अन्नपूर्णः जाडोमा रक्सी खाने कि मुस्ताङ कफी ? (२)

मुस्ताङ कफीको रन्को

जय भण्डारी

‘ए, बुद्धिमान खाना तयार भएको भए अब एउटा शेर्पालाई खाना देउ, आज जसको पहिले टेन्ट हेर्ने पालो हो उसलाई’, राम किचनतिर गएर अह्राउन थाले ।

त्यो दिनको पहिलो चरणको टेन्ट कुर्ने पालो मेरो थियो । प्रायः सबै क्याम्पमा र सबै चरणको सेक्युरिटी मैले नै गरेजस्तो लाग्छ । हुन त मनोज पनि नभएको हैन । तर उसलाई त्यति काम गर्ने चाँसो हुँदँनथ्यो । मलाई चाहिँँ सकभर छिट्टै काम सिकेर आफ्नै काममा दक्षता हाँसिल गर्नु थियो ।

आखिर पाहुनालाई राम्रो सेवा दिएर खुसी बनाउनु थियो । त्यो पालि मेरो जीवनको पहिलो क्याम्पीङ ट्रेक भएकोले सकभर म कम्प्लेनको भागिदार बन्न पनि चाहन्नथेँ । मेरो सो कामलाई चीरकाल पर्यन्तसम्म दिगो बनाउने लक्ष्य थियो ।

बुद्धिमानले आआफ्नै थाल लिएर खानाखान जाने उर्दी गरे । भोकाएको बेला खाना पनि एक श्वासमै सकेर म ड्यूटी जाने तरखरमा लागेँँ । खाना खानुअघि पनि म ड्यूटीमै थिएँ ।

किचेनमा कुक र स्टाफबाहेक अरूलाई जान बर्जित थियो । कुकसँग राम्रो सम्बन्ध भएको वा अति आवश्यक काम भए मात्र उसको स्वीकृति लिएर जान सक्दथ्यो । यस्तो हरेक ट्रेकिङ कम्पनिका हरेक क्याम्पिङ ट्रेकमा हुने गर्दथ्यो । यो नेपालको पर्वतीय पर्यटनको संस्कार, नजिर वा प्रथाको रूपमा जरा गाडेर दरिएको थियो ।

अन्नपूर्णः बाकै पाइला पछ्याउँदै उकालो चढ्दै (१)

सुन्थेँ– कुक वा किचन स्टाफले क्याम्प स्टाफलाई स्ताइचीले खप्परमा हानेको वा शेर्पाले किचनकालाई वा भरियालाई । यसका विविध कारण होलान् । सबै यहाँ उल्लेख गर्न पनि नसकिएला । त्यो तत्कालीन व्यवस्थापनका कमजोरी वा परिस्थितिका कारणहरू थिए होलान् ।

तर त्यो यात्रामा म थिएँ सहायक पथप्रदर्शक ‘शेर्पा’ । अनि मेरो काम राती टेन्टक्याम्पमा सेन्ट्री बस्ने र पाहुनालाई सेफ्टी र सेकुरिटीको प्रत्याभूत गराउनु सुरक्षा प्रदान गर्नु थियो । न कि काममा बाधा पुर्याउने ।

डिनरको चाँजो सकेर सबै स्टाफले खाना खाइसकेपछि किचनमा बुद्दिमानले स्टाफहरूलाई थकाइ नलागोस भनेर विषेश पेय तयार पारेका थिए ।

त्यो पेय थियो मुस्ताङ कफी । बुद्धिमानले मलाई सोधे, ‘जय, यस्तो जाडोमा तिमी रक्सी खाने कि मुस्ताङ कफी ?’

‘रक्सी त ड्यूटी गर्दा खानु भएन, त्यही कफी खाने । के रे केरे त्यसको नाम ?’

‘मुस्ताङ कफी । ल जय बाहुनको छोरो, खोया बिर्को नखाने भए मुस्ताङ कफी नै लिएर टेन्ट कुर्न जाउ ल ।’

बुद्धिमान किचनका भाइतिर फर्केर भने, ‘जयलाई ठूलो ट्रेकिङ कपमा हालेर देउ ।’

किचन ब्वयले स्टीलको ठूलो कपमा ल्याएर एक कप मतिर तेर्साएर ‘मुस्तांङ कफी’ भन्दै दियो ।

मुस्ताङलगायत उच्च हिमाली क्षेत्रका मानिसहरूले जाडो थेग्न पिउने एक प्रकारको मदिरा, जसमा रक्सी कफी र नौनीलाई झ्वाईंखट्टे जस्तै गरी बनाइन्छ । त्यो लिएर म आफ्नै ड्यूटी साइटमै गएँ । बिस्तारै चुस्की लिँदै जादा मलाई तिलमिलाउँदै लग्यो ।

अन्त त मलाई त पुरै लट्ठ्याउन थाल्यो । ड्यूटीमा छु भन्ने नै बिर्सेर ‘हैन यो मुस्ताङ कफी कि अल्कोहल, रक्सी..?’ भन्दै पाहुनालाई हल्ला हुनेगरी कोकोहोलो मच्चाउन पुगेछु ।

आँखा तिलमिलाएर क्याम्पसाइटमा बालेको मईनटोल (पेट्रोम्यास) ठूलो ट्रकको हेडलाईट जस्तै आँखामा खानेगरी ठोक्किन आयो । म नजिकैको टुलमा थच्चीन पुगेँ । आ–आफ्नै सुरमा भएका साथीहरूको ध्यान मतिर गएछ ।

‘जय, तिमीलाई त तिरिमिरी पा-योे कि के हो मुस्ताङ कफीले ? हँई’, बुद्धिमान हाँसेर मलार्ई गिज्याउँदै गरेको आवाज आयो ।

अरू पनि बुद्धिमानकै कुरामा थपथाप गर्दै थिए तर म चुपचाप सुनिरहेँ ।

स्कूलको पाठ्यक्रममा कफीको बारे पढेको मात्र थिएँ तर जीवनमा मैले कहिल्यै पनि पिएको थिइनँ । क्याम्पिङ ट्रेकिङमा पाहुनाहरूले तातो पेय अन्य जे चाहन्छन्, त्यहीअनुसार सेवा दिनुपर्छ– तातो पानी, चिया वा कफी । ट्रेकिङ स्टाफहरूलार्ई पनि दुःख या कामको प्रकृति हेरी त्यस्तै विशेष पेय तयार गरिने रहेछ, मुस्ताङ कफी ।

बिहान चार बजेसम्म टुलमा बसेर सकियो मेरो त्यो रातको ड्यूटी । तर कफीको रन्कोले चिसो रातको कुनै छनक नै भएन । जाडोले ऐया पनि पारेन । त्यो पेय ट्रेकिङमा जाडो पनि नहोस र ड्यूटीका बेला निद्रा पनि नलागोस भनी शेर्पालाई दिईने रहेछ ।

त्यो मुस्ताङ कफीको रन्को जिन्दगी भरी नै रही रहला जस्तो छ । चार बजेपछि म टेन्ट भित्र छिरेँ ।

घोरे पानीबाट हिँडेको दिन हामी देउराली हुँदै टाडापानी पुगेर त्यही बास बस्नु थियो ।

ब्रेकफास्ट अघिनै टेन्टहरू उठिसकेका थिए । सबैले खुला आकाश मुनि बसेर ब्रेकफास्टसँगै त्यहाको मनोरम दृश्यको मजा लिइरहेका थिए । त्यहीबेला भरियाहरू भारीबोकेर टाडापानीतिर जाने बाटोमा लस्करै उकालो लागे ।

हामी पनि उनीहरूको पाइला पछ्याउँदै उकालो लाग्यौँ । उकालो काट्दै गर्दा बिस्तारै बादल फाटेर अन्नपूर्ण साउथले उसको लजालू मुहार अलिअलि गर्दै देखाउँदै थियो । कोही बेला हिमालले घुम्टो ओढ्न पुग्दथ्यो । कोही बेला गुराँसका रुखले त्यो हिमाल भन्दा म नै सुन्दर छु मलार्ई किन बेवास्ता गर्छौ भने झैँ लाग्दथ्यो । फेरि अन्नपूर्णले चूस्स टुप्पो देखायो ।

उकालो हिँड्दै गर्दा निलो आकाशसहीत अन्नपूर्णले आफ्नै वास्तविक स्वरूप, सुन्दर काय हामीलाई पस्कँदै थियो ।

‘इस्कुस मी लुक, लुक लुक अन्नपूर्ण साउथ’, रामदाइले के भन्न खाज्दै थियो फेरि कालो बादलको गुजुल्टो आएर ढपक्कै अन्नपूर्णलार्ई छोपिदियो, हिमाल छोपिने र उघारिने क्रम चल्दैरहँदा एक्कासी रेयो र टोपीले क्लिक क्लिक आवाज निकालेको सुनियो, यसो हेरको हिमाल छ्वाङ्ङ खुलेको थियो, चिसो सिरेटोको झोक्का पनि बढ्दै थियो । सबै जना पेटीमा आड लाग्यौँ । एक छिन सबै त्यहाँको सुन्दरतामा आ–आफ्नै तरिकाले रमाइलोमा लिप्त हुन थाले ।

एकछिनको सुस्ताईपछि गुराँस र सल्लाका बुच्कापछि अजंगका रुखका अद्भूत स्वरूपसँगै पौँठे खेल्दै पाइलापाइला अगाडि बढाउदै रह्यौँ । केही समयको उकालो ओरालोसँगै रमाइला घुम्तीहरूमा लुकामारी गर्दै जाँदा बाटो ओरालो लाग्यो ।

देउराली बाट तल झरेपछि पहराहरू, तिखा चट्टान, खोँच र चिप्लो गोरेटो खोल्साखोल्सीहुँदै दुईघण्टा ओरालो झरेपछि खर्कहरूमा भैँसीका गोठ राखेको ठाउँ आयो । वनठाँटी । जुन कालो शिलाजित चुईने पहरा मुनि रहेको छ । मौसम पनि दहीचिउरे, घरि घाम लाग्ने घरी अचानक पानी पर्ने । रीताको चिसै भए पनि पनि चुस्स चुस्स पानी पिउँदै थिइ । एउटा ढुड्डाको आड लिएर सानो बच्चाले जस्तै बोतलमा दुधको मुण्टो चुसेझैं मुखमा राखेर चुस्का लगाई रहँदा उसको शैशव झल्किरहेके थियो । त्यसपछि हामी अगाडि लाग्यौँ ।

त्यस्तै आधा घण्टा गुराँसको वन हिँडेपछि ठाडो ओरालो खोलामा पुग्यो । लगत्तै अर्को नाकै ठोकिने उकालो आयो । प्रलय गरेर त्यो कटेपछि तेप्र्याय आयो । भैँसीको हिँडाइले उखडबाखड परेका भँडखालाहरू, सकसपूर्ण चिप्लो बाटो त्यो पनि कटेपछि चार पाँचवटा घर भएको ठाउँमा पुग्यौं । गाइड दाइले भने, ‘दिस इज टाडापानी ।’

सबैलाई सुपर भ्यू टाडापानी लजको आगनमा लिएर गए रामदाइले, ‘आजको हाम्रो बास यसै ठाउँमा हो’ भन्दै लजको पिँढीमा उनको ब्याग बिसाए । क्याम्प तयार नभएकोले सबैजना पिँढीमै टुक्रुक्क बसे ।

क्रमशः


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button