भगवानको कृपाले हाम्रा घरमा कोहि बोक्सी रहेनन् अब

साधना खतिवडा

जब पारिवारिक, आर्थिक र सामाजिक हिसाबले कुनै महिला निरिह बन्छे तब समाजमा एउटा बोक्सीको जन्म हुन्छ । मान्छेले भन्ने गरेको जस्तो तन्त्रमन्त्रको शक्ति भएको बोक्सीको यथार्थ त म जान्दिनँ तर मेरी प्राणभन्दा प्यारी आमा र हजुरआमालाई बोक्सी भन्ने समाजमा नै छु म ।

करिव नौ महिनाको उमेरदेखि मेरो जेठो भाईलाई बेसरी ज्वरो आउने र त्यसपछि बेहोस हुने गर्थ्यो । दारा किटेर मुट्ठी बटारेर निलो भएको त्यो बालख बगरिन्थ्यो कि त्यहि अन्तिम समय हुन्थ्यो कसैले अड्कल गर्न सक्ने अवस्था हुँदैनथ्यो । रुनु र अत्तालिनुबाहेक अन्य केही विकल्प हुँदैनथ्यो । त्यो अवस्थामा ओल्लोपल्लो घरको साथ सहयोग कति आवश्यक पर्थ्यो होला ? तर सहयोगको सट्टा सासु बुहारी भएर बोक्सी सिक्न लागेकोले भाइलाई गार्हो भाको रे भन्ने कुराले गाउँ नै रङ्बङ्गियो ।

ड्याडी काठमाडौं बसेर काम गर्ने । अहिले जस्तो फोनको सुविधा पनि होइन । भोलिपल्ट सहर जानेले खबर लगेपछि ड्याडी साँझ बिहान नभनी घर आउनु हुन्थ्यो । जङ्गलको बाटो जङ्गली जनावरको त्रास त्यस्तै । धामी झाँक्री डाक्टर सबै गरियो ।

हरेक महिना या पन्ध्र दिनमा भाइलाई गार्हो हुन्थ्यो । यो प्रक्रिया करिब डेढ वर्ष चल्यो तर भाइको रोग निको हुने छाँट देखिएन । केही नलागेपछि ड्याडीले गाउँ छोडेर सहर पस्ने निधो गर्नु भयो । तर बोक्सीको छाप लगाइदिएको समाज मेरो परिवार गाउँ नै छोडेर हिँड्दा पनि खुसी थिएन ।

जान त जाने भए तर गाउँ नै खाएर जाने भए भने भनेर मेरी हजुरआमाले सुनाउँदा आँखा भरिएर आउँथे । साँच्चै उहाँहरू बोक्सी भाको भए त्यो भन्नेलाई बाँकी राख्नु हुन्थ्यो होला र ? आफ्नै मुटुको टुक्रालाई कसले खान्थ्यो होला ?

डाक्टरले भाइलाई ज्वरो धेरै बढ्न नदिनु भन्यो । लगभग आठ वर्षको उमेरदेखि भाइलाई त्यो समस्या हराउँदै गयो ।

काठमाडौँमा गरिबीसँग लडिरहँदा हाम्रो घरमा ती भन्नेहरू आएनन् तर भगवानको कृपाले समयसँगै सबै राम्रो हुँदै गयो र हाम्रा घरमा कोहि बोक्सी रहेनन् अब । तिनै आरोप लगाउनेहरू आउन जान थाले ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button