
अन्नपूर्णः अन्जानको कि जानाजानको उपद्रो? (४)

जयनाथ भण्डारी
टाडापानीबाट छोमरोङ जाने दिन पनि उनै रमाइला हरियापाखा सुन्दर हिमाली दृश्य, फलाँट गुराँस, खस्रुका वन, गाई भैँसीका खर्क, कोदो र मकैबारीसँगै छिटपुट घर हुँदै निरन्तर ओरालो झरी तल कोमरोङ खोला पुग्नु प¥यो । फलतः गोडा र घुँडाको दुखाइले सबै थकित भइयो ।
तलको कोमरोङ खोला मैले सानोमा देखेको खेलेको सिदिहीं (सिदिङ) र कालीमाटी बीचको नागीखोला जस्तै देखिन्थ्यो । यस्ता खोलाहरू दुई पहाडका बीचबाट कहिले सैर गर्दै त कहिले हुण्डरी मच्चाउदै अरू खोलाहरूसँग जस्तो नागी खोला माछापुछ«ेबाट आउने मर्दीखोलामा मिसिन्थ्यो भने कोमरोङ खोला अन्नपूर्ण आधार शिविरबाट बग्ने मोदी खोलामा ।
खोलाका किनारछेउ, बगरहरू, फाँट, पाखाहरूमा दुईपाते मकै लहलहाउन थालेका हुन्थे । यहाँका त्यस्तै पाखा पखेरा र धरातलले मेरो बचपनमा बिताएका क्षण मानसपटलमा मडारिन थालेका थिए ।
तल तल झर्दै जाँदा न्याउली र विरही चराहरू विरहमा डुब्दै थिए, हलेसा र पिउराहरू पिरमा पातालिदै थिए । छिटपूmट घरहरू र बारी हुँदै ओरालो हिँडिसक्दा झोलुङगे पुल आइपुग्यो । त्यसपछिको गोरेटो बाटो उकालो थियो ।
त्यो दिन घामा पनि निकै चर्किएको थियो । उकालो र गर्मीले प्याक प्याक भएका सबै जनालाई त्यसबाट छुटकारा पाउन चाहन्थे । उकालो कटेपछि सानो गुरुङ बस्ती गुर्जुङको बाटो अलि तेर्पायँ थियो । बाटो कट्न अलि सजिलो भयो ।
दश मिनेट जति हिँडेपछि बाटो एउटा खोल्सोतिर लाग्यो । खोल्सोमै पुग्दा एउटा सुन्दर झरना थियो । त्यस झरनामा नुहाउन चाहेर होला हत्त न पत्त लुगा खोलेर सबै जना झरनामा थापिन पुगे । रेयो चाही त निवस्त्रै भएर रहमा हामफाल्यो ।
म ट्वाल्ल हेरिरहेँ, कस्तो लाज पनि नभएको ? के महिला के पुरुष सबै निर्लज्ज भै रमाई रहेको बेला मलाई कता कता उट्पट्याङ विचार आयो । नेपालमा यसरी सार्वजकि ठाउँमा महिला पुरुष सँगै नुहाउने चलन पनि छैन । मलाई अनौठो लाग्यो । छेउमै भएको रेयोको क्यामरा लिएर उनीहरूको एक दुई स्न्याप फोटो खिचिदिएँ । क्यामरा जहाँ थियो त्यही थपक्क राखिदिएँ तर पछि थाहा पाएर मलाई केही भन्छन् कि गाली गर्छन् कि भन्ने मनमनै डर लागिरह्यो । तर त्यो आफ्नै देश गएर त रिल धुलाउलान् नि ।
त्यो मैले खिचिदिएको फोटो कस्तो आयो होला भन्ने कुराले मलाई अहिले पनि जिज्ञासु बनाईरहन्छ, खुलदुली चलिरहन्छ, त्यो अन्जानमा थियो कि जानाजानको उपद्रो थियो ?
तत्कालै फोटो कस्तो थियो भनेर हेर्न पनि थियो तर अहिलेको जस्तो डिजिटलको जमाना थिएन त्यो बेला । मलाई हेर्ने मेसो पनि थिएन ।
सबैजना नुहाई सकेर लुगा फेरफार गरेर चिसो लुगा आफैले बोक्ने ब्यागमा झुन्ड्यार लन्च क्याम्पतिर लागियो । लगभग दशमिनेट हिँडेपछि क्याम्प पुगियो ।
लन्चपछिको हाम्रो गन्तव्य छोमरोङसम्म थियो । त्यसपछि बम्बु, हिमालय, देउराली, माछापुच्छे बेसक्याम्प र अन्नपुर्ण बेसक्याम्प । गुरुङबस्ती, गोठ र खर्कहरू, कोदो र मकैबारी हुँदै छोमरोङ पुग्दा दुई घण्टा लागेछ । रमाइलो पहाडी बस्ती, तरेली परेका गरा, गुराँसे वन, उत्तरतिर हिमालका मनोरम दृश्यहरू भएको क्याम्प साइट ।
छोमरोङ गुरुङहरूको बाहुल्यभएको बस्ती, अधिकांशको विदेशी पल्टनमा काम गर्न जाने परम्परा गाउँघरमा भएकाहरू पुख्र्यौली पेशामा खेतीबाली, पशुपालन लेखबेसी गर्दै परंपरा धानीरहेका हुन्थे । पर्यटकको आगमन हुनथालेपछि भने कमैमात्रले क्याम्प, लज र टिहाउस सञ्चालन गर्न थालेका थिए । औलामा गन्न सकिने ईन्टरलेशनल, क्याप्टेन र माउन्टेन भ्यू लगायत थिए ।
मौसम राम्रो भएकोले क्याम्प बाटै हिमालहरू झलमल्ल देखिन्थे । कोहीकोही बेला भने अचानक बादलका गुच्छाहरू आएर घुम्टो ओढाइदिन्थे र हिमालहरू त्यसैमा लुकाछिपी गर्थे । मेम्मरहरू भने त्यसैमा रमाइरहेका थिए । बेला बेला क्यामराबाट झल्याकझुलुक कट्याक कट्याक आवाज निकालिरहेका थिए । यसरी कि हिमाल सकिने भए त्यो ठाउँ रित्तो हुने गरी फोटो खिचिरहे । मलाई भने त्यसले एक खालको उदेक र उत्सुकता जगाईरहेको थियो ।
क्याम्पदेखि छोमरोङ खोला र खोलादेखि सिनुवा टपसम्मको उकालोले त ट्रेकिङ भनेको रमाइलो मात्र नभएर दुख कष्ट पनि सहनु पर्ने साहसिक कार्य रहेछ भन्ने ज्ञान दियो । यदि ताना शर्मा त्यो बाटो हिँडेको थिए भने उनको घनघस्याको उकालको बयान फिका सम्झिन्थे होलान् ।
उकालोको कट्नासाथ बाटो तेर्सियो । त्यसले मलाई यी गीतको पङ्क्ति याद गरायो–
जाँदा जाँदा उकालीमा तेस्रो प-यो गल्ली
छोडी जाउँ त माया लाग्ने लैजाउँ भने डल्ली
सबै जना एउटा चियापसलको आगनमा थकाइ मेटाउन निगाला र घोचाहरूले बनाएका टाँडे आडहरूमा थचाथच बसे ।
आडमै तरुनी र बृद्ध काममा व्यस्त देखिन्थे । सायद मेरो त्यो गीतको गुनगुन त सुनेनन् होला, सुनेको भए पनि अरूले गाइनै रहेको गीत गुनगुनाएको त हो, मेरो एकालाप, अनि गरुङ मगर गीतै गाएर त बिहे गर्थे भन्ने सुनेको हो, उनीहरू खुला, निस्कपट अनि फेरि बाटो घाटोमा ब्यपार ब्यवसाय गरेर बसेकाहरू ।
बृद्ध निगालाको चोया काट्दै र गोठमा भैँसीको गोबर फाल्न प्रयोग हुने कोर्को बन्दै थिए भने आडैमा युवती तानमा गुरुङले लगाउने गादो (भाङ्रा) बुन्दै थिइन् । बृद्ध र युवतीको डोका नाम्लो, गादो र तानको कामले त्यहाँको जनजीवनलाई झल्काईरहेको थियो । पाहुनाहरूले पनि यीनै बस्तु र कृयाकलापलाई नेपाल घुम्न आउदाको उपहार स्वरूप आफ्नै क्यामरामा कैद गरे । ठाउँ निकै रमाइलो थियो । पर्यटकहरू पनि त यस्तै रमाइलो र विशेष चिजहरू नै हेरेर रमाउने हुन ।
ती युवतीपछिसम्म पनि त्यहा लज सञ्चालन गरेर धेरै उकाली आराली गर्ने पर्यटक, भरिया र पथप्रदर्शकहरूको उपकार गरिन् होला । उनीसँग पछिसम्मै राम्रै चिनापर्ची पनि रहिरह्यो । फलस्वरूप जाँदा आउन्दा घरेलु उपहार पनि नपाएको हैन ।
अबका यात्रामा उनी र उनीजस्तै अरूहरूसँग फेरि भेट होला या यत्तिकै रहला । मेरो मनोवाद ।
हाम्रो यात्रा गुराँस र फलाँट, खस्रु र चाँपलगायतको मिश्रित तथा घना जङ्गल, गोठ, खर्क छिचोलिदै खुल्दी पुगेर पर्यटकको प्रवेश इजाजत जाँच चौकीमा पुगियो । त्यही नजिकै भरिया भाइहरू भारी बिसाएर गुजुमुट्ट भएर होहल्ला गरिरहेका थिए ।
भरियाहरू जब थकाइ मार्न भारी बिसाउँथे, तासको खाल नारिहाल्थे । यस्तो अघिल्ला दिनहरूमा गेस्टहरुले देखेका थिएनन तर सिनुवादेखि माथिका अधिकांश बिसौनीहरूमा र ट्रेकिङ सकिनु अघिल्लो दिनसम्म उनीहरूको चर्तिकला देखिरहे ।
गेस्ट देखेपछि सबैजना आफ्नै भारी बोकेर अगाडि कुदे । त्यही बेलामा ग्रुपलिडर टोपीले रामलाई भन्यो, “किन यिनीहरू बिसौनीहरूमा तास मात्र खेलेको देखिन्छ । यिनीहरू पैसामा खेल्छन कि के मा ? कमाउन आएका हुन् नि ? म यो खेलेको हेर्न मनपराउँदिन ।”
तर रामले कुरा त्यत्ति बुझेजस्तो लागेन र मैले उल्था गरिदिएँ । अनि मात्र रामले “नो” भनेर उत्तर दियो ।
खुल्दीघरको चेक पोईन्टमा परमीट जाँच गरी एक घण्टा ओराले झरेपछि चउर जस्तोमा गोठजस्ता छाप्राहरू देखिन्थे । गाइड दाइले भने, “यही हो बम्बु । आज हाम्रो क्याम्प यही हुन्छ ।” हाम्रो क्याम्प शिरानको लजको आगनमा बनाउनु पर्दथ्यो ।
त्यहाँ पनि पुग्नु, पानीका छिटाहरू झर्न थाल्नु, एक छिनपछि त घनघोर भएर वर्षिन थाल्यो । त्यो ठाउँको क्याम्प बसाई पनि सामान्य नै थियो, उही पुरानै रित र लयमा ।
बम्बुदेखि माथि माछापुच्छ«े आधार शिबिरसम्मको यात्रा साँघुरा गोरेटा त कतै चिप्ला, तिखा गेग्य्रान, चट्टान माथिका गौँडाहरू निगाले घारी, कतै जीवजीव पानी निकै नै चुनौतिपूर्ण थिए भने त्यो माथि ज्यानै जाने चिसो बढ्दै गरेको अवस्थामा बाध्यताले हिँड्नु पर्ने थियो ।
अचानक मौसममा बदलाव आउँदा हिँड्न, खाना बस्न पनि राम्रोसँग नपाउने सबैतिर प्रतिकुलै प्रतिकुल स्थिति । सबैले त्यो बाध्यता सहनुबाहेक अरू केही उपाय थिएन त्यहाँ ।
मनमनै लाग्दथ्यो, हामी त दुखजिलो गरेर कमाउन गएको तर ती मेम्मरहरू त रमाइलो गर्न होलिडे मनाउन आएका उनीहरू त्यस्तो चुनौतीको सामना गरिरहेका थिए ।
जेनतेन एमबिसीमा राधाको क्याम्प साइटमा टेण्ट सेट त भयो तर रात काट्ने कसरी ? हिउँको भारी बर्षा भईरहेको थियो । गाइडदाइले उही अघिल्ला दिनको जस्तै सिलसिला सुरु गर्न थाल्यो । तर राधा झर्केर “न..करा यो रिस उठेको बेला, यै दाउरोले तलार्ई नै बजाई दिउँला, भालुको रिस खनियामाथि होला नि, मसँग बच ।”
दाइ चुप लाग्यो ।
“यो ईजरायलीहरूले मेरो टाउको खायो”, भुत्भुताउँदै किचनतिर लागी । एफआईटी ईजरायलीहरूले राधालाई समस्या दिईरहेको जस्तो लाग्थ्यो । उनी निकै बेचैन देखिएकी थिईन् ।
बाहिर हिउँ थपिएको थपियै थियो । टेन्टहरू भारी हिउँले थिचेर भाँचिन सक्थे र हिउँभित्र छिरेर पाहुना पुरिएलान भन्ने पिर । भाग्यले त्यस्तो भएन ।
नेपालीहरूको लागि राधाले सुत्ने ठाउँ मिलाउन थाली तर राधा स्वयँलाई भने सुत्ने ठाउँ थिएन । ईजरायली पाहुनाले सुत्ने कोठा र आढ्ने सबै ओगटेर बसेको रहेछन् । सिमित सिरक डसनाले सबैलाई पुर्याउनु पर्ने तर उनलाई सकस प-योे । ईजरायलीहरूको रुममा जैगिदै गएर सिरक थुतेर ल्याईन । भूतभूताउँदै भन्दै थिईन्, “सुत्ने ठाउँ र ओढ्ने कुरा नदिएको हो र तँलाई दाउराले ठोकेर पठाई दिउँ, तलाई बढी चाहीएको हा ? मेरो …, ओढेर सुत साला ।”
त्यस्ता समस्या कति झेलेका र ब्यहोरेका थिए होलान् त्यो राधाले । ट्रेकिङक्षेत्रका कैयौँ राधाहरूले पर्यटकहरूको त्यो हेपाह र पेलाह ब्यबहार होटल तथा लज सञ्चालकहरूको गंभिर समस्या देखिन्थ्यो ।
उनी रमाइली, आँटिली र सहयोगी खालकी पनि रहिछन् । स्वयम् आफ्नै सुरक्षा गर्न सक्ने । उनलाई एक्लो देखेर कतिले त त्यस ठाउँमा होटेल समेत राख्न नदिएको तर उनको आँट र साहसले मात्र त्यहाँ होटेल राखेर अडिन सकेको । यो कुरा उनले त्यही बेलुका बताएकी थिइन् । सुनिन्छ, आजकल त्यो ठाउँ र पेसा नै छोडेर उनी पोखरातिर बस्न थालेकी छिन् । त्यो खोलाका उनका दौँतरीहरू पनि कतिले छोडे, कति अझै पनि त्यही क्षेत्रमा बनिबुतो गरिरहेका छन् ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)