
अन्नपूर्णः बाकै पाइला पछ्याउँदै उकालो चढ्दै (१)
जय भण्डारी

सन् १९९४ । वसन्त ऋतुको समय ।
सबैलार्ई ट्रेकिङको चटारो थियो, कोही फूर्सदिला थिएनन् । हेलम्बुको पहिलो ट्रेकिङबाट म फर्किएलगत्तै क्याम्पिङ ट्रेक जाने कुरा बुद्धिमानले सुनाएका थिए । शेर्पाका रूपमा म पनि छनौटमा परेको रहेछु ।
सबै फिल्डमा भएकोले मैले शेर्पाको काम गर्नु पर्ने रहेछ । जस्तो कि क्याम्पसेट, भरियाहरूको भारी व्यवस्थापन, पाहुनाहरुलार्ई सुरक्षित ढङ्गले गन्तव्यमा पुग्न सहयोग पु¥याउनु, पाहुनालार्ई कुनै पनि समस्या आउन नदिन सेफ्टी र सेकुरीटी जस्ता सेवा प्रदान गर्नु आदि ।
त्यो ट्रेकिङका पाहुनाहरू तोईभो हेनरीक लार्ईने (टोपी), रीता, रेयो, सिनिका र आइरी जो रसियाकै छिमेकी भएर उसको प्रभावमा नपरी अलग पहिचान र अस्तित्वका साथ आफ्नै बलबुताले सम्पन्न र स्वतन्त्र राष्ट्रकारूपमा दरिएर रहेको फिनल्याण्डबाट आएका थिए । उनीहरू अमर शाक्य दाइको ताहाचलमा रहेकोे अमर होटेलमा बसेका थिए ।
अफिस स्टाफ र त्यस गु्रपको ट्रेकिङ स्टाफहरू सबैलार्ई तयारीको काम कराकर भयो किन कि पाहुनाहरूलार्ई ट्रेकिङ अबधिभरी अकोमोडेसन, फुड र आवश्यक सबै सेवाहरू उपलब्ध गराउनु पर्ने थियो, त्यो सम्पूर्ण काठमाडौंमै तयारी गर्नु पर्दथ्यो । तयारी पुरा भएपछि अप्रिल ४ मा काठमाडांै ओभरल्यान्डको गाडीमा पाहुना र दिपक महतसहित सम्पूर्ण स्टाफहरू पोखरातिर लाग्यौँ ।
एक्कैछिन बस मुग्लिनमा लन्च खानका लागि रोकियो । त्यसपछि कुदिहाल्यो पोखरातिर । सडक वरिपरिका मनमोहक दृश्यहरू हेर्दा हेर्दै पोखरा पुगेको पत्तै भएन बस सोझै हल्लन चोक नजिकको क्याम्पिङ चउरमा गएर अडियो ।
सुन्दर अन्नपूर्ण हिमालको श्रीपेच र फेवातालको आसनमा रहेको लम्पसार चउर । त्यसै चउरमा पाल टाँगेर बास बसियो ।
सबै आ–आफ्नै जिम्माको काममा लागे । कुकले खाना तयार गर्न, दिपक महत र गाइड मिलेर पाहुनाहरूको सहचरी भएर सहयोग गर्न थाले ।
बेलुकाको डिनर सकेपछि भोलिपल्टको तालिका र योजना र कार्यक्रमका बारे जानकारी सकेपछि दिने क्रम चल्यो । आईरी, टोपी, रीता, रेयो र सिनिक्का त्यस्तै स्टाफहरू राम बहादुर, बुद्धिमान, जय, मनोज आदि । भरियाहरू भने भोलिपल्ट मात्र आउने भएका थिए । तत्पश्चात सबै आआफ्नै पालतिर लागे म चाँहि क्याम्प सेक्युरिटीको ड्यूटीमा ।
बिहानको स्र्विर्णम कालमा स्वर्गकी अप्सरा जस्तै देखिने फेवातालको सुन्दर दृश्यसँग रमाउदै पाहुनाहरू ब्रेकफास्ट लिँदै थिए ।
त्यो सुन्दर सेरोफेरो मैले पनि पहिलोचोटि देख्दै थिएँ । त्यसैले म पनि आफ्नै स्वैरकल्पनाभित्र त्यस्तै सँगालीरहेका आफ्नै जीवनको सुन्दर सपनाहरू सजाउन पुगेछु । त्यही बेला “ओ जय सामान छिटछिटो नराखेर किन टोलाईराखेको गोराहरू तयार भैसके” भन्ने आवाजले म झस्याँङ्ग भएँ । अनि फटाफट सामान बसमा लोड गर्नतिर लागे । पोखरा बाग्लुङ राजमार्ग बनिसकेकोले हाम्रो गाडी पनि नयाँपुलसम्म जाने भयो र गाडी त्यतैतिर लाग्यो ।
बसले पोखरा बाग्लुङ्ग राजमार्गका रमाइला ठाउँहरू विन्ध्याबासीनी, सिमपानी, याम्दी, ह्याँङ्जा, फेदी, लेवाडे, नाउडाडा, काडे, लुम्ले छिचोल्दै नयाँपुल पुग्योे । उक्त ठाउँहरूबाट निकै रमाइला दृश्यहरू देखिन्थे ।
मेरो जन्म घर यही बाटोको गाउँ लेवाडेमै पथ्र्याे । त्यो बेला म चढेको बस पहिले मेरो घरको छातीबाटै लमतन्न तेर्सीएको बाटो हुँदै गएको थियो । त्यहीँबाट बस गुड्दा मेरो मन कता कता चसक्क भयो ।
बाकै पाइला पछ्याउँदै उकालो चढ्दै
नयाँपुलमा बस रोकियो । भारीतारी मिलाएर कुल्लीहरू अगाडि लागे । त्यसपछि कुक र किचन स्टाफहरू ।
पाहुनाको अघि गाइड दाइ, पाहुना र आफ्नै गह्रौँ झोला बाकेर सबैभन्दा पछाडि म थिएँ ।
ढुङ्ग्यान गारेटोमा हिँड्दा तिखा ढुङ्गाले च्वास्स घोच्न थाले । म समालिदै हिँड्नु प¥योे किनकि चितवनमा बस्दा पहाडि गोरेटोमा हिँड्न बिर्सेको झैँ भयो । तर एक हप्ता पनि बितेको थिएन । यस्तै बाटो हेलम्बुमा हिँडेको ।
“नयाँपुलबाट करिब तीस मिनेट लाग्छ बिरेठाँटी पुग्न” बिरे ठाँटी आउन लाग्यो एक जना शेर्पा अगाडि गएर मेम्बरको परमिट चेक गर । पछि गाइड हुनलार्ई सजिलो हुन्छ ।” भन्दै थिए राम दाइ । अरू थकाइ मार्न र फोटो खिच्न थाले म परमिट चेक गर्न एक्यापको चेकिङ काउन्टर र प्रहरी चौकितिर लागे ।
चेकिङ सकेर म पनि एक छिन बाण्डामा टुसुक्क बिसाएर वरिपरि नियालेँ । हिमालहरू नेपालका अधिकाङ्श नदीहरूका स्थायी स्रोतहरू हुन् भन्ने भूगोल शास्त्रमा पढेको थिएँ । बिरेठाँटी पनि अन्नपूर्ण हिमशृङ्खलाका हिमनदीबाट आउने मोदीखोला र भुरुङ्दीखोलाको दोभानमा रहेको एक मनोरम बस्ती थियो त्यो ।
दुई पहाडको बिचबाट बग्ने भुरुङ्दीखोला पछ्याउदै त्यसैको सुसाईसँगै रामघाई र सुदामे का रमाईला बस्तीहरु पार गरी एक सुन्दर ठाउँ हिले पुगियो ।
ट्रेकिङको पहिलो रात त्यही सुन्दर हिलेमा बास बसियो । बेलुकापख असिना पानीले चुट्यो सबैलार्ई । पाहुनाले सुखसँग खान र बस्न पनि पाएनन् । होटलको डाइनिङमा बस्ने र खाने ब्यवस्था मिलाईयो ।
टोपीको लजमै सुत्ने चाहना थियो तर गाइड राम ले लजमा सुतेको खर्च तिमीहरूको हुन्छ भनिदिएछन् क्यारे टेन्टमै सुत्ने भए आखिर ।
भोलिपल्टको गन्तव्य घोरेपानी सातआठ घण्टाको उकालो बाटो हिँड्नु पर्ने, बिहान सबेरै उकालो लाग्नुपर्छ भनेर सबै कामधन्दा सकी ओछ्यान तताउन गए । म टेन्टभित्रै जागा बसेर क्याम्प कुरेँ । दुई बजेपछि म पनि भुसुुक्कै निदाएछु ।
बिहान सबेरै तयारी भएपछि खाजा खाएर तिखेढुड्डा हुदै भुरुङ्दीखोला तरेर उल्लेरीतिर उकालो लाग्यौँ ।
बाले भन्ने गर्नुहुन्थ्यो कि “त्यो बेला नुन लिन लुम्ले, बिरेठाँटी, तिखेढुङ्गा उल्लेरीको उकालो हिँडेर मुस्ताङको टुकुचे पुग्नुपथ्र्यो । उकालो उक्लिदा फोक्सो फुलेर आउँथ्यो ।” म चाहीँ बाकै पाइला पछ्याउँदै त्यही उकालो चढ्दै थिएँ विदेशीको अन्नपूर्ण आधार क्षेत्रको यात्राकोे सहयोगी भएर, न कि टकुचेदेखिको नुन बोक्ने ढाक्रे । यही कुरो उलेरीको उकालो चढ्दै गर्दा साथी राम र बुद्धिमानलार्ई सुनाउदै गरेंँ ।
मेरो मनमा त्यो बेला मेरा बाले भनेका कुराहरू सचित्र खेल्न थाले । मलार्ई एकैपटकको उकालोको हिँडाइले थकायो भने मेरा बा आफ्नै भारी बोकेर त्यो कैयौँं चोटि ओहोरदोहोर गर्दा कति थकाइ सहे होलान् ।
उकालोमा थकाइको रन्को, सबैजना खुइया लामो स्वास तानेर अडिए । भिरालो कान्लामा एउटा चिया पसल पनि थियो । निगाले फलैँचा अटेको जति फलैँचा र कोही ढुङ्गाको अडेसो र पेटीमा टुसुक्क बसेँ । अहिले जस्तो सुबिधाजनक थिएन त्यो बेला ।
चियाको तलतल लागिरहेको बेला रामले चिया खाने कुरो गरे ।
“इस्कुस मी, यू ड्रिङ्क टी, कफी अर कोल्ड ड्रिङ्क ?” राम दाइले ठूटे इङ्ग्लिसमा मेम्मरलार्ई सोधे ।
मनोज पनि ठसठस गर्दै आईरीलार्ई उछिनेर छेवईको फलैँचामा ढेस्सीदै “हाम्ले नि केही पिउन पाइन्छ रामदाइ ?” भनेर सोध्यो । बोली खस्न नपाउदै रामले “मनोज तँ के पिउने त” भनेर सोधे । दाइ “म पनि कोल्ड डिंक पिउछु मिल्छ ?” भने । राम ले पनि भनिहाले, “मिल्न त मिल्छ पैसो चाहीँ आफ्नै गोजीबाट निकाल्यो भने ।”
“मौसम ठण्डी भएपनि मोटीसँग हिँड्दा यो उकालोले सारै गाह्रो पा¥योे । यो आईरी मोटी हिँड्नै सकिन ।” मनोज फतफातायो ।
आईरी पनि आएर मनोजसँगै ढेस्सिएर बसी । उसले पनि कफी पिउने भई । सबैको पिउने काम सकेपछि उकालो लाग्न तयार भए । आआफ्नै झोला बोक्दै लागे सबै जना उकालोतिर ।
राम दाइ “अब उकालो कति छ ?” भनी सोध्दा “अब एक घण्टा जतिमा त उल्लेरी पुगिन्छ । त्यहाँबाट घोडेपानी पुग्न अरू पाँच घण्टा लाग्छ ।“ राम दाइले एक ठाउँको समय सोध्दा दुवैै ठाँउको बताइदिए । बुद्धिमान र किचनस्टाफहरू बुर्लुक्क घोडाझैँ उफ्रेर उकालो लागे । उनीहरू वनठाँटी गएर लन्च बनाउनु पर्ने थियो ।
रेयो, आईरी र मनोज पनि अघि लागे, टोपी, रीता र सिनिक्कापछि । सबै हिँडिसकेपछि, रामले मलार्ई बोलाउदै “जय, यी गेस्टहरूले खाएको चियाको बिल टिपी देऊ त !”
“किन दाइ ?”, सोधेँ ।
“अफिसमा बुझाउनपर्छ । ब्रेकफास्ट लन्च र डिनरको बेलाबाहेक अरूबेला गेस्टले खाएको बिल बनाउनुपर्छ र अफिसबाट भर्ताल लिनुपर्छ नत्र त हामी कामगर्नेहरू रित्तै हात घर फर्किनु पर्ने हुन्छ नि !”, रामले अफिसियल हिसाब किताबको सिलसिला बताए ।
दश मिनेट उकालो हिँडेपछि सबैजनालार्ई धकारो लागेकोले उकालो काट्न कठिन भयो । बिस्तारै गुराँस र पैयुँको रुख सँगैैको गल्छेडो कटेपछि भने उल्लेरीको मगर गाउँ देखियो । पदयात्राका क्रममा गुरुङ, थकाली, बाहुनक्षेत्रीका गाउँ बस्तीहरू छिचल्दै त्यहाँ पुगिएको थियो ।
सुरुको पदयात्रा भएकोले मैले सबैकुरा जान्न र याद गर्न सक्दिनथेँ तर पछिपछिका यात्राहरूमा भने त्यहाँको समुदायका कला संस्कृति र रहनसहनका बारे बिस्तारै जानकारी हुँदैगएको थियो ।
वनठाँटी पुग्दा बुद्धिमान र किचन स्टाफहरू लन्च बनाउन व्यस्त थिए । वनको छेउमा यात्रीहरूले थकाइ मार्न र बास बस्नका लागि बनाइएको खुला र सानो पाटीलार्ई ठाँटी पनि भन्ने गरिन्छ ।
विगतमा सडक र यातायातका साधन नहुँदा मानिसहरू एकठाउबाट अर्को ठाउमा पुग्न निकै दिन लाग्ने हुँदा बीचबीचमा बास बस्नुपर्ने हुन्थ्यो । बास बस्न सजिलो होस् भन्ने हेतुले बाटोहरूको छेउमा ठाँटी र पौवाहरू बनाउने गरिन्थ्यो त्यसमध्ये त्यो वनठाँटी पनि एक हो ।
हिलेदेखि घोरेपानीसम्मको यात्रा निकै लामो हुनेभएकोले लन्च खाने बित्तिकै वनठाँटीबाट घोरेपानीतिर बाटो लागिहाल्यौं । लन्च स्पटबाट पन्ध्रमिनेट हिँडेपछि हाम्रो अगाडि घना शितोष्ण वन आईपुग्यो । हामी त्यही वन छिचोल्दै घारेपानी पुग्नु पर्ने कुरा रामदाइले बताएका थिए । हिँड्दै जाँदा रमाइलो चउर गोठ, खर्कहरू आए, तिनीहरूले मेरा बाल्यकालमा केसबाङ, घुमौरी, कालीमाटी, नागी सिधिङ र कोकाहार (अहिलेको फरेष्ट क्याम्प) आदी ठाउँमा गोठालो भएर बनमा बिताएका पलहरूको सम्झना दिलाए ।
फलाँट, दार, खस्रु, गुराँस र सल्लाको घना वनभित्रको तेप्र्यायेँबाटो दायाँबायाँ कुलकुल गर्ने खोल्साखोल्सी, वसन्तका पालुवा र बैंसले फक्रिएका वनस्पतीहरूमा रमाउदै उकालो छिचोलेर जाँदा एक सुन्दर खर्क आईपुग्यो । राम दाइले ठूटे ईङलीसमा भने नाङेठाँटी कमीङ । त्यो ठाउको नाम नाङेठाँटी कसरी रह्यो होला भन्ने कारण अनुमानमा भन्नु पर्दा त्यो खुलाठाउँमा वा नाङोे ठाउमा ठाँटी बनाइएकोले होला नाङेठाँटी भएको । पर्यटकहरूको आगमन बढ्दै गएपछि त्यहा भट्टी र लजहरू चलाउन थालियो ।
रामदाई बाण्डामा झोला फालेर पाहुनाको सेवामा हाजिर भए ।
स्कुसमी टी, कफी, वोकोल्ड ड्रिङ्क्स ?
सबैले ब्ल्याक टी मगाए । वरीपरी गुराँसका का वन रक्ताम्मे देखिन्थे । पाहुनाहरू चियाको सुर्कीसँगै त्यहाँको सुन्दर दृश्यमा हराई रहेका थिए ।
उनीहरू आफ्नै व्यस्त जीवनबाट फुर्सद लिएर त्यस्तै प्राकृतिक सुन्दरतामा हराउन आएका थिए । त्यसैले त उनीहरू त्यस्तो सुन्दर, हरियाली पातले वनमा हराउने नै भए । यिनै पातले र गुराँसका घना वन छिचोल्दै जाँदा एउटा खुला बस्ती देखियो घोरेपानी पुग्दा धन्दै साँझ प¥योे । तर हाम्रो बास तल नभएर देउरालीमा थियो । मौसम एकदम चिसो चिसो थियो ।
बिस्तारै तल्लो घोरेपानी छोडेर उकालो हिँडिसकेर भञ्ज्याङ पुगी दुई मिनेट दायाँ लाग्दा स्कुलको प्राङगणमा हाम्रो बास बस्ने क्याम्पसेट भेटियोे । त्यहाँ पुग्दा सबैको आधा थकाइ मेटियो । सबै मेम्मरहरू अघिल्लो दिन जुन टेन्ट मा सुतेका थिए तीनैै क्रमका टेन्टतिर आफ्नै सामान राख्न र आराम गर्न आफ्नै कुटी (टेन्ट)तिर लागे ।
उत्तरतिर झलल्ल हिमाल हेरौँ भने गोधुली साँझमा बादलुको घुम्टोले छेकिइसकेका थिए । तर चिसोले आफ्नै साम्राज्य फैलाउदा हाम्रो जिउमा भूईचालो जान थाल्यो भने दाँतले कटटट्ट करकस बाजा बजाउन थाले । म पनि मेरो कुटितिर लागेँ । किचन टेन्टमा स्टाफ सबै निकै व्यस्त थिए आ आफ्नै काममा ।
पाहुनाहरूलार्ई जाडो पनि नहुने रहेछ कि ? त्यस्तो चिसोमा पनि बाहिर लाज छेक्नेबाहेक एक टुक्रा लुगा आङमा नलगाई नुहाउनको लागि लाईनमा पालो कुरिरहेका थिए । आपूmलार्ई भने त्यही देखेर काँप छुटिरहेको थियो । उनीहरू पृथ्वीको उत्तरी गोलार्धमा रहेको धेरै ठण्डी देश फिनल्याण्डबाट आएका थिए । त्यसैले उनीहरूलार्ई त्यति जाडो नभएको पनि हुनसक्छ । सबैले नुहाइसकेपछि किचन ब्वाय र स्पेयरले हट ड्रिङ्स सर्व गरे ।
त्यो ठाउँमा विदेशी पर्यटकहरूको आगमन हुनुअघि पनि त्यतिकै बन्द ब्यापार र ढुवानीका लागि मानिसहरू घोडा लिएर यही घोरेपानीको बाटो भएर मुस्ताङ आवतजावत गर्ने गर्दथे । मुस्ताङ वा पोखराबाट घोडाहरूलार्ई सामान बोकाएर यसै ठाउमा ल्याई पानी खुवाउने या बास बस्ने गर्दथे । घोडालार्ई पानी खुवाउँदै जाँदा यो ठाउँको नामै घोडे पानीको नाम चिनिन थालियो रकोहीकोहीले घोडे पानीलार्ई घोरे पानी भन्ने गर्दछन् । मध्यपहाडी शृङ्खलामा अवस्थित मगरहरूको क्षेत्र, मगरजातीको कला र संस्कृतिको भण्डार घोरेपानी अहिले आएर एक सुन्दर पर्यटकीय आकर्षणको केन्द्र बनेको छ । यो ठाउ घोरेपानी ट्रेकिङ डेस्टीनेसनको नामले पनि संसारभर चिनिन थालिएको छ ।
भोकले पनि निकै लखतरान पार्दै थियो । खाना तयार भए पनि मेम्मरले नखाएसम्म अरू स्टाफहरूले खान पाईदैनथ्यो । जब पाहुनाले खाईवरी गाइडले भोलिपल्टको कार्यतालिकाको बारे जस्तो भोलीको क्याम्प गरिने ठाउँ, त्यहाँ जाने बाटोको अवस्था, लाग्ने समय, स्टाफहरू मध्ये कस्ले केके गर्ने, भइपरी आउनसक्ने चुनौती र समाधानका उपायकाबारे पाहुनालार्ई जानकारी गराइसकेर सुत्न पठाएपछि मात्र नेपाली गाइड, कुक, शेर्पा, पोटर र किचन स्टाफले खान पाउथे ।
यदी पाहुनाले गाइडसँगै खान चाहेको खण्डमा मात्र त्यहीअनुसार कुक र किचन स्टाफले ब्यबश्था मिलाउनु पर्दथ्यो । मेम्मर, पाहुनालार्ई देवता समान मानिने नेपाली परंपरा यानेकी अतिथि देवो भवको मूल मन्त्रलार्ई शीरोधार्य गर्ने हाम्रो शिष्टचारी प्रथा । प्राग ऐतिहासिक कालदेखि चल्दै आएको नेपाली राष्ट्रिय शिष्टाचारको पहेली ।
रामदाइले पाहुनालार्ई भोलिपल्टको आइटीनेररीका बारे ठूटे इङलीसमा ब्रिफिङ सकेपछि मेम्मर पनि टेन्टमा सुत्न गए ।
“गुडनाइट ।”
“गुडनाइट स्लीप टाइड”, राम दाइ कराए ।
क्रमशः
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)


मलाई पनि एउटा ट्रेकिङ् बारे आर्टिकल लेख्ने मन थियो । सहजीकरण गरि दिए आभारी हुने थिएँ । धन्यवाद ।
contact here … nepalnamcha@gmail.com or WhatsApp/Viber 9841391555