०४६ पछि पार्टी फरक पर्‍यो भने यजमानले पुरेत र दुलाहाले दुलही समेत छाड्थे

देवशंकर पौडेल

२०४६ सालको संयुक्त जनआन्दोलनले दलविहिन पञ्चायत व्यवस्था फालेर वहुदलीय व्यवस्था स्थापना गर्‍यो । राजनीतिक सतहमा विभिन्न पार्टीहरू देखापरे । समाज एक्कासी विभाजित भयो। दलीय राजनीति कलिलो अवस्थामा थियो । राजनीतिको बचकना रुप धेरै बर्षसम्म रह्यो । सकेदेखि एकले अर्कालाई निषेध गर्नेसम्मका प्रयासहरू हुने गर्थे । के के न पाएजस्तो, पार्टी फरक पर्‍यो भने यजमानले पुरेत छाड्नेसम्मका क्रियाकलाप बाक्लै देखिन्थे । भिन्न पार्टीका दुलाहा र भिन्न पार्टीकी दुलही पर्‍यो भने विवाह भाँडिने समेत भयो ।
त्यसबेला रामेछापमा नेकपा (एमाले), नेपाली कांग्रेस र नेकपा (चौम) हारालुछको राजनीतिमा थिए । जनताहरू उनीहरूका त्रिपक्षीय राजनीतिक उछिनापाछिन चाँसोसाथ हेरिरहेका थिए । हुन त राप्रपा पनि थियो । उ डराई डराई सतर्कतापूर्वक आफ्ना गतिविधि बढाउँदै थियो ।
सत्तामा पुगेकाहरू भिन्न विचार बोक्ने कर्मचारी, शिक्षकआदिलाई अपायक सरुवा गरिदिने । नानाभाँतिका दुःख दिने कुरा गरिरहन्थे । बाँकि पार्टीहरू भुक्तमान सहिरहेका थिए । जसको प्रहार मेरै परिवारमा पनि पर्‍यो । श्रीमती देवकी पौडेल गाउँकै विद्यालय अरुणोदय प्रावि बेलौरीमा शिक्षिका थिइन् । उनलाई २०५० सालमा रामेछापको अति दुर्गम विद्यालय हिमालय प्रा।वि। ल्हाछेवर, गुम्देल सरुवा गरियो । यसो गर्नु न्यागसंगत थियो कि थिएन ? नेपथ्यमा बसेर कसले शक्ति प्रयोग गर्‍यो ? त्यो सामुन्यमा देखा परेन । यो आमुन्ने सामुन्ने हुनुपर्ने राजनीति लुकेर प्रतिशोध साँधिएको थियो । यसले मेरो सक्रिय राजनीतिमा समस्या पार्ने निश्चित थियो । महिला त्यसमाथि काखमा चार जना ससाना बालबच्चा छन्, कसरी हिमाली गाउँ ल्हाछेवर जानु । जागिर छाड्नुको विकल्प थिएन । अव के गर्ने ? मनमा अनेक विकल्पहरू फन्फनी घुमिरहेका थिए । निस्कर्ष निस्किएको थिएन ।
एकदिन भाई गङ्गाप्रसाद पौडेल (डाँडाघर) र म चरिकोटबाट सैपु आउँदै थियौं । मैनापोखरी बजारमा एउटा ब्यवहारिक काम थियो । त्यहाँ ओर्लिएर सूचना दिनेकाम सक्यौं । अर्को गाडि चढेर जिरीतर्फ लाग्यौं । बासेमा झरेर इन्द्रबहादुर खड्काजीका घरतर्फ उकालो लाग्यौं । उहाँसंग “श्रीमति देवकी पौडेललाई राजनीतिक प्रतिशोधले हुनसक्छ, रामेछापको अत्यन्तै टाढा, हिमाली गाउँ गुम्देलको ल्हाछेवरमा सरुवा भयो । जागीर खाने भए त्यहि जानुपर्ने, अन्यथा जागिर छाड्नु पर्ने अवस्था आयो । नियमानुसार वेतलवी विदा लिएर यहाँ (तपाईको आवासीय विद्यालयमा) राख्न मिल्छ भने ब्यवस्था मिलाई दिनु, बालबच्चा पनि यतै पढुन् भनें । उहाँले स्वीकार गर्नु भयो । यो हाम्रो पारिवारिक जीवनमा इन्द्रबहादुर खड्कासरले पुर्‍याउनु भएको अविस्मरणीय सहयोग थियो ।
त्यसपछि भाई गङ्गाप्रसाद पौडेल र म सोझै पैदल बाटो भएर लिङ्कन बजार झर्‍यौं । वाङ्छु शेर्पाजीको होटलमा बास बस्यौं । पुन्यप्रसाद न्यौपाने सर आइसक्नु भएको रहेछ । भोलीपल्ट विहान, पुन्यप्रसाद न्यौपाने, गङ्गाप्रसाद भाई र म कुने, छाँगे, सिउरानी, रस्नालु, धारापानी, भुजीडाँडा, विरौटा, भित्तरीखानी, बासे, कालिखोला भएर भीरको बाटो भेडाखोर पुग्यौं । त्यस रात देवीप्रसाद दाजुका घरमा ब्यवहारिक कुरा गरेर त्यहिं बस्यौं । विहान पुन्य सर मैनापोखरी फर्किनु’भो । म पुलु झरें ।
अव जिरी जाने तरखरमा लाग्नु थियो । एक बर्षका निम्ती बेतलवी विदा स्वीकृत गराएर ससाना बालबच्चा खेदेर वि।सं। २०५० माघ २९ गते विहान जिरीको बाटो तय गर्‍यौं । शिवबहादुर कार्कीजी (हाल सिरिसे) को साथ थियो । सल्लेनी, आहालडाँडा, चण्डिस्थान, चापाखोला, हात्तीढुङ्गा, मैदाने, हिङ्गाखोला, कान्ले, नोप्रा, बासे भएर समय छँदै भित्तरीखानी पुग्यौं । त्यहाँ सेपजिलो ठाउँमा हिउँ थियो । दीपा, दीपिका, भिमेश र दिवेशले हिउँ खेले । छोराछोरी रमाएको देखेर हामी पनि रमायौं । त्यस साँझ त्यहिं बास बस्यौं । ३० गते विहान रस्नालु भएर खिम्ती खोला तर्‍यौं । कुनेको ओरालोमा दाजु देवीप्रसाद पौडेल र केहि साथीहरू भेट्यौं । उहाँहरू आवस्यक सामान खरिद गरेर जिरीबाट घर (सैपु) तर्फ फर्किदै हुनुहुन्थ्यो । बालबच्चा समेत म त्यतातिर जानुको कारण बताएँ । त्यसपछि जिरी खोलो तरेर मानेडाँडातर्फ उकालो लाग्यौं । त्यसवेला सीताराम भण्डारी सर ठोसे पढाउनु हुन्थ्यो । उहाँसंग त्यहि ओरालामा भेट भयो । उहाँलाई पनि कारण बताएँ । जाँदै जाँदै एपार्डस् पुग्यौं । एक बर्ष बालबच्चा त्यहि रहे । त्यहाँ कमला खड्का, बुद्धिमान पाख्रिन, राजकुमार बान्तवा राईआदि सरहरू त्यहिं पढाउनु हुन्थ्यो । शान्ति पाख्रिन चाहिं पढ्दै हुनुहुन्थ्यो ।
यो कलिलो प्रजातन्त्रले आन्तरिक अन्तरविरोधको सहि समाधान गर्न नजानेर बचकना राजनीतिले दिएको दुःख थियो । सत्ताको आराम कुर्चीमा पुगेकाहरूमा छचल्किएको चरम अहङ्कारले यस्तै गर्दोरहेछ । यस्ता ब्यवहार देशभरि थिए । मेरो तहले त यसखालका दुःख ब्यहोर्‍यो भने कतै पहुँच नभएका सत्ता विहिनहरूको हालत कस्तो भयो होला ? सत्तामा सवारले शासक हुने कि सेवक १ यो ब्यवहारमा उतार्न अझै धेरै समय लाग्ने रहेछ । यस खालको राजनीतिक प्रतिशोधका बारेमा मैले कतै पनि गुनासो या अनुनय विनय गरिन । पार्टीका कमरेडहरूका विच चाहिँ यस बारेमा प्रशस्त छलफल हुनेगर्थ्यो ।
यसले मलाई एउटा शिक्षा मिल्यो । बोली विक्छ भन्दैमा विपक्ष नै भएपनि कसैको कुरा सुनेर मानिसको साविक ब्यवस्थापन खलबल्याउने काम गर्दा कहिलेकाहिँ त्यसले मानवीय समवेदनामा नराम्रो प्रहार गर्छ । यसका जरा नाता कुटुम्वसम्म पुगेर नकारात्मक असर प्रत्युत्पादक हुन्छ, त्यसो गर्नु हुँदैन । मानिसलाई आफ्नो पक्षमा पार्ने अचुक हतियार भनेको नीति, सिद्धान्त र ब्यवहार नै हो । त्यसो गर्दा ढिलो भने अवस्य हुन्छ । पीडाले त मानिसलाई नजिक भन्दा पनि टाढा पुर्‍याउँदो रहेछ ।
(पौडेल रामेुछापका पूर्व सांसद् हुन् ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button