरू कोही कोही उनीसँगै हँ माथि हँ थप्दै थिए ।

मेहनतको मुल्य कति हुन्छ, त्यो त निश्चित हुन्न । मलाई लाग्थ्यो सबैले आ–आफ्नो कर्तव्य इमान्दारीपूर्वक निभाएकैै थिए । त्यसरी आश गर्नु स्वभाविक हो वा हैन, त्यसमा म अनविज्ञ नै थिएँ ।

भोलिपल्ट बिहान काठमाडौं जानुपर्ने भएकोले त्यहीअनुसार आ–आफ्प्नो पालतिर गए ।

अन्तिम दिन सबेरै फेवा र अन्नपूर्णलाई फेरि भट्ने वाचा गर्दै सबैजना बिदा भयौँ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button