लुम्बिनी प्रदेशको राजधानी भालुवाङ आइपुग्यो नेपाल साइकल उत्सव टोली

कोभिड १९ ले पर्यटन कोमामै पुगेको यो बेला आन्तरिक पर्यटन प्रवद्र्धनको उद्धेश्यसहित नेपाल साइकल उत्सव टोली लुम्बिनी प्रदेशको राजधानी भालुवाङ आइपुगेको छ ।

नेपालनाम्चा सम्वाददाता/भालुवाङ ।

कोभिड-१९ ले पर्यटन कोमामै पुगेको यो बेला आन्तरिक पर्यटन प्रवद्र्धनको उद्धेश्यसहित नेपाल साइकल उत्सव टोली लुम्बिनी प्रदेशको राजधानी भालुवाङ आइपुगेको छ । प्युठानको विश्वचर्चित धार्मिक तथा पर्यटकीय स्वर्गद्धारीबाट टोलीले बिहान साइक्लिङ सुरु गरेको थियो ।
काठमाडौंबाट हिंडेको नवौं दिन साइकल टोली यहाँ आइपुगेको हो । पश्चिम नेपालको दोधाराचाँदनी (महाकाली) पुलबाट प्याडलिङ सुरु गरेको नेपाल साइकल उत्सव टोली धनगढी, ठाकुरद्वार, नेपालगन्ज, कोहलपुर, अमेलिया, तुल्सीपुर, घोराही स्वर्गद्धारी हुँदै देउखुरी उपत्यकामा रहेको भालुवाङ आइपुगेको हो । महाकालीदेखि पूर्व मेचीसम्मको यो विशेष साइकल यात्राको दुरी १ हजार ६ सय २४ किलोमिटर रहेको छ ।
नेपाल पर्यटन वोर्डको प्रवद्र्धन तथा ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान), नेपाल एशोसिएसन अफ टुर्स् एन्ड ट्राभल एजेन्ट्स् एशोसिएसन (नाटा) र नेपाल पर्वतारोहण संघ (एनएमए)को सहयोगमा भइरहेको तीन साताको यो साइकल यात्रा इलामको अन्तुडाँडामा गएर समापन हुनेछ ।
विश्व साइकलयात्री पुष्कर शाहको नेतृत्वको साइकल टोलीमा राजेन्द्र सापकोटा, सुभाष केसी, एक्सपान्सन दाहाल, सम्राट पान्डे, महेन्द्र अधिकारी, हिम गुरुङ, माधव नेपाल, मुक्ति पान्डे, अशोक सिलवाललगायत रहेका छन् । बीचबीचमा स्थानीय साइकल यात्री पनि जोडिइरहेका छन् ।
भालुवाङमा पुराना स्थानीय पत्रकार महेश रिजालले टोलीलाई स्वागत गरेका थिए । टोलीले भालुवाङस्थित श्री कालिका सामुदायिक उपभोक्ता समूहले संचालन गरेको हर्षेडाँडास्थित कालिका धार्मिक तथा पर्यापर्यटकीय उद्यान क्षेत्रमा नवौं रातको क्याम्प खडा गरेको छ । उद्यानमा उपभोक्ता समुहका अध्यक्ष भीमकान्त भुषालले स्वागत गरेका थिए ।
पर्यटन व्युँझाउन र आन्तरिक पर्यटन प्रवद्र्धनका लागि पर्यटन बोर्डको सन्देश प्रवाह गर्न यो सांकेतिक साइकल प्रयास गरिएको टोली सदस्य राजेन्द्र सापकोटाले बताए ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button